बनेपा/रामभक्त कोख श्रेष्ठ सिरपा प्रबन्ध समितिको २१ औं साधारण सभा वागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी बादेले बनेपा नगरपालिकाका पूर्व नगरप्रमुख रामभक्तले शुरु गरेका राम्रा कामलाई निरन्तरता दिन सके मात्र उहाँको सम्मान हुने बताए । २०४९ सालमा नगरपालिकामा रामभक्त नगर प्रमुखमा निर्वाचित हुनु भई नगरलाई शिक्षा, स्वास्थ्य तथा विकास क्षेत्रमा कोखले गरेको योगदानको उनले स्मरण गरे । उहाँले शुरु गरेका योजनाहरु तथा देखेका सपना पूरा गर्नु पर्ने दायित्व रहेको बादेले बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, बरिष्ठ साहित्यकार मोहन दुवाल, समितिका उपाध्यक्ष राजु सरकार लगायतले रामभक्त कोख श्रेष्ठले गरेका कामको प्रशंसा गरेका थिए । कार्यक्रममा समाजसेवी रामगोपाल कायस्थ र बरिष्ठ चिकित्सक डाक्टर भुषण श्रेष्ठलाई नगद २५ हजार नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा समितिको वार्षिक प्रतिवेदन सचिव कृष्णप्रसाद कायस्थले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामप्यारी श्रेष्ठले प्रस्तुत गरेकी थिईन् । सभाका सभापति तथा समितिका अध्यक्ष हरिभक्त भोछिभोयाले सममितिले हालसम्म २४ जनालाई सम्मान गरि सकेको बताए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षाविद प्रा.डा.उत्तम कर्माचार्यले राखेका थिए भने सञ्चालन समितिका सदस्य कृष्णप्यारी नकर्मीले गरेकी थिईन् ।





