2026 June 06/ 04:07: 48pm

कहाँबाट सुरु गरुँ कसरी सुरु गरौं मेरो कथा । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्वर ७ मा आमा निमकुमारी भुजेल र बुबा कमलबहादुर भुजेलको कोखबाट मेरो जन्म भएको हो । दोश्रो सन्तानको रुपमा जन्म हुँदा म माईली छोरी भएँ । शारिरीक रुपमा म अपाङ्ग छु । तर पनि कहिल्यै आफुले आफुलाई अपाङ्ग भएको महसुस गरिनँ । तर पनि ब्यक्तिले हेर्ने दृष्टिकोण फरक हुने रहेछ । अपाङ्ग भएको ब्यक्तिलाई आफु अपाङ्ग छु जस्तो लाग्दैन । सपाङ्ग भनिएका ब्यक्तिहरु भने अपाङ्गताको ब्यवहार गरिरहेका छन् । सानै देखिको संघर्ष थियो । अहिले पनि संघर्ष जारी नै छ । मान्छे बाँच्न गर्नु पर्ने संघर्ष मेले गरिरहेको छु । 
२०७० साल माघ २ गते मेरो पहिलो कथा छापिएको थियो । त्यतिबेला मैले आफ्ना धेरै भोगाईहरु प्रस्तुत गरिसकेको छु । त्यसपछिका कथाहरु पनि मैले ब्यक्त नगरिकन सकिन । त्यतिबेलाका भोगाईहरुको संस्मरण छ । धेरै पीडाका कथा थपिएका छन् । म अहिले एक्लै भएको पनि २ वर्ष भैसकेको छ । श्रीमानबाट छोडिएकी दुःखी अभागी महिला हुँ म । मेरो कथा सुन्दा धेरैलाई हावा कुरा जस्तो लाग्ला । यस्तो पनि हुन सक्छ र ? जस्तो पनि लाग्ला । धेरैलाई अविश्वास पनि लाग्न सक्छ । धेरैलाई विश्वास पनि लाग्न सक्छ । जसले मलाई चिनेको छ । बुझेको छ । देखेको छ । मेरो पीडा थाहा छ । उसलाई अझै धेरै थाहा हुन सक्छ र उसका आँखा रसाउन पनि सक्छन् । म साथी बनाउन र बन्न मन पराउने मान्छे हुँ । यो मेरो रुची पनि हो । तर यहाँ साथी बन्न पनि धन हुनुपर्ने रहेछ । मेरो जस्तो पीडा अरुले भोग्न नपरोस् । मलाई साना ठूला बालबालिकादेखि बुढा बुढीसँग घुलमिल गर्न नजिक हुन मनपर्छ । २०७० फागुन महिनामा म विदेशमा गएको थिएँ । त्यहाँ त्यति सजिलो थिएन । भाषाको राम्रो ज्ञान थिएन । हामी नेपालीहरु दुःखमा पनि हाँस्ने बानी छ । म विदेशमा पनि कसैको दुःख देख्न नसकेर आफूले भाँडा माझेर कमाएको पैसा गरिब भाईबहिनीहरुलाई पढ्न सजिलो होस् भन्ने सोचका साथ मैले जस्तो स्कूल जान कठिन नपरोस् भनेर आफ्नो पहिलो महिनाको तलब मैले पढेको श्री ज्ञानमन्दिर नमूना उच्च माध्यमिक विद्यालय मेलचौरमा पठाएको थिएँ । हुन त म धनको धनी थिइनँ । नामको लागि गरेको पनि होइन । मैले जस्तो दुःख पाएको भाई बहिनीहरुलाई राम्रो शिक्षा मिलोस् । हौसला मिलोस् भनेर भाँडा माझेर कमाएको थोरै रकम त्यहाँ पठाएर सहयोग मात्र गरेकी हुँ । हुनत मैले नपठाएको भए पनि त्यहाँ बालबालिकाहरु पढि नै रहन्थे । अभाव पनि हुँदैन थियो होला । तर पनि मन न हो । मेरो स्वच्छ र सफा मनले मैले सहयोग गर्न खोजें । मैले यसो गरें उसो गरें भन्न खोजेको होईन । धन भए पनि मन हुनु पर्छ मात्रै भन्न खोजेको हो । धन हुनेहरुको मन हुँदैन । मन हुनेहरुसँग धन हुँदैन तर पनि धन हुने र मन हुनेहरुको पवित्र उद्देश्य भयो भने समाज विकासमा समस्या हुँदैन होला । कसैले गरिबका कारण भोकै बस्नु पर्दैन होला । सबैको मन उस्तै हुने भए....। 
म एक अपहेलित महिला हुँ । मेरा एक छोरा र एक छोरी छन् । उनीहरु दुबैलाई दुःखै गरेर भए पनि पढाएकी छु । तर मैले उनीहरुलाई उच्च शिक्षा दिन सकिनँ । कारण म अपाङ्ग छु । मेरो देब्रे हात र खुट्टा राम्ररी चल्दैन । मैले जतिसके त्यति गरेको छु । म जस्तो अभागीले गरेर खाने ठाउँ छैन । यहाँ म एकल हुनु मेरो श्रीमान् बित्नु मेरो दोष हो र ? मलाई कसैले बिग्रेको आईमाई भनेर थुके, कसैले के भने कसैले घरमै आएर गाली गरे । एकल महिलाले आफ्नो साथीभाई छर छिमेकको पुरुषसँग बोल्नु हुँदैन र ? कोहि साथीभाई मेरो घरमा आउनु हुँदैन र ? कोहिसँग मैले हाँसेर बोल्ने अधिकार छैन र ? मलाई हाँसेर बाँच्ने अधिकार छैन र ? म सबैसँग सरल तरिकाले हाँस्छु बोल्छु यसरी हाँस्न बोल्न पाउँदिन र ? म जति दुःख पाए पनि मेरो हाँस्ने बाँच्ने अधिकार छैन ? छ भने मलाई यो अधिकार कसले दिन्छ ? घरमा श्रीमान् भई भई पनि अरु केटासँग लठारिएकर हिडेका महिलाहरु देखेकी छु । म आज एकल भएकै कारण हो त कोहि परपुरुष मान्छेसँग बोल्न हाँस्न नपाउने ? के एकल महिलाले हाँसेर बाँच्न नपाउने ? यदि हाँसेर बोल्नु मेरो गल्ती हो भने मलाई के सजायँ हुन्छ म तयार छु भोग्न । नत्र किन म जस्तो श्रीमान बितेको, श्रीमान्ले छोडेको दिदीबहिनीहरुलाई बाँच्न हाँस्न दिदैन यो समाज ? आज म यति दुःखी छु कि मलाई यो समाजको धनीमानी मान्छेले हेपेको कारण यो प्रश्न गरेकी हुँ । मलाई यसको जवाफ कसले दिन्छ ? 
म स्वाभिमानी महिला हुँ । काम गरेर खानु पर्छ भन्ने सोच छ । स्वदेशमा हुँदा पनि विदेशमा हुँदा पनि काममा मात्रै मेरो ध्यान भयो । यहाँ हुँदा पनि केहि गरांै भन्ने थियो । समय परिस्थितिले मलाई विदेश पु¥यायो । विदेशमा पनि भाँडा माझेरै थोरै पैसा कमाएँ । त्यहि पैसाले सन्तान पढाएँ । जे सकिन्छ । जे जानेको छ त्यहि काम गर्ने सोचले मैले होटल राखें । होटल राखेर पनि मैले सुख पाईन । एकल महिला भएकै कारण समाजका ब्यक्तिहरुले लगाएको लाञ्छना सुनि सक्नु छैन । मेरो पसलमा नियमित आउने ग्राहकहरुलाई पनि अनेक कुरा सुनाउँछन् । मेरो पसलमा आएर चिया खायो भनेर किन मलाई रिस गर्छन् यो समाजको धनीमानी मानिसहरुले ? म एकल महिला भएर हो त ? मेरो घरमा पाहुना आउँदा पुरुष साथीभाई आउँदा को हो के हो ? भनेर चियो चर्चा गर्छन् ? के म एकल महिला भएर हो त ? मेरो के दोष छ यसमा म हाँस्न नपाउनु ? के म खुशी हुन नपाउनु ? जुन धनी मानिसको घरमा जुवा तास खेलाएर हरेक दिन पैसा कमाउने गर्छन् उनीहरु सहि म गलत हो ? के चिया मिठो बनाउनु मेरो गल्ती हो ? २२ वर्ष अगाडि चिनेको महिला साथीले बुढाले चिया खायो भनेर समेत कराउन आउँछन । म माथि शंका गर्ने हाम्रो समाज कहिले बदलिन्छ ? धनीले जे गरे नि हुने गरिब अपाङ्ग एकल महिलाले चिया बेच्न पनि डराउनु पर्ने हो ? कि हेपिन्छ म जस्तो एकल महिला ? दुखेको मन कसरी बुझाउने ? कहाँ छ यसको अस्पताल उपचार गर्न ? 
    जीवन के हो ? कस्तो हो ? कसरी विताउने हो ? के गर्दा मान्छे जीवनलाई खुशी र सुखी भएको देख्न चाहन्छ ? कसरी परिभाषा लगाउँ जीवनको । सुखी मान्छेले लगाउने परिभाषा र दुःखी मान्छेले लगाउने परिभाषा फरक फरक हुने रहेछ । संसारमा दुई खालका मान्छे मात्रै हुन् ? खान र लगाउन नपाउनेले त्यो पायो भने सुखी भन्ला, पढ्न नपाउनेले पढ्न पायो भने सुखी भन्ला, पढेपछि जागिर खानेले आफुलाई सुखी भन्ला, राम्रो घर, कमाई हुने जग्गा, अंगालोभरीको श्रीमान र श्रीमती, काखभरी छोराछोरी, तिनले पछि जागिर खाएको र तिनका खुशीहरुलाई मात्रै मान्छेले सुखी भन्ने हो कि ? यस्तै परिभाषामा रुमलिरहेको मेरो जीवन साँच्चै पीडामा छ । छट्टपट्टीमा छ । कस्ले बुझ्छ मेरो रोदन ? कसले सुन्छ मेरो भावना ? २०३५ साल असार ४ गते सिन्धुपाल्चोक जिल्ला सानो सिरुवारी गाविस ६ नम्वर वडामा मेरो जन्म भएको थियो । असार साउनको झरीमा जन्मिएको भए पनि मेरो अनुहार कहिल्यै झरी पर्न लागे जस्तो धुम्म थिएन । हुन त अहिले मलाई शंका लागिरहेको छ असार साउनमा जन्मिएकाहरुको आँखामा सधै आँशु मात्रै झरिरहन्छ छ ? बर्षातमा जन्मिएको ब्यक्तिले भोग्नुपर्ने त्यहि आँशु मात्रै हो त ? भाग्यले लेख्ने बेला त्यहि मात्रै सम्झन्छ कि के हो ? संयोग वा अरु केही । जसरी असारमा झरी बर्षन्छ मेरो जीवनमा पनि त्यसरी नै आँशु बर्षिरहेको छ । अहिले वर्षात् हुन त छाडेको छ तर पनि मेरो आँखाबाट मुहान फुटेको छ । जलवायु परिवर्तनका कारण समयमै पानी परिरहेको छैन तर मेरा आँखामा सधै परिवर्तन भएको छ । दिन रात, हिउँद बर्षा केहि भन्दैन । बलिन्द्र आँशुले भिजेका सिरानीहरु कतिखेर कसरी सुक्छ पत्तो छैन । बाटोमा भेटिएका मान्छेहरु पनि भन्ठान्लान् यो त पागल पो भइछे । महिलाहरु पीडा लुकाउन सक्दा समेत मात्रै दविएर बस्छन् । जब उसको मन भित्रै विस्फोट हुन पुग्छ तब उसलाई समाजले कि त पागल भन्न थाल्छ । कि त उ विग्रिएकी चरित्रहीन नारीको रुपमा चिनिन थाल्छे । महिला अधिकारका पक्षमा वकालत गर्नेहरु पनि यिनै बलिन्द्र आँशुमा पौडी खेल्दै नेपालका रमणीय स्थानमा घुम्न मात्रै होइन कहिलेकाँहि विदेश पनि पुगेका हुन्छन् । एक दिन आँखामै हात पुग्ने गरी आँशु पनि पुछ्न आउँछन तर निकास दिन सक्दैनन् । त्यस्तो विचल्लीमा परेकी महिलाका लागि गाँस, बास र कपासको ब्यवस्था कसले गरिदिन्छ ? २०५१ साल मंसीर २६ गते मेरो जीवनले नयाँ मोड लियो । घर परिवारबाट विवाहको कुरा आयो । भर्खर कक्षा ९ पढ्दै गरेकी छोरीलाई बुबा आमाले विवाहको कुरा गर्नु भयो । मैले पढ्न पाउने शर्तमा मात्रै उहाँहरुको कुरा मान्न तयार भएँ । शुरुमा मैले विवाह नै गर्दिनँ भनेर रोएको थिएँ । बुबा आमा भनेका भगवान हुन् उनिहरुले भनेको मानेन भने उहाँहरुको मन दुख्छ । बाबु आमाको मन दुखाउने सन्तान असल सन्तान हुन सक्दैनन् मात्र त्यति बुझेको थिएँ । अभिभावकहरुको मन दुखाउनु, गुरुहरुलाई चित्त दुखाउन असल ब्यक्तिको कर्म भित्र पर्दैन । त्यहि सहनशीलतामा परिवारले विवाहको कुरा टुङ्गयायो । सिन्धुपाल्चोक जिल्ला ठोकर्पा गाविस ८ मा मागि विवाह भयो । सायद अहिले सम्झन्छु मेरो दुःखको दिन त्यहिबाट शुरु भएको थियो । छोरी मान्छेहरुको विवाह नै दुःखको शुरुवात हो त ? विवाह गरेर जाने वितिक्कै छोरीहरु एक्कासी बुहारी भएर परिवर्तन हुनुपर्ने ? कसैले भन्छ छोरी बुहारी भए पछि मात्रै सुखी हुन्छे । यो परिभाषा अनेक खालको हुन्छ । मैले बुझेको के हो भने जो छोरी मान्छे आफु सक्षम छैन, आफ्नो खुट्टामा उभिएको छैन उसले विवाह गर्नुहुँदैन । शिक्षित भएका छोरीहरु समेत श्रीमान र घरकै कारण पीडामा छन् । कारण त्यहि हो उनिहरु वैकल्पिक सोच्दै नसोची केटाहरुको माया जालमा फस्न पुगेका छन् । श्रीमान् विना पनि एक्लै गरेर खान सक्ने हैसियतमा मात्रै छोरीहरुको विवाह उचित हुने रहेछ । 
    २०७० साल जेठ ७ गतेको कुरा हो । मेरो जीवनमा अर्काे दुर्घटना भयो । सुचना प्रविधिले मान्छेलाई धेरै फाइदा भएको होला मेरो जीवन तहस नहस बनायो । खै थाहा छैन कसले मलाई फोन गरेछ । श्रीमानले त्यसलाई इस्यु बनाउनु भयो । मैले चिनेको पनि छैन । थाहा पनि छैन । उहाँले त्यसलाई आधार मानेर मेरो कुनै केटासँग प्रेम परेको छ भन्ने आरोप लगाउनु भयो । मेरै उमेरमा विवाह गर्ने हो भने छोराको विवाह गर्ने उमेर भैसकेको छ । आफैमा रोगी छु । कँहि नभएर म अर्काे केटासँग प्रेम गर्छु होला त ? म उहाँलाई दुःखी देख्न सक्दिन थिएँ । उहाँले आफु बन्धकी बसेर पनि मलाई बचाउनु भयो । उहाँ मेरो आदर्श र महान हुनुहुन्थ्यो । तर आज हुनुहुन्न । उहाँको चित्त दुखाएँ होला । उहाँले पनि चित्त दुखाउनु भयो होला । श्रीमान नभएको र अझ वितेर एकल भएको सूचना भयो भने मान्छेहरुको ब्यवहार, बोली र आदर्श नै किन परिवर्तन हुन पुग्छ ? म मात्रै हो कि यस्तो भोग्ने अरु एकल महिलाहरु पनि हुनुहुन्छ ? समाज अनि समुदाय । एकल महिलाले काम गरेर खान हुँदैन हो ? 

 

सुभद्रा भुजेल
बनेपा, काभ्रे