2026 April 28/ 01:04: 52am

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ३ ले निर्वाचनको समयमा घोषणापत्रमा उल्लेख गरेर ब्यक्त गरेका प्रतिबद्धता एक पछि अर्काे गर्दै पुरा गर्दै लगेको छ । वडा अध्यक्ष गणेश आचार्यको नेतृत्वमा शनिबार वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई तिर्थाटन गराईएको छ । 
    वडा अध्यक्ष गणेश आचार्यले ज्येष्ठ नागरिकहरुलाई शनिबार दोलखा जिल्लाको प्रशिद्ध धार्मिक स्थल भिमसेनस्थानको दर्शन गराईएको बताए । ६७ जना ज्येष्ठ नागरिकहरु उक्त तिर्थाटनमा सहभागी भएका थिए । अशक्त, अपाङ्गता भएका तथा जिल्ला बाहिर रहेका बाहेक सबै ज्येष्ठ नागरिकहरु तिर्थाटनमा सहभागि गराईएको अध्यक्ष आचार्यले बताए । वडा कार्यालयको ब्यवस्थापनमा तिर्थाटन गराए पछि ज्येष्ठ नागरिकहरु खुशी भएका थिए । ‘घरका सदस्यहरुलाई धेरै पटक दोलखा भिमसेन स्थान लैजानु भनेर अनुरोध गर्दा पनि केहि न केहि समस्या देखाएर पुग्न सकिएको थिएन, वडा कार्यालयले सन्तान र अभिभावकको भूमिका निभाएकोमा खुशी छौं’–एक ज्येष्ठ सदस्यले भने । वडा नम्वर ३ ले अन्य योजनाहरु पनि क्रमशः कार्यान्वयन गर्दै लगेको छ ।