नेपालको कृषि अर्थतन्त्रमा पशुपालनको महत्वपूर्ण योगदान छ । ग्रामीण क्षेत्रका किसानको जीविकोपार्जन, रोजगारी सिर्जना तथा आयआर्जनको प्रमुख आधारका रूपमा रहेको पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाउन राज्यको प्रभावकारी लगानी तथा नीतिगत सहयोग आवश्यक छ । पशुपालनको विकासका लागि पशु स्वास्थ्य सेवा, रोग नियन्त्रण, उन्नत नश्ल, कृत्रिम गर्भाधान, आधुनिक प्रविधि र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ । यस सन्दर्भमा काभ्रेपलाञ्चोकस्थित पशु सेवा कार्यालयले सञ्चालन गरेका कार्यक्रम तथा उपलब्धि सकारात्मक प्रयासका रूपमा देखिएका छन् ।
पशु सेवा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित बजेटको ८५.७ प्रतिशत खर्च गर्नुका साथै ९१ प्रतिशत भौतिक प्रगति हासिल गरेको विवरण सार्वजनिक गरेको छ । पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि ठूलो संख्यामा खोप लगाइनु, कृत्रिम गर्भाधान कार्यक्रम विस्तार हुनु तथा पशु उपचार सेवालाई निरन्तरता दिनु कार्यालयका महत्वपूर्ण कार्य हुन् । विशेषगरी खोरेत, लम्पी स्किन, पीपीआर र क्लासिकल स्वाइन फिभरजस्ता रोगविरुद्ध सञ्चालन गरिएका खोप अभियानले पशुधनको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउन सक्छन् । पशुपालनको विकासका लागि रोग नियन्त्रण मात्र प¥र्याप्त हुँदैन । पशुको नश्ल सुधार, आहार व्यवस्थापन, आधुनिक गोठ निर्माण, प्राविधिक ज्ञान र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । काभ्रेमा सञ्चालन गरिएको कृत्रिम गर्भाधान कार्यक्रम र चौरीपालन तथा बाख्रापालन प्रवद्र्धनका गतिविधिले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सम्भावना देखाएका छन् । तर यस्ता कार्यक्रमको वास्तविक सफलता वितरण गरिएका सामग्री वा सम्पन्न गरिएका गतिविधिको संख्याले मात्र मापन हुँदैन । त्यसबाट किसानको आम्दानी, उत्पादनको गुणस्तर र पशुपालनप्रतिको आकर्षणमा कति वृद्धि भयो भन्ने विषय महत्वपूर्ण हुन्छ ।
पशुपन्छीमा लाग्ने रोगको नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउनु आजको आवश्यकता हो । बर्ड फ्लुका कारण जिल्लाका विभिन्न स्थानमा रहेका फार्मका पन्छी तथा अण्डा नष्ट गर्नुपर्ने अवस्था आउनुले रोगको जोखिम र त्यसबाट किसानले बेहोर्नुपर्ने आर्थिक क्षतिको गम्भीरता उजागर गरेको छ । रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छीको क्षतिपूर्ति उपलब्ध गराउनु सरकारको दायित्व भए पनि रोग फैलिन नदिन पूर्वतयारी, नियमित निगरानी र समयमै परीक्षण गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्छ । रोग लागेपछि उपचार र क्षतिपूर्ति दिनुभन्दा रोग लाग्नै नदिने उपायमा बढी ध्यान दिनु आवश्यक छ । पशु स्वास्थ्य र मानव स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध छ । पशुपन्छीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगको जोखिम न्यूनीकरण गर्न पशु स्वास्थ्य सेवासँगै खाद्य स्वच्छता र जनचेतनालाई पनि प्राथमिकता दिनुपर्छ । मासु पसल, डेरी तथा पशु औषधि पसलको नियमित अनुगमन, स्वच्छ दूध उत्पादन, पशु ढुवानी मापदण्डको पालना र पशु कल्याणका विषयमा प्रभावकारी निगरानी हुनुपर्छ । यसका लागि पशु सेवा कार्यालय, स्थानीय तह, कृषक, व्यवसायी तथा उपभोक्ताबीच सहकार्य आवश्यक छ ।
आगामी आर्थिक वर्षका लागि कार्यालयले रोग नियन्त्रण, प्रयोगशाला सेवा विस्तार, कृत्रिम गर्भाधान, घाँस तथा घाँसेबाली प्रवद्र्धन, पशुपन्छीजन्य उत्पादनको उपभोग वृद्धि र कृषकको जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको छ । यी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्याप्त बजेट, दक्ष जनशक्ति र आवश्यक प्राविधिक सामग्रीको उपलब्धता सुनिश्चित गर्नुपर्छ । बजेट कटौती वा कार्यक्रम संशोधन गर्दा सम्बन्धित निकायसँग समन्वय नहुनु तथा रिक्त पदमा कर्मचारी पदपूर्ति नहुँदा कार्यसम्पादनमा कठिनाइ हुनु गम्भीर विषय हो । यस्ता समस्याको समाधान नगरी कार्यक्रमको प्रभावकारिता अपेक्षित रूपमा हासिल गर्न सकिँदैन । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन प्रणालीमा रूपान्तरण गर्न किसानलाई प्रोत्साहन गर्ने नीतिसँगै सरकारी सेवाको पहुँच विस्तार गर्नुपर्छ । कृषकलाई आवश्यक प्राविधिक ज्ञान, सहुलियतपूर्ण ऋण, बीमा, बजार पहुँच र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके पशुपालन आर्थिक समृद्धिको भरपर्दाे आधार बन्न सक्छ । सरकारी कार्यक्रमको सफलता बजेट खर्च र भौतिक प्रगतिमा मात्र सीमित नभई किसानको जीवनस्तरमा आएको सुधारबाट मापन गरिनुपर्छ । काभ्रेपलाञ्चोकमा पशु सेवा कार्यालयले सञ्चालन गरेका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै रोग नियन्त्रण, उत्पादन वृद्धि र कृषकको आयआर्जनलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ । पशुपालन क्षेत्रको दिगो विकासका लागि सरकारी निकायको सक्रियता, स्थानीय तहको समन्वय र कृषकको सहभागिता अपरिहार्य छ । योजनाको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमनमार्फत पशुपालनलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउन सके यसले जिल्लाको कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।









