अपराधका योजना अनेक हुँदा रहेछन् । मान्छे किन त्यो अपराधसम्म पुग्छ ? अझ श्रीमान् श्रीमती, परिवारका सबै सदस्यहरु नै कसरी सहभागी हुन पुग्छन् अपराधका लागि । निकृष्ट कर्ममा कसरी मिल्न पुग्छ मन ? यसका थुप्रै भोगाईहरु छन् । जन्मँदा मैले पाएको दुःखले मलाई सधै मेहनत गर्न सिकायो । विकट जिल्लामा जन्म भयो । आफ्नै जाति र समुदायको रीतिरिवाज अनुसार हुर्किएँ । बाबु आमाले चाहिने शिक्षा प्रदान गर्नुभयो । त्यो अवसरबाट म आफैं भाग्न खोजें । मेरा मन मस्तिस्कहरु सानैदेखि अपराधमा केन्द्रित भए । वातावरण नै त्यस्तै भयो । मान्छे कुट्ने, पिट्ने, थर्काउने काममा म अगाडी हुन थालें । केहि अपवादका रुपमा रहने हो भने मेरा दिदी बहिनी र दाजु भाई सबै अपराधकै जञ्जिरमा फसेका छन् । त्यो हाम्रो पुर्वजन्मको पो फल हो कि ? सधै हामी उम्कँदै पनि आएका थियौं । तर कसरी कसरी भगवानले अहिले यो नरकीय जीवनमा पु¥याई दिनु भयो । दुनियाँका आँशु पिएका छौं । कुनै कुरामा हामीलाई पछुतो पनि थिएन । बाँच्नका लागि हामीले के गरेनौं ? अरुको भाँडा माझेनौ कि ? अरुको घरमा नोकरी गरेनौं कि ? दुनियाँको अगाडी जि हजुरी गरेनौ कि ? पापी पेट पाल्नकै लागि अनुनय विनय गर्दा समेत केहि सिप नलागे पछि भएका हात पाखुरा बजार्दा समेत केहि उपाय नभेटिए पछि मान्छेमा अपराधको साहस अनि त्यसकै श्रृंखला बढ्दो रहेछ ।
रोजगार छैन । उद्योग कलकारखाना छैनन् । विदेश जाँदा समस्या नै समस्या छन् । विदेश जान पनि पैसा चाहियो । त्यहि पैसा भएको भए किन विदेश जानु ? श्रम गरेर पनि बाँच्न मुस्किल भएका उदाहरण छन् । हामी श्रमलाई सम्मान गर्दैनौं । अहिले दैनिक विदेशिएका युवाहरुको कथा सुनौ । परिवारका भोगाई सुनौं । तीन तहका सरकारका प्रतिनिधिहरुले खाने तलब र भत्ता, उनिहरुका आसेपासेले पाउने सेवा र सुविधा, उनिहरुले प्रयोग गर्ने सवारी साधनको खर्च मात्रै पनि एक वर्षमा एउटा प्रदेशमा उद्योग खोल्न खर्च ग¥यौं भने वर्षको ५ हजार भन्दा धेरै युवाहरु विदेशिनबाट रोकिन सक्छन । हुन त त्यहि मुलुक चलाउन पनि रेमिट्यान्स आवश्यक भएको देश हो हाम्रो । रोजगार माग्दा गोली खान पाईने देश हो हाम्रो । सानालाई ऐन ठुलालाई चैन भएको देश हो हाम्रो । अनि न्याय माग्दा जेल जानु पर्ने देश हो हाम्रो । काम गरेर खान्छु भन्दा मुल्य नपाएर, ऋण नपाएर, सहुलियत नपाएर पलायन हुनु पर्ने देश हो । सामान्य भन्दा सामान्य कानूनी विषय नजानेर मिलाउन नसक्दा उद्योगमा ठगी र कालोबजारी गरेको भन्दै जरिवाना तिर्न लगाउने देश हो हाम्रो ।
सरकारी कार्यालयमा पुग्दा घुस विना काम नहुने देश हो हाम्रो । न्यायालय जाँदा घुस र शक्ति विना केहि नचल्ने देश हो हाम्रो । यस्तो अवस्थामा हामी जस्ता ब्यक्तिको भावना र चाहना कसले सुन्छ ? नेताहरु निर्वाचनको समयमा आएर हुँदैन केहि भनेका हुँदैनन् । निर्वाचन पछि हार्ने पनि आउँदैन । जित्ने त झन आउने कुरा नै भएन । नैराश्यताले युवाहरुमा डिप्रेसनको रोग थपिएको छ । मानसिक सन्तुलन खलबल भएको छ । उपचार गर्ने कि रोजगारका लागि विदेशिने ? आत्महत्या बढेको छ । अराजकता बढेको छ । जसले जे गरे पनि हुने अवस्थामा मुलुक पुगेको छ । कृषकले उत्पादनको मुल्य पाउँदैनन् । आफुले किन्नुपर्ने बस्तुको मुल्य आकाशिएको छ । आफुले विक्री गर्दा कौडीको भाउ । किन्नु पर्दा सुनको भाउ । अनि कसरी मुलुकमा नागरिकहरु अडिन सक्छन् ? तीन तहकै सरकार कानमा तेल हालेर बसेका छन् । राजनीतिक रोटी सेकाएका छन् । पिल्सिकएका हामी नेपाली मात्रै छौं । खोलामा बगेको पानीले आफै बाटो बनाउँदो रहेछ । भलहरु उर्लेर आउँछन् । त्यसले स्थान छैन भनेर आफ्नो बेग रोक्दो रहेनछ । होला अर्काे पटक त्यसलाई अन्यत्रबाट मोडिन्छन् होला तर आएको भेललाई रोकेर अर्काे बाटो परिवर्तन गर्न कठिन नै हुने रहेछ । मान्छेको जीवन साउनेको झरीको भेल जस्तै रहेछ । त्यसकालाई आवश्यक पर्ने पुर्वाधार मान्छेले कसरी तयार गर्छ ? राज्यसँग विकल्पै छैन । बाबा म काम गरेर खान्छु मलाई मेरो क्षमता अनुसारको काम देउ न भन्दा राज्य नाजवाफ छ । घरमा छोरा छोरी छन् उनिहरुको मुखमा माँड के ले लगाउने ? काममा जाँदा काम पाईदैन । पाएको काममा श्रम अनुसारका मुल्य पाईदैन । अनि मान्छेहरुले समाजमा गर्ने अपराध कस्तो हुन्छ ? सम्झनुस् । एकपछि अर्काे समस्या, एकपछि अर्काे उन्माद । अपराधमा सफलता बाहेक अरु केहि दिएन । यस्तो दिन त सोच्या भए पनि पार लगाउन सकिन्छ भन्ने विश्वास थियो । सधै सूर्य झुल्कने भए औंसी किन आउँथ्यो होला ? हामीले थुप्रै अपराधका श्रृंखलामा काम ग¥यौं । कहिले कसैसँग लेनदेनमा ठग्यौं । कहिले ब्यवसायमा ठग्यौं । कहिले बैदेशिक रोजगारमा ठग्यौं । कहिले डलरमा ठग्यौं । यो हाम्रो कला थियो । सिप थियो । त्यो सिपमा मलाई श्रीमान्ले साथ दिईरहनु भएको थियो । श्रीमतीलाई स्वार्थका लागि अरु पुरुषहरुले चाहे भने शरीर नै सुम्पन समेत लगाउनु हुन्थ्यो । म सबै काममा तयार थिएँ ।
मैले दर्जनौ पुरुषहरुलाई शारिरीक सम्बन्धकै कारण लुट्न सकें । अहिले हनि ट्रयाप भनिन्छ क्यारे । उनिहरुले कतै उजुरी समेत गर्न सकेनन् । किनकी उनिहरु मेरो शरीरसँग खेलिसकेका हुन्थे । त्यो क्रम कहिलेसम्म चल्थ्यो थाहा छैन तर अहिले प्रहरीका कारण रोकिएको छ । म प्रहरीको फन्दामा परेको छु । त्यहि सजायँ भोगिरहेको छु । पाप गरे पछि धुरीबाट कराउँछ भन्थे सायद त्यसकै परिणाम होला कि ? जीवनका अनेक भोगाईहरुले मान्छेलाई पछ्याईरहन्छ । कुनै भोगाईहरु अविश्मरणीय हुन्छन् । जसले जीवनलाई सहि मार्गमा लैजान प्रेरणा दिन्छ । नेपालीमा एउटा उखान पनि छ । दैलोमा आची गरिसकेपछि मात्रै देखिने । ठ्याक्कै हामी त्यस्तै छौं । गर्नु नगर्नु अपराध गरिसकेपछि त्यसबाट मुक्तिका लागि धर्मकर्म जान्छौं । देश विदेश शयर गर्छाै र त्यसमै पैसा सिध्याउँछौं । अर्काेलाई दुःख दिने हाम्रो नियत नै भए पछि सकारात्मक सोच, सकारात्मक भोगाईहरु हुनै सक्दा रहेनछन् । अपराधका लागि शुरु भएको मानसिकताले अपराध बाहेक केहि देख्दैन । एक गाँस साग र ढिडो खाँदाको आनन्द चौरासी ब्यञ्जन खाँदा पनि प्राप्त हुँदो रहेनछ । असिम मेहनत र पसिना पछिको थकान अनि लामो सुस्केरा हाल्दै लिएको मिठो निद्रा आलिसान महलमा प्राप्त हुँदो रहेनछ । शोक, भोक र प्राप्तीले मान्छेलाई उद्देलित बनाउँदो रहेछ । जहाँ बैराग लाग्छ त्यहाँबाट मात्रै नयाँ खोजी हुँदो रहेछ । तर बैरागलाई गलत ढंगबाट बुझ्दा मान्छेमा झनै ठुलो वितृष्णा जाग्दो रहेछ ।
साविकको काशिखण्ड नगरपालिका हालको नमोबुद्ध नगरपालिका घर भई काठमाडौ बस्दै आएका एक युवकलाई खुकुरीले प्रहार गरी अर्धचेत बनाई लुटेको घटनामा प्रहरीले हामीलाई कस्टडीमा राख्न सफल भयो । म र मेरा श्रीमान् समेत एउटै पेशामा भएकाले उक्त घटनामा हामी दुबै जनालाई पक्राउ ग¥यो । भक्तपुर जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योग र रहजनी चोरी कसुरमा १२ वर्ष कैद र ६ लाख जरिवानाको मागदावी गर्दै अदालतमा मुद्दा पेश गरेको थियो । हामी अहिले पनि काठमाडौको जेलमा छौं । म लगायत पाँचजना विरुद्ध सिन्धुपाल्चोक जिल्लामा डाँका मुद्दा दर्ता भएको थियो । त्यो मुद्दामा पनि हामी फरार हुँदै आएका थियौं । सोहि जिल्लाको जिल्ला प्रहरी कार्यालयमा २०७५ असोज १० गते म सहित अन्य चार जना पुरुषहरुले धारिलो हतियार देखाई ३ लाख ५ हजार बराबरको नगद र मोवाईल फोन लुटेको उजुरी थियो । त्यो उजुरीमा समेत हामी फरार हुन सफल भएका थियौं । त्यसभन्दा अघि सोहि कार्यालयमा २०७४ कार्तिक २९ गते समेत हामी विरुद्ध ठगी विरुद्ध मुद्दा दर्ता भएको थियो । मेरा श्रीमानलाई ठगीकै मुद्दामा जिल्ला अदालत तनहुँले १ वर्ष १ महिना १४ दिन कैद र १ लाख जरिवाना फैसला गरेको भए पनि फरार हुँदै आएका थिए । एकपछि अर्काे अपराध गर्दै उम्कदँै आएका हामी भक्तपुरको प्रहरीको पक्राउमा परे पछि सबै अपराध छताछुल्ल भयो ।
ललितपुरको बालकुमारी नजिकै खाजा खाने होटलमा चिनाजानीका अधारमा युवकलाई मैले अपराधको परिबन्धमा पारेको थिएँ । भुकम्पमा परी पीडित बनेको, छोरी मरेको भन्दै सहयोगको हात फैलाएकी थिएँ । दुःखमा सहयोग गर्ने नेपालीहरुको बानी नै छ । आफुसँग विदेशमा बस्ने आफन्तले पठाएको केहि डलर भएको तर आफुले साट्न नसक्ने देखाउँदै आफुसँग प्राप्त डलरले नेपाली रुपैयाँ ३ लाख जति हुने कुराको टुङ्गो लगाएँ । युवकले औंठी र सिक्री राखेर बनेपाको एक पसलबाट ९० हजार लिए । अरु नगद थियो । तत्काल मैले त्यो एक लाख ५० हजार हातमा लिएँ । उनलाई फकाएर एकान्तमा लगें । अरु साथीहरु कुरेर बसिरहेका थिए । उनिहरुले पछाडीबाट खुकुरी हानेर युवकलाई बेहोस बनाए । हामीले उनलाई लुटेर भाग्यौं । उनलाई आक्रमण पछि अर्काे अपराधको योजनामा थियौं हामी । हामीसँगै गएका एक जनालाई मलेसियाको भिसा लागिसकेको थियो । केहि घण्टा मात्रै ढिलो भएको भए प्रहरीले उनलाई पक्राउ गर्न सक्दैन थियो । ठुलै अभिनय गरेर प्रहरीले हामी सबैलाई पक्राउ गर्न सफल भयो । लुक्न र भाग्न अनेक तिकडम गरियो । प्रहरी भन्दा हामी एक कदम अगाडी थियौं । प्रहरी यति सुक्ष्म ढंगबाट अनुसन्धानमा लागेको रहेछ कि हाम्रा कुनै योजनाहरु सफल हुन सकेनन् ।
अहिले सोचिरहेको छु राज्यले दिएको सजायँको भागिदार हुन पनि म कतै लायक पो छैन कि ? म जस्ता नारीहरु पृथ्वीमा जन्मनु नपरोस् । चिन्ता एउटै छ जेलबाट निस्के पछि के गर्ने ? समाजले पत्याउँछ ? जाने कहाँ ? न घर न थर ? न श्रीमान । न केटाकेटी ? राज्यले हामी जस्ता ब्यक्तिहरुका लागि के गर्छ होला ?
सुकुदेबी वरदान
कारागार, काठमाडौ









