त्यो दशैं । यो दशंै । त्यो समय । यो समय । कसरी बर्णन गरौ र खै ? त्यतिबेलाका साथीहरु । अहिलेका साथीहरु । त्यतिबेला राखिएको पिङ । त्यो समयमा दशै मनाउन गरिएका रस्साकस्सीहरु । दशैं अघि, दशैंको अवधी र त्यसपछिका समय । वास्तवमै कथा जस्तै लाग्छन् हामीलाई । कहिल्यै कल्पना गरेका थिएनौ ७ मुलुक पारी पुग्ने । कोहि कोहि गाउँका अग्रजहरु जागिरको सिलसिलामा जिल्ला सदरमुकामसम्म पुग्ने कुरा थाहा थियो । तिनीहरुले शहरबाट ल्याउने नयाँ नोट र त्यहि नोट लिन टिका थाप्न जाने चलन । दशैंमा खाने परिकार । दशंैमा गन्ने दक्षिणा । उफ ! कसरी सम्झौ म ?
हरेक वर्ष झै यो वर्ष पनि नेपालीहरुको महान चाड दशैं आएको छ । दशैं वर्षमा एकपटक सत्यको विजय भएको कथा लिएर हिन्दु धर्मावलम्बी माझ ओर्लिन्छ । आस्थामनहरु आफ्नै देवीको जयमा प्रफुल्लित नहुने कुरै भएन । सबैको मनमा दशैंको आगमनले उतिकै उल्लास छ । नयाँ लुगा र रमझमले केटाकेटीको मन उल्लासिदों छ । उल्लासित वातावरणमा केटाकेटी भएको घरबाट डमरुको टुङ्गटुङ्ग बज्न थालेको छ । तर त्यो कथा झै हो । अहिलेका केटाकेटीहरुले यो डमरुको टुङ्गटुङ्ग पनि सुन्न पाउँदैनन् । सुन्न चाँहदैनन् । सुन्न आतुर पनि छैनन् । दशैं आयो कि धेरैको मनले झल्लास्स सम्झिने टेलिफिल्महरु पनि छन् । केहि फिल्महरु पनि छन् । त्यो बेला त्यस्तो अवसर त थिएन । तर पनि जतिबेला नेपालमा टेलिभिजनको शुरुवात भयो । दशैमा हुने खानेहरुको घरमा टेलिभजन एन्टिना सहित हुन्थ्यो । एन्टिना सहितको बुस्टर अझै महङ्गो हुन्थ्यो । बत्ति हुनेहरुकोमा सहज थियो । विदेशबाट वा शहरबाट कसैले टिभी पठाउने, हेर्ने कुरा एकादेशको कथा थियो । अझ टिभी भित्रका मान्छेहरु हेर्न पाउनु, टिभी बाहिर भेट्नु पनि ठुलै कुरा थियो ।
एकपटकको कुरा हो । हामी गाउँबाट शहर आएका थियौं । शहरमा मह जोडीले खेलेको एउटा दशै सम्वन्धी टेलिसिरियल रहेछ । हामी चिउरा कुट्न गाउँबाट शहर आएका थियौं । पालो ३ दिन पछि आउने भयो । चिउरा नकुटी जाने कुरा पनि भएन । चिउरा कुट्ने मेलमा बस्दा त्यहिको चिउरा खाने हो । चिउरा खायो । पानी खायो । अहिले जस्तो असहिष्णु शहर पनि थिएन । उदार थिए हरेक ब्यक्ति । त्यहि क्रममा हामीले मह जोडीले खेलेका केहि सिरियल हेरेका थियौं । केहिको चर्चा भएको थियो । कथाको मार्मिकता, प्रजातन्त्र आगमनसँगैको परिस्थितिमा व्यवस्था फेरिएको तर अवस्था नफेरिएको परिपाटीलाई ब्यङ्ग थियो मह जोडिको सिरियलमा । सानोमा दशैं टेलिसिरियल हेरेर म धेरैबेर रोएको थिएँ । सिरियलको अन्त्यमा, एउटा नाबालकको दशैंका रहरहरु टुहुरा भएकोमा सारै मन दुखेको थियो । बा मासु करायो, चपा भैरे चपा, बा डमरु भन्दै छोराले बाबुको अगाडि पिन्चे अनुहार देखाउँदा, ‘धिवा मरु डमरु, डमरु’ भैरेको यो डाइलग अझै पनि मेरो कानमा गुँजिन्छ । सोचमग्न हुन्छु, भैरेलाई मैले काँचको पर्दामा देखेको लगभग ३० बर्ष भइसक्यो अब त पक्कै पनि भैरेका दिन फिरिसकेका होलान् । ३० बर्षअघि प्रस्तुत त्यो सिरियलको भैरेको आजको अवस्था कस्तो भयो ? उस्को छोराको दशैं बाउकै अभावको बिरासतमा चलिरहेको छ कि कतार, साउदी या कोरिया गएर मनग्य पैसा कमाएर त्यो अभाव टाल्न सक्ने हैसियतको भयो ? मनमा वर्षेनी एकपटक उदय हुने प्रश्नहरु हुन । आखिर नेपाल पनि नयाँ नेपाल न भइसक्यो । तर कस्तो नयाँ नेपाल ? धनीको दशैं र गरिबको दशैंलाई भिन्नाभिन्नै आयामले केलाएको छ । गरिबको दशैं दशामा टुंगिएर समाप्त हुने सिरियलले प्रत्येक वर्ष दर्शकका आँखामा आँसु उमालेर गइरहेको छ । भैरेको दशैं नियाल्दै मन खल्लो भयो । प्रत्येक वर्ष यही सिरियल, कथा, निरासा र सुस्केरा हामी भित्र किन ? हामी भैरेको कथा हेरेर राजकुमार दिक्पालको कथा जस्तो दन्त्यकथाको रुपमा ग्रहण गर्न किन सकेका छैनौँ ? उहिल्यै उहिल्यै दशैंले गरिब मानिसलाई यतिसम्म पिरल्थ्यो है भनेर किन मनले सहज रुपमा लिन सकेको छैन । अझै हाम्रो मन चिसो हुनुमा, यो समाजमा अझै भैरेहरु बाँकी नै छन् भन्ने हो ।
भैरे एउटा यस्तो गरिब पात्र हो, जो अभाव भोग्दछ । जो सित तल्लो दर्जाको नोकरी छ, तर पियनस्तरको सुख्खा तलब मात्रको आर्थिक उपार्जनले दैनिक गुजारा धौधौ छ । जस्को घरमा दशैं दशा भएर आउँछ र छोराछोरीको लागि नयाँ लुगा पनि प्रवन्ध गर्न सक्दैन । पोहरै टालेका लुगा यो साल नि टालेर दशैं टाल्ने यी भैरेहरुलाई कसले कहिले हेर्छन् होला ? भैरे गरिब हुनु उसको दोष होइन । भैरेले नेपाल जस्तो गरिब देशमा सम्पन्न, मध्यम र विपन्न परिवारले मनाउने दशैको आर्थिक अनुहार उहीँ हुँदैन भन्ने कुरामा हेक्का राख्न सकेन । आज पनि दशैं आएको छ । कैयन भैरेहरु दशैंको आगमनले चिन्तित भएका छन् । दशैं होइन, दशा आएको हो भनी दशैंलाई दशाको रुपमा स्वीकार्ने यी भैरेहरु यो कुरामा अज्ञान छन् कि दशैं, दशै नै भएर आएको हो, परन्तु उनीहरुको मानसिकताले त्यस्लाई दशा बनाइयो । दशैं पारिवारिक मेलमिलाप र सदभावको चाड हो । कुनै शास्त्रमा लेखिएको छैन कि दशैं आफ्नो हैसियत छिचोलेर मान्नुपर्छ । खसी काट्नु दशैं हो र ? नकाट्नु दशैं होइन भनी पनि कुनै धर्मग्रन्थमा उल्लेख छैन । यदि अगाढ आस्था र विश्वासमा दशैं मनाउने हो भने देवीका पाऊ पशुको रगतको आहालले धुनु पर्दैन । निधारमा जमरा र रातो टीका मात्र रँगाएर पनि दशैंको भरपुर आनन्द र उल्लास हासिल गर्न सकिन्छ । तर पनि देखासिखीका कारण नागरिकहरुले दशैलाई महङ्गो बनाएका छन् । उसै त मुलुकमा बढेको महङ्गीले नागरिकहरुको ढाड सेकिएको छ । झनै नागरिकहरु भित्रको देखासिखीले दशैलाई दशा बनाउँदै लगेको छ ।
पहिले जस्तो छैन अहिले । नयाँ कपडा किन्न दशै नै आउनु पर्छ ? मासु खान र मिठो खाने कुरा खान दशै नै आउनु पर्छ ? त्यस्तो छैन । विकसित हुँदै गएको दशैंलाई सहज र सरल बनाउन अझै कठिन छ । दशैं समानताको उत्सव हो । दशैंमा भैरेहरुले गर्व गर्न पाउनुपर्छ । कुनै धनाढ्यको कौशीवाट उडेको र भैरेको छाप्रोवाट उडेको चङ्गाले एउटै आकाश चुम्नुवाट बोध हुन्छ कि दशैं प्रति धनी र गरीबको सामाजिक र सांस्कृतिक उचाई एउटै हो । धनीले उनका छोराछोरीका लागि कुनै महँगो सुपरमार्केटमा लुगाफाटा किनिदेलान् । भैरेहरुले पनि आफ्ना लालाबालाका लागि सस्तो बजारवाट भोटा किनिदिने हैसियत राख्न सक्छन् । धनाढयहरुको भोजनमा जस्तो चौरासी व्यजन नहोला । भैरेहरुको चुहलोबाट पनि दाल, भात, तरकारी र दुई चोक्टा मासुको मीठो गन्ध त बाफिएला ! आफ्नो हैसियतमा मान्ने हो भने भैरेहरुका लागि आफ्नो दशैं कैले पनि दशा बन्दैन । सबैको आर्थिक अवस्था एउटै हुँदैन । त्यसैले हुनेखानेले दशैंलाई भड्किलो तरिकामा मनाइयो भनेर हुँदाखानेले पनि ऋण लिएर भड्किलो तरीकामा मनाउनु हुँदैन । हाम्रो पाँचै आौंलाको पनि दशैं प्रतिको अभिव्यक्ति हेरौ । कान्छो औँलालाई दशैंप्रति कति उल्लास छ र यी भन्छन् दशैं आयो । काइँलो औैँला पनि प्रफुल्लित भएर भन्छन् खाउँला, पिउँला । गरीब औँलाको प्रतिनीधित्व गर्ने साइँलो औँला भन्छन् कहाँबाट ल्याउँला ? माइँलो औँलाले ‘चोरील्याउँला’ भनी चोर प्रवृत्ति देखाउँछ । जेठो औँला आदर्श पात्र बन्दै ‘धत ! पापी म त एक्लै बसुँला’ भनी दशैंमा न चोर्ने, न भड्किलो तरिकामा मनाउने, बरु आफ्नो हैसियतमा कोहीसित प्रतिस्पर्धा नगरी एक्लै मनाउने अभिव्यक्त गर्छन् । भैरेले साइँलो औँलाको प्रतिनिधित्व गर्छ । यसकारण भैरेले आफ्नो हैसियत चिनेर जेठो औँलाको आदर्श बहन गर्नुपर्छ । उसले आफ्नो हैसियत अनुसार दशैं मान्नुपर्छ । कसैले पैसाको खोली बगाएर दशैं मनाउँदैमा उस्को सामाजिक हैसियत उकासिने होइन, न त कसैले कम पैसामा दशैं मनाउँदैमा उस्को समाजिक हैसियत नै निम्न हुने हो । भैरेको आस्था र बिश्वासले ढुंगामा देवीको सजीवता चलमलाउँछ भने भैरेलाई देबीले अवश्य प्रश्न गर्ने छैनन् कि तैले मेरा पाउ किन पशुको रगतले धोइनस् ? मेरो जिब्रोमा रगतका छिटा चटाइनस् ? बरु देबी, भैरेले आफ्नो हैसियतअनुसार दशैं मनाएकोमा खुसी भएर आसिक दिनेछन् ।
अहिले धेरै युवा विदेशिएका छन् । गाउँमा जेष्ठ नागरिक बा आमा र हजुरबुबा हजुरआमा मात्रै छन् । उनिहरु आफ्ना सन्तानको बाटो पर्खिरहेका छन् । कतिको त विदेशबाट शव आएको छ । उनिहरुका अभिभावक भक्कानिएका छन् । यस्तो अवस्थामा स्वदेशमा बसेर केहि गर्ने सपना पुरा गर्न सरकार उदासिन छ । दलहरु सत्ताको छिना झिम्टिमा छन् । सबैका लागि दशैं, दशैं नै हो, दशा होइन । ईश्वरी सबैकी हुन् । के गरिब, के धनी सबैको निधारको टीकाको तौलमा फरक छैन । सबैको कपालमा जमरा हरियै उम्रिन्छ । छ त केवल दशा हाम्रो मानसिकतामा छ । दशा हाम्रो गलत चिन्तन र आस्थामा छ । जो आफ्नो हैसियत नाप्दैन र प्रतिस्पर्धालाई पछ्याएर भैरेजस्ता समाजका गरिब पात्रले आफ्नो धरातल बिर्सन्छ । तमसुकमा बुढी औँला टेकेर भएपनि दशैं पार लाउनुपर्छ भन्ने सोचाइ भएकाहरुको निम्ति मात्र दशैं, दशा हो । यसकारण दशैं भैरेले भैरे नै भएर मनाउनुपर्छ, उस्ले अरुको सिको गर्नु हुँदैन । यो कुरा सत्य हो कि, हैसियतमा माने, भैरेको पनि दशैं नै हो, दशा होइन । दशैं, आशिषको पर्व हो र हामी नेपाली दुर्गा भवानीको कृपाले यति भाग्यमानी छौं कि यो भूगोलमा बाँच्ने प्रत्येक मानिसको निधारमा कोही न कोही ठूलाबडाको हात झुलेकै छ ।
नेपाल धर्म निरपेक्ष छ । सबै धर्म मान्नेहरुले दशै मनाउँदैनन् । मनाउनेहरुले नमनाउनहरुलाई पनि उत्तिक्कै सम्मान गर्नु पर्छ । त्यहि अपेक्षा छ । धार्मिक सहिष्णुता आजको प्रमुख आवश्यकता हो । दशै आउँछ जान्छ यसलाई भड्किलो, देखासिखी भन्दा पनि आफ्नो क्षमता अनुसार मनाउनु पर्छ । म हिजोका दिनहरुको स्मरण गर्छु । त्यो दशै । यो दशै । विल्कुल फरक छ । समय, प्रविधी र ब्यक्तिको चेतनामा आएको विकसित रुपले हरेक चाडपर्वहरु एकादेशका कथा बन्ने अवस्थामा पुगेका छन् । धर्म र संस्कृतिको सरक्षण विना मुलुकको विकास सम्भव छैन । मुलुकको चिनारी सम्भव छैन । हामी सबैको जोड यसतर्फ हुँदा कति राम्रो होला है ?
श्रवणकुमार ज्ञवाली
पनौती, काभ्रे









