काभ्रे जिल्लामा पछिल्लो समय देखिएको राजनीतिक माहोल सामान्य चुनावी उत्साह मात्रै होइन । गाउँ–टोल, बजार–चोक, कृषकको खेतदेखि विद्यार्थीको कक्षासम्म एउटा साझा चर्चा बढ्दो छ–काभ्रेले अब योजनामात्र होइन, परिणाम खोजिरहेको छ । जनताले स्थायित्व, विकास र विश्वास गर्न सकिने नेतृत्व चाहेका छन् । यही जनआकांक्षालाई सम्बोधन गर्ने प्रयत्न नेकपा एमालेले घर–घरमा पुगेर गरेको दाबी गरिएको छ ।
नेकपा एमालेले काभ्रे क्षेत्र नम्बर १ मा अमित लामा, क्षेत्र नम्बर २ मा अशोक व्याञ्जु तथा समानुपातिकतर्फ इन्द्र तामाङ, सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामालाई उम्मेदवार बनाएको छ । पार्टीका अनुसार यी पाँचै जना उम्मेदवार जनतासँग नजिक, जनजीवनसँग जोडिएका र एमालेको नीति, सिद्धान्त र विचारप्रति दृढ रूपमा प्रतिबद्ध पात्र हुन् । एमालेले प्रमुख विषय राष्ट्रियता, सार्वभौमिकता तथा साँस्कृतिक, आर्थिक र सामाजिक उत्तरदायित्व भएको निश्कर्ष निकालेको छ । काभ्रेको विकासको खाका केवल जिल्लामै सीमित नभई मुलुककै विकाससँग जोडिने गरी तयार भएको छ । एमालेले काभ्रेमा अघि सारेका योजनाहरूमा पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, प्रकृति तथा सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । सत्ता बाहिर रहँदा कार्यान्वयनका लागि दबाब र सत्ता भित्र रहँदा कार्यान्वयन गर्ने नीति एमालेले अवलम्बन गरेको दाबी गरिएको छ ।
काभ्रेमा एमालेले अघि सारेका मुख्य योजनाहरूको सूची हेर्दा यसले काभ्रेलाई राजधानीसँग जोडिने आधुनिक विस्तार क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखेको देखिन्छ । सडक कालोपत्रे, करिडोर निर्माण, पुल निर्माण, स्मार्ट सिटी, सभाहल, सुरुङमार्ग लगायतका योजनाहरूलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी भक्तपुर–पाँचखाल सुरुङमार्गलाई उच्च प्राथमिकतामा राख्ने भनिएको छ । साथै झिगुखोला करिडोर, चाखोला करिडोर, सम्भाव्य करिडोर क्षेत्रमा व्यवस्थित पूर्वाधार सहितको बस्ती व्यवस्थापन, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रको सडक तथा पूर्वाधार विकासलाई पनि महत्व दिइएको छ । जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ । धुलिखेलमा नमूना सभाहल निर्माण भइसकेको उल्लेख गर्दै एमालेले यसलाई जिल्लाभर विस्तार गर्ने संकेत गरेको छ ।
एमालेले एक पालिका एक विशिष्टकृत विकास भन्ने अवधारणा अघि सारेको छ । यसको अर्थ प्रत्येक पालिकालाई आफ्नो सम्भावना र विशेषताका आधारमा विकासको पहिचान दिने हो । पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक व्यावसायिक केन्द्र, पनौतीलाई सांस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन, शिक्षा, स्वास्थ्य र सांस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक–साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, तेमाललाई बुद्धचित्त उत्पादन र साँस्कृतिक पर्यटन केन्द्र, महाभारतलाई जडिबुटी, फलफूल र पशुपालन केन्द्रजस्ता योजना प्रस्तुत गरिएका छन् । काभ्रे प्राकृतिक सौन्दर्य, धार्मिक–साँस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाको हिसाबले अत्यन्तै महत्वपूर्ण जिल्ला हो । एमालेले पलाञ्चोक भगवती, नमोबुद्ध, पनौतीको पुरानो बजार, तेमाल दरबार, बेथानचोक नारायणस्थान, रोशीका भुमेचुली र ताराखसेलेक, नगरकोट, दोलालघाट लगायत क्षेत्रको संरक्षण र पूर्वाधार विकास गर्ने योजना अघि सारेको छ ।
पनौतीको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राख्ने तयारीलाई अगाडि बढाउने प्रतिबद्धता पनि उल्लेख गरिएको छ । साथै प्याराग्लाइडिङ, होमस्टे, खुला चिडियाखाना, चरा अध्ययन केन्द्र, सिमसार संरक्षण, परम्परागत पोखरी तथा चौतारी संरक्षण र वाटर रिचार्जका लागि पोखरी निर्माण जस्ता योजना पनि समेटिएका छन् । कृषि र पशुपालनतर्फ एक वडा एक नर्सरी, एक पालिका एक विशेष कृषि उत्पादन केन्द्र, बोटानिकल गार्डेन, चिया उत्पादन बगैचा, व्यावसायिक तरकारी खेती, पशु अस्पताल, गुणस्तर जाँच केन्द्र स्थापना गर्ने योजनाहरू राखिएका छन् । शिक्षातर्फ पाँचखालमा शुरु भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्राविधिक विश्वविद्यालयलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणलाई तीव्रता दिने, त्रिविको आंगिक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने जस्ता लक्ष्यहरू पनि उल्लेख छन् ।
काभ्रेमा एमालेले प्रस्तुत गरेका योजना महत्वाकांक्षी छन् तर जनताले आज चाहेको कुरा एउटै छः भाषण होइन, परिणाम । जनताले विकासको नारा धेरै सुने । अब उनीहरूले चाहेका छन सडक, रोजगार, शिक्षा, स्वास्थ्य, कृषि बजार, पर्यटनको संरचना र दीर्घकालीन समृद्धि।काभ्रेमा एमालेप्रतिको जनलहरलाई पार्टीले जनविश्वासको रूपमा व्याख्या गरेको छ । तर त्यो विश्वास टिकाउने एक मात्र बाटो छ योजनालाई अक्षरसः कार्यान्वयन गर्ने इमानदार राजनीतिक इच्छाशक्ति । अब काभ्रेली जनताले निर्णय गर्नेछन् कसले सपना देखाउँछ, र कसले सपना पूरा गर्छ । विगतमा पनि एमाले नेतृत्वले त्यसको शुरुवाती पनि गरेको र ब्यवहारमा पनि जाँच भईसकेकाले यी योजनाहरुको कार्यान्वयनमा आफ्नो नेतृत्व निर्वाचित हुने सन्देश दिएको छ ।





