पनौती/पनौती नगरपालिका वडा नम्वर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको दोश्रो व्रह्मोत्सव सकिएको छ । २०८१ बैशाख १७ गते देखि शुरु भएको ब्रम्होत्सव १९ गते साँझ सकिएको हो । पहिलो ब्रम्होत्सव २०७९ चैत्र ३० देखि २०८० बैशाख २ गतेसम्म मन्दिर परिसरमा आयोजना गरिएको थियो ।
‘संस्थापक अध्यक्ष स्व. गोपालबहादुर थापाको परिकल्पना अनुसार निर्माण गरिएको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठान गरिएको दोश्रो वर्ष पुरा भएको छ’– मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले भने –‘पनौतीको ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रलाई मुक्तिनाथ मन्दिरले थप प्रशिद्धी बनाएको छ ।’ व्रह्मोत्सवको अवधीमा विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिएको थियो । त्यस्तै द्धारतोरण पुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिएको थियो । श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको यात्रोत्सव गराई नगर परिक्रमा गराईएको थियो । बैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, बल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिएको थियो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गरेको जानकारी दिए । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिल्यान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना भाईरसका कारण चार वर्ष पछि धकेलिएको थियो । २०७८ असोज २५ गते देखि मुक्तिनाथ मन्दिरमा पुजा शुरु गरिएको भए पनि २०७९ बैशाख ८, ९ र १० गते प्राण प्रतिस्ठा गरिएको थियो । सोहि तिथीलाई बार्षिक दिनको अवसर पारी यो वर्ष बैशाख १७ गते देखि दोश्रो व्रह्मोत्सव धार्मिक अनुष्ठान आयोजना गरिएको मुल ब्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले बताए । मुल ब्यवस्थापन समितिले धार्मिक अनुष्ठान सम्पन्न गर्न विभिन्न उप समिति गठन गरेको थियो । उक्त मन्दिरमा नियमित पुजा हुने गरेको छ । पुजारी तथा अन्य ब्यवस्थापनका लागि भेटी तथा चन्दादान मार्फत संचालन भईरहेको समितिले जानकारी दिएको छ।





