रक्षक नै भक्षक भए पछि । कसको विश्वास गर्ने । कसको नगर्ने । बुबा आमाले विश्वासका साथ विद्यालयमा जिम्मा लगाउनु भयो । विद्यालयले सबै बालबालिकाहरु हेर्ने जिम्मेवारी वार्डेनलाई दिएको थियो । एउटा ब्यक्ति खराब भयो भन्दैमा सिङ्गो विद्यालय खराब हुन सक्दैन । विद्यालयका शिक्षक शिक्षिका र साथीहरु खराब हुन सक्दैनन् । तर एउटा ब्यक्तिका कारण सिङ्गो संस्था, परिवार र आफन्त पनि बदनाम हुन बेर लाग्दो रहेनछ । बदनाम हुनेहरुको त इज्जत केहि समय पछि फर्किन्छ होला तर त्यहि बदनाम भित्रको पीडित पात्रको पीडा र भोगाई विर्सन कठिन छ । सुन्छु यस्ता धेरै घटना हुन थालेका छन् । भएका छन् । टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा यस्तै घटनाबाट पीडित हुनेहरु र पीडक नाम चलेका ब्यक्तिहरु रहेको घटना सार्वजनिक भएको छ । तर पनि ब्यक्तिले कति बेला होस गुमाउँछ ? होस् गुमाउँदा उसले के गरिसकेको हुन्छ ? त्यसको परिणाम के हुन्छ बुझेको हुँदैन । बुझ्न चाँहदैन र बुझेर पनि बुझ पचाउँछ । हो त्यसैले समाज भित्र भएका तमाम राम्रा विषयलाई ओझेल पार्ने गर्दछ ।
१०÷१५ दिन देखि निरन्तर प्रहरी कार्यालय आसपास छु । कहिले सरकारी वकिलको कार्यालय पुग्छु । कहिले अस्पताल त कहिले अदालत । विद्यालय गएर नियमित अध्ययन गर्नुपर्ने ब्यक्ति न्यायका लागि अड्डा अदालत धाउन बाध्य भएको छु । कक्षा ९ मा अध्ययन गर्दै छु । काभ्रेपलाञ्चोक जिल्लाको शहरी क्षेत्र भित्र पर्छ घर । आफन्तहरु सानैदेखि राजधानीमा बस्ने गरेका थिए । मेरो जन्म काभ्रेमा भए पनि हुर्काई राजधानी काठमाडौ जडिबुटी आसपास भयो । अहिले पनि जिल्लाका थुप्रै ब्यक्तिहरु त्यतै बस्छन् । त्यहाँ पनि काभ्रेको आफ्नै जन्मगाउँ जस्तै लाग्छ । उता जाँदा पनि नजिक । यता आउँदा पनि नजिक । परिवार गरिब नै छ । सामान्य अवस्थामा मजदुरी गर्नु पर्ने परिस्थिति छ । डेरा भाडा तिर्न, विद्यालयको शुल्क बुझाउन र हाम्रा आवश्यकता पूरा गर्न अभिभावकलाई अहिलेको कमाईले धौ–धौ छ । उहाँहरुको पीडा फरक होला । तर पनि सन्तानको इच्छाका अगाडि उहाँहरुको केहि जोड चल्दैन । भोको पेटमा पटुका कसेर भए पनि हाम्रो पेट फुकाउने गरी खान दिनु बुबा आमाको धर्म रहेछ । केहि कुरा बुझ्दै छु । केहि कुरा सिक्दै छु । यो कलिलो बाल मस्तिकबाट यस्ता थुप्रै पीडाहरु कसरी हटेर जालान् ? कठिन छ । तर पनि काँधमा अभिभावक प्रतिको ठुलो जिम्मेवारी छ । त्यहि जिम्मेवारीले हामीलाई संघर्ष गर्न सिकाउँछ होला । प्रहरी कार्यालय कहिल्यै देखेको थिईनँ । प्रहरी देख्दा समेत सानोमा डराउने ब्यक्ति थिएँ म । रुँदा पनि प्रहरी बोलाई दिउँ भन्ने अभिभावकहरुका सामु अहिले दैनिकजसो प्रहरी कार्यालय धाउँदा ति कुराहरु झलझली सम्झन्छु ।
बाल्यकाल रमाईलो भयो । काठमाडौंमा असुविधा केहि थिएन । भए पनि अभिभावकहरुलाई भएको होला । सरकारी विद्यालय जान थालेका थियौं । डेरामा बसेर भए पनि निजी विद्यालयमा पढाउने अभिभावकको चाहना रहेछ । विस्तारै हामी तीन सन्तानलाई नै बोर्डिङ्गमा पढाउन थाल्नु भयो । हामी पनि खुरुखुरु विद्यालय जान थाल्यौं । दादाले एसईई दिई सक्नु भएको छ । उहाँ अहिले कक्षा १२ मा अध्ययन गर्नु हुन्छ । दादाले पढेको स्कुल राम्रो छ भनेर हामीलाई पनि सानै देखि त्यहि विद्यालयमा भर्ना गरिएको थियो । हामी नियमित विद्यालय जाने गरेका थियौं । उक्त विद्यालयले कक्षा १० अध्ययनको समयमा छात्राबासमा राख्ने गरेको रहेछ । एसईईको परीक्षाफल राम्रो आओस भन्ने उदेश्यले होला हरेक वर्ष विद्यालयले दिउसो र रात्रिकालीन छात्राबासमा विद्यार्थीहरु राख्ने गरेको थियो । म दिउँसोको छात्राबासमा थिएँ । विद्यालयले छात्राबास हेर्ने गरी एक जना शिक्षकलाई जिम्मेवारी दिएको थियो । उहाँ हरेक हिसाबले उत्कृष्ट हुनुहुन्थ्यो । हामीलाई डर पनि लाग्थ्यो । सबै डराउँथे । कडा स्वभावको हुनुहुन्थ्यो । सायद त्यहि कारण विद्यालयले उहाँलाई जिम्मेवारी दिएको होला ।
असारको पहिलो साताको कुरा हो । मेरो काभ्रेमा आउनु पर्ने भयो । बुबा आमाले काम अहउनु भयो । वार्डेन सरले त्यो कुरा कसरी थाहा पाउनु भयो मलाई थाहा थिएन । म उहाँसँग खासै बोल्दिन थिएँ तर नजिक भए जस्तो गरेर उहाँले नै माया गर्नु हुन्थ्यो । म जस्तै अरु साथीहरु पनि नजिक नै थिए । स्वभाविक मानिरहेको थिएँ । म काभ्रेमा जाने कुरा उहाँले नै सोधे पछि झसँग भएँ । उहाँको बाईक भएकाले मलाई पनि काभ्रे गएर आउन सजिलो हुने भयो भन्ने भए पछि म तयार भएँ । अभिभावकहरुको उहाँसँग राम्रो चिनजान भएकाले जान अनुमति दिनुभयो । अभिभावक पछिको अभिभावक उहाँलाई विश्वास नगर्ने कुरा पनि भएन । उहाँले विद्यालयमा आएर नै जाने बताए पछि विहानभर अध्ययन सकेर हामी धुलिखेल आउन तयार भयौं । १० बजे तिर हामी काठमाडौबाट धुलिखेलका लागि निस्कियौं । उहाँको के काम थियो मलाई जानकारी भएन । तर मेरो काम गाउँ पुगेर जन्मदर्ता भएको कागजात ल्याउनु थियो । बुबा आमाले जन्मदर्ता गराएको कागजात गाउँमै राख्नु भएको रहेछ । एसईईका लागि हो वा अरु कुनै प्रयोजन हो ? त्यो कागजात कहाँ प्रयोग हुन्छ त्यो पनि मलाई थाहा भएन । उमेरले म १६ लाग्दै छु । अलिक ढिला पढेकाले मलाई धेरै उमेरको जस्तो देखिन्छ । ज्यान हलक्कै बढेको छ । १५ वर्षको कसैले भन्ठान्दैनन । २० वर्षको जस्तो देखिने मेरो ज्यान देखेर लोभिँदा रहेछन् । म त केटाकेटी त्यस्तो कुरा मलाई केहि थाहा थिएन ।
उमेरका कारण होला । विद्यालयमा सँगै अध्ययन गर्ने एकजना केटा साथीले मन पराएको कुरा धेरै पछि थाहा पाएको थिएँ । तर उनलाई मैले यो समय त्यस्तो नभएकाले अस्विकार गरेको थिएँ । धुलिखेलबाट पहिले हामी गाउँ गयौं । मेरो जन्म दर्ता लियौं । उहाँले बाटोमा केहि त्यस्तो भन्नु भएन । तर कुनैकुनै बेला आकर्षण हुने उत्तेजक कुरा गर्नुभयो । मैले शिक्षक भएर कस्तो कुरा ग¥या होला भन्ने ठानें । उहाँले असहज केहि नमान्नु भन्नु भयो । म लज्जित भईसकेको थिएँ । उहाँले नै धुलिखेल गएर कफि खाएर फर्कआंै हुन्न भन्नु भयो । शिक्षकले भनेको कसरी नमानौ ? मेरो लागि घरमा पुगेर फर्कनु भएको छ । दुःख गर्नु भएको छ । उहाँले धुलिखेलमा आफ्नो साथीलाई पनि भेट्नु छ भन्नुभयो । ठिकै छ नी भनेर हामी धुलिखेल पुग्यौं । एउटा रिसोर्टमा पुगियो । विहानै खाना खाएर हिडेकाले भोक लागेको थियो । उहाँले खाजा खाउँ भन्नु भयो । जहाँ गए पनि अहिले हामीले खाने मःमः चाउमिन खाने नेपालीको चलन बनेको छ । तर हामीले रिसोर्ट भएकाले अलिक फरक परिकार खाने योजना बनायौं । म मख्ख पनि थिएँ । रिसोर्टमा गएर खान पाउनु मेरा लागि फरक खालको अनुभुति थियो । विद्यालय र घर बाहिर कहिल्यै गएको थिईनँ । त्यो खालको आर्थिक हैसियत पनि थिएन । सरले मलाई एक वर्षको शुल्क पनि आफैले ब्यवस्थापन गरिदिनु बताउनु भयो । म त उहाँसँग झनै नजिक हुन पुगें ।
उहाँले त्यहि फाईदा उठाउनु भएछ । मलाई थाहा थिएन । उहाँ भित्रको स्वार्थ मैले बुझेको थिईनँ । कोठा पनि लिनु भएको रहेछ । कोठामै गएर खाजा खाने कुरा गर्नु भयो । मैले किन र ? प्रश्न गरें । त्यहि आनन्द हुन्छ भन्नुभयो । उहाँले भनेको किन नमान्ने ? गलत नियत मेरो थिएन । उहाँले त्यस्तो केहि सोच बनाएको महसुस पनि भएन । उहाँको प्रस्ताव र ममतामा म लोभिएँ । म पागल जस्तै भएछु । केहि समय खाजा खाए पछि हामी त्यहि बस्यौं । शिक्षकले मलाई नजिकै राख्नु भयो । विस्तारै हामी एक अर्कामा हरायौं । उहाँको साहसका अघि मेरो केहि चलेन । मैले हल्का तर असहज समर्थन जनाएँ । चिच्याउन सकिनँ । भाग्न सकिन । नाई भने पनि उहाँको त्यो पन्जाबाट म मुक्त हुन सकिन । साँझ ७ बजे तिर मात्रैै हामी काठमाडौ फर्कियौं । घरमा ढिला भए पछि बुबा आमाले सोध्नु भयो । सरको काम रहेछ अनि ढिला भयो भनेर ढाँटे । सरले कसैलाई केहि नभन्नु । भने देखि विद्यालयले रेस्टिकेट गर्छ भन्नु भएको थियो । मेरो बालमस्तिकले त्यहि कुरा सोच्यो । राति खाना पनि खाईन । थकाई लागेर मर्नु भएको थियो । विरामी जस्तै भएको थिएँ । आमाको मन न हो । उहाँले सोध्नु भयो । मैले केहि बेर ढाँटे पनि उहाँले थाहा पाउनु भयो । मैले सबै कुरा भनिदिएँ ।
उहाँ विवाहित हुनुहुँदो रहेछ । उमेर पनि १८ वर्ष फरक रहेछ । विवाह गर्ने कुरा पनि सम्भव थिएन । मेरो उमेर पनि पुगेको थिएन । उहाँले शिक्षक विरुद्ध उजुरी गर्नु पर्ने कुरा बताउनु भयो । विद्यालय पुग्यौं । प्रधानाध्यापक समक्ष सबै कुरा बताए पछि तत्कालै प्रहरीलाई खबर गरे पछि उहाँलाई पक्राउ गरेर लग्यो । विद्यालयको कुनै हात थिएन र छैन पनि । उहाँको ब्यक्तिगत स्वभाव र चरित्रका कारण विद्यालयलाई पुग्न सक्ने असरप्रति मेरा अभिभावक संवेदनशील हुनुभयो । विद्यालयले पनि सहयोग ग¥यो । घटना धुलिखेल भएकाले काभ्रे प्रहरीमा मुद्दा चलिरहेको छ । उसलाई कारवाही होला वा नहोला अलग कुरा भयो । मैले न्याय पाएको महसुस गरें । उसलाई तत्कालै प्रहरीले पक्राउ गर्नु राम्रो हो । हरेक दिन प्रहरीले, सरकारी वकिलले लगायत अन्यले सोधेर हैरान हुने कुराले मानसिक असन्तुलन बनाउने रहेछ । बालबालिकाहरुलाई हुने यस्ता खालका घटनाबाट जोगिन र घटना पछिको सामाजिक, पारिवारिक र ब्यक्तिगत लाञ्छना, तनावलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ ? सहि बाटो हुन सकेन भने भोलि अर्काे पो घटना हुन्छ कि ? हरेक अभिभावक र विद्यालय परिवार सचेत हुनु आवश्यक छ ।
पीडित बालिका
पनौती, काभ्रे









