सिन्धुपाल्चोक जिल्लामा मेरो जन्म भयो । सामान्य थियो परिवार । बाबुआमा नभएका दाजु भाउजुको संरक्षणमा हुर्किए । बाबु आमा नभए पछि त्यो घरको सन्तानले भोग्ने अनेक भोगाईहरुमा धेरैको बुझाई अलग अलग होला । मेरो भोगाई र बुझाई फरक छ । सबैले मेरो भोगाईमा सहमत जनाउनु पर्छ भन्ने छैन तर मेरो अनुभूतिमा हाँसी मजाक गर्नु पर्छ भन्ने छैन । सबैलाई नपच्न पनि सक्छ । मेरा भोगाईमा कुनै बढाई चढाई छैन । मेरो केही दोष थिएन । उडाए सारा सपना हुरीले । किन आउँछ यस्ता हुरीहरु मान्छेको जीन्दगीमा । किन आउँछ यस्ता आँधी मान्छेको जीवनमा । किन आउँछ यस्ता बाढी मान्छेको जीन्दगीमा । सारा खुशी उडाउन अनि बगाउन । म त सोच्नै सक्दिनँ । एकान्त ठाउँमा बसेर आफ्ना सारा खुशी हुरीले उडाएकोमा कति रुनु सधै ? भोग्नेलाई मात्र थाहा हुन्छ पीडा । आँशुको मूल्य बगाउनेलाई मात्र थाहा हुन्छ । जीवनमा दुःख मात्र हुँदैन । खुशी पनि सँगसँगै हिँडिरहेको हुन्छ । त्यसैले हिम्मत गरेर अगाडि बढिरहेको छु । एक दिन सुख जीवनमा फर्केर आउनेछ । खुशीका पारिला घामहरु लाग्नेछन् । रुँदा एक्लै रुनुपर्छ । हाँस्दा संसार हाँस्छ । मान्छेले मान्छेलाई गरिने व्यवहारमा परिवर्तन आउनु पर्छ । चेतना आओस् । तपाईका तिनै छोरी चेलीले पत्नी, आमा, बनेर धेरै भूमिका निभाइरहेका हुन्छन् । दुःखमा काँडा बनेर नबिझाउन् कसैले ।
त्यतिबेला चञ्चल स्वभावकी थिएँ । विहान उठ्ने बित्तिकै मलाई मेक–अप गरिहाल्नु पर्ने । सायद छोरीहरुको स्वभाव नै हो कि । ओठमा रातो लिपिस्टिक, आँखामा कालो गाँजल, निधारमा रातो टिका नियमित लगाउँथे । मेरो यो श्रृंगार देखेर अरुले जे भने पनि मलाई कुनै मतलब थिएन । आज सोच्छु जीवनमा गर्नुपर्ने श्रृंगार मैले त्यतिबेला नै गरिसकेछु । आज उजाड बनेर बाँच्नु रहेछ । सबथोक त्यतिखेर नै गरिसकेको रहेछु । कति नक्कली भएकी भनेर साथीहरु जिस्क्याउँथे । तर कहाँ सुन्थे र म । रोएर हुन्छ रिसाएर हुन्छ । जस्तो फेसन आयो किनेर लगाउनु पथ्र्याे मलाई । पढ्न लेख्नमा त्यति मन जाँदैनथ्यो । बडो मुस्किलले पास हुने गर्थें । स्कूल गयो । सधै पछाडि बेन्चमा गएर बस्यो । ध्यान जाँदैनथ्यो पढाईतिर । ध्यान जान्थ्यो त नौरंगी दुनियाँतिर । दुःख पाउने मेलो त मैले त्यतिखेर देखि नै बसाईसकेको रहेछु । न हुने रहेछ फुरफुर मेरो त धेरै नै थियो । आज बगर बनेको जीन्दगी हेरेर टोलाउँछु । ध्यान दिएर पढेको भए आज यो दुःखमा काम लाग्ने थियो कि ? बाँच्नको लागि शिक्षाले बाटो देखाउथ्यो होला । मैले यसरी रुनु पर्ने थिएन की ? म रोएको देखेर एकजना आमा सरह उमेर भएकी एक जना दिदीले कसैले नदेख्ने गरि आँशु बगाउन थाल्नु भएको रहेछ । लाग्यो खुशीले उनलाई माया दिएको नक्कल ग¥यो । बिडम्बना त्यहि खुशीले सिङ्गो मुटु चुँडेर लग्यो । आफ्ना जीवनका पानाहरु क्रमशः पल्टाउँदै थिएँ । कक्षा ८ फेल भए पछि घरबाट पढ्न त जा भने । मलाई पनि पढाईतिर त्यति चासो नभएकोले स्कूल छाडिदिएँ । स्कूल छाडेकोमा म साह्रै खुशी भएँ त्यतिखेर ।
दिन बित्दै गयो । साथीहरु कक्षा चढ्दै गए म भने घरको काममा खटिँदै गएँ । एकदिन घरमा नयाँ केटा ल्याएर विवाहको कुरा चल्यो । पहिलो चोटी त्यो केटा मलाई मन परेको थिएन । मैले विवाह गर्दिनँ भने । मैले नमाने पछि दाईले मलाई सम्झाउनु भयो । दाईको कुरा सुन्दै नसुनी म आफ्नो जिद्दिमा लागिरहें । मलाई मेरो आफ्नै दाईले बेस्मारी पिट्नुभयो । मेरो इच्छा विपरीत त्यहि केटासँग विवाहको कुरा छिनियो । हेर्नुस् त कस्तो भाग्य मेरो । म रोएँ डाँको छोडेर । बा–आमालाई सम्झेर रोएँ । तर मेरो दाजुको म माथि मन पग्लिएन । दाजुको लागि म बोझ भएको रहेछु । त्यस्तै सोचे मैले । घरमा विवाहको तयारी हुन थाल्यो । आफूले दिन सक्ने दाइजो दिएर मेरा दाजु भाउजुले मलाई त्यो घरबाट विदा गरे । चाहे सुख पाओस् चाहे दुःख के वास्ता उनीहरुलाई बस विवाह गरिदिए । अरु त मेरो भाग्यमा जे थियो त्यहि भोगें मैले । कडा मिजासकी सासु थिइन् । कहिले राम्रो मुखले बोल्दिन थिइन् । नशामा मातिएर दिनभर कराइरहने ससुरा थिए । कसलाई कस्तो व्यवहार गर्नुपर्छ कसैलाई थाहा थिएन । लोग्नेको त कुरै छोडौं । कुनै काम थिएन उनको । दिनभर बरालिएका केटाहरु सित हिँड्यो । नशामा बेलुका घर फर्कियो । कोठा नै थर्किने गरी करायो । गाली ग¥यो । यस्तै यस्तै दिनचर्या थियो मेरो लोग्नेको । मन बुझाउने कुनै कुरा थिएन त्यहाँ मेरो लागि आफ्नो भन्ने दुःख पोख्ने कोही थिएन । रात परेपछि मेरो मन बेस्सरी रुन थाल्यो । कोठाबाट बाहिर कहिले छिँडिमा रोएरै धेरै रात बिताएँ मैले । सबै लोग्ने मान्छेहरु यस्तो बिना बाटो हिँड्ने यात्री हुँदैनन् । मेरो यस्तो भयो । उनको र मेरो सम्बन्ध देखावटी रुपमा मात्र लोग्ने र स्वास्नीको थियो । आखिरमा हाम्रो मन मिल्न सकेन । उनले मलाई चिन्न सकेनन् या मैले उनलाई बुझ्न सकिनँँ । जीवनसाथी भनुँ त मायाको एक रति आभाष छैन । पराई भनुँ त एउटै छानो मुनि छौं । त्यो सम्बन्धको अर्थ खोज्न नसकेर म धेरै अल्मलिन्थे । हर रातहरु मेरो भयभित भएर आउन थाल्यो । रात परेपछि म डरले काम्न थाल्थें । लाग्थ्यो उनीबाट टाढा भागौं र शान्तिले बाँचौं । मलाई देखेर उनी रुष्ट थिए । माइत जाँदा भाउजुहरुले धेरै सम्झाए मलाई । दाईले त्यतिखेर मात्र बुझ्नुभयो । आज सोच्छु मैले पो उनलाई माया गर्न जानिन् कि ? या उनले पो मलाई माया दिन जानेनन् । उनी त केटा मान्छे थिए । मेरो मन जित्नुपथ्र्यो उनले । त्यसो गर्ने कोसिस सम्म पनि गरेनन् । डर धम्कीमा मात्र राख्न खोजे । म कतिदिन भागेर उनीबाट टाढा हुन सक्थे र ? म उनकै कब्जामा परें । मारे पाप पाले पुण्य भन्दै मेरा दाजु भाउजुले उनलाई सुम्पेका थिए । म उनको निजी वस्तु थिएँ । उनको इच्छा अनुसार मलाई उपयोग गर्न सक्थें उनी । उनले त्यस्तै गरे पनि । म लुटिएँ एउटा निर्जीव वस्तु बनेर उनीबाट । हाम्रो विवाह भएको ६ महिना बित्न आँटेको थियो । एकदिन साथीहरुसँग घुम्न हिँडेका उनी राती अबेर सम्म पनि आएनन् । मनमा अनेकौं शंका उपशंका गरेर सिंगो रात कटाएँ । उनको संगत राम्रो थिएन । मैले सम्झाउन खोज्दा उनी मेरो कुरा पटक्कै सुन्दैनथे । घरमा कसैको वास्ता थिएन उनलाई । होचाकी जोई सबैकी भाउजु झै थिएँ म त्यो घरमा । उनको आफ्नै दुनियाँ थियो । मैले दिन नसकेका सबै चिजहरु अरुबाट सजिलै प्राप्त गर्थें उनी । मैले सम्झाउँदा भन्थे उनी पैसा छ भने तँ जस्ता केटी त छानी छानी पाइन्छ । पैसाले मान्छेको शरीर किन्न त पाइएला तर पैसाले मान्छेको मन किन्न खोज्नु कति मुर्खता हो । उनको र मेरो प्रेमको सिद्धान्त अलग अलग थियो । म उनको मनसँग प्रेम गरेर उनी सामु पुग्न चाहन्थें । उनी मेरो शरीरसँग प्रेम गरेर म सँग टाढा हुन चाहन्थे । मेरो विवाहको सम्पूर्ण गहना समेत उनले बाँकी राखेनन् । बेचेर सके । एक मनले भन्छ उनको नामको सिन्दुर पोते पहिरिएर के पाएँ मैले । आँशु । त्यो रात उनी आएनन् घरमा । भोलिपल्ट गाउँमा हल्ला सुनिन थाल्यो । मोटरसाइकल दुर्घटनामा परी उनी अस्पतालमा अचेत अवस्थामा छन् । हामी सबै अस्पताल पुग्यौं । उनी अचेत अवस्थामै थिए । डाक्टरको भनाई अनुसार टाउकोमा गहिरो चोट लागेर रगत बढी गएको हुनाले यसै हो हामी भन्न सक्दैनौं । ओहो डाक्टरले यस्तो कहालीलाग्दो कुरा सुनाए । आफूले टेकेको धर्ती भासिन थाल्यो । कम्प हुन थाल्यो मलाई । सम्बन्ध जस्तो भए पनि उनी मेरो लोग्ने थिए । बाँच्ने एउटा आधार थिए । उनको त्यो अवस्था देखेर मेरो मुटु छियाछिया भयो । कुनै दिन हाम्रो सम्बन्ध सुध्रिएला र हाम्रो सुख दुःख एउटै होला त्यहि आशामा बाँच्ने एउटा बाटो त थियो मेरो । आज त्यहिबाट भत्किन लागेको म कसरी सहन सक्थे र ?
म डाँको छोडेर रुन थालें । त्यसपछि के भयो मलाई थाहा छैन । कुन दिन कुन रात एउटै भयो । रोएर बिते मेरा दिनहरु । भगवानसँगै उनको जीवन मागेर म रोएँ कराएँ । तर भगवानले मेरो बिलौना सुनेनन् । चार दिन सम्म बेहोस अवस्थामा रहेर उनी सदाको लागि बिदा भए । म एक्लो भएँ । बिलकुल एक्लो । के सोचेको थिएँ के भयो । मनमा परेका विरहका गाँठाहरु फुकाउन त्यति सजिलो हुँदैन । सकि नसकी ती गाँठाहरु फुकाउँदै थिएँ । लाउँलाउँ खाउँ खाउँ भन्ने बेलामा मेरा सबै खुशीहरु हराए । एक धर्साे खुशीको रेखा ओठमा बाँकी थिएन । मर्न अनेकौं प्रयास गर्दा पनि मर्न सकिनँ । भगवानले मर्न पनि दिएनन र दुःखको सागरमा डुबाइरहन चाँहे । विवाह भएको छ महिनामै विधुवा भएँ । उनको नासो ४ महिनाको बच्चा मेरो पेटमा हुर्कदै थियो । घरमा सबैको तिरस्कारको पात्र भएँ म । सासु ससुराले म माथि अनेकौं आरोप लगाइनै रहनु भयो । उनको छोरा मर्नुको दोष मैमाथि थोपरे । मेरो के दोष थियो र ? आफ्नो छोराको संगत कस्ता व्यक्तिहरुसँग छ । छोरा कुन बाटो हिँड्दै छ । यो जान्नु र बुझ्नु बाबु आमाको कर्तव्य हो कि होइन । दुर्घटना भए पनि सबै दोष म माथि किन थोपरे उनीहरुले । म उनीहरुको लागि किन बोझ भएँ । म कहाँ जाउँ र कसरी बसौं ? घरमा बस्नको लागि सहज वातावरण थिएन । मन बेचैन भैरह्यो । आफ्नो जन्मघर छाडेर कर्मघर आउँदा आफ्नो बाआमा तिनै सासु ससुरा हुन्छन् । नारीको लागि मेरो जीवनमा ससुरा एउटा घिनलाग्दो पात्रको रुपमा उपस्थित भयो । अनेकौं प्रयास गर्दा पनि आफ्नो इच्छा पूरा नभएपछि अनेकौं बाहाना गरेर उसले कुट्न थाल्यो । एक दिन छिमेकीले थाहा पाएर म बचें । गाउँमा हल्ला भएपछि समाजको डरले उनी घरबाट अन्त बस्न थाले । मैले मुक्तिको श्वास फेरें उ नहुँदा । सासुको कचकचाईलाई त मैले सहेर पचाइरहें । भगवान म कति दुःखी रहेछु । यो भाग्य फुटाएर हेर्न पनि नमिल्ने । मेरो त कर्म लेख्ने मसी पनि फरक परेछ । मैले जीन्दगीका पाना भरी थोरै खुशी धेरै आँशु भेटे । कहिले विरहको आगो तापे कहिले एक्लोपनको खडेरीमा निस्सासिएर बाँच्न विवश भएँ । पछि छोरा जन्मियो । एउटा सहारा मिल्यो बाँच्नको लागि सोंचे । यसैको मुख हेरेर आफ्ना सारा अतितहरु भुल्दै छु । उसको हुकाई, पढाई र असल संस्कार सिकाउने प्रयाससँगै उज्ज्वल भविष्य बनाउने अभियानमा संघर्ष गर्नेछु ।
शितल कार्की
काठमाडौ, नेपाल









