2026 June 06/ 04:07: 44pm

दशा बाजा बजाएर आउँछ र ? सबैलाई पर्ने दुःख होला सायद । जीवनभर बाँच्ने गरी कसैले आयु लिएर आएको हुँदैन र छैन पनि । मान्छे सदा सदा बाँचेको देखेको पनि छैन । सबै ब्यक्ति एक दिन मर्नु पर्छ नै । मर्ने कसरी ? कसका कारण ? नियमित वा अकालमा ? मर्न बाध्य पार्ने वा मरिने ? बिरामी भएर वा दुर्घटना ? कालले कसरी लैजान्छ भन्ने मात्रै रहेछ । करिब तीन साता देखि हाम्रो परिवार विक्षिप्त छ । पीडामा छ । पीडामा मल्हम लगाउन भन्दा पनि नुन खोर्सानी छर्कनेहरुको संख्या धेरै छ । मलाई लाग्छ म अझै बालक नै छु । मेरा दिदीहरु हुनुुहन्छ । बहिनी पनि छन् । हुन त म आफैले पनि प्रेम विवाह गरेको छु । बुबा आमाको साथमा उनीलाई छाडेर श्रमका लागि राजधानी पसेको एक वर्ष हुँदै छ । अहिले न श्रम न शान्ति । न्याय पनि छैन । अन्याय भयो भन्दा उल्टै धम्की दिने काम भएको छ । त्रसित बनाईएको छ । जाहेरी समेत नलिने यो कस्तो न्याय ? गरिबहरुका लागि नेपालमा न्याय छैन । शक्ति, सत्ता र पैसा । मान्छे मरेको छ मिलापत्रका लागि जिल्लाका ठुला भनिएका ब्यक्तिहरुको दबाब आउँछ । प्रयास हुन्छ । छलफल हुन्छ । तर पनि हामीलाई शंका छ । मान्छे मरेको शंका लाग्यो भन्दा पनि प्रहरी अनुसन्धान गर्न चाँहदैन । 
    भुम्लु गाउँपालिका १ सापिङ्गमा मेरो जन्म भयो । म भन्दा माथी ४ दिदी छन् । एक बहिनी छिन् । बुबा आमा हुनुहुन्थ्यो । बुबाका तीन दाजुभाईहरु हुनुहुन्छ । स्थानीय विद्यालयबाटै कक्षा १२ सम्मको अध्ययन गरें । शिक्षा विषयमा अध्ययन गरेको भए पनि रोजगार छैन । शक्ति नभएकाले स्थानीय विद्यालयमा पढाउन पनि कठिन थियो । अरु त के काम पाउनु ? गाउँपालिकामा रोजागर सम्भव पनि थिएन र छैन । अझ फरक विचार, आस्था र कमजोर परिवारका कारण त्यहाँ अवसर पाउने सम्भावना पनि छैन । दुःखसुख गरेर बुबा आमाले मलाई पढाउनु भयो । केहि दिदीहरुले पढ्नु भयो । बहिनीले पनि ८÷९ पढाई सके पछि छाडिन् । अहिले सबैले विवाह गरिसकेका छन् । मैले पनि प्रेम विवाह गरें । विवाह गरेको केहि वर्ष भएको छ । श्रीमती, बुबा र आमालाई गाउँमै छाडेर अवसरका लागि राजधानी गएँ । राजधानीमा आफन्तहरु थिए । आफन्तहरुकै सहयोगमा मैले राजधानीमा काम गर्न थालें । शुरुमा आफैले ड्राईभिङ्ग सिकें । पछि आफै ड्राईभिङ्ग सिकाउन थालें । एक वर्ष पछि त्यहि काम पनि छाड्न बाध्य भएको छु । असार ८ गतेको दिन थियो । बुबाले मलाई अन्तिम पटक फोन गर्नु भयो । फोनमा गाउँमा हामीले दिएको जग्गामा जर्बजस्ति घरको तल्ला थप्न र शौचालय निर्माण गर्न लागेका छन् । मकै पनि उखेलेर फालिदिए । के गर्ने होला ? बुबालाई मैले भनेको थिएँ । एक पटक तपाई महिला सहकारीको अध्यक्षको घरमा जानुस् । वडा अध्यक्षको घरमा जानुस् । आफ्ना कुरा भन्नुस् । अन्तिम पटक भने पछि भएन भने अनि जे गरे पनि गरुँला । 
    बुबा उनिहरुको घरमा जानु भएछ । उनिहरुले बुबालाई सम्झाउनु भन्दा पनि मानसिक दबाब दिएका रहेछन् । बुबाले घरमा पनि त्यहि कुरा भन्नु भएको रहेछ । ९ गते दिनभर बुबा तनाबमा देखिनु भएको रहेछ । आमा र मेरो श्रीमतीलाई उनिहरुले पटक–पटक धम्क्याएको कुरा भन्नु भएको रहेछ । बारीको छेउमा लब्सीका रुख छ । लब्सीका रुखमा बुबालाई बाँधेर काम गराउँछु भन्नु भएको रहेछ । त्यहि लब्सीका रुखमा बाँधेर काम गराउँछु भन्ने दबाब पछि बुबा विक्षिप्त हुनु भएको रहेछ । राति खाना पाकिसकेको रहेछ । आमा र श्रीमती खाना पकाएर बसिरहँदा बुबा निस्कनु भएछ । बुबाले मोवाईल पनि बोक्नु भएको रहेछ । तर केहि समय पछि अफ भएछ । आफै गर्नु भयो वा भयो ? बुबा घरबाट निस्किए पछि केहि घण्टामा खोजविन भएछ । गाउँघर हल्लिखल्लि भयो । बुबा भेटिनु भएन । उनिहरुले धम्कि दिईरहेको अवस्था, बुबा बेपत्ता हुनु भएको थियो । उनिहरुले मारेर पो फालिदिए कि ? वा आत्महत्या गर्नु भयो । हत्या वा आत्महत्या ? आत्महत्या गरेको भए पनि किन बाध्य पारियो ? तमाम विषयमा अनुसन्धान गर्न हामीले प्रहरीलाई पटक–पटक भन्यौं । अनुरोध ग¥यौ । दबाबमा प¥यो प्रहरी । मान्दै मानेन । समाचारमा आउन थाले पछि झारा टार्ने उद्देश्यले प्रहरीले जाहेरी लियो तर अनुसन्धान गरेन । शक्तिका आधारमा हामी गरिबको केहि चलेन । पैसाले किन्न पनि सकेनौं । शक्तिले थिच्न पनि सकेनौं । 
    असार १० गते विहानै बुबा रुखमा झुण्डिएको अवस्थामा फेला पर्नु भएछ । रुदै कराउँदै आमा र श्रीमतीले मलाई फोन गर्नु भयो । राजधानीमा नोकरी गरिरहेको म दौडिएर भुम्लु १ उर्लेनी पुगें । गाउँलेहरु जम्मा भएका रहेछन् । हामीले उक्त घटनामा नियोजित षड्यन्त्र भएको हाम्रो निश्कर्ष छ । त्यहि कारण हामीले निष्पक्ष अनुसन्धानको माग गरेका हौं । असार १० गते देखि बुबाको शवलाई अस्पतालमा राखेर हामी पैसा र न्याय दुबै खोज्न भौंतारिएका छौं । दुबै प्राप्त गर्न सकेका छैनौं । तीन तहका सरकार छन् । प्रहरी प्रशासन छन् तर हाम्रा लागि कोहि भएन । दुःखमा परे पछि भगवान पनि आफ्ना हुँदा रहेनछन् । जिल्ला प्रहरी कार्यालय वरपर लगातार घुमिरह्यौं । भोको पेटमा पानी मात्रै खाएर न्याय माग्यौं । प्रहरीले सुन्दै सुनेन । १० बजे कार्यालय बोलाएर ५ बजे त्यसै फर्काउँथ्यो । अहिले फोन गरेर शव बुझ भन्छ । पोस्टमार्टम गर भन्छ । तर न्याय दिन्छु भन्दैन । कस्तो हो न्याय ? राजधानीमा बसेका छु । आफन्तसँग न्यायको भिख मागेको छु । गाउँमा श्रीमती र आमा एक्लै हुनुहुन्छ । बुबाको जुठो बार्न मिलेको छैन तर नुन खाएको छैन । पीडा माथी पीडा छ । हेरौ भगवान कतै कुनामा हुनुहुन्छ कि ? भनिन्छ नि रक्षकहरु नै भक्षक हुन थालेपछि नागरिकहरुले असुरक्षा महसुस गर्छन् । असुरक्षाका बाबजुत नागरिकहरुले ज्यान समेत त्याग्न थालेका छन् । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले सशस्त्र द्वन्द्वकै शैलीमा ब्यक्तिको सम्पति हडप्ने कार्यलाई निरन्तरता दिँदा अनाहकमा ६८ बर्षिय मेरा बुबा ठडेन्द्रबहादुरको देहान्त भएको छ । ब्यक्तिको ज्यान गईसक्दा पनि लास माथी राजनीति गर्ने जनप्रतिनिधिहरुका कारण हामी पीडितहरु झनै पीडामा परेका छौं । ब्यक्ति मरेको दशौ दिनसम्म पनि जोहरी दर्ता नगर्ने प्रहरीले अर्काे अपराध निम्त्याएको छ । सामान्य अवस्थामा आत्महत्या दुरुत्साहन गर्ने अभियोगमा संलग्नहरुलाई प्रहरीले तत्कालै उजुरी लिएर अनुसन्धान शुरु गर्छ । राजनीतिक पहुँचका आधारमा जाहेरी दर्ता नगरी अनुसन्धान नै गर्न नदिने जंगली शैलीलाई सांसद्हरुले समेत प्रोत्साहन र दबाब दिईरहेका छन् । हाम्रो परिवारको आम्दानीको श्रोत केहि छैन । बुबा डोको बुनेर जीविका टार्नु हुन्थ्यो । धन पनि छैन । ऋण थोरै छ । जमिन थोरै छ । तीन जनाको परिवारलाई खान पुग्छ । चामल किनेर खानु पर्छ । 
    भुम्लु गाउँपालिका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत बुबालाई लब्सीको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुण्डिएको अवस्थामा शव फेला प¥यो । वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सिको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्कि दिनु भएको थियो । हुर्किदै गरेको मकै उखेल्दै फालेर जर्बजस्ति शौचालय निर्माणको प्रकृया शुरु भए पछि वडा अध्यक्ष, सदस्य र टोल सुधार समितिका अध्यक्षले दिएको धम्की सहन नसकेर बुबाले आत्महत्या गर्नु भए जस्तो लाग्छ । हत्या पछि आत्महत्या जस्तो देखाईएको हो कि ? शंका छ । धम्कीको पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेपछि न्यायका लागि जाहेरी लिएर प्रहरी कार्यालय धाई रहेका छौं । जाहेरी दर्ता भए पनि उनिहरु विरुद्धको कारवाही प्रकृया अघि बढाएर पक्राउ नगर्दासम्म हामी शव बुझ्ने पक्षमा छैनौं । धुलिखेल अस्पतालको मुर्दा घरमा राखिएको शव पोस्टमार्टम गर्न र शव ल्याएको गाडीको भाडा दिन समेत रकम नभए पछि चन्दा संकलन शुरु गरिएको छ । आम्दानीको कुनै श्रोत नभएको र पोस्टमार्टम गर्न समेत रकम नभए पछि आफन्त र गाउँलेहरुसँग हारगुहार गरिरहेका छौं ।
    २०७५ सालमा भिमेश्वर महिला कृषक समुहको भवन निर्माणका लागि आमा भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो । ३ लाख रुपैयामा खरिद भएको जग्गाको बाँकी २ लाख ७० हजार रुपैया भुक्तानी नगरी पटक पटक भवन निर्माण कार्य गरेको अवस्थामा जग्गा पास गरिदिन्छु बाँकी रकम दिनु भन्दा वेवास्ता गर्दै उल्टै धम्कि दिन थाले पछि बुबा विक्षिप्त हुँदै आउनु भएको थियो । मेरो घरमा यो जग्गाकै कारण ज्यान पर्ने भयो तपाईहरुलाई चाहिने भए बाँकी पैसा दिएर पास गर्नुस नभए जग्गा खाली गरिदिनुस भनेर पटक पटक वडा अध्यक्ष, महिला समुह अध्यक्ष र टोल सुधार समितिका अध्यक्षलाई बुबाले भन्नु भएको थियो । उनिहरुको बारम्बारको धम्कि पछि वडाको सिफारिस समेत रोकिदिन्छु, विजुलीको तार काटिदिन्छु, सामाजिक बहिस्कार गरिदिन्छु भन्दै धम्कि दिएर जग्गासँगै रहेको लब्सीको बोटमा बाँधेर भए पनि निर्माण कार्य गर्ने चेतावनीका साथ धम्की दिए पछि बुबा सकेको गर भन्दै घर फर्कनु भएको थियो । असार ९ गते साँझ घरबाट निस्किएका बुबाको हत्या वा आत्महत्या के हो ? निश्पक्ष छानविन गरी न्याय दिन माग गरेको ९ दिनसम्म वार्ता र मेलमिलापका नाममा झुलाउने काम प्रहरीबाट भएको छ । प्रहरीले जनप्रतिनिधिको दबाबमा हत्या वा आत्महत्या जस्तो जघन्य अपराधमा मिलापत्र गराउन खोज्ने कि ? जाहेरी लिएर अनुसन्धान शुरु गर्ने ? प्रहरीको भूमिका माथी प्रश्न र शंका गर्ने धेरै ठाउँ छ । ९ दिनसम्म शव रोकेर जाहेरी दर्ता नगर्नुले के बुझाउँछ ? बुबाले जग्गा पास गरेर लिउ भन्दा पनि नलिएर उल्टै मानसिक दबाब दिएको उहाँले बताउनु भयो । ६८ बर्षिय बुबा ठडेन्द्रबहादुर पन्तको हत्या वा आत्महत्या हुन सक्ने भन्दै मैले र बुबाका भतिज ३६ बर्षिय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिएका छौं । यसअघि पनि दानकुमारी महत हत्या अभियोगमा तीन महिना जेल परेर निस्किएकी थिईन् । उनिहरु प्रति शंका छ । जाहेरीमा उल्लेख भएकाहरुलाई पक्राउ नगरी शब बुझ्ने मनसाय छैन । हेरौ न्याय पाईन्छ कि ? 

शेरबहादुर पन्त
भुम्लु, १ सापिङ, उर्लेनी