2026 June 06/ 02:17: 37pm

    प्रविधिको दोष भनौ कि भाग्यको । पहिला पहिला सूचना प्रणाली कमजोर थियो । सूचना आदान प्रदानका लागि ब्यक्ति भेट गरेर भन्ने बाहेक अरु कुराको सम्भव थिएन । अहिले प्रविधिको विकासले सूचना आदान प्रदानका लागि सहज त बनायो अविश्वास पनि बढायो । अविश्वास पनि कति कति क्या । कसैले कसैलाई विश्वास गर्नै नसक्ने गरी प्रविधिले उपलब्ध गराएको सहजताले ब्यक्तिका निजी जीवन, सामाजिक मर्यादा र जिम्मेवारीलाई समेत एकाएक बदलिदिएको छ । सहि प्रयोग गर्छु भन्दा पनि सहज र सरल हुन सकेको छैन । आफ्ना नाममा अरुले गरिदिने विकृति त कति हो कति । त्यसका बारेमा धेरै नजाउँ यो सबैले भोगिरहेका छन् । देश विदेशमा भएकाहरुलाई पनि प्रविधिले नजिक ल्याएको छ । तर एउटै ओछ्यानमा सुत्ने श्रीमान श्रीमतीलाई भने अलग बनाउन थालेको छ । परिवारका सदस्यहरु टाढा टाढा भएका छन् । अहिले कलियुगमा घोप्टे युग शुरु भएको छ । यसलाई कसरी बुझौं । पीडा एकातिर । खुशी अर्काेतिर । 
जीवनमा थुप्रै घटनाहरु घटे । साउनको झरीमा निरन्तर पानी परे जस्तै भयो जीवनका पीडाहरुको श्रृंखला । धेरैले भोग्छन् पनि होला यस्ता घटनाहरु । जीवन पनि त्यहि रहेछ सधै संघर्षमै बित्ने । एकपछि अर्काे गर्दै आएका दुःखहरुले भने मन थाम्नै कठिन हुने रहेछ । थामिएका मनहरुलाई एक पछि अर्काे गर्दै आएका कठोर घटनाहरुले पहिलेका घटनाहरुको समेत स्मरण गराउँदो रहेछ । २०४५ साल फागुन ९ गते मेरो जन्म भयो । चार वर्षको मात्रै रहेछु म । जन्म दिने बाबु परिवार नै छाडी कहाँ जानुभयो कसैलाई थाहा भएन । म भन्दा पछि अझै बहिनी जन्मिएकी थिईन् । हामी भन्दा पहिला जन्मनु भएका दुई दाजुहरु पनि हामीले देख्न पायनौं । बुबाले छाडेर गए पनि आमाले दुई सन्तानलाई दुःख गरेर हुर्काउनु भयो । १० औंला जोडेर दुनियाँको भनाई खाएर अध्ययन पनि गराउनु भयो । केहि समय फरक गरेर जन्मिएका सन्तान, तिनको लालनपालन, एउटी एक्लि महिलाका लागि कठिन थियो । पुरुष जसले परिवारको बारेमा अलिक धेरै दायित्व बहन गर्नु पर्छ उसले समेत बेवास्ता गरेको अवस्थामा समाजका हरेक ब्यक्तिले उत्तिनै सहयोग गर्छन् भन्ने त छैन । तर सहयोग गर्नेहरुलाई पनि फरक कोणबाट हेर्दा मन नै कटक्क हुन्छ । महिलाहरुले खेप्नु परेको यो पीडा समाजको चेतनासँग जोडिन्छ । जतिसुकै बुद्धिजीवी भए पनि ब्यक्तिको नीच स्तर त्यहि देखिन्छ । 
आमाले भोग्नु भएको पीडा हामी अलिक अलिक बुझ्ने भए पछि थाहा पाउन थालेका थियौं । बंशाणुगत रोग जस्तै लाग्छ हौ भोगाई पनि । आमाले भोग्नु भएको जस्तो छोरीहरुले पनि भोग्नु पर्ने ? हाम्रो बाध्यता र बिडम्बना अरुको भन्दा फरक जस्तो लाग्थ्यो । विहान बेलुका नै घाँस सोतर गर्नु पर्ने । बाँकी समय विद्यालय जाने र अध्ययन गर्ने । कक्षा ८ मा फेल भएँ । आमालाई पनि कति बोझ दिने ? हुर्किएकी छोरी चेली लामो उमेरसम्म माईतीमा बस्नु हुँदैन भन्ने थियो । नियमित अध्ययन गर्ने मेरो सपना कक्षा ८ मा फेल भए पछि टुट्यो । तर पनि मैले अध्ययन छाडिनँ । कक्षा १० मा पनि कमजोर भएँ । एसएलसी मुस्किलले पास भएँ । विवाहको कुरा शुरुमा टरेको थियो । पुनः विवाहको कुरा चल्यो । १७ वर्षको उमेरमा मेरो रामेछाप जिल्लामा विवाह भयो । सानै थिएँ । आमाले कुरा आए पछि राम्रो घर केटा छाडनु हुँदैन भन्ने सल्लाह अनुसार विवाह गरिदिनु भएको थियो । केटा पनि असल थिए । उनले पनि भर्खरै एसएलसी पास गरेका थिए । थप अध्ययन गर्न पाउनु पर्ने मेरो मागलाई घर परिवारले स्विकृत दिएको थियो । सहज पनि भयो । म र उहाँ दुबैले कक्षा ११ भर्ना भयौं । अध्ययन पनि ग¥यौ । काम पनि ग¥यौं । पहिलो सन्तान छोरी जन्मिईन् । घरमा खुशी मिल्यो । पहिलो कोख लक्ष्मीका रुपमा छोरीको जन्म हुनु राम्रो थियो । 
म सुत्केरी बस्न माईती आएँ । श्रीमान् केहि काम गर्ने योजनाका साथ राजधानी जानु भएको थियो । काठमाडौंमा आफन्तहरु हुनुहुन्थ्यो । काठमाडौबाट भक्तपुर आउने क्रममा मोटरसाईकलको पछाडी बसेर आउँदा भएको दुर्घटनामा दुबै जनाको घटनास्थलमै निधन भएछ । सुत्केरी श्रीमती छाडेर राजधानी गएको केहि समयमै भएको त्यो दुखद घटनाले मलाई विछिप्त बनायो । श्रीमानको मृत्यु भए पछि म सहज रुपमा घरमा बस्न सकिन । परिवारको राम्रो सहयोग थियो । तर मलाई बस्ने वातावरण नभएको महसुस भयो । श्रीमान्को याद र पीडाले मलाई सहनै नसक्ने बनाएको थियो । २० वर्षको कलिलो उमेरमा म विधवा भएको थिएँ । साथमा बच्चा थियो । उसको लालनपालन पनि कठिन थियो । बच्चा २ वर्षको हुन्जेल म घरमै बसें । अनि माईतीमा बस्न थालें । यता आमाको पनि उस्तै थियो हालत । श्रीमान् मरेका र बाँचेका थाहा थिएन । बरु मरेको भए पनि त्यहि अनुसारको ब्यवहार गर्नु । बाँचेको भए घर फर्कनु नि ? हामीले कहिल्यै बाबा भन्न पाएनौं । नभन्दै मेरो छोरीले पनि काखबाटै बाबुलाई गुमाउनु प¥यो । पीडा भुल्ने उदेश्यले मैले अध्ययनलाई निरन्तरता दिने योजना बनाएँ । कक्षा १२ को बाँकी विषयहरुको परीक्षा दिएँ । पास पनि भएँ । अनि सम्झे छोरी ठुली भई अब विदेश जान्छु । रामेछाप जिल्लाबाट राहदानी बनाएँ । साउदी अरब गएर केहि समय घरमा काम गरें । करिब ५ वर्ष काम गरेर नेपाल फर्किँदा म २५ वर्षको भएको थिएँ । सिन्धुपाल्चोक जिल्लाका एक जना पुरुषसँग मोवाईलबाट भेट भयो । कुराकानीको क्रममा विवाह गर्ने सम्मको योजना बन्यो । घर परिवार र आफन्तसँग कुरा गर्दा उनीसँग विवाह गर्दा ठिक हुन्छ भन्ने निश्कर्षमा पुग्यो । उनको पनि श्रीमती अर्काे सँग विवाह गरेर गएकी रहिछन् । उमेरले म भन्दा उनि केहि वर्ष जेठा उमेरका थिए । तर पनि मन मिल्यो । सम्बन्ध भयो । विवाह पनि भयो । खुशी नै थियौं । 
मेरो त छोरी पनि थिईन् । तर रामेछापमै बसिरहेकी थिईन् । विद्यालय जाने बेला भएको छ । उनको शिक्षा दिक्षाका लागि पनि घर परिवारले त सोचेको नै होला मेरो पनि दायित्व र कर्तब्य हो । आमा भएर सन्तानलाई जन्म दिए पछि त्यो ब्यहोरा ठिक हुँदैन । छोरी एक्कासी बेहोस भईन राती नै धुलिखेल अस्पताल पु¥यायौं । भोलिपल्ट बि.एण्ड.बि.अस्पताल लगियो । रिपोर्टमा छोरीको रोग पत्ता लाग्यो । बिसेक हुन्छ भन्ने भएको थियो तर अर्काे रिपोर्टमा हेर्दा थाहा पाएँ दुवै मृगौला सुकिसकेको रहेछ । केटाकेटीहरुमा हुने त्यस्तो रोगले म भाउन्न भएँ । तामाको मुना जस्ता सन्तानमा किन लाग्छ त्यस्तो रोग ? सुन्नासाथ मेरो होस हरायो । पागल झै भएँ । जे भएपनि भगवान भरोसा उपचार गर्दै गएँ । भगवान सँग मेरो कलिला मुनालाई अकालमा मर्न नपरोस्, मलाई नै जति दुःख कष्ट दिनुछ दे भन्दै भगवानसँग प्रार्थना गरी बसें । छोरीको पीडा त छँदैछ उता आमाको आमा पनि विरामी हुनु भएको थियो । उहाँलाई अक्सिजन लगाई रहनुपर्ने अवस्था भएको थियो । छोरीलाई अस्पताल लगौं कि आमालाई अक्सिजन दिनु ? जे परेपनि सहँदै छोरीकै चिन्ता गर्दै बचाउँला भन्ने आशा मनमा राख्दै उपचार गर्दै गएँ तर दैवको खेल छोरीको निधन भयो । ७ दिन पनि आमाको पनि निधन भयो । 
रामेछापसँगको मेरो सम्बन्ध छोरीको निधन भएसँगै ट्टयो । यता सिन्धुपाल्चोकमा राम्रो नै भएको थियो । श्रीमान् जागिर खानु हुन्थ्यो । नीजि कम्पनीमा काम गरिरहेकाले उहाँको विदा त धेरै मिल्दैन थियो तर पनि सहज थियो । हामी खुशी नै थियौं । म बाट छोराको जन्म भई सकेको थियो । उसको हुर्काई बढाई भएकै थियो । माईतीमा पनि बहिनीको विवाह भयो । आमा एक्लै हुनु भयो । बुबाको अत्तोपत्तो लाग्नै सकेन । काकाबुबाहरुले आमालाई साथ दिनु भएकै थियो । विवाह गरेको ७ वर्ष जति भएको थियो । श्रीमानको बानी ब्यहोरामा परिवर्तन हुन थाल्यो । प्रविधिका कारण उनको र मेरो सम्वन्ध पातलो जस्तै देखिन थाल्यो । कामबाट घरमा आउने बेला पनि झर्किने, रिसाउने र मलाई देखिनसहने । छोरालाई त झनै मेरो बच्चा हैन समेत भन्ने गर्न थाल्नु भयो । मोवाईल गोप्य राख्ने । रातको ११ बजेसम्म कुरा गरेर बस्ने । सम्वन्धमा चिसोपना आउन थाल्यो । छोरालाई विद्यालय पठाउने बेला बाबु आमाको झगडा हुन थाल्यो । कर्मलाई दोष दिएँ । पहिलो घर विग्रिए पछि दोश्रो घर राम्रो बनाउनु पर्छ भन्ने मेरो सोच थियो । त्यहि सोचलाई जति कठिनाई भए पनि भोग्दै गएँ । तर सफल हुन सकिन । 
उनले अर्काे विवाह गरिसकेका रहेछन् । कम्पनीमा काम गर्ने ब्यक्तिसँग विवाह गरेर बच्चा पनि भएको रहेछ । म घरमा उनि अफिसमा । उनलाई अर्काे डेरा खोजेर राखिएको रहेछ । घरमा सासु ससुराको रेखदेख मेरो । श्रीमान्को माया र रेखदेख उनको । हे दैब । दुःख पनि कति दिनु क्या मलाई । बच्चा बोकेर कहाँ जाउँ ? श्रीमान नै आफ्नो छैन भने त्यसको घर कुरेर किन बस्नु ? मेरो घरमा एक्ली भएकी आमालाई कुरेर बस्छु भन्ने सोचले माईती बस्न थालें । माईतीमा आमालाई हेर्दै बच्चा पढाउन थालें । काम त केहि गर्नु प¥यो । स्वदेशमा बसेर केहि गर्ने आँट पनि आएन । फेरी कुवेत वा मलेसिया कतै जाउँ कि भन्ने लाग्यो । उसलाई बहुविवाहको मुद्दा राख्ने योजना बनाउँदै थिएँ मेरो भन्दा पहिला उसको विवाह दर्ता गरेछ । मेरो त विवाह दर्ता पनि भएन । उल्टो बहुविवाहमा म पर्ने रहेछु । गाउँका भद्र भलाद्मी बसेर उसलाई कारवाही गर्ने र मलाई न्याय दिने कुरा त गरे । आखिर के हुनु थियो र ? मैले केहि रकम लिएर उसँग छुट्टिने निर्णय गरें । आमालाई बच्चा साथमा राखिदिएर फेरी विदेशिने निर्णय गरें । अहिले सरकारले सिप सिकाएर विदेश पठाउँदो रहेछ । भाषा सिके । सिप सिकें । अब विदेश जान्छु । आमा र बच्चाका लागि राम्रो कमाई गर्छु । आफु त विग्रन पुगें पुगें अब यो बच्चाको भविश्यका लागि केहि गर्छु । नेपालमा राहदानी बनाउन त कठिन छ रोजगार ? कसले दिन्छ हामीलाई । उमेर, बैश र यौवन हेरेर समाजले ब्यवहार गर्छ । एकल महिला त्यो माथी दुईवटा श्रीमानसँग भोग गरिसकेकी म अभागी महिलालाई न्यानो काख र सम्मान पाउने भाग्यमा लेखेको छ होला र ???

सुवना कट्टेल
पाँचखाल, काभ्रे