धुलिखेल/काठमाडौं विश्वविद्यालयमा थप एक महत्वपूर्ण शैक्षिक पूर्वाधार थपिएको छ । थ्राङ्गु रिन्पोछे एकेडेमिया उद्योग ब्लक पूर्वाधारको प्रतिनिधि सभाका सदस्य डा.राम लामाले उद्घाटन गरे ।
भवनको उद्घाटन पछि सहभागिहरुले भवन केवल भौतिक संरचनाको विस्तार मात्र नभई शिक्षा, अनुसन्धान र सामाजिक प्रभावलाई जोड्ने दीर्घकालीन दृष्टिकोणको प्रतिविम्बका रूपमा रहेको बताए । विश्वविद्यालय र सहयोगी संस्थाबीचको सहकार्यले ज्ञान, मूल्यमान्यता र नवप्रवर्तनलाई एउटै छानामुनि विकास गर्ने लक्ष्य लिएको उनिहरुले बताए ।
नवनिर्मित ब्लक विशेषगरी शैक्षिक गतिविधि, बौद्ध अध्ययन, विविध सिकाइ कार्यक्रम तथा ध्यानसम्बन्धी पहलका लागि प्रयोग गरिनेछ । यसले विद्यार्थी र अनुसन्धानकर्तालाई शान्त, प्रेरणादायी र अनुसन्धानमैत्री वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ । विश्वविद्यालयले यसलाई शिक्षा र आध्यात्मिकताको संगमका रूपमा समेत व्याख्या गरेको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य डा.राम लामाले भवन निर्माणसँगै दायित्व पनि थपिएको बताए । उपकुलपति प्रा. डा. अच्युत वाग्लेले यस भवनले विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरूको दायरा अझ विस्तार गर्ने विश्वास व्यक्त गरे । उनले सहयोगी संस्था तथा दाताहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यहरू निरन्तर आवश्यक रहेको उल्लेख गरे । ‘हाम्रो लक्ष्य केवल शैक्षिक उत्कृष्टता होइन, समाजसँग प्रत्यक्ष जोडिने ज्ञान उत्पादन गर्नु हो’–उनले भने ।
विश्वविद्यालयका रजिस्टार प्रा. डा. राजिव श्रेष्ठले पनि भवनले आफ्नो उद्देश्यअनुसार प्रभावकारी सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, यसले विश्वविद्यालयको दीर्घकालीन रणनीतिमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
कार्यक्रमका संस्थाका अध्यक्ष चोजे लामा वाङचुकले निर्माणका लागि प्राप्त सहयोग रकम, त्यसको उपयोग र समग्र निर्माण प्रक्रियाबारे जानकारी गराए । उनले दाताहरूको सक्रिय सहभागिताले यस्तो परियोजना सफल भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
इन्जिनियर लक्ष्मण लामाले दाताहरू र काठमाडौं विश्वविद्यालय बीचको सहकार्यको प्रक्रियाबारे प्रकाश पार्दै पारदर्शिता र विश्वासको आधारमा परियोजना अघि बढाइएको जानकारी दिए । थ्राङ्गु रिन्पोछे एकेडेमिया उद्योग ब्लकको रिन्पोछे एकेडेमिया उद्योग ब्लक केवल एउटा भवन मात्र नभई शिक्षा, अनुसन्धान र आध्यात्मिक अभ्यासलाई एकीकृत गर्ने साझा प्लेटफर्मका रूपमा स्थापित हुने विश्वास गरिएको छ । यसले विश्वविद्यालयको शैक्षिक तथा सामाजिक प्रभावलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।









