‘खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या’ भन्दै रिया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोका बाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन् । पाँचौँ पटकसम्म त्यही ढोकासँग बोले सरह महसुस गरेकी मेरी आमालाई छैठाँै पटक भने झर्केको नै आवाज आउँदा पनि मनलाई केही राहत पक्कै मिल्यो होला । मन त पक्कै थियो होला उहाँलाई, ‘आऊ न छोरी, अलिकति रुचेको जति खाऊँ’ भन्ने तर दिनहुँको त्यही कोलाहल कै कारण जन्म दिने आमाले समेत हार खान थालि सकेकी थिइन् । सधंै उही खानाको सत्यानाश ! न त त्यति मिहिनेत गरेर जसका निम्ति पकाईएको हो त्यसले खान्छ, न त मिहेनत गर्ने मान्छेले नै । हुन पनि कुन आमालाई आफ्ना सन्तान खाली पेट सुत्दा, आफू भने पेट भरेर सुत्ने इच्छा नै जाग्छ र ?
हाम्रो घर त अहिले मसानघाट सरह हुन पुगेको छ । न कसैको मुहारमा मुस्कान नै छ, न त कसै प्रतिको सद्भाव । सधैं बहिनी आफ्नो कोठामा मस्त, म होस्टेलमा व्यस्त र आमा अफिसमै । घरमा चहल पहल भएको भने रीयालाई फिटिक्कै मन पर्दैन । मन पर्दैन पनि कुन मुखले भनूँ, केहीवर्ष अघिसम्म कोही पाहुना आए हुरुक्क हँुदै सर्वप्रथम ढोका खोल्ने ऊ नै हुन्थी । घरको फोनमा घण्टी बज्ना साथ ऊ त्यहाँ पुगेर फोन उठाइ कहिलेकाहिँ त को हो समेत नचिनी आफ्ना मिठा गफमा भुलेरै बस्थी । जो पनि नयाँ पाहुनापाछा आए जाने बेलामा कसैले पैसा, कसैले चकलेट दिदँैै कति रसिली छोरी पाउनु भएछ भन्दै बुबाआमाको नाक लामो पारिदिन्थे । घरमा एक्लै ती नयाँ–नयाँ आधुनिक यन्त्रमा झुम्मिएर बस्नु भन्दा बरू कोही मान्छेसँग समय बिताउन ऊ बढी रुचाउँथी । जसकारण लखतरान परेर आउँदा समेत बुबाआमाले ऊ सँग बसेर अनुहारमा मुस्कान ल्याइ बातचित नगरी उसलाई कहिल्यै चित्त बुझ्दैन थियो ।
सानैदेखि घुम्न भने पछि ऊ कहिल्यै पछि हटेको मैले थाहा पाएको छैन । जतिपल्ट पनि एउटै ठाउँ जाऊँभन्दा ऊ कहिल्यै नाई नास्ती गर्दैनथी । उसलाई निलो आकाशमा बादलका नयाँ–नयाँ ढाँचाहरू नियाल्दै शितल बतासमा सुकेका पात सरह झुल्दै आफ्नो घडीको समय बिताउ ननिकै आनन्दित महसुस हुन्थ्यो । कहिले कोइलीको कुहुकुहुमा त कहिले भङ्गेराको चिरबिरमा मग्न हुने उ त्यही रमाउँदै नयाँ–नयाँ मान्छेसँग पनि छिट्टै झुम्मिन्थी । त्यति मात्र नभएर रातको समयमा घरका सबै सदस्य जम्मा हुनु अगावै ऊ धेरैजसो भने घरको कौशीमा ती चम्किला तारा मै रम्न व्यस्त हुन्थी । जाडो याममा कतिपटक त बुवाले चिसो लाग्छ भनी सम्झाउँदै तल झारे पनि भोलिपल्ट फेरि यसो मौका छोपी त्यही ताराहरूका माझ रम्न ऊ कहिल्यै पछि हट्दिनथी । साथी धेरै भएकै कारण पनि होला, उसमा स्कुल जाने भने पछि बेग्लै स्फुर्ती देखा प¥थ्र्याे । सधँै पहिलो हुने भएका कारण पनि उसले शिक्षकहरूबाट बेग्लै माया, स्नेह पाउने गरेका कहानीहरू ऊ हामीलाई घर आएर सुनाई हाल्थी र हामी माझ पनि स्याबासी पाउने आशा राख्थी । सबैकी प्यारी रीयालाई देखेर कतिपटक त मलाई आफ्नै बहिनी माथि पनि डाहा लाग्ने ग¥थ्यो ।
एक दिनको कुरा हो, बुवा अफिसबाट न्याउरो अनुहार साथ घर फर्कनुभयो । सधैँ घरको चिन्ता घरमै र अफिसको चिन्ता अफिसमा नै भन्ने बुवाको अनुहार मलिन देख्दा मुटु एक्कासी ढुक्क फुलेर आयो । म हस्याङ्फस्याङ्गर्दै बुबाको नजिक पुगें, ‘के भयो, बुवा ?’ भनी प्रश्न गर्न खोज्दा म आफैँ प्रश्न गर्न असमर्थ रहँें । किन मलाई त्यो दिन त्यति सोध्न समेत असहज लाग्यो, मैले अहिलेसम्म पनि त्यस्को उत्तर फेला पारेकी छैन । हातमा पानी लिएर आउनु भएको आमाले पानी दिदैँ भन्नुभयो ‘हजुरलाई सञ्चो भएन को कसो ?’ त्यो सुनसान माहोलमा सूर्य उदाय सरह सन्नाटा फुटाइदिनु भयो । दिक्क मान्दै, ‘के भन्नु खोइ ! देशमा त्यो घातक कोरोना भन्ने रोग दिनहुँ दिन झन् बढ्दो छ रे । आफू फेरि आफैं अस्पतालमा काम गर्ने मान्छे परियो, त्रासै त्रास बाहेक केही छैन । कुन दिन हामी चारै जना एकै ठाउँमा पोको पर्नु पो पर्ने हो कि ।’ भन्दै बुबा पानी पिउन लाग्नु भयो । बुबाको त्यो अन्तिम वाक्यले त मेरो आँतै जिरिङ् पो बनाई दियो । तर आमा भने ‘यति सारो चिन्ता पनि नलिनुस् न हजुर । सरकार अब छिट्टै लकडाउन गर्ने कुरा गर्दैछ, हराउँछ क्या जाबा यस्ता रोगहरू ! केहि गर्न सक्दैन हामी जस्ता ढिँडो खाएर हुर्केकालाई त्यस्ता तुच्छ विदेशी रोगले ।’ इत्यादि भन्दै सान्त्वना दिदै हुनुहुन्थ्यो । त्यो रात मलाई बुबाको चिन्तित अनुहार सम्झेर, त्यही त्रासकै कारण आँखै लागेन केबल मनमा अनगिन्ती कुराहरू खेल्न भने छाडेनन् ।
आमाले भने सरह नै सरकारले केही दिनमै आपत्कालीन लकडाउन घोषणा गरिदियो । जसकारण झन् झन् त्रसित नेपालीको सङ्ख्या बढ्दो थियो । त्रसित ती नेपाली जनता केवल बिहान मात्रै मुखमा माक्स, हातमा पन्जाका साथ देखिन थाले । अस्पतालमा बिरामीको घुइँचो झन् बढ्न थाल्यो । त्यति मात्र नभएर ती बिरामीलाई उपचार गर्ने डाक्टरहरू समेत त्यो रोगको सिकार बन्न बाध्य हुन थाले । मानिसहरू डाक्टर भने पछि मनमा अब अछुत सरह भावना राखी उनीहरूबाट पन्छिन थाले । जसकारण बुबा पनि घरमा हामीबाट टाढा रहन थाल्नु भएको थियो । पक्कै पनि हामीबाट टाढा रहन उहाँलाई हाम्रै माया, स्नेहले नै बाध्य बनाएको थियो । रीया भने बुबासँग गएर यति धेरै कुरा भन्नु छ भनी सधैँ जान जिद्दी गरि रहन्थी । बिडम्वना त तब भयो, जब साँच्चै बुबालाई पनि त्यो निर्दयी रोगले छाडेन । त्यस दिन पछि त झन् घरमा सन्नाटाका साथै त्रास पनि बढ्न थाल्यो । आमा भने हामीलाई कोठा बाहिर समेत आउन दिनु हुँदैन थियो तर आफू भने हरबखत सर्तकता अपनाएर बुबाको हेरचाह मै तल्लीन हुनुहुन्थ्यो ।
एक रात बुवालाई त्यही निर्दयी रोगले साहै्र चापेछ । आमाले बुबालाई हतारिँदै, आत्तिदै अस्पताल तर्फ दौडाउँदा दुई नजिक अस्पतालले ठाउँ नभएको भनी फर्काए छन् । धन्न, एक अस्पतालमा हतार हतार पु¥याउँदा बुवाको अवस्था निकै नाजुक भइसकेको थाहा पाएर उपचार सुरु गर्न लाग्दा ठिक त्यही समयमा बुवाले संसार छोड्न पुग्नु भएको रहेछ । हामीले आफ्नै बुबाको अनुहार केवल एक अन्तिम पटक भनेर कहिले हेर्न पनि पाएनौ । बहिनी सानै भएकाले उसलाई यसको खबर दिइएन तर उसको बुबालाई हेर्न तड्पिएको आँखाको जिद्दीपन भने पछि हटेको थिएन । काजक्रिया गर्नका लागि हाम्रा जेठा काका सेतो धोती बेरेर चाहिने सर्दम मिलाउनैमा व्यस्त हुनु हुन्थ्यो । आमा सधँै छोरोको कमी महसुस गर्नुको एक कारण आजैका दिनका लागि पनि होला । कस्तो परम्परा है हाम्रो, त्यही कोखबाट जन्मिएको छोरोले भने सबै काजक्रिया गर्न हुने तर एउटै गर्भबाट जन्मिएकी छोरीले भने त्यो कामबाट सरासर पन्छिनु पर्ने । के गल्ती थियो र बिचरा त्यो शिशुको जसले आफ्नो आमाबुबाको अन्तिम कार्य समेत गर्न नपाउने भएर जन्मनलाई ?
एक दुई दिन पो कुरा लुकाउन सकिन्छ त, त्यसपछि त साँचो कुरो कति दिन पेटमा रहोस् । बिस्तारै खेलाई बुझाइ रीयालाई अब बुवा कहिल्यै फर्केर आउनु हुन्न भन्दा उसलाई पत्याउन निकै गाह्रो भयो । हुन पनि अब उसका ती बुबालाई भन्छु भनेर डायरीमा टिपेर राखेका ती घटनाहरू अब कसलाई सुनाउने भनेर मनमा चिन्ता लाग्यो होला । अब कसले अफिसबाट आउँदा मायाले अँगालो हालेर ठूला–ठूला चकलेट दिएर काखमा राखी मिठा–मिठा गफ गर्छ भन्ने सोच पनि आयो होला । अब म र ऊ बिच झगडा पर्दा कसले आएर मेरी प्यारी सानीको केही गल्ती छैन है भनेर कुरा मिलाई दिन्छ होला भन्ने कुराले पक्कै उसको मनमा चसक्क हान्यो होला । हामीले त्यति भनेपछि उसका आँशुका धारा त बर्खामा पर्ने पानी जसरी दिनरात लगातार झरिरह्यो । उसलाई लाग्यो होला, मेरो बुबाले मलाई यसरी एक्लै छाडेर त कहिल्यै कतै जानु हुदैनथ्यो तर झन् कहिल्यै नफर्कने गरेर एक्लै पो जानु भएछ । हरेक दिन रात ऊ बुबाको फोटो अँगालेर सुकसुक गरेर बसेको मेरो कोठासम्म सुनिन्छ । बुबा अफिसबाट आउने समयमा झन बढी न्यास्रो लाग्नु पनि स्वभाविक नै हो ।
अहिले बुबाले हामीलाई छाडेर जानु भएको पनि लगभग दुई वर्ष पुग्यो र रीया राम्रोसँग नबोलेको पनि । ऊ स्कुल नगएको लगभग ८–९ महिना पनि पुग्न लाग्यो । कहिले कोठाबाट चिच्चाएको आवाज आउँछ त कहिले बुबा भन्दै रोएको । खाना खान निस्कँदा पनि उसको झगडा सुरु भई हाल्छ । कहिले आमालाई भुताल्न पुग्छे त कहिले सराप्न । एक महिना जति अघि त झन्, आमालाई, ‘तैले नै हो मलाई मेरो बुबाबाट टाढा बनाएको । आफू मात्रै बुबासँग जान्थिस्, मलाई मेरो बुबा फिर्ता दे !’ भन्दै कोठाबाट बाहिर निस्कँदा त हामी सबै अचम्ममा परेका थियौँ । उसले कहिले कसो बाहिर निस्केर खाना खादाँ पनि आमाको मुहार चम्किलो हुन्छ । उसलाई डाक्टरलाई नदेखाएको पनि होइन, पहिले पहिले आफैं डाक्टर कहाँ जान्थी तर अहिले डाक्टरलाई घरमै बोलाउँदा समेत ऊ ढोका खोल्न आनाकानी गर्छे । राती कहिल्यै उसलाई निद्रा नपर्नाले सधै त्यही सिल्पिङ पिल खाएर सुत्न ऊ बाध्य हुन्छे ।
छदाँ पनि केही रहेनछ, यो रोगको त झन् उपाय पनि । उसले अझै पनि कतै केही बुवाको बारेमा देखी भने एक्कासी उसको शरीर आफैं काप्न थाल्छ, मुखबाट आएको थुकको फिँजले एक जग भरिन पुग्छ । कति सुखी परिवारबाट, कस्तो नरक भयो यो परिवार भन्दै आमा दिनहुँ दिन आफूलाई नै धिकार्नु हुन्छ । यो निर्दयी कोरोनाले एक सदस्य त खोसी लग्यो अनि भर्खर फक्रन लागेकी मेरी कोपिला सरहकी बहिनीलाई झन् भयानक रोगको सिकार हुन बाध्य बनाई दियो । कुनै दिन रातको उसलाई केही पर्वाह छैन, केवल पर्वाह छ त बुबा फर्की आउने त्यो रातको । कहिलेकाहिँ यसो सोच्दा त मन भक्कानिएर आउँछ, बुबासँग हाँसी खुशी बस्न नपाएको त लगभग दुई वर्ष भयो । त्यसका साथै मेरी त्यति रसिली बहिनीसँग खुलेर नहाँसेको, सगँै बसेर गफ नगरेको समेत झण्डै २ वर्ष पो पुगि सकेछ । अब फेरि कहिले आउँलान ती मेरी बहिनीसँग हाँस्दै, रमाउँदै बिताउने दिनहरू ।
आर्या कोइराला
बूढानिलकण्ठ स्कूल, कक्षा १२









