प्रेम कहिले हुन्छ ? के का लागि हुन्छ ? कुन उमेरमा हुन्छ ? त्यसको कुनै सीमा हुँदो रहेनछ । युवा अवस्थामा गरिने प्रेमलाई मात्रै पछिल्लो समयमा प्रेम भन्ने गरिन्छ । तर यस्तो प्रेमले फक्रन पाउँछ कि पाउँदैन थाहा छैन । बुढेसकालमा भएको यस्तो प्रेमले यो जोडीलाई कता पु¥याउँछ थाहा छैन ? तर पनि साहसका साथ अठोट गरिएको छ प्रेमलाई अमर बनाउने । प्रेम सफल बनाउन कहिले कता त कहिले कता गएर दिन र रातहरु बिताउने गरिएको छ । दिउँसभर काम गरेपछि बेलुका तिनै कुरा हुन्छन् आज हामीले कति पैसा कमायौं । भोलि के गर्ने अनि कसरी जीवन बिताउने ? यस्तो छलफल र मित्रता सायदै कसैको जीवनमा हुँदैन कि ? हरेक आम्दानीको खर्च ब्यवस्थापन हुने गरेको छ तर दुर्भाग्य भनौ धेरै आम्दानी नै हुन सक्दैन । अहिले विश्वभर आर्थिक संकट गहिरिएको छ । कमाई कम छ । भुकम्प, कोरोना पछि झन् धेरै संकट छ । विरामी, आर्थिक अभाव, कम कमाई । १२ वर्षमा खोलो फर्केर आँउछ भन्थे बुढपाकाहरुले । हाम्रो जीवनमा पनि खोलो फर्केर आएछ । त्यहि उखान सम्झन पुगेछन् उनीहरुले । १२ वर्ष पछि साहाराको जीवन जीउन प्रेम गरें । विवाह गरें । तर पनि मनमा दुःख छ । पछुतो छ श्रीमती पोईल गईछ । छोरीको मृत्यु भयो । बाबु मरे । आमा पनि मरिन् । दाजुभाई दिदी बहिनी सबै बिते । छन् त काकाका आफन्तहरु । तर पनि कता कता मलाई के नभए के नभए जस्तो लाग्या छ । धेरै सोचें । धेरै प्रयास गरें एक्लै जीउन तर सकिन । १२ वर्ष पछि साथीको खोजी गरें । साथी पनि उस्तै हुन् । उनको जस्तो पीडा छ उनको पनि त्यस्तै । पीडितै पीडितहरुको भेटमा कति दिन त्यसै रमाईलो भयो । कति दुःखहरु त सुख जस्तै भए । कारण एउटै थियो दुवैले साथी फेला पा¥यौं । जीवनमा कति दुःख झेलें, कति पीडा भोगें तर यस्तो सुख कहिल्यै प्राप्त गरेको थिईनँ ।
धुलिखेल नजिकै शहरकै छेउमा हो घर । बुढ्यौली उमेरमा प्रेममा रमाईरहेका छौं । विवाहको लगन कुरेर बसिनँ मैले । चैत्रको अन्तिम साता विवाह गर्न ठिमी पुगें । आफ्नै उमेरकी महिला । रमझम पनि ग¥यौं । उनलाई घरमा ल्याएको दिन टोल भरका मान्छेहरु जम्मा गरेर रातभर मादल बजाएर नाचे । हाम्रो दोश्रो विवाहमा रमाउनेहरुले भने खोई त तेरो भोज ? मैले भनें कमाएर ल्याउँछु अनि छोरो जन्मिएपछि खुवाँउछु । गाउँलेहरु त्यसै खुशी भए । कमसेकम घर नभएकाहरुले श्रीमती ल्याएर भए पनि घरजमको मेलो बसाले । मेरो पनि पीडा पनि कम हुने भयो । विवाहमा एक हजार २ सय खर्च भयो । सात सय त कुर्ता सुरुवाललाई नै लाग्यो । एक सय भाडामा खर्च भयो । अन्य सामान्य खर्चहरु गरेर एक हजार दुई सय खर्च भएको बताएँ । भएको पनि त्यति हो । अहिलेको समयमा त्यति कम खर्च गरेर विवाहको तामझाम । मेरा लागि खुशी र दुःख सँगै थिए । गरिबको घरमा त्यति धेरै खर्च गर्ने सामथ्र्य हुँदैन । विहान काम गरेर बेलुका खानुपर्ने अवस्थाका मान्छेले त्यति धेरै खर्च कसरी गरौं ? म मात्रै खुशी भईनँ । मेरा भनिनेहरु, मलाई आफ्नो सम्झेर माया गर्नेहरु सबै खुशी थिए । दिउँस भर काम गरेर घर पुग्न नसकेको समयमा शहरबाट भित्र रहेका घरहरुमा पुग्दा फरक खालको सोच हुन्छ ।
अलिक साँझ परे पछि उनीहरु दुवैलाई घर जान डर लाग्ने रहेछ । न त हामीहरुसँग सम्पत्तिका नाममा नाकमा फुली समेत छैन । तर पनि बाटोमा बसेका ट्यापे र गुण्डाहरुले पैसा दे भनेर भक्कु कुटछन् । झन् केहि नभएको देखे पछि त कस्तो माग्ने रहेछ भनेर उल्टो थप कुट्छन् । कुटाई खानु भन्दा अर्काको घरको छिंडीमा भए पनि सुत्नु बेश । हुन त त्यो घरका मान्छेहरुले भन्ठान्दा हुन् कति आईरहन्छन् ? तर कुरा त्यस्तो होईन दया लाग्नेले कपडा समेत दिए सुत्नलाई । खानलाई तातो भात पकाएर खान दिए । कुरा बझु्नेले मात्रै हामीसँग संगत गरे । कुराकानी पनि गरे । अनि सहयोग गरे पछि मुरीमुरी धन्यवाद दिए । अरु त के दिन सक्छन् र यहि हो आशिक । विवाह गरेको भर्खरको जोडी देखेर टोलभरीका मान्छेहरु झ्याम्मिएका थिए । कसैले हामीहरुको दिमाग नभएको भन्दै थिए त कसैले कठै विचरा । हातमा मोबाईल खेलाईरहेका थियौं । बैंशमा आफैले गाएको गीतको सम्झना आयो । ‘घर राम्रो ढुंगा र माटोले, आइमाई राम्रो किलीप र काँटाले, जाईफुलको बासना, नयाँ नेपाल कडा शासन’ । ‘हातमा घडी बाँधेको देखेर, दिए केटी बाटो छेकेर, कान्छा नलाउ बचन कोहि छैन भनेर, पैसा कमाउँछु हो मेला गएर’ ‘बनेपामा मट्टितेल टिनका टिन, माया भए भेट हुन्छ दिनका दिन’ चरि बोटैमा कान्छी साली दिल बस्यो पहिलो भेटमै’
मोबाईलबाटै गीत सुनेर छक्क परें । जग्गा बेचेर भए पनि एउटा मोबाईल किन्ने रहर छ । जग्गा बेचेर भए पनि बुढीलाई मासु भात खुवाउँछु । सुखै सुखमा पाल्छु । विस्तारै उनलाई गहनाले ढाकिदिन्छु । दैनिक मेला गएर सात सय कमाउँछु । त्यो पैसाले नै जीवन निर्वाहमा सहयोग पुग्नेछ । तत्कालै एउटा बच्चा जन्माउने हो । छोरा वा छोरी जे भए पनि दुवैको आवश्यकता सन्तान जन्माउने हो । एउटा सन्तान भएपछि मात्रै उनिहरुले जीवनको सबैभन्दा ठुलो आनन्द प्राप्त गर्छन् । म ४३ वर्षको भएँ । सानैमा मेरो परिवारका सदस्यहरु गुमाउन पुगें । विवाह पनि आफन्तले नै गरि दिए । ख्याल ख्यालमै विवाह भयो । विवाह भएको केहि समय भित्रै पहिलो सन्तान छोरी जन्मिईन् छोरी डेढ वर्षकै उमेरमा विते पछि मेरो परिवार शोकमा डुब्यो । मेरा बारेमा मान्छेहरुले अनेक कुरा गर्न थाले । श्रीमतीलाई गाउँलेहरुले फकाए । हुँदाहुँदा म सोझो लोग्ने छाडेर श्रीमती पोईल गईन् । छोरी बाँचेको भए अहिले २१ वर्षकी हुन्थिन् । छोरी मरेको ६÷७ वर्षसम्म पनि अर्काे सन्तान नभए पछि श्रीमतीले छाडेर गएकी थिईन् । म र मेरो विषयमा धेरै कुरा गरेर उनलाई मबाट छुटाएर लगे । धेरै टाढा गएको भए पनि मनले मान्थ्यो । पल्लो गाउँमा गएर मेरो हुर्मत लिईन् । पहिले पहिले श्रीमती लैजानेसँग जार लिने चलन थियो । मेरो आँखै अगाडी मेरो श्रीमती अर्काेले लिएर गयो । सँगै अंगालो राखेर हिड्यो । एक वर्ष पनि नपुग्दै बच्चा जन्मायो । म हेरेको हे¥यै भएँ । त्यसपछि म एक्लै परे । कहिले कसको काम गरेर दिनहरु वित्न थाल्यो त कहिले कसको काम गरेर । जीवनमा सधै साथीको महसुस गरें । एक्लै रोएँ । कराएँ । चिच्याएँ । रक्सीलाई साथी बनाएँ । तर पनि मैले कहिल्यै सुख र जीवन साथी प्राप्त गर्न सकिनँ । माया गर्ने बावु आमा पनि नभएको टुहुरोलाई कसले पत्याउने ? फेरी बोल्न पनि त्यति राम्रो सक्दिन । मन भित्रको पीडा मन भित्रै राखेर बसेको १२ वर्ष पछि मात्रै उनीसँथ भेट भयो ।
हरेक भेट विछोड भाग्यको लेखान्त रहेछ । मान्छेले चाहेर मात्रै केहि नहुने रहेछ । ४० वर्षिया उनी पनि सामान्य परिवारकी थिईन् । क ख समेत चिन्न नसक्ने हामी दुबै जना उस्तै छौं । बोली प्रस्ट छैन । तोते बोली भएकी छोरीलाई कसैले विवाह गर्दैनन् होला भनेर बुबाले दुई भाई छोरा सरहै अंश दिएर राखिदिएका रहेछन् । बाबु परलोक भए । दाजुहरुले सम्पत्तिमा आँखा लगाए । त्रिशुली घर भएको केटा खोजेर मन्दिरमा राखेर सिन्दुर हाली पठाई दिए । उनको नाममा भएको सम्पत्ति दाजुहरुले आफ्नो नाममा राखे । उता त्रिशुलीको लोग्नेको तेश्रो विवाह रहेछ । सधै जाँड खाने, कुट्ने गर्न थाल्यो । दुई श्रीमतीहरु उसको ब्यवहार सहन नसकेर भागिसकेका रहेछन् । कोहि श्रीमान् सोझो भयो भने श्रीमतीहरुले छाड्ने रहेछन् कोहि श्रीमान् बदमास भयो भने श्रीमतीहरुले छाड्ने रहेछन् । कसरी मिलाउने होला ? कस्ता श्रीमान् चाँहि श्रीमतिका लागि आवश्यक होलान् । बल्लतल्ल उनकोे कोखबाट छोरी जन्मिएको रहेछ । त्यो पनि कष्टका साथ । धेरै रात रहँदा पनि कसैले उनको दुःख सुनेनन् । आँशु बुझेन । केहि वर्ष अघि माईत आए पछि फर्किँदै फर्किनछन् उनी । छोरी माईतमा बसिरहेकी थिईन् । मामाहरुले पाल्नु पर्छ भनेर जर्वजस्ति पु¥याई दिए । छोरी उता एक्लै रोएर बसिरहेकी छिन । वेलुका सधै बाहिर निकालेर ढोका लगाउँछन रे । कारण उसले फेरी अर्काे श्रीमति ल्याएछ । त्यसकारण माईतमा पनि टिक्न नसक्ने, घर पनि जान नसक्ने त्यस्तै श्रीमान्को खोजीमा थिईन् । भगवानले तिमी आँट म पु¥याउँछु भन्ने उखान दुवैमा लागु भयो । दुवै जना जीवन साथीको खोजीमा थियौं । चैत्रको अन्तिममा भेट भयो । दुबै जना भाग्यौं र विवाह ग¥यौं । अहिले दुवै सुखी जीवन विताउन दुख गरी गरी आनन्दले काम गरिरहेका छौं । हाम्रो प्रेम, संर्घष र पीडाबाट यौवनमा मात्रै गर्ने प्रेमलाई गलत सावित गरिदिएको छ । प्रेम आवश्यकताले महसुस हुने हो । प्रेम दुख भुलाउने बाटो हो । भविश्यको बाटो हो । जीवन जिउने आधार हो । यसको गलत ब्याख्या र दुरुपयोग हुँदा ज्यान पनि जान्छ होला तर म भन्छु जीवन जिउने प्रमुख राजमार्ग प्रेम हो ।
भगवानले हाम्रो पुकारा सुन्नु भयो होला । सम्भवत यो जीवन र भोगाई अब कहिल्यै टुट्ने छैन । त्यसैले हामी भन्छौ सत्य प्रेम र भावनालाई भगवानले फैसला गर्नु हुन्छ । छैंटीको दिन भावीले लेखेको कुरा जसरी पनि पुरा हुन्छ । प्रेमका लागि उमेर, समय, अवस्थाले केहि गर्दैन । भावना र प्रेम कति बेला प्रकट हुन्छ पत्तो हुँदैन । खुशी र सुखी जीवनका लागि जे छ त्यसमै सन्तुष्ट हुन जान्नु हो । सकारात्मक सोच हो । जुन आजका मान्छेहरुमा कमी छ । मन्दिको अवस्थामा पनि जीवन जीउन साथको खोजी र प्रयासमा हामी अरु मान्छे भन्दा धेरै खुशी छौं । धेरै कुराको अभाव होला तर आनन्दमय जीवन छ ।
साने मिजार
बनेपा, काभ्रे









