आज गणतन्त्र दिवस । कता–कता मलाई त गणतन्त्र दिवस भन्न पनि लाज लागेर आएको छ । ज्ञानेन्द्र काका घरबाट विदा भएको पनि १७ पुगेर १८ वर्ष लागेको छ । त्यहिबेला जन्मेको बालकले २०७९ सालको निर्वाचनमा मतदानमा भाग लिने अवसर पायो । तपाई भन्नोस गणतन्त्रकै पक्षमा भोट हाल्नेलाई के थाहा भयो होला ? जताततै गणतन्त्र गन्हाउँदै जान थालेको छ । कहिँ पनि खुशी छैन । हामी शहिद परिवार पनि खुशी छैनौ । जनआन्दोलनबाट शहिद हुनु भएका सम्पूर्ण शहिदहरु, त्यहाँ भन्दा अघि माओवादीको कथित जनयुद्ध कार्यक्रमबाट मारिएका परिवार, राज्य पक्षबाट मारिएका परिवार कति शहिद कति भए ? पानी लिन गएको नागरिक मारियो । पसले दोकानवाला मारियो । स्थानीय साहु महाजन मारियो । किन मारियो ? के भनेर मरियो ? सामन्ति भनेर मारियो । आज देशमा सबै भन्दा ठुलो सामन्ति को छ ? राजनीतिक पार्टीका नेताहरु सामन्ति बनेका छन् । मान्छे शहिद बनाउने र बन्नेहरु नै आज सामन्ति भएका छन् । सत्तामा छन् । यिनिहरुलाई कारवाही नगरेसम्म शहिदहरुले मुक्ति पाउँदैनन् ।
मेरा बुबाको हत्या २०५५ साल फागुन १५ गते साँझ ढुंखर्क गाविस वडा नम्वर ७ पाटनेखोलामा ९८ बर्षिया हजुरआमासँगै बसिरहेका बेला एक्लो छोरा भिमप्रसादलाई अपहरण गरे पछि अमानविय तरिकाले जंगलमा लगेर गरियो । खाना खान दिईएन । पासविक ढंगले शनिबार राति हत्या गरिएका बाबुको किरिया गर्न कठिन भयो । गाउँ बस्न पाएनौं । सम्पूर्ण सम्पति लिएर जाउ छोरालाई नमार भनेर ९८ बर्षिया आमाले भनेको कारुणीक दृश्य सुन्न सकेनन् । सुध्रने अवसर देउ, दुःख नदेउ, सबै सम्पत्ति लिएर जाउ, छोराको हत्या नगर भनेर हजुरआमाले लाख पटक विन्ति गर्नु भयो । छिया छिया पारेर बुबाको हत्या गरियो । त्यहि पीडामा तड्पिएर मेरो भाईले प्रहरी निरिक्षकमा भर्खरै नाम निकालेर जागिर खान थालेको थियो । राजिनामा दिएर विदेश भासियो । परिवार छिन्नभिन्न भयो । म आफु यहिँ बुबाको स्थानमा केहि गरौ कि भनेर बसेको छु । माओवादीबाट मारिएका पनि नेपाली हुन् । राज्यपक्षबाट मारिएका पनि नेपाली हुन् । जो सुकैले मारे पनि नेपाली हुन् । यति धेरै मान्छे मारेर ल्याएको लोकतन्त्र, प्रजातन्त्र अथार्त गणतन्त्रले शहिद परिवारले के पाए ? शहिदका परिवारले खुशी दियौं, ज्यान दियौं, प्राण दियौं, परिवारका सदस्य दियौं, घर दियौं, तर राज्यले हामिलाई के दियो ? केहि दिएन । जिल्लामा यति धेरै शहिद हुनु भएको रहेछ । ढिलै भए पनि काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिले गरेको कार्यक्रमका लागि विशेष धन्यवाद र आभार ब्यक्त गर्दछु ।
राज्यले शहिद परिवार माथि किन विभेद गरेको ? बालकृष्ण खाँड, टोपबहादुर रायमाझीलाई हत्कडी लगाउँदैन तर त्यहि अभियोगमा पक्राउ परेका अरु नागरिकहरुलाई हत्कडी लगाईन्छ । यहाँ पनि मैले मेरो बुबा लगायतका माओवादीबाट मारिएका ब्यक्तिहरुको तस्विर देख्न पाईन । कि घर घरबाट तपाईहरुले आफ्ना शहिदका तस्विर लिएर आउनु भन्नु भएको भए मैले पनि बुबाको तस्विर लिएर आउँथे । माल्यार्पण गर्थे । ढोग्थें ? यहाँ माओवादीका कार्यकर्ताको मात्रै तस्विर राखेर हाम्रा परिवारका सदस्यलाई जसले मा¥यो उसैलाई माल्यार्पण गर्न कसरी सकिन्छ र ? यो विभेद किन ? यो कमजोरी भएकै हो । ढिलै भए पनि यस्तो खालको कार्यक्रमले हामी शहिद परिवारलाई सम्मान ब्यक्त गरिएको छ । राजनीतिक दलका कार्यक्रमहरु माथी माथि उठेर सबैलाई समान राखेर कार्यक्रम गर्नु भयो । धन्यवाद । काँग्रेस, एमाले र माओवादीलाई शहिदका परिवारको श्राप लागेको छ । १७ हजार मान्छे मार्ने मध्ये ५ हजारको जिम्मेवार लिने प्रचण्ड सत्तामा छन् । मलाई पनि मार्लान कुनै डर छैन । सत्तामा जानेले मात्रै पाए । गणतन्त्र दिवस हामीले कुन उत्साहले मान्नु ? युवाहरु विदेशिएका छन् । हाम्रालाई राखेर राम्रालाई पन्छाईएको छ । कुनै स्थानमा शहिदका परिवारलाई सम्मान छैन । तपाईहरु सुध्रर्नु भएन भने तपाईहरु सबैलाई शहिदको रगतले पोल्छ ।
जब–जब फागुन महिना आउँछ तब हामी मुर्छित हुन्छौं । जन्म र मृत्युको संगम एउटै महिना फागुन हो । आफ्नै पार्टीका कार्यकर्ताको सुराकीका आधारमा माओवादीको आततायी समुहले हत्या गरेको दिन फागुन १५ गते हो । न त पार्टीले हत्यारा कारवाहीको माग उठायो । न पार्टीका नेता मारिए भनेर सम्झना ग¥यो । गाउँ विकास समितिमा अध्यक्ष भैसकेको ब्यक्तिको तस्विर झुण्डाउन दिइएन । बाटोसँगै रहेको घर छेउकै धारामा पानी लिन गएकी भाई बुहारी गंगालाई माओवादी कार्यकर्ताले सोधे भिमप्रसादको घर यहि हो । सैनिक पोशाकमा सजिएका, भुँइसम्म छुने भरुवा बन्दुक भिरेका, मुखमा रुमाल बाँधेका ब्यक्तिहरुको समुह देखेर गंगा डराइन छन् । यो घर भिमप्रसादको होईन । समुहको भिडबाट एउटा ब्यक्तिको च्याठ्टिएको स्वर आएछ । अझै होइन भन्छेस् ? दिउँसभर मल बोकेकी तैलै होइनस् ? घर घेरा हाल ? उनलाई महिलाको आवाज भएका ब्यक्तिले नियन्त्रणमा लिएर घर भित्रै जान दिएनछन् । घर भित्र पसेका माओवादी कार्यकर्ताहरुले २÷४ मिनेट सल्लाह गर्न कमाण्डरले बोलाउनु भएको छ भन्दै जर्वजस्ती गरे । ९८ वर्षिय वृद्ध हजुरआमा टिकामाईले मेरो एउटा छोरा, माओवादीले लगेपछि फर्काउने गरेको छैन, मर्ने बेलामा मेरो किरिया गर्ने कोही छैन, बरु सबै सम्पत्ति लैजानुस् छोरा नलैजानुस् । जे भन्नुछ यहि भन्नोस् भन्दै छोराको हात समाउनु भयो । तामाङ अनुहार भएको, कपाल छोटो, उचाइ कम भएको ब्यक्तिले टिकामाइको हात फालिदिए र बुबा भिमप्रसादलाई तान्न थाले ।
निर्वाचनको रौनक थियो । कांग्रेसका नेता त्यो पनि शिव हुमागाईसँग नजिकको सम्बन्ध भएका बुबा भिमप्रसादलाई शिवले टिकट पाउने न पाउने चिन्ता थियो । भोलि फागुन १६ गते बनेपा जानुपर्छ बेलुका गेल्डुङ्ग बजार बस्नलाई आउँछु भनेका थिए । १५ गते साँझ नै शिवले टिकट पाएको समाचार टेलिभिजनले फुक्यो । त्यसपछि शहर जान लगाएको दौरा सुरुवाल खोलेर घरमै टिभी हेरेर बसे भिमप्रसाद । ढोकामा दुई जना महिला भरुवा बन्दुक लिएर सैनिक ड्रेसमा उभिएका थिए । ह्वारह्वार ६÷७ जनाको समुह घर भित्र प्रवेश ग¥यो । २०५५ कार्तिक १५ गते राती ८ बजेर १० मिनेट गएको थियो । खोलाको पानीबाट उत्पादन गरिएको पेल्ट्रिक सेटको बत्तिबाट टेलिभिजन बजिरहेको थियो । त्यहि टेलिजिभनमा समाचार सुनेर बसिरहेका थिए ६० वर्षिय भिमप्रसाद तिमल्सिना । ९८ वर्षिय हजुरआमा टिकामाई छिँडीमै ढल्किएकी थिइन् । सानीआमा चुडामाई ढिंडो पकाएर चुल्होबाट निकाल्दै थिइन् । घरभरी छोरी, बुहारी, नाति–नातिनाहरु थिए । तीन आमाका चार छोरा कोही घरमा थिएनन् । नमस्कार भिमप्रसाद जी, सञ्चै हुनुहुन्छ, हामी माओवादी कार्यकर्ता भन्दै उनीहरु घर भित्र पसे । सधंै कछाड फेरेर मात्रै खाना खाने बुवा भिमप्रसाद ढिँडो खाने तयारीमा थिए । २०५६ साल बैशाख २० गते हुने संसदीय निर्वाचनमा काभ्रेको उक्त क्षेत्रबाट नेपाली कांग्रेसको टिकट शिवप्रसाद हुमागाईले पाउने समाचार सुनेर खुशी हुँदै ढिँडो खान आँटेको समायमा माओवादी कार्यकर्ताहरु घर भित्र प्रवेश गरेका थिए । अचल बाहेक सबै सम्पत्ति लैजान अनुरोध गरेका थिए । हिरा, सुन, चाँदी सबै लैजाउ । तर माओवादीहरुले मान्दै मानेनन् । कमाण्डरको आदेशले हामी केही समयमै फर्काउने गरी लिन आएका हौं डिस्टर्व नगर्नुस् ? हल्ला पनि नगर्नुस् । गुहार लगाउनुभयो भने भिमप्रसाद फर्कदैनन् । भिमप्रसादले अझै अनुरोध गरे, आज मेरा कुनै छोरा छैनन्, मैले ब्यवहार बताएको पनि छैन, फेरी तपाईहरुले मलाई लगेपछि फर्काउनुहुन्छ भन्ने विश्वास पनि छैन, केही समय मलाई छोराहरुसँग भेट्ने समय दिनुस् ? माओवादी कार्यकर्ताहरुले जिद्धि गरेरै छाडे । ढुंखर्क गाविस ७ पाटनेखोलाबाट माओवादी कार्यकर्ताहरुले अपहरण गरेरै छाडे ।
भिमप्रसादका हत्याराहरु सडक, संसद् र सरकारमा बसेका छन् । हत्याराको पहिचान भएका घटनामा समेत दोषीलाई कारवाही हुन सकेको छैन । हत्या गर्ने हत्यारा सरकारमा छन् । असुरक्षित भएकाले भन्न सकेका छैनौं । किटानी उजुरी दर्ता गर्न सकेका छैनौं । ढुंखर्क ६ चारेण्डे डाँडाको जंगलमा लगि भिमप्रसादलाई रेटेर हत्या गरेका थिए । जंगलमा मडारिएको डोबहरु थिए । रातभर रुवाएर मारेछन् । जङ्गल छेउ घर हुनेहरुले भन्दै थिए । बरु गोली हालेर मारेको भए एकै पटक मथ्र्याे । खुकुरीले काट्ने, रेट्ने, रोप्ने जस्ता अमानवीय तरिकाले मारे पछि गाउँमै खीर पकाउन लगाएर खाएर हिँडेछन् । धेरै चिच्याउँदा पनि छाडेनछन् । सायद यति धेरै यातना र क्रुर तरिकाले अरु कसैलाई मारेको छैन होला । १९९५ साल फागुन ५ गते बु्बाको जन्म भएको थियो । बुवाले खोलाको पानीबाट घट्ट चलाउने, घट्टको पानीबाट पेल्ट्रिक सेट जोडेर बत्ति निकाल्ने योजना सफल हुन पाएन । भएको सबै सम्पत्ति स्थानीयहरुलाई जिम्मा लगाएर माओवादीको धम्की पछि हाम्रो पुरै परिवारै विस्थापित भयो । विस्थापित पछि पनि हाम्रो परिवारलाई पटक–पटक चन्दाको माग गर्दै माओवादीले पत्र पठाउन छाडेन । बुवाको हत्या भएको केही समय पछि २०५८ साल पुष २८ गते हजुरआमा टिकामाईको मृत्यु भयो । बृद्ध फुपू दिदीको पनि शोककै कारण निधन भयो । सम्पत्ति दिन्छु भन्दा भन्दै बुवाको हत्या किन गरे ? माओवादी हिजो पनि बोल्न सकेन, आज पनि नाजवाफ छ । वुवाले आस्था राखेको पार्टी नेपाली कांग्रेस पनि हाम्रो पक्षमा उभिन सकेन । पार्टीले एकपटक पनि बाबुको योगदान सम्झन चाहेन । हाम्रो पीडा र भावना कसले बुझ्ने ? (गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा ब्यक्त विचारका आधारमा ।)
विष्णुप्रसाद तिमल्सिना
बेथान्चोक गाउँपालिका २
साविक ढुंखर्क–७, काभ्रे









