धुलिखेल/राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास सहित पुनर्निर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधिहरुले पुनर्निर्माणका क्रममा बास्तविक पीडितहरु छुटेको भन्दै गुनासो गरेका थिए । त्यस्ता पीडितहरुलाई समेट्नु पर्ने आवाज उठाउँदै स्थानीय सरकारका प्रतिनिधिहरुले पुनर्निर्माणको कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने बताए ।
कार्यक्रममा पुनर्निर्माणको समग्र कार्य प्रगति, पाँच वर्षका उपलब्धीहरु, महत्वपूर्ण सवाल तथा नीतिगत सम्बोधनका लागि प्राधिकरणको कार्याविधि तथा बहिर्गमन रणनीति, नीजि आवास पुनर्निर्माणको निर्धारित समयसीमा, निजी आवास पुनर्निर्माण सम्वन्धमा उठेका सवाल र तिनको सम्बोधन, बाँकी पुनर्निर्माण र आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । कार्यक्रममा प्रुमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्राधिकरणका सह सचिव भरत अर्याल लगायतले पुनर्निर्माणमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनु भएको थियो । गाउँपालिकाका अध्यक्षहरु कान्छालाल जिम्बा, कृष्ण खुलाल, सलासिं तामाङ, प्रेमबहादुर तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, चौरीदेउराली गाउँपालिका उपाध्यक्ष तारादेवी गौतम, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकिय अधिकृतहरु, इन्जिनियरहरुको सहभागिता रहेको थियो । माघ मसान्त भित्र भुकम्पको दोश्रो किस्ता लिई सक्नु पर्ने भएकाले स्थानीय सरकारहरुले निर्माण बाँकी रहेका लाभग्राहिहरुलाई तत्काल भुक्तानी लिन अनुरोध गर्नु पर्ने बताईएको थियो ।









