2026 June 06/ 03:49: 25pm

पनौतीको सामुदायिक सहकारी चोरीमा संलग्न भए अनुसारको सजायँ भोग्न शुरु गरेका छौं । प्रहरीले थाहा नपाउला भन्ने हाम्रो विश्वास थियो । हामीले जुन प्रविधि अपनाएका थियौं त्यो उच्च स्तरको थियो । केहि दिन अघि गरेको रेकी पनि गज्जबको थियो । हाम्रा सूचनाहरु पनि सहि थिए । हामी बेरोजगारका कारण पुनः चोरीमा संलग्न भएका थियौं । रोजगार गर्ने ठाउँ छैन । ब्यवसाय ग¥यो उत्पादनमा लाग्ने खर्च धेरै हुन्छ । आम्दानी हुनै सक्दैन । यस अघि पनि सहकारी लुटिसकेकाले हामीलाई त्यो मनोबल पनि बढ्यो । चार वर्ष जेल बसेर बाहिर निस्कँदा पनि हामीले काम गर्ने वातावरण बनेको थिएन । चोरेर धनी बनिन्छ भने गरौ न त भन्ने योजनाका साथ ६ जना साथीहरु बीचको सम्वन्ध र सल्लाहले पनौतीको सामुदायिक सहकारीमा भएको रकम लुट्न सफल भयौं । यस भन्दा अघि हामीले अन्य सहकारीमा पनि चोरी गरेका थियौं । 
    हामी एक अर्कालाई राम्रोसँग चिन्ने मात्रै होईन । नातामा ससुरा र ज्वाई पनि छौं । दाजु पनि छौं । घटनाको केहि दिन अघि सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामाले अगबर लामालाई फोन गरेका थिए । अशोक लामाले पनि २०८० बैशाख १८ गते फेरी अगबरलाई नै फोन गरी तिमी सँंग काम छ भनेर बोलाएका थिए । कृष्ण, सञ्जीवहरुले बोलाएको छ पनौती तिर सहकारी चोरी गर्ने भनेका छन त्यहा धेरै पैसा धेरै हुन्छ रे सबैले मिलेर काम गर्दा राम्रो पैसा हुन्छ जाँउ भनेका थिए । त्यस पछि अशोक र अगबर समेत सोही दिन चितवनको पुलचोक हुँदै मुग्लिङबाट साँझ ५ बजे तिर काठमाडौको सतुङ्गलमा आई गम्बिर भन्ने सोमलाल थिङ, कृष्ण रुम्बा भन्ने कृष्णराज लामा, सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामासँग सम्पर्क गरेका थिए । कृष्णराज, संजिव कुमार र गम्बिर भन्ने सोमलाल समेतले हामी सबै जना काभ्रेपलाञ्चोक जिल्लाको पनौती भन्ने स्थानमा सहकारी देखेर आएका छौ सहकारी तोडफोड गरी पैसा लुट्नु पर्छ सबैले मिलेर काम गर्ने हो, चोरी गरी ल्याएको सबै पैसा मिलेर बाँड्नु पर्छ भनेर आश्वासन दिएका थिए । अमृत थिङलाई पनि सो कुरा फोनमा जानकारी गराएका थिए । उनी काम बिशेषले आएनन । ५ जना मात्र जाने हो भने पछि उक्त कुरामा समेत सहमती भई टोली कोटेश्वर आएको थियो । गम्बिर भन्ने सोमलाल, सञ्जीव कुमार र कृष्णराज ट्याक्सीमा आएका थिए । सोही ट्याक्सीमा रातको ८ बजे तिर बनेपा आई सडक साईडमा रहेको ठेलागाडाहरुमा मःम लगायतका खानेकुराहरु, बिभिन्न रंगको घाँटी, मुखमा बाँध्ने मफलर क्याप टोपीहरु सेतो कालो रंगको माक्स, पञ्जा समेत किनी ल्याएका थिए । ट्याक्सीमा बसेर मःम खादै जसरी हुन्छ सबै मिलेर काम सफल बनाउनु पर्छ भन्ने योजना बनेको थियो । रातको १० बजे पनौती बजारबाट केही माथी जंगलको बाटोमा पुगेर ट्याक्सीलाई तीन हजार भाडा दिएर फिर्ता पठाएका थिए । ट्याक्सी फिर्ता पठाए पछि सोही जंगलमा ५ जना करिव साढे २ घण्टा सम्म बसिरहे । कृष्णराज लामा समेतले करीव ५ मिनेट माथी हिड्दा पुगिने ठाँउमा सहकारी भएको भवन रहेकाले त्यसमा पाले पनि बस्ने गरेको छ पालेलाई डर त्रास देखाई बाँधेर नियन्त्रणमा लिई सहकारी भित्र भल्टमा भए जती सबै रकम चोरी गर्नु पर्छ भनि आ–आफ्नो काम बाँडफाड गराए । शुरुमै गेटको ताला फोड्ने र कोही मान्छे आउँछ की भनि हेर बिचार गर्ने काम अगबर लामाको जिम्मेवारीमा परेको थियो । २०८० बैशाख १९ गते विहान राति १ बजे तिर सहकारीको कम्पाउण्डमा पछाडीबाट प्रवेश गरेर केही समय वरपर हेरी बाहिर कोही कसैलाई नदेखे पश्चात सहकारीको कारोबार हुने चेनगेट भन्दा बिपरीत साईडमा रहेको भवन पाले सुती रहेको फेला पारे । एक्कासी गम्बिर भन्ने सोमलाल, अशोक रुम्बा,सञ्जीव भन्ने सञ्जीव  कुमार र म अगबर लामा गई साथमा बोकेको औजार समेत देखाई नबोली बस भनि डर त्रासमा पा¥यौं । गार्ड नबोली बसे पछि साथमा ल्याएको सेतो टेपले उसको मुखमा थुनि वरीपरी बेरी दुबै हात पछाडीबाट एकै ठाँउमा बाँधी त्यसपछि भुईमा लढाई कुर्सीमा बाँधी उसको साथमा रहेको मोबाईल खोसी संञ्जीव लामाले झोलामा राखे । बाँकी हामी मध्ये म अगबर, कृष्णराज र सञ्जीव लामा दगुर्दै सहकारीको चेन गेट फोर्न पुग्यौं । हातमा ठुलो साईजको मोटरसाईकलको सिटहरु खोल्ने पेचकस समेतका औजारहरु लिई चेनगेटको ताला तोडे पछि सबै जना पालैपालो भित्र पसी पैसा के कहाँ राखेको रहेछ भनि सबै तिर हेर्दै भित्र बाहिर आउने जाने ग¥यौं । अशोक रुम्बाले सहकारी भित्रको काउन्टरको अपोजिट कोठामा रहेको सिसि क्यामेरामा रेकर्ड हुने डी.भी.आर झिकी ल्याई सोमलालले चेनगेटबाट पाले बस्ने कोठामा ल्याए । सहकारी भित्र पैसा राख्ने भल्ट देखे पछि भल्ट भित्र पस्ने चेन गेटको ताला फोडी भित्र रहेका सेफ काउन्टर, भल्ट समेत हाते ग्यास गनले फोडी हेर्दा नगद लाखका बिटा भएको पैसाहरु देखे । अशोक रुम्बाले भल्ट भित्र रहेको सिसि क्यामरा खुस्काई तत्काल सञ्जीव बाहिर आई पैसा अट्ने खालको झोला ल्याउ भने पछि गम्बिर भन्ने सोमलाल थिङले बाहिरबाट झोला दिए । अशोक रुम्बाले उक्त झोला भित्र लगी अशोक, कृष्णराज र सञ्जीव भई भल्ट र काउन्टरमा भएको सबै पैसाहरु झोलामा राखे । त्यस लगत्तै हामी सबै जना सहकारी भित्रबाट बाहिर निस्की पालेलाई बाँधेकै अवस्थामा छाडी निस्कियौं । 
    सहकारीबाट अलिक तेर्सो हिडेर उकालो लाग्दै करिव एक घण्टा जती जंगल नै जंगल हिडे पछि सबैले पाँचलाख पचास हजारका दरले चोरेको पैसा बाँड्यौं । अमृत थिङलाई पनि चोरी गरेको कुरा थाहा भएको र उनी इमर्जेन्सी कामले आउन नभ्याएकोले उनलाई पनि थोरै दिनु पर्ने सहमति भयो । उसलाई पनि पैसा दिए पछि कसैलाई भनि दिदैन भन्ने सबैलाई विश्वास थियो । १५÷२० मिनेट पछि उज्यालो भयो । हामी सबै जना अलग अलग हिड्यौं । अलग अलग पैसा बोकेर बस चढेर काठमाडौ पुग्यौं । । मैले प्राप्त गरेको रकम आफ्नै घरको टहराको भित्तामा झोलामा रखेको थिए । त्यसबाट मैले ५ हजार मात्रै खर्च गरेको थिए । प्रहरीले मेरो घरबाट भरुवा बन्दुक सहित चोरीमा प्रयोग भएका केहि सामाग्री र नगद ५ लाख ४५ हजार बरामद गरेको छ । भरुवा बन्दुक पुरानै हो । त्यो बन्दुक चोरीमा प्रयोग चाँहि भएको थिएन । अशोक रुम्बाले चोरी गरेर लगेकै दिन बेलुका कृष्ण रुम्बा भन्ने कृष्ण राज लामा र सञ्जीव  रुम्बा भन्ने सञ्जीव कुमार लामालाई जग्गा किनबेच प्रयोजनका लागि ५० हजार आफुसँग राखेर ५ लाख सञ्जिवकुमार लामालाई सापटी स्वरुप दिएका रहेछन् । त्यसको केहि दिन पछि पसलमा सामान पाटेचौर पसलबाट चोरी गरेकै मध्येबाट १४÷१५ हजारको सामान ल्याएको थाहा भयो । बाँकी रकम कहाँ खर्च भयो कसैले भन्न सकेनन् । हामी सबै एउटै समुहमा भएकाले घटना स्विकार्नुको विकल्प थिएन । हाम्रा केहि साथीहरु अझै फरार छन् ।
    गम्बिर भन्ने सोमलाल थिङ फरक खालका ब्यक्ति छन् । अमृत थिङ उनका आफ्नै भाई हुन । सञ्जीव रुम्बा भन्ने सञ्जीव कुमार लामा र कृष्ण रुम्बा भन्ने कृष्ण राज लामा समेत २०७६ सालमा सहकारी फुटाई नगद पैसाहरु चोरी गरी केही बर्ष जेल भित्रै बसेर छुटेका थिए । २०७५ साल तिर गम्बिर र अमृत दुबै चोरी मुद्दा पक्राउ परी ४ बर्ष पछि छुटेका थिए । त्यहाँबाट छुटी सके पश्चात गम्बिर र उनको श्रीमती समेत जिल्ला काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्वर १०  सतुङ्गल बस्दै आएका थिए । संञ्जीव कृष्णराज र गम्बिर तीन जनाको सल्लाहमा काभ्रे जिल्लाको धुलिखेल, भकुण्डे, पनौती तिर गई धन सम्पती भएको घर तथा सहकारीहरुमा रेकी गरी आउनु पर्छ समय र ठाँउ अनुकुल भएपछि चोरी गर्नु पर्छ भन्ने योजना भएको थियो । काभ्रेको भकुण्डेबेसी, बनेपा पनौती, धुलिखेल तिर दुई हप्ता अगाडी धनमाल भएका घर तथा सहकारीहरु रहेको ठाँउ हेरेका थिए । पनौती ४ को टौखाल स्थित चोरी गरेको सामुदायीक बचत तथा ऋण सहकारी त्यहि अवसरमा फेला परेको थियो । सहकारीमा मानिसको भिडभाड र तिब्र रुपमा कारोवार भएको सूचना पछि त्यहि  सहकारीमा तोडफोड गरी चोरी गर्ने योजना बनेका थियो । उक्त सहकारीमा राती पाले रहने हुँदा अझै थप मन मिल्ने मानिसहरुको समुह चाहिन्छ भन्ने योजना अनुसार अशोक रुम्बाको भाईलाई फोन गरेर झिकाएका थिए । योजना मुतावीक कार्य सफल भए पछि हामी केहि समय पछि अर्काे सहकारी चोरी गर्नु पर्छ भन्ने योजनाका साथ पनौतीबाट साँगा निस्किएर बस चढेका रहेछन् । उनिहरु दुबै दाजुभाईलाई प्रहरीले सतुन्गलबाटै पक्राउ गरेको थियो । उनिहरु पनि काठमाडौ नै बस्छन् । अमृतका दाजु सोमलाल हुन् भने ससुरा कृष्णराज लामा हुन् । २०७६ सालमा सहकारी फुटाई नगद पैसाहरु चोरी गरी केही बर्ष जेल भित्रै बसेर २०७६ असोज १ गते दाई सोमलाल थिङ समेत जिल्ला प्रहरी परीसर ललितपुरबाट चोरी तथा डाँका मुद्दामा पक्राउमा परी अनुसन्धान पश्चात ४ बर्ष २ दिन केन्द्रिय कारागार कार्यालय नख्खु काठमाण्डौमा जेल सजाय बिताई छुटेका थिए । त्यस पश्चात घर तिरै बसी कृषी पेशा गरी आई रहेका थिए अमृत । दाई र ससुराले खवर गरे पछि उनी काठमाडौ आएका थिए । लुटेको पैसा अन्यत्र नजाओस भनेर दाजुले भाई र भाईको ससुरालाई काठमाडौ बोलाएका थिए । उनिहरुकै योजनामा म पनि फसेको थिएँ । उनिहरु निरन्तर सहकारी तथा अन्य स्थानमा घुमी घुमी चोरी गर्ने रहेछन् । अहिले प्रहरीले डाँका तथा चोरी अभियोगमा मुद्दा चलाएको छ । हामीलाई पुर्पक्षमा जेल पठाईएको छ । फेरी ईलाम जिल्लाको सहकारीमा चोरी भएको भन्दै कारागारमा पत्र आएको रहेछ । म चाँहि संलग्न थिईन । तर अरु साथिहरु त्यहाँ पनि संलग्न भएका रहेछन् । धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि सहकारीहरु चोरी भएका रहेछन् । यो समुहले अन्यत्र कता कता चो¥यो मलाई चाँहि जानकारी छैन । चोरी भएको रकम पनि प्रहरीले बरामद गरेकाले मलाई कम सजायँ होस भन्ने मेरो अनुरोध छ । 

अगबर लामा
चोरीमा संलग्न ब्यक्ति
हालः कारागार कार्यालय, काभ्रे