2026 April 28/ 12:52: 27am

शिबिरको पहिलो दिनमा दुई सय भन्दा धेरैले लिए  सेवा
    तेमाल/तेमाल गाउँपालिकाको आयोजनामा नेत्र ज्योती सघं, किर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी भोलिन्टीयर चिकित्सक सहित स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा पोखरीनारायण स्थानको स्वास्थ्य चौकीमा बृहत्त स्वाथ्य शिबिर शुरु भएको छ । 
    शिबिरको उद्घाटन गाँउपालिका अध्यक्ष चन्द्रबहादुर लामाले गरेका थिए । शिबिरमा छाती रोग सम्बन्धी समस्या भएका १ सय ४० जनाको परिक्षण गरिएको थियो । परिक्षणका क्रममा ५ जनामा क्षयरोग पता लागेको छ भने सम्भावित क्षयरोग निदानका लागी १८ जनाको खकार परिक्षणका लागी पठाईएको छ । शिबिरमा ५ जनाको एचआईभि परिक्षण, १ सय ४ जनाको सुगर परिक्षण, ६६ जनाको दाँत परिक्षण र  ८० जनाको आँखा परिक्षण गरेको तेमाल गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत शिबहरी पाठकले बताए । शिबिरकै क्रममा जेष्ठ नागरिक परिचय पत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । शिबिर बैशाख १० गते शुरु भई १८ गते सम्म सबै वडामा सञ्चालन गरिने निमित्त प्रशासकीय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए । पाठककले शिबिरमा आँखाको परिक्षण गर्दा मोतिया विन्दु देखिएमा पालिकाले निशुल्क अप्रेशन गरि दिने बताए । कार्यक्रममा गाँउपालिका अध्यक्ष चन्द्रबहादुर लामाले पालिककाले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका पुर्वाधार विकासमा जोड दिदै आएको बताए । पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएकाले सबै वडामा विभिन्न स्वास्थ्य संस्थाहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण गरि ठुलो समस्या भएमा पालिकाले निशुल्क उपचार गरिदिने उनले बताए । 
    कार्यक्रममा पालिकाका उपाध्यक्ष दलमान थोकर, नि.प्रशासकीय अधिकृत शिबहरी पाठक, वडा अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।