2026 April 28/ 12:52: 48am

    बनेपा/बनेपा आधारभुत नगर अस्पतालको प्रथम स्थापना दिवस नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी शाक्यले नगर अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्नका लागी भवनको अभाव भएकाले छिट्टै उक्त भवन बन्ने प्रक्रियामा गएको बताए । नाला भेग तथा आसपासको क्षेत्रका नागरिकहरुका लागी उक्त अस्पतालमा सेवा लिन सहज हुने भएकाले उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरु लिन आग्रह गरेका थिए । नगरले सबै वडाका नागरिकहरुलाई स्वास्थ्य राख्नका लागी विभिन्न स्वास्थ्यका कार्यक्रमहरु गर्दै आएको र नगर आधारभुत अस्पतालमा स्वास्थ्य विमाको सेवा प्रदान गर्न लागिएको बताए । 
कार्यक्रममा उप–प्रमुख विमला सापकोटाले अस्पताललाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताईन् । अस्पतालमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई गर्ने ब्यवहार राम्रो हुनुपर्ने, अस्पतालले दिने सेवा प्रभावकारी हुनुपर्ने बताईन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, स्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । 
        कार्यक्रमका सभापति तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले नगर आधारभूत अस्पताल सञ्चालन गर्न सबै क्षेत्रको सहयोग रहेको बताए । अस्पतालमा २४ सै घण्टा एमरजेन्सी सेवा, बर्थिङ सेन्टर, रेबिजको उपचार, बालरोग, क्षयरोगको उपचार, मानसिक रोगको परिक्षण, सामान्य उपचार, निःशुल्क औषधी  लगायतका सेवा प्रदान भैईरहेको बताए । अस्पतालमा एक्सरे मेशीन र एम्बुलेन्सको आवश्यकता भएकाले आगामी आर्थिक वर्षमा प्राप्त हुने श्रेष्ठले बताए । अस्पतालमा हाल २ जना डाक्टर सहित १८ जना कर्मचारी कार्यरत रहेका छन् । कार्यक्रममा स्वागत मन्तब्य डा. विनोद कुमार मण्डलले राखेका थिए । अस्पतालबाट १ वर्षमा २ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिईएको थियो ।