2026 June 06/ 03:49: 26pm

    जहा“ गरिबी त्यहा“ अभाव भनेझै मेरो जीवनमा यही चरितार्थ भएको छ । गरिब भएर जन्मनु भन्दा नजन्मनु वेश । गरिबीले शिक्षा, स्वास्थ्य तथा मानवीय आवश्यकता पूरा गर्न धौधौ पर्दाे रहेछ । गरिबीले मान्छेलाई न बा“च्न दिन्छ न त मर्न नै । यसले अभाव, पीडा, असन्तुष्टि शिवाय केही दिँदो रहेनछ । मैले पाएको दुःख र अब पाउने दुःखले मुटु भक्कानो फुटेर आउ“छ । सानोमा पनि गरिबीका कारण एक अक्षरसम्म चिन्न पाईएन । अलिअलि लेख पढ गर्न सकेको भए अहिले समस्या पर्दैनथ्यो । हुन त आफुले पनि के भन्नु छोरा छोरीलाई अझै पनि पढाउन सकिएको छैन अब त झन् कसरी सकिएला र पढाउन । दुःखको साहारा भनौ वा कमाई गरी ल्याएर जहान बच्चा पाल्ने मुली माथि नै शत्रुको आ“खा लागेपछि । जहा“ गहिरो त्यहा“ मात्रै पानी जम्दो रहेछ । जसलाई धेरै दुःख हुन्छ त्यहि मात्रै दुःखै दुःखले भरिंदो रहेछ । कोही मान्छे गरिब कोही मान्छे नाङ्गो हुने यो पापी संसारमा बाँच्नु भन्दा आफैलाई मरौ–मरौ लाग्दो रहेछ । मान्छेको ज्यान कुखुरा भन्दा सस्तो हुन थालेपछि बा“चेर के नै ह“ुदो रहेछ र ।
    उच्च ओहोदा र पैसा भए पछि संसारमा सबैथोक किन्न पाँईदो रहेछ । मान्छे मार्न पनि पाँईदो रहेछ । मान्छेलाई किनबेच गर्न पाईदोरहेछ । हरेक कुराहरु पैसाले नै गर्दाेरहेछ । कलिलो उमेरमा मेरो श्रीमान्को मृत्यु हुन्छ भन्ठानेको भए सायद..। श्रीमानलाई मेरो साथबाट खोसेर लाने त्यो पापीलाई हदैसम्मको कार्वाहीका लागि माग गर्दछु । उमेरले आधा वसन्त ५० वर्ष लागेकोे छ । आधा उमेर ज्यालादारीमा नै वितिसकेको छ । सधै ज्याला नगरी घरमा खान पुग्दैन । विहान खाए बेलुका के खाउ“ भन्ने समस्याले सताईरहन्छ । कमाएर ल्याउने मान्छे रह“दा समेत यो समस्याले सताउ“थ्यो भने आज त कमाएर ल्याउने मान्छे कोही छैन । म एक्ली मान्छेले कति कमाएर कति ल्याएर यि केटाकेटीहरुको पेट पाल्ने हो ? सुनेको थिए“ गरिब दुःखीहरुलाई सहयोग गर्ने धेरै मान्छेहरु हुन्छन् तर खोई आजसम्म मैले यस्तो धर्माबलम्बी भेटेको छैन । बरु मान्छे मार्ने अपराधीहरु भने दिन दहाडै भेटिरहेको छु । देखिरहेको छु । सुनिरहेको छु । अनपढ मान्छेलाई केही थाहा छैन । थाहा पनि कसरी होस् । मेरो आमा बुबाहरुले दिन नपाएको शिक्षाबाट म बञ्चित मात्र भईन । एउटा आ“खा भएको अन्धो मान्छे समेत भएको छु । मैले पनि मेरो छोरा छोरीहरुलाई यस्तै अन्धो बनाएको छु । यो सबै गरिबीका कारण हो । सबैतिर गरिबी होला भन्ठानेर चित्त बुझाउने गरेको छु । गरिबीले छाड्यो भने यो मुलुक कस्तो हुन्छ होला कल्पना समेत गर्न सकिदैन । गरिबी भएन भने र गरिबी बनाउने बाटो भएन भने संसारमा पानी विनाको माछा जस्तै मान्छे छट्पटाउ“छन् होला । मेरा छोराछोरीहरु २१ औ शताव्दीमा राज्यले निःशुल्क शिक्षा भनिरहेको अवस्थामा समेत पढ्नबाट बञ्चित भईरहेका छन् । छोरा छोरीहरुलाई विद्यालय पठायो भने उनीहरुले नै विहान बेलुका कसरी पेट भर्छन् ? मेरो लोग्नेको हत्या हुनु गरिबीलाई नै दोषी ठानेको छु । 
    विवाह गरेको करिव १८ वर्ष भैसकेको थियो । शुरु देखि नै अर्काेको ज्यालादारी नगरी खान नपुग्ने भएकाले सधै उहा“ र म ज्याला गर्न जाने गरेका थियौं । यो बीचमा हामीबाट एक छोरी र दुई छोराहरुको जन्म भएको थियो । घर धन्दा र ज्याला पानीमा छोरीले पनि सहयोग गर्दै आएकी छ । अर्काेको ऋण नगरी र साहु महाजनको घरमा पैसा मागेर नल्याई हाम्रो जीविका चल्दैनथ्यो । हामीहरु यस्तै परिवेशबाट हुर्केर आएका थियौं । म अलि अलि कम सोच्न सक्ने र वाहिरी परिवेश समेत कम थाहा हुने गरेकाले घर ब्यवहार सबै उहा“ले नै गर्ने गर्नुहुन्थ्यो । उहा“ले गरेको कारोवारमा मैले केहि चासो दिने गरेको थिएन । उतिबेला आफ्नो बारीबाट उब्जेको अन्नले दुई तीन महिनालाई बेसाउनु पर्दैनथ्यो । अरु महिना सधै किनेर खा“दा साहुकोमा गएर ऋण काढ्नु पर्ने बाध्यता रहिरहेको थियो । साहुकोमा ऋण माग्न जा“दा जग्गा धितो समेत राख्नु पर्दथ्यो । मेरो श्रीमान्ले ल्याएको सबै ऋण तिरिसक्दा समेत हाम्रो नाममा रहेको घर जग्गा अझै जसले ऋण दिएको थियो त्यसैको नाममा छ अरे । मर्नु केहि समय अघि घरमा त्यहि कुरा भएको थियो । 
    गाउ“मा पनि सधै अर्काको ज्यालादारी गर्न नपाइने भएकाले हामी ६ महिनासम्म ईट्टा पार्न जाने गरेका थियौं । ६ महिनासम्म ईट्टा पार्न जाने र ६ महिनासम्म यतै घरमा बस्दा छोरा छोरीहरुको पढाईमा पुरै असर परेको थियो । अझ उनीहरु पनि ईट्टा भट्टामा काम गरेपछि रोजी रोटीलाई कम नै समस्या हुने गरेको थियो । सधैजसो यो वर्ष हामी सबैजना ईट्टा पार्न जाने कामका लागि तयारीमा थियौं । गाउ“का केही मान्छेहरु ईट्टा भट्टामा गइसकेका थिए । आफ्नो नाममा घर जग्गा केही नरहेका कारण हामीहरुलाई थप समस्या परिरहेको थियो । हामी बसेको घरमा आएर साहु सधै घरमा आगो लगाईदिन्छु भन्ने धम्क्याउने गर्न आईरहन्थ्यो । हाम्रा छोरा छोरीहरु उ आएपछि घर लडाईदिन्छ भनेर डराउने गरेका थिए । अरुको पैसा लिएपछि तिर्नुपर्छ भन्ने हाम्रो सोच थियो । ढिलो की चा“डो हामी अर्कास“ग लिएको रकम फिर्ता गर्ने अभियानमा लागिरहेका थियांै । एक दिनको कुरा हो । म घरमा थिईनँ । हिउ“दको समय ईट्टा पार्न जाने योजनामा हामी छलफलमै थियौं । सधैजसो यो समयमा ईट्टा पार्ने हाम्रो योजना बनिरहेको थियो । एक दुई दिनमा नै भक्तपुरमा जाने सल्लाह मिल्दै थियो । ईट्टा पार्न सबैजना जानु पर्ने भएकाले हामीहरु त्यसको तयारीमा थियौं । हामी एक घर मात्रै जाने नभई गा“उका धेरै मान्छेहरु जाने भएकाले पनि एक दुई दिन ढिला भईरहेको थियो । त्यसदिन म गाउ“मा ज्याला गर्न गएको थिए“ । दिउ“सो अन्दाजी साँढे २ बजेतिर हाम्रो साहु मेरो श्रीमान्को हत्या गर्ने योजनाका साथ घरमा आएछ । पहिला पनि उ आफ्नो सम्पत्तिको धाक लगाउ“दै यसको घर जग्गा सबै मेरो नाममा छ आजै निक्लन्छस् की जलाईदिउ भन्दै धम्क्याउन आउने गरेको थियो । हामी मुकदर्शक बाहेक केही गर्न सक्दैनथ्यौं । घरमा छोरा छोरीहरु भएको समयमा उसले बाबालाई ईट्टा पार्न जाने ठाउ“बाट लिन आएको भन्दै गाडीमा राखेर लगेछ । शनिबार हामी चर्चमा थियौं । छिमेकी घरका देवर सोही दिन राति शहरबाट घर आउनु भएको थियो । उहा“ले दाई खोई भन्दै हुनुहुन्थ्यो । हामीले जे भएको हो त्यहि बताई दियौं । भोलिपल्ट मात्रै हामी उहाँलाई खोज्न निस्कियौं । उहाँलाई भक्तपुरमा साहुको डेरामा थुनेर राखिएको रहेछ । त्यहाँ सुगुर बा“ध्ने खोर रहेछ । पहिलो दिन डेरामा राखेर दोश्रो दिन देखि त्यहाँ राखिएको थाहा भयो । छिमेकी देवरहरु र गाउ“लेहरु पनि थिए । १० वर्ष अगाडि लिएको १४ हजार रकमको २० हजार तिर्नु पर्ने हिसाब निकालेर उसले मेरो श्रीमान्लाई बन्धक बनाएको रहेछ । तत्कालै त्यत्रो पैसा हामीले कहा“बाट जुटाउन सक्थ्यौं र ? उसले कि घर छाडेर जानु पर्ने, कि सबै पैसा चुक्ता गर्नु पर्ने शर्तमा अनेक मानसिक र शारीरिक यातनाबाट पीडित बनाएको रहेछ । उसलाई बन्धक नबनाउन पटक–पटक गरेको अनुरोध सुनेनन् । बरु उल्टै घर खाली गर्न त्यतिखेर पनि निर्देशन दिए । अहिलेका सहकारी र त्यतिखेरका साहुकारी उस्तै थिए । १२ घण्टाको समय दिएर सबै पैसा चुक्ता गर्न दबाव दियो । हामीले ४८ घण्टाको समय माग्यौं । आफन्त र ईष्टमित्रहरु सबै उस्तै र भन्ने बित्तिकै पैसा जम्मा गर्न नसक्ने भएकाले हामीले लामो समयको भाका राखेका थियौं । उसले १२ घण्टाभन्दा एक मिनेट पनि उता नजाने अडान लिईरह्यो । पैसा तिर्ने तर श्रीमान्लाई यातना नदिन मैले उनिहरुस“ग पटक–पटक अनुरोध गरें तर मानेनन् । धेरै रोए“ तर पनि मेरो आ“शुको कुनै पर्वाह भएन । उहा“लाई खान मात्र होईन दिसा पिसाब गर्न समेत बाहिर निक्लन दिएको रहेनछ । हामी सबै पैसा खोज्न लाग्यौं । सबैतिर आफन्त भएको ठाउ“मा गएर सबै रुने कराउने गर्न लाग्यौं तर केहि सिप चलेन । यो वर्ष ईट्टा पारेर सबै चुक्ता गर्ने अडान लिदा“ समेत उसले मानेन । 
    त्यसैदिन देखि काठमाडौंमा रहेका आफन्तहरुस“ग पैसा खोज्न हिडें । श्रीमान्लाई नआत्तिन  जसरी भए पनि पैसा खोजेर मुक्त गर्छु भन्ने आस्वासन दिएर म छुट्टिएको थिए“ । पैसा पाउन सकिएन । तीन दिन पछि पैसा प्राप्त भयो । भक्तपुर घरमा श्रीमान्लाई थुनेर राखेको स्थानमा गए“ । तर श्रीमान्को हत्या भैसकेछ । गाउ“का मान्छेहरु जा“दा प्रहरीले लासको मुचुल्का उठाएर अस्पताल लैजान ठिक्क पारेको रहेछ । मान्छेहरुको धेरै भिड थियो । सा“झ पनि परिसकेको कारण लास त्यहा“ हेर्न पाईएन । अस्पतालमा हेर्दा घा“टीमा फलामको रडले किचेर र ढाडमा धारिलो हतियार प्रहार गरेर यातनाका साथ मारिएको रहेछ । उनीहरुले भने जस्तै आफै पासो लगाएर म¥यो भन्ने आधार केही पनि थिएन । त्यहाँ पासो लगाउने र मर्न सक्ने ठाउ“ थिएन । प्रहरीले हत्यामा संलग्न भएकाहरुलाई कार्वाहि गर्ने आश्वासन पाए पछि हामीले शव बुझेर लग्यौं । आफ्नो धर्मको परम्परा अनुसार शवलाई पा“चखालमा लगेर अन्त्येष्टि गरियो । हत्याको खबर सुनेर म आफै वेहोस भए“ । मैले त शव समेत हेर्न सकिन । गरिबीका कारण मेरो श्रीमान् बन्धक वनेर ज्यान समेत जाने अवस्था आयो । परिवारमा कमाएर ल्याउने मान्छेको मृत्यु भए पछि सबै जना शोकमा डुवेका छन् । आफु सधै रोगी भएका कारण केही पनि गर्न सक्दिन । साना–साना छोराछोरीहरुलाई कसले कसरी कमाएर खान देला भन्ने पीरले मेरो आ“खाबाट आ“शू रोकिएको थिएन । 
    समाज, आफन्त र विभिन्न संघ–संस्थाले सहयोग गरे । केहि समय सहज भयो । बच्चाहरु हुर्किए । अहिले दुबै बच्चा कमाउन सक्ने भएका छन् । उनिहरुको कमाईबाट हामीले परिवार चलाएका छौं । म पनि सकेको काम गरिरहेको छु । तर पनि श्रीमान नहुँदाको पीडा भनेर साध्य छैन । एकल महिलालाई हेर्ने दृष्टिकोण पनि समाजमा फरक छ । हत्याराहरु छुटेर आईसकेका छन् । मेरा आँखा अगाडि हत्याराहरु शीर ठाडो पारेर हिड्दा आफै चाँहि अपराधी हो कि भन्ने आभाष हुन्छ । गरिबी मेरो अपराध हो ? वा गरिबीमा जन्मनु मेरो अपराध हो ? अपराधीहरु शानका साथ गाडीमा हिड्छन् आफुलाई बस चढ्न समेत धौ–धौ छ । पैसाका अगाडि कानून र न्याय फिक्का रहेछ । गरिबलाई आत्मसम्मानमा बाँच्न सक्षम बनाउने भनेको रोजगार हो । आयआर्जन मुलक सिप हो । स्थानीय, प्रदेश र संघ सरकारले यसतर्फ कहिले दिन्छन् ध्यान ? 

साईली मिजार
बनेपा, काभ्रे