2026 October 16/ 08:57: 30pm

    धुलिखेल/जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जिल्लाभर रहेका स्वास्थ्य संस्था, स्वास्थ्य संस्थाले गरेका गतिविधी, नागरिकहरुले प्राप्त गरेको स्वास्थ्य सेवा तथा सुधार गर्नुपर्ने विषयमा गरेको समीक्षामा जिल्लाका विभिन्न विद्यालयमा संचालनमा रहेको प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमको प्रभावकारीताका विषयमा भुम्लु गाउँपालिकामा संचालित विद्यालयहरुको अवस्थाको विश्लेषण गरिएको छ । 
    भुम्लु गाउँपालिकामा सञ्चालित ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ अन्तर्गत पाँच माध्यमिक विद्यालयका विद्यार्थीलाई वर्षभरिमा दुई हजार ५६४ पटक प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा कार्यसम्पादन समीक्षामा विद्यालय नर्स अस्मिता खत्रीले पाँच विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । भुम्लु गाउँपालिकाका पाँच माध्यमिक विद्यालयमा अध्ययनरत कुल ७५७ विद्यार्थीमध्ये छात्रा ३८३ र छात्र ३७४ जना छन् । ती विद्यार्थीलाई विद्यालय क्लिनिक मार्फत वर्षभरि स्वास्थ्य सेवा प्रदान गरिएको हो । स्वास्थ्य समस्या पहिचान गरी थप उपचार आवश्यक देखिएका ७५ जना विद्यार्थीलाई स्वास्थ्य संस्थामा प्रेषण गरिएको विवरणमा उल्लेख छ । 
    विद्यालयगत विवरणअनुसार सेतीदेवी माध्यमिक विद्यालयमा ६५०, अरुणोदय माध्यमिक विद्यालयमा ५७२, प्रकाश माध्यमिक विद्यालयमा ७००, दुलालेश्वर माध्यमिक विद्यालयमा ३१० र शारदा माध्यमिक विद्यालयमा ३३२ पटक स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रमले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्था पहिचान, खोप, किशोरी स्वास्थ्य तथा महिनावारी स्वच्छतामा समेत योगदान पु¥याएको छ । पाँच वर्षमुनिका ७१ बालबालिकाको खोप कार्ड परीक्षण गर्दा सबै पूर्ण खोपयुक्त पाइएको छ । त्यस्तै, २५ जना किशोरीलाई एचपीभी खोप लगाइएको छ ।
    किशोरी तथा विद्यार्थीको महिनावारी स्वच्छता प्रवद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पाँच हजार ५७२ थान स्यानिटरी प्याड वितरण गरिएको छ । विद्यालयमा प्याड विसर्जनका लागि इन्सिनरेटर तथा भेन्डिङ मेसिनको व्यवस्था गरिएको विवरणमा उल्लेख छ । किशोरीहरूलाई आइरन–फोलिक एसिड वितरण गर्नुका साथै विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई जुकाको औषधि खुवाइएको छ । विद्यालयमा देखिएका प्रमुख स्वास्थ्य समस्यामध्ये टाउको दुख्ने, रुघाखोकी, काट्ने तथा चोटपटक लाग्ने, एलर्जी, खोकी, टन्सिल, ग्यास्ट्राइटिस र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका छन् । मानसिक स्वास्थ्यतर्फ ३६८ विद्यार्थीलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।
    कार्यक्रम अन्तर्गत पोषण, व्यक्तिगत सरसफाइ, दाँत माझ्ने तरिका, महिनावारी स्वच्छता, बालविवाह न्यूनीकरण र मोबाइल तथा स्क्रिनको सुरक्षित प्रयोगसम्बन्धी स्वास्थ्य शिक्षा कक्षासमेत सञ्चालन गरिएको छ । धुलिखेल अस्पतालको सहयोगमा दन्त शिविर सञ्चालन गरी ५२ जनालाई सेवा प्रदान गरिएको छ । विद्यालय नर्स कार्यक्रमले विद्यार्थीमा देखिएका स्वास्थ्य समस्या समयमै पहिचान गर्न र आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन सहयोग गरेको छ । जन्मजात मिर्गौलासम्बन्धी समस्या भएका विद्यार्थीलाई नियमित डाइपरको व्यवस्था, दृष्टिसम्बन्धी समस्या पहिचान तथा उपचारका लागि प्रेषण र कुकुरको टोकाइपछि रेबिज खोपको व्यवस्था यसका उदाहरण हुन् । त्यस्तै, बालसुरक्षा तथा अनुचित स्पर्शसम्बन्धी घटनामा गोपनीयता कायम गर्दै आवश्यक परामर्श र सुरक्षासम्बन्धी सहजीकरण गरिएको विवरणमा उल्लेख छ । 
    विद्यालय नर्सको स्थायी दरबन्दी तथा रोजगारीको सुरक्षा, आवश्यक तालिम र नियमित अनुगमनको निरन्तरताजस्ता चुनौती कायमै छन् । आगामी आर्थिक वर्ष २०८३÷०८४ मा आइरन तथा फोलिक एसिड वितरण, डेंगीसम्बन्धी सचेतना, आत्महत्या रोकथाम, शौचालय सरसफाइ, हात धुने दिवस तथा नियमित स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउने योजना रहेको छ । विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध हुँदा विद्यार्थीको स्वास्थ्य समस्या समयमै पहिचान हुनुका साथै उपचारमा सहजता आएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय नर्सको दरबन्दी सुनिश्चित गर्ने, नियमित अनुगमन गर्ने र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने कार्यलाई प्राथमिकता दिन आवश्यक छ ।