उनले सोचेको र मैले सोचेको फरक रहेछ । अहिलेको परिस्थिति पनि फरक छ । प्रविधिको युग पनि फरक छ । त्यहि अनुसार चल्न सकिएन भने समस्या उत्पन्न हुँदो रहेछ । त्यहि समस्या समाधान गर्ने प्रयत्नलाई समाजले गलत ठह¥याउँदो रहेछ । गलत र सहि समयले बताउला तर आज म भावनाको कुरा गरिरहेको छु ।
घरमा आर्थिक अवस्था राम्रो भएको भए कोहि घर छाडेर हिड्दैन थियो । केहि गरौं, केहि कमाउँ र बुबा आमालाई सुख दिऊँ भन्ने प्रायः अधिकांश सन्तानको उद्देश्य हुन्छ । केहि सन्तानले बाटो बिराउलान् अलग कुरा हो । मेरो पनि उद्देश्य बुबा आमालाई सुख दिने भन्ने थियो । त्यहि उद्देश्य अनुरुप घर छाडेर कमाउनकै लागि निस्किए । छोरो मान्छेले लाज, घिन, शरम केहि मान्नु हुँदो रहेनछ । छोरी मान्छेहरुका पनि अनेक समस्या छन् । परिवारबाट अलग हुन छोराहरुलाई जति सहज छ छोरीहरुलाई छैन । छोराहरु घर परिवार आफन्त सबै त्यागेर मुग्लान जान एकाएक तयार हुन्छन् । सक्छन् । छोरीहरुलाई त्यो जञ्जीर टुटाउन कठिन छ । कठिन जन्जीरको यात्रामा साथ दिने महान् नारीहरुलाई अनेक आरोप लगाईन्छ । तिनै महान नारीहरुकै कारण आज मुलुकमा नारीहरुको हक अधिकार संरक्षण भएको छ । अधिकार दुरुपयोग गर्नेहरुको खेति पनि सप्रिएको छ । अधिकारकै लागि लडेकाहरु अधिकारबाट बञ्चित भएका छन् । पृथ्वी गोलो छ । घुम्छ पनि । कहिले वारी घाम लाग्छ । कहिले पारी घाम लाग्छ । विहान उदाएको घाम बेलुका अस्ताउँछन् । हुरी, हावा, बतास जस्तो अवस्थामा पनि दिन रात भएको छैन । बादलहरुले पनि छेक्ने प्रयास गरिरहन्छन् । निरन्तर सुर्यले आफ्नो तेज, गतिलाई अगाडि बढाईरहेकै हुन्छ ।
बेरोजगारको समस्या छ । रोजगारीका लागि भांैतारिने क्रम त्यतिक्कै छ । बैदेशिक रोजगारमा जाने र त्यहाँबाट फर्कँदा परिवार नै विचल्लीमा परेको अवस्था पनि छ । रोजगारको सिलसिलामा म पनि जिल्लामा रहेको एउटा कुनै फर्निचरमा काम गर्दै आएको थिएँ । इमान्दार नै मान्थे मलाई । मैले कसैको अपराध गरेको थिईनँ । मान्छेको मन मिल्यो कसको के दोष ? विश्वमा सबै चिजका उपचार गर्ने अस्पताल बन्न थालेका छन् । कुन अस्पतालले मान्छे भित्रको मनको उपचार गर्छ ? मान्छे त्यस्तो शक्ति हो उसले मनको उपचार मनबाटै गराउन सक्छ । प्रविधि जतिसुकै भित्रिए पनि मनका अगाडि उ सबै कुराबाट थाक्न पुग्छ । त्यहि काम गर्दा गर्दै वरपरका मान्छेहरुसँग मेरो भेट भयो । म कसैसँग पनि त्यसरी बोल्ने गरेको थिईनँ । त्यहि क्रममा मेरो एउटी युवतीसँग भेट भयो । उनको मेरो देखादेखबाट शुरु भएको भेटघाट श्रीमान् श्रीमतीको नातासम्म पुग्यो । उनी प्रायः चिया पसलमै भेट हुन्थिन् । मलाई काम खाली हुने वितिक्कै चिया पसलमा जान मन लाग्न थाल्यो । चिया, खाजा खान सहज हुने भएकाले म मात्रै होईन अधिकांश ब्यक्तिहरु त्यहि फर्निचर सँगैको चिया पसलमा आउने गरेका थिए । उनको र मेरो भेट त्यो दिन हुनु नै म र उनी दुवैका लागि अभिषाप थियो । चिया पसलमा भएको भेटलाई हामी दुवैले अन्यथा मान्ने कुरा भएन । हेराहेर र देखादेखमा युवतीसँग मेरो बोलचाल भयो । प्रेमको शुरुवात त्यहि रहेछ । केहि दिनको उनको र मेरो हेराई फोनको नम्वर लेनदेनमा परिणत भयो । मोबाईल फोनको आदान प्रदान भए पछि हामी एक आपसमा कुराकानी गर्न थाल्यौं । शुरुशुरुमा हामी खासै केहि कुरा गर्दैन थियौं । विस्तारै माया प्रेमका कुरा हुन थाले । माया प्रेम हुँदा हुँदै हामी त एक अर्का विच छुट्टिन नसक्ने भएछौं । उनको अनुहार देखाईमा मलाई सहजता हुन थाल्यो ।
मन मिलेकै आधारमा उनको मेरो कुराकानी अगाडि बढिरह्यो । हरेक शब्दहरुमा उनको र मेरो विवाहको मात्रै कुरा हुन थाल्यो । उनले पनि विवाह गर्ने भए प्रेम गर्ने नत्र नगर्ने भन्न थालिन् । भर्खर २१ वर्ष लागेको मेरो मन पनि पहिलो प्रेम विवाह नै गर्न किन तयार नहुनु ? मैले सहमत जनाएँ । दुबै जनाको सहमति पछि हामीले हाम्रो भेटघाटलाई अगाडी बढाईरह्यो । केहि दिनमै हामी विवाह गर्न राजी भएका थियौं । म फर्निचरमा काम गरेर कोठामा आएर सुत्ने गरेको थिएँ । विवाह कुरो टुङ्गो नलाग्दासम्म मैले कहिल्यै उनलाई मेरो कोठामा बोलाएको थिईनँ । जब उनको र मेरो भाग्ने योजना बन्यो तब मात्रै मैले मेरो कोठामा उनलाई ल्याएको थिएँ । हामीले घरमा भनेर भाग्ने सम्भावना थिएन । मैले उनको बुबा मुमालाई नसोधी सम्भव छैन भन्दा पनि उनले मानेकी थिईनन् । उनकै जिद्दी धेरै थियो । उनको जिद्दीका कारण मैले उनको निर्णयलाई साथ दिएको थिएँ । दिउँसो भाग्ने योजना बन्यो । त्यो दिन मैले साहुजीलाई केहि पैसा मागेको थिएँ । उनलाई विवाहको लागि भनिएको पनि थिएन । भन्ने कुरा पनि थिएन । उनलाई पनि थाहा दिएर गरेको भए पनि सायद आज यस्तो दिन भोग्नु पर्दैन थियो होला । कोठामा चामल सकिएको बाहनामा पैसा मागें । मैले सोचें धेरै पैसा दिन्छन् । ५ सय रुपैयाँ मात्र दिए । पाँच सय पैसाले उनलाई लिएर म कसरी भागँु ? त्यो पनि समयमै दिएको भए हामी भाग्ने थियौं । साँझ पैसा लिएर आउँदा ढिला भयो । फेरी खाना पकाउन समय थिएन । पहिलो प्रेम विवाहमा परिणत हुँदै थियो । पहिलो साईत नै विग्रिए पछि मलाई दशा लागेको रहेछ ।
फेरी उनको र मेरो भेटघाट भयो । नियमित जस्तै हुन थालेको थियो भेटघाट । फोन र एसएमएसमा पनि हामी त्यहि कुरा गरिरहेका हुन्थ्यौं । कोठामा खाना पकाउन ढिला भयो । विविध कारणले त्यो दिन हामी घरबाट निस्कन सकेनौं । अब त अति भयो भन्ने लाग्यो । उनको मनमा पनि म नामर्द पुरुष जस्तै भएँ । उनको चाहनामा हामी भाग्न नसक्ने कस्तो हुत्तिहारा ? प्रेममय शब्दहरुमा आफ्नो कमजोरी खोतल्ने प्रयासलाई टाल्न खोजें । त्यहि फर्निचरमा काम गरिरहेकाले वातावरण बनाउन मलाई सहज थियो । म प्रेम गर्थैं । उनि पनि प्रेम गर्थिन् । तर हामी त्यति चाँडै भाग्ने हाम्रो योजना थिएन । त्यो योजना घरकै टर्चर प्रमुख थियो । हामीले खराब केहि काम गरेका पनि थिएनौं । गरेका पनि छैनौं । अनि सहमतिमा हामीलाई तिमीहरुको विवाह सम्भव छैन है भनेको भए पनि हामी टाढा हुने थियौं । म त्यो फर्निचरबाटै निक्लिन्थे होला । काम खोज्न आएको ब्यक्ति म अन्यत्र पनि काम गर्थे होलां । हामीलाई सम्झाउने भन्दा पनि हामीलाई कारवाही गर्ने र फसाउने प्रपञ्च भयो । त्यस्तो प्रपञ्चका कारण आज म अपराध नगर्दा नगर्दै अपराधीको भूमिकामा अनुसन्धानको घेरामा कारागारसम्मको यात्रामा पुगें ।
मलाई जर्बजस्ति करणी र अपहरणको मुद्दामा फसाईयो । उनको चोखो प्रेममा ब्रेक लगाईयो । अन्ततः म जेल परें । जेल परेको केहि महिनामा नै उनले आत्महत्या गरिछन् । म विनाको उनको जीवन अधुरो बन्न पुगेको थियो । म उता तड्पिने उनी घरमा छटपट्टिने । अभिभावकले कुरा बुझ्न सकेनन् । होला मैले मेरो हैसियत अनुसारको प्रेम गरिनँ होला । म धनी बन्न सकिन होला । भाग्य हो उनीसँग विवाह भएको भए सायद मेरो धनी हुने सपना पुरा हुन्थ्यो कि ? उनले मलाई छाडेर गएको कुराले धेरै पिरोल्यो । केहि समय पछि म जेलबाट छुटें । त्यहाँ बस्दाका पीडा र भोगाईको कुरा गरी साध्य छैन । अनाहकमा फसाईएको ब्यक्ति भएकाले मेरो तर्फबाट बहस गर्ने कानून ब्यवसायीहरुले उनको आत्महत्यामा परिवारका सदस्यहरुलाई मुद्दा लगाउन माग गरेका थिए । त्यहि दिनको बहस मेरो कारागार बाहिर आउने मुख्य कडी बन्यो । जीवन हो । उनको घर नजिकै गएर जेलबाट छुटेपछि दिनभर रोएँ । काम गर्ने स्थानका साहुजीलाई भेटें । उनले सान्त्वना दिए तर काम गरेको पैसा दिएनन् । धेरै वर्ष पुरानो पैसा अब किन दिने भने । म झनै रोएँ । म निर्दोष भएकाले लाग्या थियो उनले फेरी काममा बस भन्छन् । निर्दयी र स्र्वार्थी समाजमा मैले भावना र दया कतै देखिन । उनी सँग केहि समय झगडा पनि गरें । उनले उल्टो फसाउँछु भन्दै धम्की दिए । मजदुरको श्रमको थोरै रकम दिन त्यसो गर्ने साहुजीहरुको कहिल्यै भलो नहोस् । पसिना चाटेर लुटेको श्रमको मुल्यको बदला उनले पाउनेछन् ।
उनको त्यो ब्यवहार मेरा लागि पछि इखका रुपमा उद्यमी बन्न प्रेरित ग¥यो । उनले लखेटेकै कारण मैले सानो उद्योग शुरु गर्ने हिम्मत गरें । चिनेका एकजना दाई मार्फत सहकारीले थोरै ऋण दियो । विस्तारै कमाउँदै तिर्दै गएँ । अहिले त सहकारी संकटमा प¥यो तर मैले सकेको सहकारीलाई सहयोग गरिरहेको छु । म उद्यमी भएको छु । आत्मनिर्भर भएको छु । जीवनमा घटेका केहि घटनाबाट पाठ सिकेको छु । विवाह गरें । मागि विवाह भएकाले विवाह पछि उनीसँगको प्रेम झाँगिएको छ । एउटा बच्चा भयो । उसको खुशी र सुखका लागि हामी दुबै जना आफ्नै उद्योगमा काम गर्छाै । मासिक ५० हजार जति कमाउँछौं । भाडा तिर्छाै । मिठो मसिनो खान दुःख छैन । तीजका अवसरमा धेरै तिर विभिन्न कार्यक्रम भएका छन् । त्यो घटना त्यहि समयको थियो । त्यो घटनाका बारेमा परिवारलाई सबै भनेको छु । तर पनि झल्झली आउने यादले न उनलाई विर्सन सकें न दुःख दिनेहरुलाई । शत्रुलाई खोपामा राखेर पुजा गरेको छु । कारण मेरो सफलता उनिहरुकै कारण हो । नत्र आज पनि म उनिहरुकै दास भईरहन्थे कि ? घटना धेरै हुन्छन् । अनुभुति धेरै हुन्छन् । त्यसले सिकाउने पाठ महत्वपूर्ण हुन्छ । यहि कुरा जीवनबाट सिकें । त्यहि अनुभव मोरातीसँग पोखें ।
उद्धव खेरे
बनेपा, काभ्रे









