रामेछाप घर भएका २० बर्षिय युवाले प्रेममा असफल भएर विष सेवन गरेछन् । रामेछापका युवाको प्रेम काभ्रेको बनेपा घर भएकी १९ बर्षिया युवतीसँग रहेछ । सामान्य विषयमा भएको भनाभन र झगडामा युवकले विष सेवन गरे । मोवाईलको फेसबुके प्रेममा फसेका शारिरिक चाहनाका दुई युवा युवती नजिकिदै गए । अघिल्लो दिन युवाले युवतीलाई धम्क्याउन विष सेवन गरे । परिवारका सदस्यले हतार हतार अस्पताल ल्याए । काभ्रेका अस्पतालमा उपचार सम्भव नहुने देखेर काठमाडौ पु¥याए । युवतीलाई विष सेवन गरेर मर्छु भन्दै धम्की दिएका थिए । युवकको उपचारका क्रममा निधन भयो । युवती डराईन् । घरमै उनी झृण्डिएर मरिन् । प्रहरीको अनुसन्धानले थाहा भयो युवा युवतीको आलोकाँचो प्रेमका कारण एकले अर्काेलाई सिध्याएका छन् । आजकाल हुने प्रेम नै यस्तै रहेछ । आर्कषण अनि जीवन समापन ।
यस्तो घटना धेरै सुन्न थालिएको छ । मलाई त्यो प्रेमको सम्झना छ । त्यहि सम्झनामा मैले आफुलाई अघि बढाईरहेको छु । जबदेखि मैले तिमीलाई देखेँ । मैले आफ्नो होस् गुमाएको छु । तिम्रो त्यो चञ्चल आँखा घरीघरी हाँस्ने, मुस्कुराउने, सबैसँग मेलमिलाप अनि बोल्ने । तिम्रो त्यो गहुँगोरो गोलो चेहरा जो कोहीलाई जादु गरेर सम्माहित पार्ने तिम्रो रुप देखेर आफुलाई रोक्न सकिन । तिमीसँग बारबार भेट हुँदा पनि मैले केही भन्न सकिन जब–जब तिमी मेरो नजिक आउँछौ नजाने मलाई के हुन्छ के । बोल्न सक्दिन मनको कुरा खोल्न सक्दिन । तिम्रो अगाडि म सम्मोहनले छोए जस्तो चुपचाप हुन्छु । तिमीले मात्र कुरा गर्छौ त्यो पनि व्यवहारिक कहिले पनि तिमीले मसँग दिल खोलेर बोल्ने प्रयास गरिनौँ । तिमीले जस्तै म पनि बोल्न सक्दिन । केवल देखादेखिमा हल्का मुस्कुराउँछौ बस् । तिमीसँग प्रस्ट हुन न सके पनि हिम्मत गरेर यो पत्र लेख्दै छु ।
तिमीलाई देख्दा मलाई के हुन्छ के । एक तमाश तिमीलाई हेरिरहन मन लाग्छ । तिमी सित भेट््न तिम्रो घर अगाडि थुपै्रपटक आइसके । तिमीले पनि दर्शन नदिएको हैन तर बोल्न भने कोसौ टाढा जस्तो भयो । म तिम्रो आँखामा डुब्न चाहान्छु । तिम्रो हृदयमा बस्न चाहान्छु । तिम्रो गुलावको पंखुरी जस्तो ओठमा चुम्न चाहान्छु तर के गर्ने सायद मेरो भाग्यमा तिमीलाई पाउन लेखेको छैन कि जस्तो छ । यदि मेरो भाग्यमा तिमीलाई पाउने रहेछ भने अवश्य पाउने छु । तिमीले चाहेको भए यस्तो हुन सक्छ । नारी शक्तिको अगाडि कसैको जोड चल्दैन । भगवानले चाहेपनि हाम्रो मिलन हुदैँन । म त तिम्रो प्रेममा यति छट्पटिरहेको छु । तिमीलाई छाती चिरेर देखाउन सक्दिन । पानी बिनाको माछा जस्तै तड्पिरहेछु । म यस्तो हालतमा पुग्दासम्म तिम्रो मनमा दया लाग्दैन ? माया लाग्दैन ? के त तिम्रो मन पत्थरले बनेको हो र ? यति बिध्न तिमीलाई माया गर्दा पनि केही नबोल्ने कस्तो निष्ठुरी ? तिमीले मलाई बेवास्ता गरेको हो ? मलाई भने हरघडी रात होस् या दिन तिम्रै यादमा बिताइरहेको छु । कहिले होला हाम्रो मिलन भनेर । मेरो साथीभाईले मलाई जिस्काएर भन्छन् । छोड् दे यार उ नभए अर्काे रोजेर प्रेम गर । तर नजाने किन बारम्बार यस्तो लाग्छ कि एकदिन तिम्रो माया मह जस्तो पग्लेर मलाई अगाल्ने छौँ । मलाई पूरा विश्वास छ । मैले त तिमीलाई मनकी रानी बनाएर यो दिलमा राखिसकेको छु । चाहे तिमीले मलाई स्वीकार गर या नगर । तिमीले मेरो यो पत्रको जवाफ दियौ भने आफुलाई भाग्यमानी ठान्छु । अन्यथा तिम्रो प्रेममा तिम्रै नाम जप्दै पागल सरी भौतारिदैँ हिड्ने छु यो जिन्दगी अब तिम्रो हातमा छ । यो पत्र पढेर मलाई अमृत पठाउ या विष (जहर) त्यो पनि तिम्रो नाममा हाँसि हाँसि पिउने छु । तिमै्र प्रेमको नाममा शहिद बन्छु । पहिला–पहिला तिम्रो घर तिर आँउदा जहिले पनि देख्थे । तिमी मुस्कुराउँछौ म हाँस्थे तिमीले हातले, आँखाले शिर हल्लाएर इशारा गथ्यौ ।
म तिम्रो यस्ता चालाले मलाई लाग्थ्यो । तिमीले पनि मलाई माया गर्छौ । यस्तो हुँदा म आफूलाई भाग्यवान सम्झिन्थे तर हिजो आज तिमी तिमीमा केहि फरक, परिवर्तन भएको महशुस हुन थालेको छ । मेरो प्रेममा के कमी देख्यौ र ? हिजो आज मदेखि तर्किएर हिड्न थाल्छौ । जब–जब म तिम्रो अगाडि पर्न थाल्छु तिमी कामको बाहाना बनाएर घरभित्र जान्छौ । झ्याल पनि मलाई देखेर बन्द गर्छाै किन ? यदि मेरो माया लाग्दैन भने पहिला नै भन्नु पथ्र्याे । यत्रो वर्ष मायाको ढोंग रचेर मायाको नाटक गरेर यो मेरो कलिलो दिलसँग किन खेलवाड गर्छाै । जब–जब म बोल्ने कोशिस गर्छु । तिमी मोवाईल झिकेर अर्कैसँग कुरा गर्न थाल्छौ यस्तो लाग्छ देखेर पनि नदेखे जस्तो गरेर हिड्न लाग्छौँ । यति धेरै माया गर्दा पनि मेरो मायाको वेवास्ता गर्छाै आखिर किन ? प्रेममा मिलन र विछोड हुन्छ भनेको सायद यसैलाई होला । मेरो प्रेमको फुल फुल्नु भन्दा पहिले नै ओइलाएर झरेको जस्तो भयो । मलाई लाग्थ्यो मेरो माया बसन्त ऋतुमा फुलेको फुल जस्तो झपक्कै फुलेर लहलहाउने छ । दुवो जस्तै मौलाएर झाँगिने छ । तर शिशिर र हेमन्तको चिसो सिरेटो लागेर झरेर गएको जस्तो लाग्दै छ । असफल माया यसैलाई भन्ने रहेछ । यति बिध्न मेरो सच्चा प्रेमलाई चट्ट छाडेर कहि तिमीले अर्कै जीवन साथी नरोजेको छैनौ ? यस्तो रहेछ भने तिमीले दिल खोलेर भन । म तपाईलाई हैन अर्कैलाई माया गर्छु मात्र भन् तिमी हिड्ने बाटोबाट म पन्छिने छु । जिन्दगीभर विवाह नगर्ने कसम खान्छु ।
तिमीलाई देखे पनि नदेखे जस्तो गरेर हिड्छु । तिम्रो प्रेमको बाटोमा काँढा बनेर बाँधा म गर्दिन । एकपटक त मलाई भेटेर सबै कुरा भन । हो तिम्रो मन कमलो अनि सफा छ । केही कुरा पनि तिमीले मनमा राख्न सक्दिनौ । प्याच्च भनिहाल्छौ । मनमा तिम्रो पाप छैन यहि निश्चल निस्कंलक भएर नै तिमीलाई मैले रोजेको हो तर कता–कता मैले सुनेको छु । तिमीले अर्केलाई रोजेको छौ रे । के यो सत्य हो ? यदि सत्य हो भने म बाधा अड्चन गर्दिन । तिम्रो प्रेमको सफलताको लागि म कामना गर्छु । कैयौ रात तिम्रो यादले नसुती छर्ल· पारेको छु । मैले तिमीलाई भनिसकेको छु । तिम्रै यादमा कैयौ रात आँसु बगाएको छु । यो जिन्दगी पनि अनौठो छ । सुख होस् या दुःख जे गरेर भएपनि बाच्नुपर्ने । मर्छु भन्दा पनि काल नआउने । अझै कस्तो दुःख कष्ट सहनु पर्ने हो कुन्नी । तिमीलाई त आनन्द छ । घरपरिवार राम्रै छ । तिमीले चाहेको जस्तै छ । तर म जस्तो कंगाल भिखारीसँग नाता जोड्नु सायद तिमीलाई सुहाएन होला त्यही भएर तिमी अर्कैसँग लागेको । जसरी तिम्रो प्रेम पत्रमा पागल जस्तो बनेको छु तिम्रो नाममा आँसु बहाएको छु । त्यहि आँसुले तिमीलाई कहि सताउने त हैन ? यो मेरो दिल खेल मैदान हो । जति खेल्न सक्छौ खेल । जब थाक्छौ तब कुनै दिन मेरो मायाको सम्झनाले तिमीलाई सताउने छ । तिमी रुदै मँसग क्षमा माग्छौ म माफ दिन तयार छु । मेरो यो पत्र पढेर तिमीलाई रिस उठ्न पनि सक्छ । त्यसको लागि म माफी माग्छु । तिमीसँग विताएको ती पललाई मनमा राख्न नसकेर मनको बह यो पत्रमा लेखेको हुँ । मलाई विश्वास तिमीले मलाई स्विकार्ने छौ । जवाफ दिने नदिने तिम्रो हातमा छ । मनले चाहेको जस्तो कहाँँ हुन्छ एक दिन देख्न नपाउँदा छटपटी लाग्छ । के भयो तिमीलाई भनेर चिन्ता लाग्छ । छक्क पर्छु तिमी बिनाको जिन्दगी के जिन्दगी जस्तो लाग्छ । कस्तो हातभरी मिठाई भएर पनि खान सकिन ।
यति बिध्न तिम्रो माया किन ? तिमी आफैँ भन दिनहँु जस्तो भगवानसँग तिमीलाई मागेको छु । यो जुनिमा नपाएपनि अर्काे जुनिमा नपाए पनि अर्काे जुनिमा यस्तै र रुपमा तिमीलाई पाउने बर मागेको छु । तिमीले यो पत्रको जवाफ नदिए, यहि सम्झिने छु । एक नदिको दुई किनार कहिले नमिल्ने गरी रहेछ । एउटा किनाराले अर्काे किनारालाई जति माया, प्रेम गरे पनि मिल्न सक्दैन । मेरो प्रेम पनि यस्तै हुने हो कि भन्ने डर लाग्छ । पहिला–पहिला मैले देखे जस्तो तिम्रो व्यवहार अहिले देख्न सकिन धेरै परिवर्तन भयौ तिमी के कारण होला ? जवाफ दिनेछौँ । यदि जवाफ पाइन भने मैले यो सम्झने छु । तिम्रो त्यो मुस्कुराहट, इशारा, हेराई सबै झुट हो मात्र मन भुलाउने बाटो हो, के अर्काको दिलसँग खेल्न तिमीलाई आनन्द लाग्छ हो ? यो मेरो एकोहोरो पागलपन पनि हुन सक्छ । तिमीले इशारा नदिएको भए सायद म पागल पनि हुन्न थिएँ होला । प्रविधीले तिमीलाई मलाई भन्दा फरक स्थानमा पु¥यायो कि ? प्रेममा तिमीले सम्पती पो हे¥यौ कि ? गाडी, धन, सम्पती भन्दा महत्वपूर्ण त चोखो मन होला नि हैन र ? रामेछापका युवा र बनेपाकै युवतीकै जस्तो नियती नदोहोरियोस भन्ने कामना गरिरहेको छु । मान्छे हो मन कति बेला बहकिन्छ पत्तो छैन । आत्मा देखि नै गरेको प्रेमलाई लत्याउनुको कारण के हो ? प्रिय, प्रेम गरे पनि नगरे पनि त्यति जवाफ चाँहि देउ न ल । मेरो मनले शान्ति पाउँछ । वर्षात सकिए पनि झमझम परिरहेको पानीले पनि निभाउन नसकेको मनको आगो तिम्रो छोटो जवाफले निभाउनेछ । उहि तिम्रो हुन चाहेको....
रिदम खड्का
बनेपा, काभ्रे









