2026 April 23/ 03:19: 15pm

    बनेपा/बनेपामा राष्ट्रिय योग दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गरिएको छ । पतञ्जली योग समिति बनेपाको योग भवनमा विहान एक घण्टा सुर्य नमस्कार गराईएको थियो । १ सय ७२ पटक गराईएको सुर्य नमस्कार शरिरका विभिन्न रोगहरुका लागि उपयोगि योगाभ्यास हो । 
    पतञ्जली योग समितिका प्रदेश समिति अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ लगायतका योग गुरुहरुले योगाभ्यास गराउनु भएको थियो । सोहि दिन राष्ट्रिय योग दिवस जिल्ला स्तरीय समिति, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली योग समितिको आयोजनामा योगसँग सम्वन्धित विषयमा प्रवचन र अभ्यास गराईएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले ब्यक्तिको सकारात्मक सोच र शारिरिक स्फुर्तिका लागि हरेक कार्यालयमा, हरेक ब्यक्ति र घर परिवारमा योग आवश्यक रहेको बताउनु भयो । सरकारले राष्ट्रिय योग दिवस मनाउन शुरु गरेको केहि वर्ष भए पनि मुलुकमा विभिन्न माध्यमबाट योगको विकास र अभ्यास भईरहेको पोखरेलले बताउनु भयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेका प्रमुख डा. मनोज चौधरीले आयुर्वे कोरोना भाईरस मात्रै नभई शरिरका हरेक रोगहरु निदान गर्ने प्रमुख माध्यम भएकाले योग र आयुर्वेदको प्रयोगमा जोड दिनु पर्ने बताउनु भयो । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले हरेक ब्यक्तिलाई योग गराउने र योगको माध्यमबाट समाज र राष्ट्र समृद्धी बनाउने अभियान निरन्तर चलिरहेको बताउनु भयो । 
    ओमशान्ति केन्द्र धुलिखेलकी लक्ष्मी दिदीले योगसँगै ध्यानले ब्यक्तिलाई सकारात्मक दिशा तर्फ अघि बढाउन सहयोग पु¥याउने बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठ, सचिव प्रकाश कायश्थले योगको महत्वका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विष्णु दल गण धुलिखेलका गणपति नरेश केसी, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, पतञ्जली योग समिति धुलिखेल, पनौतीका अध्यक्ष एवं पदाधिकारीहरु, योग साधक साधिकाहरु, पतञ्जली योग समितिका महिला तथा युवा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम पछि बनेपाको रेडक्रस भवनमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गर्नु भएको थियो । जिल्लाका अधिकाशं पालिकाहरुमा योगका बारेमा प्रशिक्षण केन्द्रहरु मार्फ योगाभ्यास गराउन शुरु गरिएको छ ।