2026 April 23/ 03:19: 08pm

    बनेपा/पब्जी खेलमा सक्रिय युवाहरुको समुहले स्काई लाईटस गेमिङ्ग नामक कम्पनीबाट बनेपाका ३० वटा सामुदायिक विद्यालयका ३८ जना गरिब, दलित, जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बनेपामा आयोजित एक कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, शिक्षा शाखा प्रमुख श्यामसिं धामी, सोसियल सर्भिस युवा क्लबका अध्यक्ष सागर मानन्धर र स्काई लाईटस गेमिङ्गका नेपाल स्थित टिम ब्यवस्थापक योनटेन श्रेष्ठले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगर भित्र कुनै बालबालिकाहरुले शिक्षाबाट बञ्चित हुनु नपर्ने बताउनु भयो । स्थानीय संघ संस्थाहरु, नगरबासिहरुको तर्फबाट गरिएको सहयोगले स्थानीय सरकारलाई थप हौसला पुग्ने नगर प्रमुख बादेले बताउनु भयो । बालबालिकाहरुले खेल मार्फत आफु, आफ्नो परिवार र समाजका लागि योगदान दिने बालबालिकाहरुलाई नगरपालिकाले थप हौसला प्रदान गर्ने नगर प्रमुख बादेले भन्नु भयो । क्लबका अध्यक्ष सागर मानन्धरले सोसियल सर्भिस क्लबले बनेपा तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सहयोग उपलब्ध गराईरहेको बताउनु भयो । कार्यक्रममा स्काई लाईटस गेमिङ्गका नेपाल स्थित टिम ब्यवस्थापक योनटेन श्रेष्ठले कम्पनीको तर्फबाट खेलाडीहरुको अलावा नागरिकहरुको सहयोगका लागि प्रस्ताव गरिएका कार्यक्रम समुदायमा कार्यान्वयन गरिएको बताउनु भयो । कोरोनाको अवस्थामा बनेपा तथा आसपासका क्षेत्रमा खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको ब्यवस्थापक योनटेन श्रेष्ठले बताउनु भयो । 
    बालबालिकाहरुलाई स्टेशनरी अन्र्तगत कापी, शिसाकलम, ब्याग लगायतका सामाग्रीहरु उपलब्ध गराईएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।