धुलिखेल/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र मकवानपुरमा जिल्लामा भएका विभिन्न अनियमितता सम्बन्धी २ सय ६१ उजुरी दर्ता भएका छन् । चालु वर्षको साउन देखि बैशाख १५ गतेसम्म दर्ता भएका उजुरीको संख्या मध्ये ८० वटा मात्रै फछ्र्यौट हुन बाँकी छ । १ सय ६१ वटा उजुरीको फछ््र्याैट भईसकेको छ ।
धुलिखेलमा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्बद्धन विषयक जिल्लास्तरीय अन्र्तक्रिया कार्यक्रममा हेटौडाका प्रमुख सह–सचिव उमाकान्त आचार्यले अघिल्लो आर्थिक वर्ष र चालु वर्षका उजुरी, फछ्र्याैट तथा प्रकारका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका अध्यक्ष एवं आयोगका सचिव रामेश्वर दंगालले अख्तियारमा उजुरी पर्दैमा नआत्तिन अनुरोध गरे । उजुरी आउँदैमा नडराउन, गरिरहेका कामहरु नरोक्न तर आफुले भने नीति र नियम भन्दा बाहिर रहेर काम नगर्न निर्देशन दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव दंगालले स्थानीय तहमा मनलाग्दी नियुक्ति गरिएका विभिन्न प्रकारका सल्लाहकार, कर्मचारीहरु हटाउन, उपभोक्ता समितिबाट भएका अनिमित कृयाकलाप रोक्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
राज्य भएको अनुभुति हुने गरी सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै सचिव दंगालले उजुरीको संंख्या दिनानुदिन बढिरहेको भए पनि त्यसको गाम्भीर्यता र पुष्ट्याई हुने आधार कमजोर भएकाले सकेसम्म उजुरी गर्नुपर्ने वातावरण नै सिर्जना नगर्न जनप्रतिनिधि र कर्मचारीलाई सचिव दंगालले अनुरोध गरे । कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले प्रभावकारी नियमन बढाउन र नीतिगत भ्रष्टाचार रोक्न अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा नागरिकहरुलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन, गुनासाहरुको सम्बोधन गर्न र नागरिकहरुलाई सहज सूचना प्रदान गर्न निर्देशन दिएको बताईन् । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, कार्यालय प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, विभिन्न क्षेत्रका नागरिकहरुको सहभागिता रहेको थियो ।





