2026 October 16/ 08:57: 29pm

    काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य क्षेत्रमा केही उत्साहजनक सुधार देखिएका छन् । पाँच वर्षमुनिका बालबालिकामा निमोनिया र झाडापखालाको दर घट्नु, जिल्लाका सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चित हुनु, स्वास्थ्य कार्यक्रमको भौतिक प्रगति करिब ९० प्रतिशत पुग्नु र स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु सकारात्मक उपलब्धि हुन् । तर उपलब्धिका यी सूचकसँगै मातृ स्वास्थ्य, संस्थागत प्रसुति, नियमित खोप र पोषणका केही सूचकमा देखिएको गिरावटले स्वास्थ्य क्षेत्रको अर्को पाटोतर्फ गम्भीर ध्यान दिनुपर्ने अवस्था देखाएको छ ।
    जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको तथ्यांकले जिल्लाको स्वास्थ्य क्षेत्र मिश्रित अवस्थामा रहेको देखाउँछ । एकातर्फ बाल स्वास्थ्यका केही महत्वपूर्ण सूचकमा निरन्तर सुधार भइरहेको छ भने अर्कोतर्फ संस्थागत प्रसूति जस्तो आधारभूत मातृ स्वास्थ्य सेवाको प्रयोग घट्दै जानु चिन्ताको विषय हो । पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको दर तीन वर्षमै प्रतिहजार ४७ बाट २६ मा झर्नु र झाडापखालाको दर ३५७.५ बाट २२९.१९ मा पुग्नु सामान्य उपलब्धि होइन । बालबालिकालाई समयमै उपचार तथा आवश्यक औषधि उपलब्ध गराउने सूचकसमेत शतप्रतिशत देखिनु सार्वजनिक स्वास्थ्य सेवाको प्रभावकारिताको सकारात्मक संकेत हो । यसलाई कायम राख्दै बाल मृत्यु र रोगको भार अझ घटाउनेतर्फ कार्यक्रम केन्द्रित गर्न आवश्यक छ ।
    त्यसैगरी जिल्लाका सबै १३ स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता हुनु महत्वपूर्ण उपलब्धि हो । घरधुरी सर्वेक्षणमा खोप नपाएका तथा पूर्ण खोप नलिएका बालबालिका शून्य देखिनु स्वास्थ्य प्रणाली र समुदायबीचको सहकार्यको परिणाम हो । तर नियमित खोपका केही सूचकमा पछिल्ला वर्षको तुलनामा कमी आउनु भने गम्भीरतापूर्वक लिनुपर्ने विषय हो । पूर्ण खोप सुनिश्चित भएको घोषणा मात्र पर्याप्त हुँदैन, नियमित खोपको निरन्तरता र वास्तविक पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सबैभन्दा बढी चिन्ताको विषय संस्थागत प्रसूतिको घट्दो दर हो । तीन वर्षअघि १०२.११ प्रतिशत रहेको संस्थागत प्रसूतिको सूचक २०८२÷०८३ मा ७६.९७ प्रतिशतमा झरेको छ । गर्भवतीको गर्भ जाँचका केही सूचक राम्रो देखिए पनि सुरक्षित प्रसूतिको समयमा स्वास्थ्य संस्थासम्म पुग्ने दर घट्नुले सेवा पहुँच मात्र होइन, सेवा प्रयोग, सामाजिक व्यवहार, भौगोलिक कठिनाइ, आर्थिक अवस्था र स्वास्थ्य संस्थाप्रतिको विश्वासजस्ता पक्षमा पनि पुनरावलोकन आवश्यक रहेको संकेत गर्छ ।
    अझ गम्भीर पक्ष मातृ मृत्यु हो । लगातार तीन आर्थिक वर्षमा प्रत्येक वर्ष एक–एक जना मातृ मृत्यु हुनु कुनै पनि हिसाबले सामान्य तथ्यांक मान्न सकिँदैन । नवजात शिशुको मृत्युमा कमी आएको भए पनि पछिल्लो वर्ष स्वास्थ्य संस्थामै पाँच नवजात शिशुको मृत्यु भएको तथ्यांकले प्रसूति तथा नवजात सेवाको गुणस्तरमाथि थप प्रश्न उठाउँछ । स्वास्थ्य संस्था पुगेपछि पनि सुरक्षित प्रसूति र नवजात शिशुको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न सकिएन भने संस्थागत प्रसूति बढाउने मात्र लक्ष्यले अपेक्षित परिणाम दिन सक्दैन । पोषणतर्फ पनि सुधार र कमजोरी दुवै देखिन्छ । बालबालिकाको वृद्धि अनुगमनका लागि औसत भ्रमण संख्या बढ्नु सकारात्मक हो। तर नयाँ दर्ता हुने बालबालिकाको प्रतिशत निरन्तर घट्दै जानुले सेवाको पहुँच वा अभिलेखीकरणमा समस्या हुनसक्ने देखाउँछ । किशोरीलाई आइरन फोलिक एसिड वितरणको अवस्था पनि अझै पूर्ण लक्ष्यसम्म पुगेको छैन । किशोरीको पोषण अवस्था भविष्यको मातृ स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले यसलाई छुट्टै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ ।
    अबको प्राथमिकता उपलब्धिको सूची थप्नु मात्र होइन, कमजोर सूचक सुधार्नु हुनुपर्छ । संस्थागत प्रसूति घट्नुको वास्तविक कारण स्थानीय तहगत रूपमा पहिचान गरिनुपर्छ । मातृ तथा नवजात मृत्यु भएका घटनाको गम्भीर समीक्षा गरी त्यसबाट सिकिएको पाठलाई व्यवहारमा लागू गर्नुपर्छ । नियमित खोपमा देखिएको कमी रोक्न समुदायस्तरको निगरानी बलियो बनाउनुपर्छ। पोषण, किशोरी स्वास्थ्य र प्रसूति सेवाबीचको सम्बन्धलाई एकीकृत रूपमा हेर्नुपर्छ । काभ्रेपलाञ्चोकले स्वास्थ्य क्षेत्रमा पूर्वाधार, सेवा विस्तार र कार्यक्रम कार्यान्वयनमा उल्लेखनीय आधार तयार गरेको छ । अब चुनौती भनेको ती संरचना र कार्यक्रमलाई परिणाममुखी बनाउनु हो । स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुगेको छ कि छैन भन्ने प्रश्नसँगै पुगेको सेवा गुणस्तरीय, भरपर्दो र आवश्यक समयमा उपयोग भएको छ कि छैन भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ । विजया दशमी २०८३ को सम्पुर्णमा हार्दिक शुभकामना ।