2026 June 13/ 04:46: 04pm

    हरेक आमालाई उसको बच्चाको सबैभन्दा धेरै माया हुन्छ । बच्चाका लागि उसले आफ्नो ज्यान पनि दिन तयार हुन्छे । कहिलेकाँहि त्यति धेरै माया गर्दा गर्दै बच्चाहरुले अन्जानमा गर्ने गल्तिका कारण जीवनभर दुःख पाईरहेका हुन्छन् । स्वयम् आमाहरुले त दुःख पाउँछन् नै त्यो भन्दा धेरै बच्चाहरुले पाईरहेका हुन्छन् । माथिका धेरै विषयमा मैले किन बताएँ भने म त्यस्ति आमा हुँ जसले चाँहदा चाहँदै एउटा बच्चालाई बचाउन सकिनँ । दोश्रो बच्चालाई पनि त्यस्तै अवस्था देखियो । भगवानले पनि कहिलेकाँहि कसरी परीक्षा लिन्छन थाहा नै नहुने । कम्तिमा मोरातीको स्तम्भ मार्फत आफ्ना भोगाईहरु राख्ने अवसर मिल्यो । यसले आगामी दिनमा अरु बच्चा र बच्चाका आमाहरु सचेत रहन सकुन् । 
    बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन सक्दैनन् । उनीहरूलार्ई खेल खेल्न र सिक्नका लागि प्रशस्त ठाउँ चाहिन्छ । उनीहरू वरिपरीको वातावरणको खोजी गर्न इच्छुक हुन्छन् । खोजी गर्ने क्रममा उनीहरू जोखिममा पर्न सक्छन् । उनीहरूले कुनैपनि क्रियाकलाप, जस्तै, खेल खेलेर के कस्तो नतिजा होला भन्ने अनुमान गर्न सक्दैनन् । त्यसैले बालबालिकालाई उनीहरूको उमेर, रुची, क्षमता, स्वभाव र अवस्था बुझेर वातावरण तयार गर्नुपर्दछ । असुरक्षित वातावरण तथा संरक्षणको अभावका कारण बालबालिका दुर्घटनामा पर्ने सम्भावना हुन्छ । 
    दुर्घटना भन्नाले मानवीय वा प्राकृतिक परिस्थितिले अकस्मात र अकल्पनीय रूपमा हुने हानिकारक स्थिति हो । दुर्घटना कुनै पनि समयमा हुन सक्छ । दुर्घटना कहाँ कहिले हुन्छ पहिले नै थाहा पाउन सकिन्न । तर बालबालिकाको अवस्था, घर, खेल्ने, सिक्ने वातावरण हेरेर दुर्घटनाको अनुमान लगाउन सकिन्छ । उनीहरूको उमेर र वृद्धि विकास सुहाउँदो सुरक्षित वातावरणको अभावमा बालबालिका दुर्घटनामा परेका धेरै उदाहरणहरू पाइन्छन् । जस्तै, लडेर घाउचोट लाग्नु, आगोले पोलिनु, सवारी दुर्घटनामा पर्नु, जनावरले टोक्नु, पानीमा डुब्नु, बगाउनु, आदि । उनीहरूलाई आफ्नो क्रियाकलापको परिणाम थाहा नहुनाले दौडदाँ, उफ्रँदा र अन्य कारणले दुर्घटनामा पर्छन् । दुर्घटनाको कारणले उनीहरूमा चोट लाग्ने, हड्डी भाँच्चिने, अपाङ्गता र ज्यानसमेत जाने हुनाले यस्तो हुनबाट बचाउनुपर्दछ ।
    बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् । यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक–बाटोहरू निर्माण गर्नेतर्फ विचार पु¥याउनु अति नै आवश्यक छ । बालबालिकाको दुर्घटनाले निम्त्याउने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्वको विषयमा छलफल गर्ने गरेमा घाईतेको औषधी उपचार खर्चमा कटौंती गर्न सकिन्छ भने बालस्वास्थ्य प्रबद्र्धनमा पनि प्रत्यक्ष मद्दत पुग्दछ । बालबालिकालाई विभिन्न दुर्घटनाबाट बचाउनुपर्छ । साना शिशुहरूलाई सही तरिकाले बोक्नुपर्छ । समातेर हिंँड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्झेर नलड्ने गरी होस पु¥याउनुपर्छ । भ¥याङबाट ओर्लदा बार समातेर मात्र ओर्लनुपर्छ । ठुला बालबालिकालाई बोक्न दिँदा पनि ध्यान पु¥याउनुपर्छ । शिशुलाई आफूसँगै सुताउँदा निन्द्रामा आफ्नै शरीरले थिच्ने, कुल्चिने हुन सक्छ । एक्लै छाड्दा विभिन्न किरा तथा जनावरहरूले टोक्न र चिथोर्नबाट बचाउनुपर्दछ । विस्तारै हात र खुट्टा प्रयोग गर्ने भएपछि पल्टिन सक्ने हुन्छन् । यस्तो बेला खाटमा राख्ने बेला एकदम होस गर्नुपर्दछ । नभए खाटबाटै तल झर्न सक्छन तातोपानीले नुहाई दिंदा पानी कति तातो छ जाँचेर मात्र नुहाइदिनुपर्छ । आगो बालेको वा खाना पकाउने ठाउँमा बालबालिकालाई सुताउने वा खेलाउने गर्नु हुँदैन । यसले शिशु निसासिन सक्छ । साथै बामे सर्न थालेका शिशुले आगो छुन पनि सक्छन् ।
    खुला भाँडोमा पानी भरिएको छ त्यसलाई सधैँ छोपेर राख्नुपर्छ । नेपालमा शिशु र बालबालिकाको दुर्घटनामा डुब्ने दुर्घटना बढी छ । बालबालिका बामे सर्ने भएपछि घरबाहिर पुग्ने, सामानहरू मुखमा राख्ने गर्ने हुनाले विशेष ध्यान आवश्यक हुन्छ । उनीहरूलाई एक्लै छोड्नु हुँदैन ।
मेच, टेबुल, खाटमा उभिन र लड्न सक्छन् । भ¥याङ नजिक वा अग्लो स्थानमा एक्लै छाड्दा उक्लेर वा चढेर त्यहीँबाट लड्न सक्छन् । छेकबार नलगाएको कौसी वा अन्य अग्लो स्थानमा एक्लै छोड्नु हुँदैन ।  चपाउन नसकिने वा नघुल्ने खाना र बिउहरू साना बालबालिकालाई दिनु हुँदैन । टाँक, सिक्का, सिसीका बिर्काे साना ढुङ्गा, माटो र मानव शरीरका लागि अन्य हानिकारक वस्तु बालबालिकालाई मुखमा हाल्न दिनु हुँदैन । नुहाउने बेलामा चिप्लन सक्ने हुनाले नुहाउने ठाउँलाई सुरक्षित बनाइदिनु पर्छ पोल्नबाट जोगाउन विद्युतीय पङ्खा, हिटर चुल्हो, अगेना, ग्याँस चुल्हो, सलाई, लाईटर आदि साना बालबालिकाले नभेट्ने गरी राख्नु पर्दछ । करेन्ट लाग्न सक्ने विद्युत प्लग तथा तारबाट टाढा राख्नुपर्दछ । सिँढी, खाट, कुर्सी, टेबुल, झ्याल, पर्खाल र रुखबाट नलडून् भन्नाका लागि बालबालिकालाई रेखदेख गर्नुपर्दछ । घाउचोट हुनबाट जोगाउन काँचका सामान, तिखा वस्तु, धारिला हतियार, चक्कु, हँसिया बालबालिकाले नभेट्ने ठाउँमा बन्द गरेर राख्नुपर्छ । औषधी, मुसा साङ्ला तथा किरामार्ने विषादी, बोटबिरुवाका कीटनाशक विषादी, मट्टितेल, पेट्रोल र यस्तै अन्य हानिकारक वस्तुहरू बालबालिकाको पहुँचभन्दा बाहिर राख्नुपर्दछ ।
    बालबालिकालाई खोला, ताल, पोखरी, आहालमा डुब्नबाट जोगाउनुपर्दछ । बालबालिकालाई वस्तु, ठाउँ, जीव आदिबाट हुन सक्ने जोखिम, दुर्घटना बारे कथा तथा चित्रको माध्यमबाट सचेत गराउनुपर्दछ । बालबालिकालाई सुरक्षित भई सडकमा हिँड्न, बाटो काट्न, गाडीमा चढ्न र ओर्लन सिकाउनुपर्दछ । साथीहरूसँग जथाभावी पौडी खेल्ने, गाडीको पछाडि दौडिने गर्नुहुँदैन, जे पायो त्यही औषधीहरू खानुहुँदैन भनेर सिकाउनुपर्छ । सुरक्षा हुने गरी गाडी खच्चर, ठेला नहिँड्ने तिर बालबालिकालाई आफ्नो दाहिनेतिर सडक छ भने देब्रेतिर राखेर हिड्नुपर्दछ । यसैगरी खतराको सङ्केत खप्पर र दुईटा हातका हड्डीबारे पनि सतर्क गराउनुपर्छ । बालबालिकासँगै बाटोमा हिँड्दा उनीहरूलाई ट्राफिक बत्ती भएको बाटोमा रातोमा रोक्नुस्, पहेंलोमा तयार हुनुस्, हरियोमा जानुहोस्को सङ्केतबारे सिकाउनुपर्छ । दुर्घटनामा परेका बालबालिकालाई प्राथमिक स्याहार र उपचार, तातो पानी, आगो र खरानी, ग्याँसले पोलेको बालबालिकालाई पोलेको भाग चिसो पानीमा डुबाई दिनुपर्दछ । सफा नरम कपडाले छोपेर तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्दछ । धारिलो हतियार, चक्कु हँसिया, खुर्पा आदिले काटिएर रगत बगेको भागमा १ देखि २ मिनेट थिचिराख्नुपर्दछ र स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्दछ । लडेर, खसेर या अरू कारणले हात खुट्टा भाँचिएको शङ्का लागेमा सो भागलाई सफा कपडा र काम्रोको सहारा दिएर अड्याउनुपर्दछ । एक्सरे जाँच गरी उपयुक्त उपचार गर्न अस्पताल लानुपर्दछ । विषादी, मटितेल, झोल औषधी, साबुन खाएका बालबालिकालाई केही पनि नखुवाई अस्पताल लगी तुरुन्त उपचार गर्नुपर्दछ ।
    मेरो तीन वर्षको बच्चाको श्वासनलीको माथिल्लो भागमा अड्किएको चार सेन्टिमिटरको पेन्सिल धुलिखेल अस्पतालका चिकित्सकहरुको सफल शल्यक्रिया पछि निकालिएको छ । मेरा तीन वर्षिय छोरा प्रयत्नले गृहकार्य गर्ने क्रममा सिसाकलम निलेका थिए । तत्कालै अस्पताल पु¥याएर थाहा भयो मेरो जस्ता थुप्रै बच्चाहरुको समस्या रहेछ । सिन्धुली हरिहरपुरगढी गाउँपालिका घर भएका  ५ बर्षिय बालकले सोलारको ब्याट्रीमा राख्ने एसिड प्रकारको लिक्विड पिए । प्रयन्न प्ले ग्रुपमा अध्ययन गर्न थालेको एक वर्ष भयो । प्रयत्नका ७ बर्षिय दाजु कक्षा १ मा अध्ययन गर्छन् । दुवै सन्तान गृहकार्य गरिरहेका थिए । एक्कासी प्रयत्न मुर्छा प¥यो । दाजुले हातमा लिएको पेन्सिल प्रयत्नले मुखमा हालिरहेको रहेछ । मुखमा राखिरहेको पेन्सिल निले पछि मात्रै थाहा भयो । पेन्सिल नदेखे पछि निल्यो कि भन्ने शंका लागेर बच्चालाई अस्पताल दौडायौं । चार सेमि लामो पेन्सिल निलेका प्रयत्नलाई तत्कालै उपचारका लागि धुलिखेल ल्याईयो । धुलिखेल अस्पतालको इमरजेन्सी विभागमा बच्चाको उपचार शुरु भए पछि घाँटीको श्वास फेर्ने नलीको माथिल्लो भागमा पेन्सिल अड्किएको भेटियो । रिजिड ब्रन्कोस्कोपीको माध्यमबाट बच्चाको अड्किएको पेन्सिल निकाल्न सफल भयौं । विहान ७ बज्दै थियो । बच्चाहरु खाजा खाएर गृहकार्य गरिरहेका थिए । हामी दुबै जना घरकै काममा ब्यस्त थियौं, प्रयत्न मुर्छा परेर रोयो । बच्चालाई तत्कालै अस्पताल ल्यायौं तर पेन्सिल अड्किएको थाहा पाए सँगै हामी दुबैजना अचेत जस्तै भएछौं । बच्चालाई बचाउन सकिएला जस्तो लागेको थिएन । धुलिखेल अस्पताल र डाक्टरहरुको अथक मेहनतले बच्चाले पुर्नजिवन प्राप्त ग¥यो । बच्चालाई अप्रेसनका लागि तयारी गरिएको आधा घण्टामै पेन्सिल निकाल्न सकियो । श्वास नलीमा भएकाले बच्चालाई खतरा थियो । चुनौतीका बीच सिसाकलम निकाल्न सफल भयौं । चिकित्सकीय अनुभवका आधारमा यो ठुलो आपत्कालीन थियो । बच्चाहरुले बदामको गेडा तथा अन्य बस्तुहरु नाक, कान र घाँटीमा अड्काएर आउने गरेको भए पनि पेन्सिल अड्काएर आएको यो पहिलो थियो ।
    बच्चालाई अक्सिजन पु¥याई राख्न, ब्लड प्रेसर तथा मुटुको धड्कन कायम राख्न चुनौती रहेको बताउनु भयो । एउटै स्थानबाट अड्किएको पेन्सिल निकाल्नु पर्ने र सोहि स्थानबाट अक्सिजनको मात्रा कायम राख्नु चुनौती थियो । पाईप मुखबाट पठाउने बेला चलाउन नसकोस् भनेर बच्चालाई बेहोस् जस्तै बनाईएको हुन्छ । पाईपसँगै अक्सिजन पठाउन, बच्चाले खाई सकेकाले वान्ता गर्दा समेत खतरा नहुने गरी सचेततापूर्ण ढंगले सफलतापूर्वक पेन्सिल निकाल्न सफल भईयो । प्रयत्नले पनि वान्ता गरे तर त्यसले असर पु¥याउन पाएन । पेन्सिल निकालिए पछि थप संकट हुन नदिन आईसियुमा ५ दिन राखिएको थियो । प्रयत्नलाई निमोनिया लगायतका अन्य समस्याबाट रोक्न पेन्सिल निकाले पछिको अवस्थामा ध्यान दिईएको थियो । केहि दिनको उपचार पछि उनी डिस्चार्ज भए । प्रयत्न जस्तै थुप्रै बालबालिकाहरु यस्तो संकटमा छन् । 
    १० वर्ष मुनिका बालबालिकाहरुको रेखदेखमा अभिभावकले ख्याल नपु¥याउँदा स्वास्थ्यलाई हानी हुने वस्तुका कारण बालबालिकाहरु संकटमा पर्न थालेका छन् । पछिल्लो १५ दिनको अवधीमा धुलिखेल अस्पतालमा संकटमा परेका चार बच्चाको उपचार भईरहेको छ । अभिभावकको लार्पवाहीका कारण जोखिममा परेका बालबालिकहरु उपचारका लागि आए पनि सबैको उपचार सम्भव छैन । १० वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुको रेखदेखमा अभिभावकहरुले चासो नदेखाएको भन्दै माथीका विषयमा ख्याल गर्न हामीलाई बालरोग विशेषज्ञ डा.श्रृजना डंगोलले सिकाउनु भयो । बच्चाहरुले खान नहुने बस्तुहरुलाई उनिहरुले नभेट्टाउने स्थानमा राख्ने र नाक, कान तथा घाँटीमा अड्काउने खालका बस्तुहरु नदिने, बच्चाहरुको रेखदेखमा सकेसम्म ध्यान दिन सकिए बच्चाहरुलाई खतराबाट मुक्त गराउन सकिने छ । पहिलो बच्चा दुर्घटनामा वितेको र दोश्रो बच्चाको पनि त्यस्तो दुर्घटना भए पछि बचाउन नसकिएला कि ? भन्ने चिन्ताले धेरै दिन खाना खान सकिएन । तर पनि भगवानले हात थापेकाले डाक्टरहरुको सफल उपचार पछि बच्चा अहिले स्वस्थ छ । तर मलाई हरेक दिन हुने यस्ता सानातिना घटनाका कारण बालबालिकाहरु दुर्घटनामा पर्न सक्ने कुराले सताई रहन्छ । कतै न कतैबाट सचेत गराउने हामी जस्ता सचेत आमाहरुको भूमिका पनि हुन सक्छ कि ? भन्ने सोचेर यो स्तम्भलाई रोजें । तपाईहरु पनि मेरो जस्तो समस्याबाट गुज्रन सक्नुहन्छ ? ख्याल पु¥याउँदा जोगाउन सकिएला कि ? 

पुष्पाञ्जली श्रेष्ठ
बनेपा, काभ्रे