पलाञ्चोक/पाँचखाल नगरपालिका वडा नम्वर ९ स्थित पलाञ्चोक भगवती मन्दिरमा चण्डी पूर्णिमामा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । विक्रम् सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालामा स्थापना भएको पलाञ्चोक भगवती मन्दिरमा पछिल्लो समय हरेक वर्ष राष्ट्र प्रमुखहरु समेत आउने गरेका छन् ।
प्रशिद्ध देवीको मन्दिरका रुपमा चिनिएको पलाञ्चोक भगवती मन्दिरमा २०८१ जेष्ठ १० र ११ गते बृहत्त सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष रामकाजी श्रेष्ठले बताए । कालिका युवा क्लव, एकता युवा क्लब, एकीकृत पहरी युवा क्लव, श्री पलाञ्चोक ग्रैह्रीगाउँ युवा क्लव र धन्द्रेखोला नेवाः समाजको आयोजना तथा पाँचखाल नगरपालिकाको प्रर्वद्धनमा आयोजना हुने उक्त कार्यक्रमबाट लोप हुने अवस्थामा पुगेको २४ घण्टे जात्राको जगेर्ना हुने, स्थानीय प्रतिभाहरुलाई कला प्रर्दशन गर्ने मौका मिल्ने, आन्तरिक पर्यटन प्रर्वद्धन हुने, पलाञ्चोक भगवती मन्दिरको प्रचार प्रसार हुने र स्थानीय भेषभुषा, कला संस्कृति र संगीत जोगीने अपेक्षा गरिएको वडा अध्यक्ष रामकाजी श्रेष्ठले बताए । बृहत्त सांस्कृतिक कार्यक्रमका लागि १० लाख खर्च हुने अपेक्षा गरिएको छ । बृहत साँस्कृतिक कार्यक्रमका लागि प्रबद्र्धक पाँचखाल नगरपालिका, नगर प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार रहेका छन् भने संरक्षकहरुमा वडा अध्यक्ष रामकाजी श्रेष्ठ, वडा सदस्यहरु शान्ति तामाङ, विमला रम्तेल, बासुदेव खड्का र बुद्धिलाल श्रेष्ठ रहेका छन् ।
२०८० चैत्र ३० गते आयोजना गरिएको बृहत्त सर्वदलिय वडा भेलाबाट प्रकाशचन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष हेमबहादुर श्रेष्ठ(प्रविण), सचिव भरत खड्का, कोषाध्यक्ष शारदा पौडेल रहेका छन् । सुमन कुँवर, कृष्णबहादुर कुँवर, सोमबहादुर उदास, राधाकृष्ण श्रेष्ठ, अदिप पहरी, रमेश श्रेष्ठ, अनिल श्रेष्ठ, नविन खड्गी, नरमणी राई, एलिना श्रेष्ठ र इन्द्रमाया श्रेष्ठ सदस्य रहेका छन् । जात्रा तथा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न राधाकृष्ण श्रेष्ठको संयोजकत्वमा आर्थिक उप समिति, नविन खड्गीको संयोजकत्वमा प्रचार प्रसार उप समिति, अनिल श्रेष्ठको संयोजकत्वमा स्वंयसेवक परिचालन उप समिति गठन भएको छ । मन्दिर स्थापनाकाल देखि पलाञ्चोक भगवती र कालिका देविको दुई रथ बोकी बजार परिक्रमा गर्ने चलन छ । पलाञ्चोक भगवतीलाई बडा दशै टिकाको दोश्रो दिन र बुद्ध जयन्तीको दोश्रो दिन चाँदिका गहनाले सजाउने गरिएको छ । पलाञ्चोक भगवती मन्दिर बुद्ध जयन्ती÷चण्डी पुर्णिमाको दिन २४ सै घण्टा खुल्ला रहनेछ । तीन दिनसम्म चल्ने जात्रामा पहिलो दिन साँझ बत्ति बाल्ने, दोश्रो दिन चण्डी पूर्णिमा जात्रा र तेश्रो दिन रथयात्रा गर्ने चलन छ । जिल्लाको अलावा छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर तथा अन्य स्थानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।





