मैले दोश्रो पटक आफ्नो पीडा पोखें । यो भन्दा पहिला पनि मैले आफ्ना घटना विवरण सुनाएको थिएँ । कतिपय पीडा र भोगाई यस्ता हुँदा रहेछन् कि जति पटक भने पनि मन शान्त हुँदैन । यो घटना सत्य हो । सत्य घटना भएकाले धेरैले विश्वास गर्न कठिन होला । तर जे भोगेको हो त्यो भोगाईले साँच्चै मान्छे भित्रको दया वा सहकार्यको भावना कस्तो होला भन्ने देखाउँछ । समय बदलिएको छ । बदलिएको समयमा बाँच्न कठिन छ । अझै इमान्दार हुन त झनै कठिन छ । कठिनताका बीचमा पनि जीवन जिउनु अर्काे मज्जा छ । आत्महत्या गर्नेहरुको संख्या पनि बढेको छ । भुकम्प, कोरोना जस्ता महामारी पनि ब्यहोरेका नागरिकहरु पनि धेरै छन् । अहिले पनि कुनै न कुनै रोगबाट संक्रमित भएका नागरिकहरुको संख्या धेरै छ । छुवाछुत देखावटी रुपमा छैन । भित्री रुपमा हट्न सकेको छैन ।
बेरोजगार युवाहरुलाई रोजगार दिँदा फसेका ब्यक्तिहरुको पीडा हो यो । दैनिक विदेशिने ब्यक्तिहरुलाई नेपालमा रोक्न कुनै सरकारले सकेको छैन । थोरै भए पनि नेपालमै केहि गर्ने सोचका साथ अवसर प्रदान गरांै । अवसरलाई श्रम, सिप र क्षमतामा बदलौं भन्ने सोच राख्दा संकट र पीडा बाहेक केहि नहुने रहेछ । आरोप पनि कस्ता कस्ता ? भगवानले हेर्न त माथीबाट हेरिरहेकै होलान् । तर पनि तत्काल उनिहरुलाई दण्ड दिने अवस्था पनि नहुने रहेछ । पीडितले आफुलाई पीडा परेको महसुस गरी उजुरी दिएपछि कानुन अनुसार कारवाही गर्नै पर्छ । तर न्यायालयले सत्य तथ्य के हो ? प्रहरी अनुसन्धानमा के भएको छ ? प्रहरी अनुसन्धान पनि कतैबाट प्रभावित पो छ कि ? यस्ता विषयमा ख्याल नपु¥याउँदा निर्दाेष ब्यक्तिहरु जेल गईरहेका छन् । सय अपराधी जेल बाहिर रहुन तर एक निर्दाेष ब्यक्ति जेल नपरोस् भन्ने उखान अहिले मेल खाँदैन । सय अपराधी बाहिर हुन्छन् निर्दाेष धेरै जेल हुन्छन् । समाजमा भईरहेको राजनीतिक उतारचढाव, ब्यक्तिगत स्वार्थ, अनियमितता तथा भ्रष्टाचार र चाँडै धनी बन्ने सपनाले सबैलाई भ्रष्ट बनाएको छ । कसैलाई समयको भ्रष्टाचारी बनाएको होला कसैलाई पैसाको । सबैखाले अपराधलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन । नियत र भूमिका खोजिनु पर्छ । कहिलेकाँहि मान्छेले असल नियतले गर्दा गर्दै गलत हुन पुग्छ । उसले त्यसमा क्षमा पनि दिनुपर्छ । गल्ति अनुसारको सजायँ पाउनु पर्छ । नियत नै खराब छ भने त्यसलाई त्यहि अनुसारको ब्यवहार गरिनु पर्छ । कानुनले दिएको अधिकार प्रयोग गर्दा दुबै पक्षको भोगाई र भनाई हेरिनु पर्छ ।
२०६७ साल असार महिनाको अन्त्य तिर मध्ये राती एउटा घटना बनाईएको रहेछ । अन्दाजी साँढे ११ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला साविक बिर्ता देउराली गाविस हालको चौरीदेउराली गाउँपालिकामा घर भई हामी काठमाडौमा बस्दै आएका थियौं । हाम्रो डेरासँगै गोर्खा जिल्ला फुजेल गा.बि.स.वडा नं. ८ मा घर भई काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर २६ मा एउटा परिवार डेरा लिएर बस्दै आएको थियो । त्यो परिवारमा बाबु आमा र केहि केटाकेटी थिए । त्यो घर भन्दा केहि उता एउटा अर्काे परिवार बस्दो रहेछ । बालिका र त्यो घरमा बस्ने परिवारका सन्तान बालक एउटै कक्षामा अध्ययन गर्दा रहेछन् । दुबै दैनिक हुने भेटघाट, गहृकार्य आदान प्रदान समेत हुने कारण विस्तारै नजिकिन थालेछन् । त्यहि प्रेम शारिरीक सम्बन्धमा पुगेको रहेछ । त्यो घटनामा उनका अभिभावकहरु जानकार रहेछन् । केटा र केटी दुवैको परिवारले थाहा पाएको उक्त कुरा केहि समय गुपचुप राखेका रहेछन् । केहि समय पछि उनिहरुको ब्यवहारबाट आमाबुबा अवाक्क भए पछि घटना बदलेर त्यसलाई पैसा बार्गेनिङ्गको माध्यम बनाउने तयारी भएछ । आफु त सोझो कुनै कुराको जानकारी थिएन । घटना भएको त्यस्तो रहेछ । धेरै पछि उनिहरु बीच भएको सामान्य खटपट मिलाउन पैसाको कुरा भएछ । पैसा पनि नदिए पछि बालिकाका बावुले प्रहरीमा जाहेरी दिएका रहेछन् ।
नियमित भेटघाट हुने भएकाले हामीसँग चिनजान हुँदै गयो । बोलचाल समेत हुन थालेपछि आवतजावत हुन थाल्यो । त्यो दिन उनकी १५ बर्षिया छोरी हराएको भन्ने घटना बनाईएछ । उनको परिवारले आफ्नै डेरामा बसिरहेको अवस्थामा छाोरी हराईन भन्ने सूचना प्रहरीलाई गराएकी रहिछन् । त्यहि दिन महानगरीय प्रहरी परिसर टेकुमा निवदन दिई खोजतलास समेत गरिएको रहेछ । हराएकी छोरी खोजतलासका क्रममा केहि दिन पछि रातको समयमा आफै डेरामा फर्किईन । उनले आफ्नै घरमा बस्ने काभ्रे घर भएका दुई युवाले ललाई फकाई काठमाडौंमा डेरा लिएर बस्ने एकजना ब्यक्तिको कोठामा लगी धाक धम्की देखाई प्रलोभनमा पारी जर्बजस्ति करणी गरेको बयान दिईएको रहेछ । बालिकाका बाबुले प्रहरीलाई त्यहि ब्यहोराको उजुरी र बयान दिएका रहेछन् । १५ बर्षिया बालिकाले पनि त्यहि बयान दिईन् । १५ बर्षिया बालिकाले दिएको बयानमा दुईमध्ये एक युवाले जर्बजस्ति गरेकाले हदैसम्मको कारवाहीको माग गरिएको थियो । घटना चाँहि यस्तो रहेछ । उनिहरु प्रेम गरेर तीन महिनासम्म सँगै बसेका पनि रहेछन् । परिवारको सल्लाहमा उनिहरुलाई अब विवाह गरिदिने भन्ने योजनामा विवाह समेत गर्ने निधो भएको रहेछ । त्यहिबेला उनिहरु त्यहि बालकको घरमा गएर समय बिताउन थालेका रहेछन् । मलाई पनि कुरा सुनाएका थिए । उनिहरुलाई छुटाउँ ? यो उमेरमा कसरी विवाह गरिदिने ? मैले विवाह नगरौं बरु उनिहरुलाई अलग अलग गराएर राम्रो वातावरणमा शिक्षा प्रदान गरौ । मेरो कुरा ठ्याक्कै उल्टो भएको रहेछ । तीन महिनासम्म सँगै बसेका जोडीलाई कसरी फुटाउने ? मैले बालकै छौ विवाह गर्ने कुरा राम्रो हुँदैन भनें । शुरुमा धेरै गाली पनि ग¥यौं । तर उनिहरु दुवैले एक अर्का विना बाँच्न नसक्ने ब्यहोरा बताए । मर्न दिनु भन्दा त बहुलाउन दिनु राम्रो भन्ने लाग्यो । ल मरिजाउन त उमेर विस्तारै पुग्दै जाला भन्ने सोचेर मैले वास्ता गरिनँ । खासमा कुरा रहेछ भने उनको र भाईको जात मिल्दो रहेनछ । तीन महिनासम्म एउटै कोठामा बसेर सम्वन्ध राख्दा कुनै जातको कुरा भएन । तीन महिना पछि जातलाई देखाउँदै उमेर नपुगेको, अपहरण गरेको र जर्बजस्ति करणी गरेको अभियोग बनाई उनका बाबु आमाले प्रहरीकोमा उजुरी दिए ।
तीन महिनासम्म उनिहरुलाई उजुरी पनि दिनु परेन । तीन महिना पछि सहमतिमा भएको प्रेम र विवाहलाई जर्बजस्ति करणी बनाउँदै हामी समेतलाई विपक्षी बनाएर उनका बाबुले दिएको उजुरीमा हामी समेत पक्राउ प¥यौं । केटी पनि उनकै घरमा गईन् । सहमतिमा प्रेम अनि विवाह गर्ने, त्यहि केटा नभए झुण्डिएर आत्महत्या गर्छु भन्दै धम्क्याउने अनि स्वार्थ पुरा भए पछि जर्बजस्ति करणी र अपहरणको मुद्दा दर्ता गरेर निर्दाेषलाई जेल पठाउने ? घर परिवारको सहमतिमा दुवैजना श्रीमान् श्रीमती भई एउटा कोठामा बसेका थियौं । उक्त बालक पनि श्रीमान् श्रीमती भई अर्को कोठामा बसेका थिए । काठमाडौ आई डान्स बारमा काम गर्न लागेको अवस्थामा करीब ३÷४ दिन पछि गाउँबाट उनिहरु आएका आए । उनिहरु दुवैजना आफ्नो कोठामा गएका थिए । नाताले उ मेरो भाई जस्तै थियो । दाई भनेर उ पनि मरिहत्ते गथ्र्याै । मैले उसका हरेक कुरामा सहजीकरण गरेको थिएँ । उसले जसको छोरी विवाह गरेर ल्याएको थियो उसका आमा बुबालाई भेटी कुराकानी गरी म लगायतका साथीहरुले सम्झाउने प्रयास गरेका थियौं । उल्टै उनिहरुले हामीलाई जबरजस्ती करणी मुद्दाको जाहेरी दरखास्त दिने धम्की दिएका थिए । हामीले जे नहुनु भई सक्यो मिलाएर जाउँ भन्यौं । तीन महिनासम्म एउटै डेरामा बसे । गाउँमा गएर पनि बसे । उनिहरु श्रीमान् श्रीमतीका रुपमा बस्न तयार भएर नै विवाह गरेर गएका थिए । अब हामीलाई किन सजायँ ? हामीले उनिहरुको ब्यवस्थापनमा सहयोग पु¥याएका थियौं । घरमा आउने ब्यक्तिलाई निक्लिएर जा भन्न मिल्दैन थियो । मर्छु बरु जान्न भने पछि मर्न दिनु कि राख्नु ?
उनिहरुले फर्काएर लगे । छोरीलाई आफ्नै घरमा लिएर गए पछि प्रहरीले अनुसन्धान शुरु गरे पछि हामीलाई पक्राउ गरिएको छ । बालक आफ्नो घर गएका रहेछन् । हामी पनि काभ्रे आएका थियौं । आफ्नै काम विशेषले काभ्रे आउँदा प्रहरीले फोन गरेर तपाई विरुद्ध उजुरी छ भने पनि हामी झसङ्ग भएका थियौं । छाँगाबाट खसे झै भएँ । तर पनि प्रहरीले भनेको नमान्ने कुरा पनि थिएन । प्रहरीलाई कानुन अनुसार सहयोग गर्नु पर्छ भन्ने योजनामा म आफै आएँ । घरबाट बसमा चढी सोही दिन बेलुकाको समयमा शहर पुगेको थिएँ । म काठमाडौ आई सकेको थिएँ । उनिहरुले सहमतिमा गरेकाले उजुरी नगर्न अनुरोध गरें । तर पनि उनिहरुले मानेनन् । भएका सबै ब्यहोरा बताउँदा पनि जातले साथ नदिएकाले उजुरी गरेको भन्नु भयो । जात नमिल्दा जर्बजस्ति भयो । त्यहि उजुरीका आधारमा हामीलाई पक्राउ गरिएको थियो । मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ को २ नं. अनुसारको कसुर अपराधमा सोही ऐनको महलको ३ को २ नं. बमोजिम सजाय बालकलाई सजायँ हुनु पर्ने माग गरिएको थियो । सोहि ऐनको १० नं. बमोजिम उचित क्षतिपुर्ति माग गरिएको थियो । घटनालाई सहयोग गरेको भन्दै म, मेरो श्रीमतीलाई समेत मुलुकी ऐन जबरजस्ती करणीको महलको ४ नं. अनुसारको कसुर अपराधमा सजायँको माग गरिएको थियो । प्रेम गर्ने उनिहरु, विवाह गर्ने उनिहरु अनि दुःख चाँहि हामीलाई ? यो कस्तो न्याय ? मान्छे मर्नबाट बचाउने पनि हामी । जेल जानु पर्ने पनि हामी । जसले जातका कुरा देखाएर ३ महिना सँगै बसेका केटाकेटीहरुलाई अलग बनाएर राखे उनिहरु चाँहि ठिक ? हामी चाँहि बेठिक ? हे कानून ? हे अदालत ? कसरी न्याय पाउने निर्दाेषले न्याय ? बरु कानून नै संशोधन गरेर यस्तो समस्याको समाधान गर्ने कि ?
शंकर नेपाली
काठमाडौ









