धादिङ घर भए पनि केहि वर्ष देखि काभ्रेपलाञ्चोक जिल्लामा बसोबास गरिरहेको छु । उमेर भर्खर २१ लाग्दै थियो । सामान्य परिवारमा जन्मिएको तामाङ समुदायको ब्यक्ति हुँ । समाज, सोचाई र परिवेश त्यस्तै थियो । अध्ययन गर्ने र गराउने महत्व थिएन । हिन्दुहरुको महत्वपूर्ण चाड । धेरै नेपालीहरु घर फर्कने समय । दशैं तिहार जस्ता चाडहरुमा सबै ब्यस्त हुने समय भएकाले सहज पनि थियो । आम्दानी पनि राम्रो थियो । कमाई, मेहनत, श्रम । एक अर्काका पर्याय जस्तै हुन् । अहिले त काम पनि गर्ने अवस्था छैन । काम गरे पनि आम्दानी हुँदैन । विश्वास कतै छैन । भएको विश्वास पनि तोडिदै छ । उमेर, प्रेम अनि सम्बन्ध । सामाजिक संस्कार, कानुन र ब्यवहार । मुलुक, विश्व परिवेश, सूचना प्रविधिको प्रयोग । मान्छेका सोच, लोकतन्त्रका उपलब्धी र प्रयोग । स्थानीय, प्रदेश र केन्द्र सरकारको योजना मुलुकको सम्वृद्धि । आरोप, प्रत्यारोप र प्रमाण । कर्मचारी, नेता, पत्रकार, समाजका महत्वपूर्ण अंगहरुको भूमिका फरक फरक छ । सबैको चाहना र स्वार्थ अलग अलग हुने रहेछ । यस्ता थुप्रै योजनाहरुमा मान्छे कहाँ हुन्छ ? मान्छे भित्रको मान्छे समाजमा भेटिन्छ कि ? हराउँछ ? गर्छ धेरै भन्दैन केहि । गर्दैन केहि बोल्छ धेरै । गराई र भनाईमा आकाश जमिनको अन्तर हुन्छ ।
मान्छे पैसाको दास भईसकेको छ । पैसाले सम्बन्ध सकिएका छन् । प्रेम अपराधमा परिणत हुन थालेका छन् । प्रेममा राखिएका जायज सम्वन्ध जर्बजस्तिमा परिणत हुन थालेका छन् । हो सम्वन्ध र समाज कता जाँदै छ ? काभ्रेका ग्रामीण भेगहरुमा चल्ने बसहरुमा केहि वर्ष काम गरें । कहिले निर्माण ब्यवसायीहरुसँग जोडिएर काम गरें । कहिले होटलमा भाँडा माझें । कहिले घर बनाउने स्थानमा भारी बोकें । कहिले सडक निर्माण गर्ने स्थानमा मजदुर भएँ । भोको पेट र नाङ्गो शरीर ढाक्न गर्न सक्ने सबै काम गरें । काम गरेर खानु पर्छ भन्ने सोच सानै देखि थियो । सकेसम्म मागेर र ठगेर खानु हुँदैन भन्ने थियो । भारी बोकेर भए पनि पसिना बगाएर खाँदाको मज्जा नै बेग्लै थियो । आज पनि त्यस्तै लाग्छ । उमेर बढ्दै थियो । उमेरले पार्ने प्रभाव पनि फरक हुँदो रहेछ । विपरीत लिङ्गसँगको आकर्षण, प्रेम अनि सम्बन्ध । समयले जोडेर लैजाँदो रहेछ । हुन त आजकाल १२ वर्षको उमेरमा प्रेम गर्ने अनि पछि पछुताउने क्रम बढिरहेको छ । छोरा छोरी प्रेम गर्ने । बाबु आमा मुद्दा राख्ने । यस्तै छ आजकालको समय ।
सडकमा काम गरेर बसिरहेको अवस्थामा एक दिन बाटोमा हिडिरहेकी युवतीसँग नजर गाडियो । त्यो क्रमले निरन्तरता पाउँदै गयो । सामान्य चिनजानको सम्बन्धले गति लिएको थियो । सामान्य चिनजान पछि भेटघाट हुन थाल्यो । एक अर्का बीच बोलचाल हुन थाल्यो । हामी दुबैले मोबाईल नम्वर साटासाट ग¥यौं । मोबाईलमा कुराकानी हुन थाल्यो । एकले अर्काेलाई मन पराउने मात्र होईन एक अर्का बीच आत्मीयता बढ्दै गयो । मोबाईलमा कुराकानी मात्रै हुँदैन थियो । एसएमएस मार्फत मनको भन्न नसकेका कुराहरु समेत साटासाट हुन्थे । हामी भित्रको माया सगरमाथाको उचाईमा पुगेको थियो । प्राप्ति कहाँ हो थाहा थिएन । नियमित भेटघाट, भेटघाट भएन भने फोन र फोन पनि भएन भने एसएमएस हाम्रो आधार थियो । प्रेमको रुप झाँगिदै गयो । हामी टाढा जान पनि सक्दैन थियौं । हाम्रो जाने स्थान पनि थिएन । उमेर पनि त्यस्तै थियो । उमेरले विपरीत लिङ्गसँगको सम्बन्ध खोज्नु स्वभाविक थियो । स्वभाविकतालाई बास्तविकतामा परिणत गर्ने गरी हामीले भेटघाटको समय मिलायौं । धेरै दिन देखि हामी त्यसकै तयारीमा थियौं । हामी दुबैले आवश्यकता महसु्स गरेका थियौं । हामी एक अर्का प्रति लिन हुने समयको पर्खाइमा थियौं । उनको स्विकृती मात्रै होईन आवश्यकता पनि थियो । हाम्रो सच्चा प्रेम थियो । सच्चा प्रेमले हामीलाई केहि बाधा गरेको थिएन । उनी घरबाट त्यहाँ म काम गरिरहेको स्थानमा आई रहन्थिन् ।
सडकको काम छाडेर म गाडीमा काम गर्न थालेको थिएँ । गाडीमा काम गर्न थाले पछि मलाई अझै सहज भएको थियो । आम्दानीको हिसाबले पनि झनै सजिलो भयो । आम्दानीको केहि प्रतिशत मेरी उनीलाई खर्च गर्ने गरेको थिएँ । उनी र म केहि समय होटलमा खाजा खायौं । भेटघाट बाक्लो हुन थालेको थियो । त्यो दिन हाम्रा लागि महत्वपूर्ण थियो । महत्वपूर्ण बन्यो । अविश्वमरणीय दिनले जेलको चिसो छिंडीसम्मको यात्रामा पु¥यायो । साँझ भएकाले उनलाई घरसम्म पु¥याउन जाने मेरो बचन थियो । त्यो भन्दा अघि हामीले हाम्रो मायालाई पोख्ने योजना बनायौं । मायामा अझै डुब्ने योजना बनायौं । यो उनकै योजना थियो । मलाई पनि त्यहि चाहना थियो । विगत २÷३ वर्ष देखिको प्रेमलाई साकार बनाउने योजनामा हामी सँगै अगाडी बढ्दै गयौं । हामी हाम्रै बसमा गयौ । मैले रातिको समय बसमा नै सुतेर बस कुर्ने गरेको थिएँ । केहि बेर त्यहि बस भित्र बस्यौं । उनका आवश्यकताका कुरा पनि भए । उनलाई चाहिने केहि सामाग्रीहरु मैले किनिदिने बताएको थिएँ । प्रेममा सबै चिज जायज हुँदा रहेछन् । उनले चाहेको सबै कुरा म पु¥याउन तयार थिएँ । त्यो न जर्बजस्ति थियो न ललाई फकाई । दुबैका आवश्यकता र चाहना पूरा गर्ने माध्यम थियो । दुबैले प्रेमको गाँठो बलियो बनाउने उद्देश्यले विग्रिएर राखेका बस भित्रै सम्बन्ध राख्यौं । सम्बन्धमा दुबै सन्तुष्ट थियौं । त्यस पछि हामी आफ्नो आफ्नो बाटो लाग्यौं । उनको र मेरो सम्बन्ध नियमित हुन थालेको थियो । पहिलो पटक भएकाले होला उनी र म दुबै रातो पिरो भएका थियौं । हामीले सम्बन्धलाई कसिलो बनाउन केहि कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका थियौं ।
समय बित्न धेरै लागेन । हाम्रो सम्बन्ध नियमित भईरहेको थियो । जीवनमा ठुलो बज्रपात हुन पुग्यो । सम्बन्ध र गतिले कहिलेकाँहि सुस्तता वा कहिलेकाँहि तिब्रता दिएको थियो । ईलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले मलाई बुडोलबाट पक्राउ ग¥यो । जर्बजस्ति करणी सम्बन्धी ऐन, २०४९ को दफा १७ (१) बमोजिम मुद्दा दर्ता गरिएको रहेछ । प्रहरीकोमा बालिकालाई ललाई फकाई धाक धम्की दिई जबरजस्ती करणी गरी म फरार भएको भन्ने व्यहोरा उल्लेख गरिएको रहेछ । जसलाई मैले सर्वस्व सुम्पिएर माया गरें । उसको तर्फबाट उनको आमाले निवेदन दिएको प्रहरीले बतायो । कक्षा ८ मा अध्ययनरत बालिकालाई बजार जाने आउने क्रममा बसमा काम गर्ने सह–चालकले ललाई फकाई जर्बजस्ति गरेको अभियोग मलाई लगाईयो । बालिकाको तर्फबाट भनिएको थियो बिहान बेलुका बजार सामान किन्न जाने बेलामा दैनिकजसो देख्ने भएको हुँदा निजसँग मेरो सामान्य बोलचाल हुँदै हामी दुईका बिच चिनजान समेत भयो । दुईका बिच मोबाईल नम्बर आदान भई दैनिक कुरा हुन थाल्यो । प्रविधिको भरपुर प्रयोग गर्दै कुराकानी हुन थाल्यो । त्यहि क्रममा प्रलोभनमा परेर सुन, कपडा किनिदिन्छु भन्दै ललाईफकाई कोही नभएको मौका पारी कुनै साधनको प्रयोग नगरी जबरजस्ती करणी गरी भागेको भनिएको रहेछ । मेरो पेट बढेको आमाले थाहा पाउनु भयो । पेट किन बढ्यो थाहा भएन । नियमित भई रहने महिनावारी रोकिएको थियो । किन रोकियो पनि जानकारी थिएन । सबै कुरा भन्न नसकेकाले आमालाई केहि दिन ढाँटे । जब आमाले मलाई पेट दुखेको कुरा सुनाएँ । तब अस्पताल लैजानु भयो । अस्पतालमा मेरो पेटमा बच्चा रहेको कुरा जानकारी पाए पछि सबैजना छाँगाबाट खसे झै भएका रहेछन् । उमेरले १६ वर्ष हुँदै गरेकी बच्चीको पेटमा बच्चा भए पछि विवाहको प्रस्ताव राखें । बालकै उमेरमा विवाह गर्ने कुरा सम्भव रहेनछ ।
उनी म सँग विवाह गर्न चाहन्थिन् । नेपालको कानुनले सानो उमेरमा विवाह गर्न बन्देज गरेको रहेछ । उमेर नपुगी सहमतिमै सम्बन्ध राख्दा पनि जर्बजस्ति हुने रहेछ । त्यो मलाई थाहा थिएन । उजुरी गर्न आउँदा जे जे ब्यहोरा लेखिएको र बयान दिएको भए पनि उनको र मेरो प्रेम थियो । होला उमेर, जात, स्थान र अन्य कुराको हामी बीच भिन्नता थिए । तर उनको र मेरो निस्वार्थ प्रेम थियो । उनको बालपनमा मैले खेल्न खोजेको थिईनँ । तर उनको प्रेममा लागेको अंकुस र अलपत्र । उनका जीवन र भविश्य साँच्चै अन्धकार तर्फ धकेलिएला कि भन्ने मेरो चिन्ता हो । उनको जिम्मेवारी लिन म तयार थिएँ । तर मलाई त्यो खालको कानुनले सहजता दिन सक्दो रहेनछ । प्रहरीले पनि स्थानीय ब्यक्तिहरुलाई घटनाको बारेमा सोधपुक्ष गरेको रहेछ । उनिहरुले पनि उनले जे भन्यो त्यहि कुरा बताएका रहेछन् । उनलाई र मलाई मात्रै सत्य के हो थाहा छ । सत्य तितो हुन्छ । साँचो कुरा पचाउन पनि सबैलाई कठिन हुन्छ । उनका भावना र बाल्यपनमा मैले खेल्न खोजेको थिईन । तर पनि म दोषि हुँ । म अपराधी हुँ । मैले बालबालिकाहरुलाई फकाउन र माया त्यो हिसाबले वा त्यो सोचले गर्नु हुँदैन थियो । अहिले पनि म उत्तिक्कै प्रेम गर्छु । जेलमा छु । जेलमा बसेर आफ्नो प्रेम र त्यो भ्रुणको विषयमा सोचिरहेको छु । उनले त्यो भ्रुणको हत्या गरिसकिन । स्वभाविक पनि हो । बच्चा उमेरमा बच्चा पाउनु राम्रो पनि हैन । हेरौ यो मेरो भाग्यको खेल हो । उनले धोका नपाउन । जो सँग विवाह गरे पनि उनको भविश्य राम्रो होस् । अदालतले मलाई १० वर्ष जेल सजायँ सुनाएको छ । भक्तपुर जिल्ला अदालतको फैसला उपर पुनरावेदन गर्ने ठाउँ पनि छैन । जाउँ कहाँ ? गरौ के ? जेल भित्रको अन्धकार भित्र मैले बाँकी जीवनलाई कसरी उज्यालो बनाउने सोचिरहेको छु । जेल भित्र केहि सिप सिकिरहेको छु । हेरौं भाग्यको खेल । कहिल्यै भोग्नु नपरोस् यस्तो जेल ।
रोहन तामाङ
भक्तपुर









