११ वर्षको मात्रै थिएँ आमाको देहान्त हुँदा । आमाले जाने बेला मलाई अंगालो हालेर भन्नु भएको थियो छोरी भाई बहिनीले आमा नभएको अनुभुति गर्न नपाउन् । बाबुले त श्रीमतीको चाहना पुरा गर्न अर्काे विवाह गर्न सक्छन् तर छोराछोरीले चाहेर पनि अर्काे आमाको अनुभुति गर्न सक्दैनन् । मनमा चसक्क घोच्यो । आमाले किन यसो भन्दै छिन् ? साँच्चै आमाले हामीलाई छाडेर गईन् भने त्यस पछिको संसार वा परिवार कस्तो होला ? हरेक वर्ष पेटमा बच्चा बोकेरै भए पनि जन्मेका बच्चाहरुको मुखमा चारो राख्नु पर्ने, पेट भित्र भएको बच्चाका लागि आवश्यक चिजका लागि आफुले पनि खानै पर्ने बाध्यताको उपज भित्र आमा गुज्रिएकी थिइन् । घरमा पोषिलो खानेकुरा थिएन । बाबुको दैनिक रक्सि खाने बानी पनि थियाेंं । रक्सीको सुरमा आमाले मेशिन जस्तै बच्चा जन्माउनु पर्ने, जन्मिएका बच्चाहरुको स्याहार सुसार भन्दा पनि उनको शारिरीक आवश्यकता पुरा गर्नु पर्ने बाध्यताले आमाको अवस्था नाजुक भएको थियो । कम उमेरमा हरेक वर्ष बच्चा जन्मने भए पछि आमाले एकदिन गर्भ तुहाउने प्रयास पनि गर्नु भएको रहेछ । महिलाहरुले त्यसको पाप बोक्नु पर्ने भन्दै तर्साएछन् । आखिर आमाले त्यहि धेरै सन्तान जन्माउनुको पाप उमेरमै मृत्युको मुखमा पुग्नु प¥यो । धर्म गरिस् धेरै सन्तान जन्माएर भन्ने त कसैले भनेनन् ।
सम्झँदा आँशु मात्रै आउँछ । भनौ कसलाई ? नभनौ कसरी ? मन भित्र परेको दुःखको पोको विसाउने चौतारी छैन । मान्छेलाई दुःखका बारेमा भन्यो एउटा कानले सुन्यो अर्काे कानले उडाइदिँदो रहेछ । अझ उसले त्यहि कमजोरी र दुःखमा स्वार्थ पूरा गर्दाे रहेछ । आमा वितेको केहि वर्षमै बुबाले अर्काे श्रीमती ल्याउनु भयो । हाम्रो रेखदेखका लागि भन्दै ल्याउनुभएको अर्की आमाले हामीलाई माया होइन यातना दिन थाल्नु भयो । भाई र दुई बहिनीको ज्वरोका कारण ३÷३ वर्ष नहुँदै निधन भयो । सन्तान जन्मने र मर्ने कुरा सामान्य रहेछ । हजुरबुबा र हजुरआमा भिन्नै हुनुहुन्थ्यो । बुबा पहिले भारतको कलकतामा भाँडा माँझ्ने काम गर्नुहुँदो रहेछ । त्यहाँ केहि समय वसेर फर्किए पछि उहाँमा आएको परिवर्तनले एक्लै बस्न थाल्नु भएको रहेछ । काका काकीहरुको आफ्नै संसार थियो । दुई सन्तान मात्रै थिए । उनिहरुको सुखी परिवारको कल्पना समेत गर्न सकिदैन । जहाँ गहिरो त्यहाँ पानी भने जस्तै पीडै पीडा भएको परिवारमा सन्तानको धेरै जन्म हुनु, जन्मिएका सन्तानहरुको भटाभट मृत्यु हुनु अझ आमा नै नुहनुको परिस्थिती कस्तो रह्यो होला । संसारमा जति बाबु वितेपनि आमाले आफ्ना सन्तानलाई हुर्काउने प्रयास गर्दि रहिछन् । तर आमा विनाको परिवार साँच्चै भुतको बंगाला हुने रहेछ । बाबुले आफ्नो सुखभोगका लागि छोराछोरीका लागि भन्दै ल्याएको दोश्र्रो आमाको ममतामयी यातनाले मान्छे मान्छे होइन अरु कुनै जातको रुपमा चिनिदो रहेछ । आमा बाबुकै हेलाँ, यातना शुरु भए पछि भाई बहिनी लिएर मामाघर बस्न थालें । क ख सिक्ने रहर मात्रै भयो । गाउँमा विद्यालय भए पनि कसले पढाउने ? पछि भाई र बहिनी त प्राथमिक तहको अध्ययन समेत गर्ने अवस्थामा रहे । क ख सिक्ने अवसर पनि भएन ।
गाउँमा पढाई पनि छैन, काम पनि छैन । खान पनि राम्रो सँग नहुने भएपछि आफन्तले मलाई काम गर्ने सिलसिलामा काठमाडौमा ल्याइदिए । त्यहाँ घरको काम गर्नुपर्ने थियो । विहान उठेर सरसफाई देखि भाँडा माझ्ने र कपडा धुने, बेलुका पनि त्यस्तै । सायद त्यो घरका ब्यक्तिहरु कुनै सरकारी अफिसमा काम गर्दथे । खाना पकाउने मान्छे छुट्टै थियो । मैले उसले अह्राएको काम गर्नु पर्दथ्यो । त्यहाँ आनन्द के भयो भने टन्न खान र लगाउन पाइयो । मिठो मसिनो पत्तो भएन । एक पेट पुरै खान पाएको दिन साँच्चै आनन्दको जीवन चाँहि त्यहि रहेछ कि भन्ने भयो । त्यहाँ मैले घरको धेरै काम सिकें । धेरै मान्छेसँग बोल्ने र गर्ने ब्यवहारका बारेमा पनि जानकारी पाएँ । त्यो घरका परिवारका सदस्यहरु साँच्चै मेरा लागि भगवान थिए । उनिहरुको माया र सद्भावले म तीन वर्ष निरन्तर त्यहि काम गरें । मासिक दिने एक हजार मैले भाइ बहिनीका लागि खर्च गर्न थालें । दशंै र तिहार जस्ता पर्वहरुमा मलाई घरमा भन्दा आफै सँग राखेर रमाउँथ्यो त्यो परिवार । मायामा स्वार्थ पनि लुकेको थियो होला । धेरै पाहुना हुन्थे भाँडा माझ्न अर्काे मान्छे पनि थिएन । तर उनिहरुको बोलीमा कहिल्यै त्यस्तो देखिएन । भन्थे वर्षभरी दुःख गर्ने अनि मिठो खाने र राम्रो लगाउने बेला छुट्टिएर जाने कुरा राम्रो होइन । त्यसैले तिमी अरु बेला घर जाउ तर चाडवाडमा कतै नजाउ । म मख्ख पर्दथें । संसारमा जन्म दिने बाबु आमाले पनि त्यति धेरै माया दिन सकेका थिएनन् । बाबु आमा भन्दा धेरै माया दिने संसारका त्यस्ता ब्यक्तिलाई कुन दर्जामा राख्न सकिन्छ मलाई पत्तो छैन ? मैले त्यहि घरमा क ख मात्रै सिकिन । विद्यालय स्तरको कक्षा ५ को प्रमाणपत्र समेत पाएँ । तीन वर्षको वीचमा मेरो प्रगति त्यो पनि महत्वपुर्ण थियो । समयले मान्छेलाई कता पु¥याउँदो रहेछ ।
खान र लाउन नपाउने मान्छेले त्यो सुख सुविधा पाउँदा मात्तिन पुगेछु । उमेरले पनि होला । १५ वर्षको भएको थिएँ । ज्यान सर्लक्क परेको थियो । त्यहि समयलाई चिन्न नसक्दा मैले आफ्नो बालापनको उत्ताउलोपना देखाएँ । घरबेटीका छोराले मेरो उत्ताउलोपनाका कारण त्यो घरबाट म निकालिँए । मेरो र उनको लुकेर भएको सम्वन्ध बारेमा कसैलाई केहि भनिनँ । मेरो कमजोरीमा उनलाई किन दुःख दिनु ? त्यहाँबाट मैले निकाले पछि चिनजानका आधारमा सरकारी कार्यालयमा सहयोगीका रुपमा अवसर प्रदान गरियो । मासिक तीन हजारको तलवले मेरो पेट भरिन छाड्यो । डेरा लिएर बस्नु भन्दा अफिसकै कोठामा सुत्दा पैसा पर्दैन थियो । मेरो मनले पैसा मात्रै खोज्न थालेको थिएन । विस्तारै अन्य ब्यक्तिहरुसँग सम्वन्ध शुरु भयो । भन्ने, कराउने, गाली गर्ने ब्यक्ति कोहि नभएकाले मैले गलत बाटो लिन थालेको महसुस हुन थालेको थियो । सबैको प्यारो बन्न थालें । पैसाको समस्या भएन । कार्यालयमा जिम्मेवारी थप भयो । मेरो दिनचर्या परिवर्तन भयो । म राम्री भएकाले मलाई काठमाडौको डान्स बारमा लगियो । त्यस्तै साथीहरुको संगतमा म परेँ । त्यहाँ अनेक खालका केटाहरुले मसँग शारिरीक सम्पर्कको प्रस्ताव राखे । शरीर बेचेर जीवन धान्ने योजनाले ब्यापकता पायो ।
डान्स बारमा जाने सबै युवतीहरु म जस्ता पनि हुन्नन् । छैनन् पनि । तर म सानै देखि गलत बाटोमा लागेकाले त्यतातर्फ फसें । आमा नभएकै कारण, बाबुले अर्काे श्रीमती विवाह गरेर हामीलाई हेँला गरेका कारण म त्यो बाटोमा फसें । अरु सन्तान त्यस्ता छैनन् । एउटा सन्तान गलत बाटोमा लाग्दा उसले भोग्नु पर्ने अवस्था कस्तो हुन्छ भन्ने म उदाहरण मात्रै हुँ । डान्स रेष्टुरेन्टको नर्तकी भएँ । जीवनशैली पुरै परिवर्तन भयो । यता भाई बहिनी अध्ययन गर्दै थिए । बहिनी काठमाडौ बस्ने कुरा गरिन् । मैले नलैजान अनेक प्रयास गरें । रहरै रहरमा फसेको मेरो नर्क जस्तो जीवनशैलीका बारेमा उनलाई भन्न मन थिएन । प्यारो परिवारबाट छुट्टिएर बस्नु परेको अवस्था र सरकारी जागिर छाडेर विग्रिएको मतिका बारेमा सुनाउन मन थिएन । गाउँमा बस्दै नबस्ने भने पछि उसको पनि त म बाहेक को नै थियो र । विस्तारै बहिनीले मेरो कामका बारेमा थाहा पाइन् । उनि पनि त्यहि रेष्टुरेन्टमा डान्सका लागि जान थालिन् । शुरुमा अलि अलि सिकाउँथ्यो । त्यहि क्रममा उनिहरुले बोल्ने शब्द र गर्ने ब्यवहार नै तल्लो स्तरको हुन्थ्यो । त्यहाँ कुनै सम्मान थिएन । नारीहरु भनेका सबै शारिरीक सम्वन्धका लागि मात्रै जन्मिएका हुन् भन्ने सोचाई थियो । त्यहाँ जाने र काममा लगाउने पुरुषहरुले घरमा भएका आमा र दिदी बहिनी विर्सन पुग्थे । तर पनि एउटा पेशा थियो नगरी खानै पाइदैन थियो ।
काठमाडौबाट हामी सुर्यविनायक बस्न थाल्यौं । दिदी बहिनी दुवैले एउटा घरको पुरै फ्ल्याट लिएर बसेका थियौं । पटक पटक प्रहरीको कस्टडीमा पनि पुग्यौं । त्यहिबाट हामी ग्राहकहरुसँग बार्गेनिङ्ग गरिरहेका हुन्थ्यौं । कोहि केटाहरुको त कामै त्यहि मात्र हुन्थ्यो । कोहि हामीलाई मिलाई दिए बापत कसिसन लिएर बाँच्ने पनि थिए । त्यहि क्रममा एउटा केटाले मसँग विवाहको प्रस्ताव ग¥यो । जो अलि बढि मसँग सम्पर्कमा थियो । उसको पहिलाको श्रीमतीले छाडेर गएको र एक्लो भएको महसुस भएकाले दुवै पहिलो नभएकाले विवाह गरौ र दुवैको बाँकी जिन्दगी हाँसेरै विताऔ भन्ने थियो । मैले पनि एक दिन आखिर साथी त चाहिन्छ नै किन नगर्ने त ? भन्ने निर्णयमा पुगें । उ गाडी चलाउने काम गर्दथ्यो । विवाह पछि उसले बहिनीलाई पनि त्यस्तो काम छाडेर विवाह गर्न सल्लाह दिन्थ्यो । हामीबाट एउटा सन्तानको पनि जन्म भयो । विवाह पछि पनि म उसको आँखा छलि छलि ग्राहकहरुको सन्तुष्ट मेटाइदिन्थे । उसले पैसाको अभाव होइन अब ज्यान सुरक्षित राख्नुपर्छ भन्थ्यो । उ पनि राम्रै पैसा कमाउँथ्यो । कमाएको पैसा त्यस्तै काममा सक्ने रहेछ । विवाह पछि हामीले ३ लाख जति बचत पनि गरेका थियौं । घडेरी किन्ने सुरसार हुँदा हुँदै उसले विदेश जाने कुरा ग¥यो । मैले स्विकृत दिएँ । त्यहि बचतको रकमले उ विदेश गयो । म यता विरामी परें । अन्ततः मलाई एचआईभी भएछ । लामो समय विरामी भएपछि टेकु अस्पतालले मलाई संक्रमित भएको पुष्टि ग¥यो । एचआईभी विरुद्धको औषधी नियमित सेवनका कारण ठिक हुँदै गयो । संसार भासिएको महसुस भयो । तर पनि बाँच्न मन लाग्यो । मर्न सकिएन ।
त्यो कुरा मैले उसलाई सुनाउन सकिन । करिव २ वर्ष विदेश गएर उ स्वदेश फर्कियो । उसले ५ लाख जति कमाएर पठाएको थियो । मैले उसले विदेशमा कमाएको रकम एक पैसा पनि खर्च गरिनँ । उसले तिमी निको हौ पैसा ठुलो कुरा होइन भन्थ्यो । तर मलाई कहिल्यै निको नहुने रोग लागेको उसलाई पत्तै थिएन । छोरीमा संक्रमित थिएन । त्यसपछि म सामाजिक संस्थाको सम्पर्कमा पुगें । त्यहिबाट एचआईभीका बारेमा जनचेतना फैmलाउँदै हिडेको छु । मान्छेको गरिबीले पारेको प्रभाव, चेतना र सम्बन्धले पु¥याउने असर मेरो जीवनमा देखा प¥यो । यतिखेर म बहिनीको कुलत छुटाउन त सफल भएको छु तर उसलाई अर्काे कुनै काम दिन सकिरहेको छैन । संरक्षण गर्ने अभिभावक छैनन् । बेलगामको घोडा जस्तै भएका सन्तानहरुको भविष्यका बारेमा कसले जिम्मा लिन सक्छ र ? श्रीमान् यतिखेर सवारी चालकका रुपमा छन् । उनले धेरै पछि मेरो रोगका बारेमा बुझे । उनले त्यो बारेमा जानकारी पाएपछि मलाई झनै राम्रो ब्यवहार गरेका छन् । उनि संक्रमित छैनन् । अहिलेको पुस्तामा देखिएको असमझदारी र सम्बन्ध विच्छेद त्यहि शारिरीक सम्बन्धका कारण टाढिएको त छैन ? यस्तो अवस्थामा पनि साथ दिने पनि पुरुष छन् । सहज अवस्थाबाट यो अवस्थामा पु-याउने पनि पुरुष नै छन् । कसरी बुझौं अब म ?
रेबिका सिंतान
बनेपा, काभ्रे









