2026 June 06/ 03:49: 24pm

    त्यो दिन साँच्चै आँखामा आँशु थिएन । प्रायः सधै आँखाबाट आँशु बग्ने थिए । मान्छेको जीवन अचम्मको हुँदो रहेछ । सोचेको र चाहेको केहि नपुग्ने । जे चाहना छैन त्यो टुप्लुक्क आईपुग्ने । अथक मेहनत, परिश्रम र उत्कट चाहना राख्दा प्राप्ती हुन नसकेको विषय अकस्मात आईलाग्दा मान्छेको खुशीको सीमा रहला ? त्यतिबेला कसैको आँखाबाट खुशीको आँशु बग्ला तर मेरो आँखामा आँशु सुक्यो । अहोरात्र त्यहि विषयलाई कोट्याईरहँदा थिलथिलो बनेको घाउ अकस्मात निको हुन गयो । भाग्य र कर्मका बारेमा लामो समय मान्छेहरुको बहस चलिरहेको छ । आफु अनुकूल ब्याख्या गरिरहँदा कसैले भाग्य भन्छन् कसैले कर्म । दुवै उतिक्कै महत्वपूर्ण हुने रहेछ । 
    बाल्यकालका धेरै कुराहरु थाहा थिएन । कसैले सुनाउँदा कौतुहलता जागिरहन्थ्यो । कहिलेकाँहि भगवानलाई सरापिरहेको थिएँ । बेकार सरापेछु जस्तो पनि लाग्छ आजकाल । भगवानसँग पुकार गरिरहँदा कुरा कुनै न कुनै दिन सुनुवाई हुँदो रहेछ । भगवान छैन भन्नेहरुका लागि पनि त्यो झापड भएको छ । कुनै दिन मैले पनि कहाँ छौ भगवान् ? भनेर कराएको थिएँ । निरन्तरको मेरो सुनुवाई कतै न कतै भईरहेको आभाष भयो । विज्ञान प्रविधिको युगमा कम्युटरले त भनेकै बेला फाईलहरु खोज्न सक्दैन । विश्वास, भरोसा र आत्मविश्वास कायम रहँदासम्म एक दिन न एक दिन भगवानले मान्छेको पुकारा सुन्दा रहेछन् । नदेखिने तर सत्यको पक्षमा रहिरहने त्यस्तो विषयमा धेरै बहस किन गर्नु पर्छ र ? भगवानै नमान्नेहरु त भैसीको पुजा गर्छन् । बलि दिन्छन् । चाडवाड, रितिथिती, धर्म संस्कृतिको कुरा गर्छन् । हामी जाबो निम्सराहरुको के कुरा गर्नु ? 
    जन्म दिने बाबु आमा भए पो धेरै थाहा पाउनु । भन्नेहरुले छत्तिस सालको आन्दोलनको समयमा ४ वर्षको थिईस् भनेको आधारमा मैले मेरो जन्म त्यो समयामा भएको रहेछ भन्ने अनुमान गरेको हुँ । म भन्दा पछि जन्मिएकी बहिनी त्यतिखेर ९ महिना मात्रै रहिछन् । थोरै बारी । घरमा अधिँयामा पालेको बाख्रा । त्यहि भरमा बुबा आमाको जीवन चलिरहेको रहेछ । उहाँहरुको उमेर पनि त्यतिखेर भर्खर २४÷२५ मात्रै रहेछ । हजुरबुबा हजुरआमाको पनि सानै उमेरमा निधन भएकाले बुबा पनि अरुको भरमा हुर्किनु भएको रहेछ । छिमेकीहरुको साहारा, बुबाको काकाहरुको ब्यवस्थापनमा उहाँको विवाह समेत भएको रहेछ । घर न परिवार कसले दिने छोरी । तर पनि उहाँहरुको मेहनत र जिम्मेवारीमा बुबाले विवाह गर्नुभयो । सानैदेखि अभिभावक नभएकाले उहाँको बानी कुलतमा लागेको रहेछ । काममा जाँदा र फर्कदाँ पनि रक्सी खाने । धेरै रक्सी सेवन पछि गाउँघरमा अनेक नाममा झगडा गर्ने । सुध्रन्छ कि भनेर उहाँकै काकाहरुले बुबाको विवाह गरिदिनु भएछ । विवाह पछि पनि उहाँको बानी सुध्रनु भन्दा झनै धेरै रक्सी सेवन गर्ने आदत हुन थालेछ । आमाले सम्झाउँदा पनि उहाँले रक्सी छाड्न सक्नु भएनछ । मामाघर पनि नजिकै भएकाले धेरै पटक उहाँको कुटाईले आमा माईती जाँदा कुटेरै हैरान । विवाहको ६ वर्ष पछि मात्रै मेरो जन्म भएको रहेछ । 
    मेरो जन्म भएको डेढ वर्षमै बहिनीको जन्म भएछ । सुत्केरी अवस्थामा पनि आमाले पाएको यातनाको कुरा गरी साध्य छैन रे । पटक पटक श्रीमान् छाडेर भाग्दा समेत उहाँ कुटाई खानबाट जोगिनु भएनछ । महिलाहरुले लोग्ने मान्छेहरुबाट भोग्नुपर्ने यातनाको त्यो एउटा रुप मात्रै हो । आजकाल धेरै खालका यातनाहरु भोगिरहेका छन् महिलाहरुले समाजमा । त्यतिबेलाको महिलाहरुको पीडा र आजभोलीका महिलाहरुको पीडा ठ्याक्कै फरक छ । बुबाको निधन रक्सीकै कारण भएछ । सानै उमेरमा बुबाको निधन भए पछि आमाले भोग्नु परेका समस्या कति धेरै होलान् । विवाह भएको लामो समय सन्तान जन्मनु नपर्ने ? सन्तान जन्मिएर तिनै सन्तानको भरमा बाँच्ने साहस बढ्दै जाँदा लोग्नेको निधन हुनुपर्ने । एकल जीवन जिउँदा भोग्नुपर्ने अनेक लाञ्छना र आरोपबाट आमा कसरी मुक्त हुने ? जिउँदै लोग्ने हुँदा त समाजले लगाउने आरोपबाट उहाँ मुक्त हुन सक्नु भएको रहेनछ । भएको श्रीमान्को अवस्था त्यस्तो भएकाले विवाह गरेकै भोलिपल्ट देखि उहाँले अरुको घरमा काम गरिरहनु भएको रहेछ । त्यहि कामबाट आएको ज्यालाले उहाँले आफ्नो मात्रै होइन लोग्नेको पेटका लागि समेत जोहो गरिरहनु भएको थियो । त्यसकै आडमा लोग्नेले रक्सीको सुरमा गरेका ताण्डव नृत्यको साक्षी समाज थियो । तर उसले आमाको गर्भमा रहेका हामीहरुको बारेमा पनि अनेक लाञ्छना लगाएका रहेछन् । म रक्सीको सुरमा घरमा हुन्न तर मेरो श्रीमती गाउँका दुनियाँ मान्छेसँग काममा जान्छे र कसको गर्भ बोकेर आउँछे । महिलाहरुले भोग्नुपर्ने लाञ्छनाका रुप पनि कति हो कति ? बुबाको निधन पछि पनि आमाले हाम्रा लागि धेरै संघर्ष गर्ने योजना बनाउनु भएको रहेछ । तर त्यहि समाजले उहाँलाई बसि खान दिएन । 
म आमाबाट पनि छुट्टिन पुगें । अर्काको घरमा काम पनि गर्ने र अध्ययन गर्ने योजना अनुसार साथ लागेर अन्यत्र पुगेछु । पढाई असाध्यै राम्रो थियो । म सधै प्रथम हुन्थें । जसले मेरो अध्ययनको जिम्मेवारी लिएको थियो उसले नियमित विद्यालयमा रकम तिरि दिएन । त्यो घरमा मलाई मानसिक यातना मात्रै हुन्थ्यो । मेरो विषयमा छिमेकीहरुलाई थाहा रहेछ । त्यहि कारण मेरो अध्ययन पनि विग्रँदै गएको थियो । घरका कामहरु सबै गरेर मैले अध्ययन गरिरहेको थिएँ । छिमेकीले सोध्दा पनि घरको इज्जत भनेर कसैलाई भनिन । मेरो परीक्षा शुरु हुँदै थियो । विद्यालयमा पैसा तिरेको थिईन । धेरै पटक भन्दा पनि वास्ता नगरेपछि मैले भनेको थिईनँ । तर पनि विद्यालयमा परिक्षा दिन गएँ । छिमेकी दाईले परीक्षा नछुटाउनु यसको बारेमा सोचौंला भनेपछि म खुशीले गद्गद् भएँ । जसले मलाई विद्यालयमा धेरै माया गर्दथ्यो । त्यो साथी अर्थात दाईलाई मनको कुरा भनें । उसले घरमा बुबा आमालाई भनेको रहेछ । त्यो परिवारले मलाई कक्षा १० सम्मको शुल्क तिरि दिने विद्यालयलाई बचन दिएर गएछ । म आभारी मात्रै भईनँ उहाँहरुको ऋणी पनि भएँ । तर कुरो त्यस्तो भएन । त्यो कुरा घरमा थाहा पाएपछि मलाई झनै कारवाही भयो । मैले साथीलाई उहाँहरुको सहयोग नलिने कुरा बताएँ । पछि मलाई पहिलाको भन्दा अलिक राम्रो गरियो । तर मैले उमेर बढ्दै गएपछि घरमा गर्नुपर्ने सबै काम गरें । भाँडा माझ्ने, लुगा धुने काम मेरो नियमित भित्र पर्दथ्यो । खाना पकाएर समेत विद्यालय जाने गरेको थिएँ । सबै काम सकेर विद्यालय जाँदा पनि कक्षा १० सम्म मैले पछाडि फर्कनु परेन । कक्षा ९ मा पुगेपछि मैले मेरो बास्तविकता सबै थाहा पाएँ । त्यति बेला देखि मैले मेरो आमा खोज्न थालें । सम्भव भएन । बहिनीको बारेमा चासो हुन थाल्यो । उ कता के गर्दै होली ? कुनै दिन उसको र मेरो भेट हुन सक्ला र ? कलेजले म जस्ता उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत प्रदान गरेको थियो । विहान बेलुका घरकै काम गरेर विद्यालय जान मलाई त्यो परिवारले पनि रोकेन । पहिला भन्दा धेरै माया ममता थियो । म जिम्मेवार सदस्य बनेको थिएँ । कुनै दिन आफु जन्मेको ठाउँ र जन्म दिने आमाको बारेमा जान्न र चिन्ने जिज्ञासा सधै भईरह्यो । खुशी र सुखी । साथीभाईको अनुहारमा भएको प्रसन्नता । मेरो प्रगतिमा रमाउने आमा बुबाको अनुहार सम्झन्थें । धिक्कार्थे । रुन्थें । एक्लै कतिबेलासम्म रोएर निदाउँथे पत्तो भएन । तर पनि एक दिन मेरो आमा र बहिनी मेरो अगाडी आईपुग्छन् जस्तो अनुभुति भइरहन्थ्यो । ब्याचलर तहसम्मको अध्ययन सकाएर मैले बैंकमा जागिरको लागि आवेदन दिएँ । मेरी आमा गाउँमै हुनुुहन्छ । आमालाई सुख दिने मेरो सपना विस्तारै पुरा हुँदै गए पनि सम्भव भएको थिएन । 
    सन्तानकै कारण अभिभावकले दुःख पाउनु र अभिभावकका कारण सन्तानले दुःख पाउने उस्तै रहेछ । अझै धेरै सन्तानको भविश्य जोखिममा पर्दाे रहेछ । आमालाई खुशी दिने सपनामै म विलिन हुन पुगेछु । धेरै मान्छेहरुको पीडा मेरो भन्दा ठुलो हुने रहेछ । मलाई लाग्थ्यो संसारको सबै भन्दा धेरै अभागी र दुख पाउने म मात्रै हुँ । त्यस्तो हुँदो रहेनछ । सबैलाई आफु र आफ्नो मात्रै समस्या ठुलो लाग्दो रहेछ । सन्तानका लागि अभिभावकहरुले कति दुःख ब्यहोर्दा पनि पृथ्वी जस्तो ऐया भन्दा रहेनछन् भन्ने लागिरहेको छ । कहिलेकाँहि सोच्छु जन्मिए र पो गल्ति गरें कि ? आमाको माया । छोरी विवाह गरेर जानु पर्ने रहेछ । अरुको माया र प्रेममा फसिसकेको ब्यक्ति । अरुकै सहयोगमा हुर्किएँ । काम गरें । विस्तारै लोकसेवा आयोगको परिक्षा दिएँ । अधिकृत पदमा नाम निकाल्न सफल भएँ । स्थायी जागिर सँगै नयाँ जीवन शुरु गरें । अहिले खुशी छु । सुखी छु । समस्यामा नआत्तिकन मेहन, परिश्रम र लक्ष्य लिने हो भने हरेक ब्यक्ति सफल र सक्षम बन्न सक्छ भन्ने मेरो भोगाई हो । अनुभुति हो । अन्य ब्यक्तिहरुलाई मेरो जीवन पाठ हुन सक्छ । त्यसैले मैले यो अनुभुतीलाई चेष्टा र प्राईम मार्फत प्रकाशन र प्रसारणका लागि अनुरोध गरेको हुँ । 

रुपा बराईली
धुलिखेल, काभ्रे