‘बाह्र छोरा, तेह्र नाती, बुढाको धोक्रो काँध माथी’ यो उखान अहिले ब्यवहारमा देखिन थालेको छ । एक त सन्तान थोरै जन्मन थालेका छन् । जन्मेका सन्तान स्वदेश बस्न छाडेका छन् । गाउँ रित्तो हुन थालेको छ । शहर भरिन थालेको छ । शहरमा नअटेका मान्छे मुग्लान जान थालेका छन् । प्रविधिले मुग्लान गएका सन्तान नजिक जस्तो देखिन थालेका छन् । भिडियोमा कुरा गराएर अभिभावकलाई खुशी बनाउँदैमा मन त मान्दो रहेनछ । तर पनि विकल्प छैन । युवाहरुमा आएको नैराश्यता सरकारका कुनै निकायले रोक्न सकेका छैनन् । युवाहरु अध्ययनका नाममा श्रम विक्री गरिरहेका छन् । विगतमा बालिकाहरु, महिलाहरु भारत तथा विभिन्न मुलुकमा लगेर विक्री गर्ने गिरोह अहिले प्रमाणपत्रका नाममा युवाहरु विक्री गरिरहेको छ । त्यसबाट राज्यले प्राप्त गर्ने बैद्यानिक राजश्वमा नेताहरु मख्ख छन् । हरेक दिन बाकसमा आउने युवाहरुको शवले समेत नेपालका नेताहरुलाई छुन सकेको छैन । त्यहि रेमिट्यान्स र राजश्वलाई लिएर सरकार मुलुक निर्माणको खाका कोरिरहेको छ । नेपालीहरुको पीडा र ब्यथा सधै उस्तै छन् ।
खेति गर्न लाग्यो रासायनिक मल छैन । विषादी विना तरकारी फल्दैन । विषादी र विउ किन्न पैसा छैन । विउ समयमा पाईदैन । नेपालमा विउ उत्पादन हुन छाडेको छ । हामीले गाउँमा नै उत्पादन गर्ने गरेको विउ अहिले मासिएको छ । रैथाने बालीहरु मासिँदा विभिन्न मुलुकबाट आएका विउहरु प्रयोग गर्न बाध्य भएका छौं । पहिला पहिला रासायनिक मल विना खेति गर्ने गरेका थियौं । विउ पनि आफै छुट्टयाएर राख्ने चलन थियो । मुल विउ पहिला अलग गराएर राखे पछि मात्रै अरु काममा उत्पादन भएका अन्नबालीहरु प्रयोग हुन्थे । रासायनिक मलका सट्टामा गाई बस्तुको मल खेतबारीमा राख्दा प्रशस्त उब्जनी हुन्थ्यो । ९÷१० जनाको परिवारलाई खान पुग्ने त्यहि जमिन आज दुई जनालाई पनि पुग्दैन । उत्पादन छैन । उत्पादन भएको पनि पुष्ट छैन । खेतबारीमा जाने युवा छैनन् । अध्ययनका नाममा युवाहरु विदेशिने क्रमले काम गर्ने मान्छे पाउन छाडिएको छ । सन्तान काम नपाएर शहरमा छट्टपटाएका छन् । हामी गाउँमा काम गर्ने मान्छे नपाएर छट्टपटाएका छौं । जेष्ठ नागरिक विरामी भएर अस्पताल लैजानु प¥यो भने गाउँमा मान्छे छैनन् । अस्पताल पु¥याउन नसक्दा घरमा नै मृत्यु हुने अवस्था शुरु भयो । मृत्यु भए पछि लाशलाई मसानघाटसम्म लैजाने मान्छे छैनन् । मलामी त पछिको कुरा हो । सन्तान आउञ्जेल कुर्ने हो भने मुग्लानबाट आउन वर्षाै लाग्न सक्छ । परिस्थिति बदलिएको छ ।
मैले सन्तानलाई विदेश नपठाउन अनेक प्रयत्न गरें । सन्तानलाई दुःख सुख गरेर पढाएँ । माया तल तल जाँदो रहेछ । बुबा आमाले मलाई जति माया गर्नु हुन्थ्यो । मैले सन्तानलाई त्यति नै माया गरें । तर बुबा आमालाई माया गर्ने क्रम घट्दो रहेछ । त्यहि क्रम मेरो पालामा पनि घटिरहेको छ । पीडा धेरै छ । हाम्रो समयमा पनि यति धेरै अनादार गर्ने गरिदैनथ्यो । अहिले त सन्तानलाई माया गर्दा उनिहरुले गरेको वेवास्ताले मन रोएको छ । सन्तान हुनु र नहुनु के फरक भयो र ? सन्तान नभएका अभिभावकलाई जति पीडा छ हुनेलाई पनि झन धेरै पीडा छ । कोहि अकालमा मरेकाले पीडामा छन् । कोहि भएर पनि अभिभावकलाई दुःख दिएकाले पीडामा छन् । कोहि सन्तानलाई माया गर्दा गर्दा अभिभावकले पाएको दुःखका कारण पीडामा छन् । सन्तान थरीथरीका । जति धेरै सन्तान उति धेरै दुःख । जन्मदाँ छैटीले लेखेको भाग्यको कुरा सबैले भोग्नुको विकल्प छैन । मेरा जस्ता दुःख अरुका कति होलान होलान् । सन्तानका लागि गरेको ऋणको कुरा भनि साध्य छैन । अभिभावकहरुले सन्तानको सुख र खुशीका लागि धेरै गर्छन् । तर सन्तानले अभिभावकले गरेको बुझ्न सकेनन् भने के हुन्छ होला ?
मेरो मात्रै समस्या भन्ने सोचेको थिएँ । मेरो बाल्यकालको साथीको पनि उस्तै समस्या रहेछ । उनिसँग लामो समय पछि भेट भएकाले एकछिन उभिएरै कुरा ग¥यौं । उहाँले मलाई आफ्नो घरमा जान अनुरोध गर्नु भयो । मलाई पनि मनभरीका पीडा पोख्न मन थियो । उहाँलाई पनि सायद मेरो जस्तै समस्या थियो कि ? सन्तानलाई विदेश पठाउँदा लागेको ऋण तिर्न सकेको छैन । त्यहि ऋणका कारण बैंकले भएको एउटा घर र थोरै जग्गा लिलामी निकाल्यो । छोराले विदेश गएर विवाह गरेछ । पैसा पनि कमायो होला । सबैका सन्तानले केहि न केहि ग¥यौ खुशी छौ भनेको सुन्दा आफ्नो मन भक्कानिन्छ । पैसा त पठाएन पठाएन । उ हामीसँग समेत सम्पर्कमा आउन छाड्यो । आमाले जाने बेला जे नगर्नु भनेर आर्शिवाद दिएकी थिईन् उसले त्यहि मात्रै ग¥यो । कहिले काँहि त लाग्छ बोलीमा राम्रो मात्रै आओस् । गर्नु मात्रै भनेको भए उसले त्यहि गथ्र्याे कि ? सन्तान मुग्लान पठाए देखि नै उसको आमा मेरो श्रीमती विरामी छिन् । उपचार गराउँदा गराउँदा सम्पति केहि छैन । छोराले पैसा पठाउला र ऋण तिरौंला भन्ने योजना पनि चौपट्ट भयो । उनी र म भएर गर्ने गरेको खेति बाँझो छ । बस्तुभाउ पाल्न सकिदैन । खानलाई अन्न छैन । बस्नलाई बास छैन । माग्न सक्ने तागत छैन । भएको सन्तान विदेशमा छ । हामी कसलाई सुनाउँ दुःख । जुन जोगी आए पनि कानै चिरेको भने जस्तै उनले हामीलाई केहि गर्न चाहेनन् । बाबु आमाको दुःख देखेर पनि बुझ पचाए । उमेरमा अँगालो भरीको श्रीमती च्यापेर उनिहरु कहिल्यै बाबु आमा नबन्ने जस्तै गरी भुले । स्वदेश भुले । बाबु आमाको माया भुले । दुःख र पीडा मात्रै दिए । मन बहलाउन सिक्दै थिएँ । बाल्यकालको साथी भेटें । उनका कथा पनि मैले सुनें ।
बिदाको दिन थियो । घरको दूरी टाढा भएकाले जान मन लाग्यो । उनको छोरा पनि अस्ट्रेलिया गएको रहेछ । उसको आमा अर्थात साथीको श्रीमती पनि मेरो श्रीमती जस्तै बिरामी हुनुहुँदो रहेछ । विरामी भएकाले भेट्नु पर्छ एकपटक बोलाउँ जस्तो लाग्यो । उनी र म सामान्य अवस्थाको कुरा गर्दा गर्दै भावुक भयौं । उनले पनि आफ्नो कथा सुनाउन थाले । मैले पनि उनलाई मेरो कथा सुनाएँ । मैले कथा सुनाए पछि उनको मन अडिन सकेन । भावकु मन बनाउँदै पीडाका कथाको पोको खुल्न थाल्यो । साथीको श्रीमती र आमा दुबै विरामी हुनुहँुदो रहेछ । कुराकानी गर्दै उहाँको घर पुगियो । आमा पिँढीमा हुनुहुँदो रहेछ । ढोग गरें, सन्चो बिसन्चो सोधें । नेपालीको खान्दानी रोग जस्तो सुगर, प्रेसर, दम उहाँलाई पनि रहेछ । एकछिन भलाकुसारी गरेपछि घरभित्र जान अनुरोध गर्नुभयो । उहाँले एक छिन आमासँग कुरा गर्दै गर, म नुहाएर आउँछु भन्नुभयो र माथि जानुभयो । बसेको मात्र थिएँ, आमा...भन्दै दुईजना बच्चाहरु आए । मैले साथीका छोराका बच्चा होलान् भन्ठानेको थिएँ । होइन रहेछ । मैले सोधे पछि आमाले भन्नुभयो । कहाँ हुनु बाबु नाति त अस्ट्रेलिया गएको छ वर्ष भइसक्यो । उ त पीआर नलिइकन बिवाह गर्दिन भन्छ । मैले यसैमा जोडेर भनिदिएँ आमा कहाँ सजिलो छ र विदेश । अमिलो अनुहार लगाएर चिया टेबुलमा राखेर उहाँ माथि जानुभयो । आमाको अनुहार पनि उज्यालो देखिन । हो बाबु, आफूलाई चिन्ता लागिरहन्छ उसको । समयमै घरबार भए हामीलाई व्यवहार मुक्त होइन्थ्यो जस्तो लाग्दो रहेछ । यी छोरीका सन्तान हुन् ।
गफ चलिरहेकै थियो । एकजना अपरिचित महिला चिया बोकेर आउनुभयो । मैले आफ्नो परिचय दिएँ । अमिलो अनुहार लगाएर चिया टेबुलमा राखेर उहाँ माथि जानुभयो । आमाको अनुहार पनि उज्यालो देखिन । अलि अमिलै अनुहारमा आमाले भन्नुभयो । ‘के गर्ने बाबु, नाती गएको यत्रो समय भइसक्यो । आउने, नआउने ठेगान भएन । छोरी नजिकै डेरामा बस्थी । हामी पनि एक्लो महसुस गर्न थाल्यौं । त्यसपछि हामीले ज्वाइँ छोरीलाई घरमै ल्याएर राखेका छौं, सहयोग पनि हुने साथी पनि हुने । नसोधीकनै आमाले मेरो जिज्ञासा मेटाई दिनुभयो । नुुहाइधुवाइ सकेर साथी आए पछि हामी कुराकानीमा ब्यस्त थियौं । बिहान ९ बजिसकेको थियो । फुर्सदमा आउँदै गर्छु भन्दै म विदा भएँ । घरघरका चुल्हा, चुल्हा भित्रका कहानी र पीडा सम्झेर झनै भक्कानिन पुगें म । खाना खाएर मात्र जान भनिएको भए पनि मलाई त्यहाँ बस्न मनले मानेन । समयले दिएन । अवस्था मेरो भन्दा झनै जटिल जस्तो लाग्यो । हे प्रभु ? हामी कहाँ पुग्न थाल्यौं ? हाम्रो समाज कहाँ पुग्न लाग्यो ? स्वदेशमा बसेर के गर्ने ? विदेश गएर किन फर्कदैन ब्यक्ति ? फर्काउन किन चाँहदैनन नेताहरु ?
निस्कँदै गर्दा, मेरो मनमा अनेक कुरा खेल्न थाले । हाम्रो समाज कतातिर जाँदैछ भन्ने लाग्यो । सामाजिक परिवेश धेरै फेरिंदै गरेको अनुभूति भयो । त्यसो त अचेल धेरै सन्तान हुँदैनन् । तर भएकाहरु पनि टाढा पुगेपछि तिनका अभिभावकको दुःख भने आफैंसँग रहिरहने हुँदो रहेछ । छोराहरु सबै विदेशमा । बूढा बाबुआमा मात्र देशमा एक्लै । छोरी हुनेले त यही बिहाबारी गरेकी छोरीलाई राख्लान् । छोरी पनि विदेशमा रहनेले बुढेसकालमा के गर्लान्, यो प्रश्नको उत्तर सहज छैन । फेरि ‘घरज्वाइँ’ बस्ने ज्वाइँ सबै राम्रै हुन्छन् भन्ने पनि के ग्यारेन्टी र ! मेरो टोलमा यस्तै अवस्थामा एकजना ज्वाइँ बस्छन् । ससुरालीको सम्पत्तिमा मोज गरेर बसेका छन् । विदेशमा बस्ने साला जेठानको पैसामा रजाइँ गरेर । व्यापार गर्ने भनेर ससुरालीलाई उल्लु बनाइरहेका छन् । ती बिचरी सासुआमा निरीह बनेर ज्वाइँछोरीको खटनमा बस्न बाध्य छिन् । ज्वाइँको चर्तिकलाबाट आजित भएर टोल छिमेकमा पीडा पोख्दै हिंड्छिन् । नाफा आफ्नो खातामा घाटा साला जेठान र सासुको नाममा राख्दै हिंड्छन् रे ! पोहोरसाल तिनै घरज्वाइँ बस्ने मनुवाले सालाले छोरा पायो रे भनेर बबाल गरेछन् घरमा भनेर ती बूढीआमा भन्नुहुन्थ्यो । यस्ता पनि ज्वाइँ हुन्छन् सालाले छोरा जन्माउनै नहुने ? छोराछोरीहरु अध्ययनको नाममा विदेश जाने अनि उतै बस्ने । बाबुआमाहरुको देशमा बिजोग हुने । यस्ता धेरै घटना र प्रसंग मेरो टोलमा प्रशस्त छन् । ‘बाह्र छोरा, तेह्र नाति बुढाको धोक्रो काँधै माथि’ भन्ने उखान त्यसै बनेको होइन रहेछ भन्ने पुष्टी हुँदै गएको छ । मेरा पनि छोराछोरीहरु यसरी नै विदेश भनेर उचाल्लिरहेका छन् । मनमा चस्का पस्छ कतै मुलुक नै युवाहरु नभएको देश त बन्ने होईन ?? सबैले सोच्ने बेला आएको छ ।
केशव पन्त
कोशिपारी,
हालः बनेपा, काभ्रे









