भर्खरै निर्वाचन सकिएको छ । माओवादी आन्दोलन विस्तारै खिईदै गएको निर्वाचन परिणामले पुष्टि गर्दै लगेको छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा भरभराउँदो माओवादी आन्दोलन र माओवादीप्रति जनताको समर्थनले मुलुक एक पटक माओवादीमय भएको आभाष हुन्थ्यो । हिजो जसका विरुद्ध सुरुङ्ग खनिएको थियो । भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, नेपालकै नेपाली काँग्रेस जस्तो पुँजीवादी पार्टी र तिनका कार्यकर्ता । उनिहरुले हाम्रो टाउकाको मूल्य तोकेको अस्ति जस्तै लाग्छ । जसले हाम्रो टाउको काटेर लैजान्छ उसले ५० लाख पाउँथ्यो । हामीले चाँहि दुस्मन काटेको अभियोगमा अहिले पनि प्रहरी कार्यालयमा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । समय रहेछ हिजो उनिहरुले हामी विरुद्ध सुराकी गरे । हामीले पनि हत्या ग¥यौं । आज तिनै हाम्रा सहयात्री हुन् । उनिहरुको बैशाखीमा हामीले हाम्रो आन्दोलनको रक्षा गर्नु परेको छ । अपाङ्ग, शहिद, वेपत्ता कति छन् कति । घरवार कतिको बिग्रेको छ । जीवन र भविष्य बिग्रिएको छ । बुर्जुवा शिक्षाका नाममा बन्द गराईएका विद्यालय र विद्यालयका विद्यार्थीलाई अवसर छैन । न शिक्षा नीति परिवर्तन भयो । न शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउन सकियो । दुःखका कति गुनासा गर्नु ? युद्धकै बीचमा भएको प्रेम र विवाह । आज पनि अविश्मरणीय छन् । कठोर अनुशासनमा हुर्किएको प्रेम र प्रेमसँगै फक्रिएका बाँकी जीवनहरुको हौसलामा युद्धका कयांै त्रासदीहरु बिर्सन पुगेका थियौं ।
२०६४ पछि २०७० मा निर्वाचन भयो । २०७४ मा दुईवटा निर्वाचन भए । स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन । २०७९ मा अर्काे निर्वाचन भयो । दुईवटा निर्वाचनमा कसै न कसैको बैशाखी हाम्रो पार्टीका लागि आवश्यक भईसकेको थियो । नेताहरुलाई अन्र्तराष्ट्रिय शक्तिको डर छ । हामीलाई राष्ट्र भित्रै जिल्लाका प्रहरी कार्यालयमा दर्ता गरिएका उजुरीका बारेमा डर छ । सरकारमा पार्टी हुन्छ निकास हुँदैन । बेपत्ता परिवारको खोजविन हुँदैन । घाईतेहरुले उपचार पाउँदैनन् । रोजगार छैन । अवसर छैन । मागेर खान पनि असहज छ । बैदेशिक रोजगारमा जान पनि कठिन छ । कसरी चलाउँ जीवन ? धेरै भएको थियो मैले अस्मितालाई नभेटेको । भयो होला ९ वर्ष जति । अन्तिम पटक मैले उनलाई डाँडागाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपत्ता भएकी उनि उहि डाँडागाउँमा रहेको नेपाली सेनाको पोस्टमा भेटिएकी थिईन् । झन् राम्री पो देखें । साथमा ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुन पुगेको थियो । कता कता खल्लो महसुस गर्दै थिएँ । उनलाई भेट्न पाउँदा भने खुसीले भुइँमा खुट्टा थिएन ।
यतिका वर्ष पछि उ भेट्दा पनि उस्तै रुप, रङ्ग, हिडाँई, देखेर म अचम्ममा परें । अस्मिता कहिले आयौ ? मैले कुराकानी शुरुवात गर्ने मनसायले सोधें । उनि झस्याङ्ग भइन् । म एक्कासी उनको नजिक पुगेर यो प्रश्न गर्न पुगेको थिएँ । उनले मलाई याद नै गरेकी थिईनन् । मैले भने उनलाई उकालोमा छोरा डो¥याउँदै आउँदा देखेको थिएँ । आम्मै सुमन तिमी ? तिमी त यहि पोस्टमा पो छौ ? उनि आश्चर्य चकित भईन् मलाई देखेर । हो नि म नगरकोट ब्यारेकबाट २ महिना भयो यहाँ पोस्टिङ्ग भएको । अनि तिमी चाँहि कहिले आयौ नेपाल ? म नि दङ्ग पर्दै थिएँ अस्मितालाई वर्षौ पछि भेट्दा । काठमाण्डौं आएको त भयो एक महिना जति । म तल शहर तिर बस्छु । आमाकोमा हिडेको । उनि त्यो ठाडो उकालो करिब एक घण्टामा उक्लिन् होला भन्ने मैले अनुमान लगाए । अलि थकित अनुहार देखें । बस न अस्मिता, निकै थकित देख्छु तिमीलाई । सायद शरीरले अब साथ दिएन जस्तो छ । पहिले पहिले त पातली थियौ र पो मृगको पाठा जसरी उफ्रदै हिड्थ्यौ । उनको हाँसोको फोहरा फुट्यो । कति वर्ष पछि सुन्दै थिए हाँसोको गुञ्जन । म पनि उनलाई साथ दिन सँग संगै हाँस्न थालेंको थिएँ । हो नि सुमन अब चाँहि यो ज्यानले पनि आराम गर भने जस्तै छ । हेर न एक घण्टाको उकालोले पनि मलाई थकित तुल्यायो । झन् यो छोरो त पाईलै पिच्छे बसौ भन्दै थियो ।
छोराको बाबुको हालखबर जान्ने मनसायले सोधिहाले अनि छोरोको बाबु खै त ? उहाँ त यहाँ हुन्हुन्न । उतै ईण्डियामै हुन्हुन्छ । हामी काठमाण्डौं आएको धेरै भएको छैन । म र छोरा मात्रै फुपु संग आएको । सायद अस्मिताले अलिक खल्लो महशुस गरिन् । अनि तिमी एक्लै पो अहिले गाउँतिर हिडेको ? मैले कुरा मोड्ने बिचारले सोधें । हो त म यहाँबाट भागेर गए पछि यसपालि नै हो नेपाल फर्किएको । आमालाई भेट्ने औधी मन लागेकोले आज आउँदै छु । म नेपालमा धेरै बस्दिनँ । केहि महिनामा नै फर्किन्छु होला । उनि निरशताको साथ भन्दै थिइन् । म अत्यासिएँ । नेपाल बस्न मन छैन ? सायद म उनिसँगको फेरी हुने बिछोडको कल्पनाले डराउँदै थिएं । उनि दुखित देखिन्थिन् । खै के बस्नु ? सधैको भ्रष्टचार, बेरोजगार, राजनीतिक अस्थिरता । सर्वत्र स्वार्थ व्याप्त देख्छु । केहि परिवर्तन हुन्छ भन्ठानियो त्यो बेलामा संघर्षको मैदानमा उत्रदाँ । खै के पायौँ ? जसरी नि यो जीवन बाँच्नै पर्ने । आदर्शका कुराले पेट नभरिने । उतै आम्दानी राम्रो छ । फर्किन्छु म त उतै । उनि उहि बितेको युद्धको आफ्नो अतितमा घोत्लिदैँ थिइन् । कुनै समय मेरो दिलमा सजिएकी मेरो रानी अर्कैको हुदाँ पनि खुसी थिइन् । यसैमा म पनि खुसी थिएँ । म एकोहोरो भएछु । उनले सोध्दै रहिछन सुमन तिम्रो बिहे भयो ? मलाई असजिलो लाग्यो । तै पनि उत्तर दिन करै लाग्यो भनें । भयो । के गर्ने तिमी टाढा भयौ त ? सानी छोरी पनि छ २ वर्षकी । हामीले कक्षा ९ सम्म संगै पढन पाएका थियौ । सधै झगडा गथ्र्यौ । त्यो झगडा भित्र पनि माया झल्कन्थ्यो । आत्मियता अनुभव गथ्र्यौ । कुनै दिन भेट नहुदाँ र रिसा रिस नगर्दा दैनिकीमा कतै अपुरो महशुस हुन्थ्यो । उनिसँग झगडा गर्न निकै मज्जा आउँथ्यो । म उनको कपाल पछाडिको बेन्चमा बसेर बेस्सरी तानिदिन्थें अनि उनि पछाडी फर्केर मेरो हातमा हान्थिन् । म त्यो स्पर्शले रोमाञ्चित हुन्थें । अनि कानमा खुसुक्क तिमीलाई माया गर्छु भनिदिन्थें । उनि रिसले नाक फुलाउँदै ठुलाठुला आँखाको हेराई म तिर फाल्थिन । म त्यहि हेराईमा आत्मसन्तुष्टि पाउँथें ।
संगैको दौंतरी भएकोले होला हामी एक अर्कालाई तँ भनेर सम्बोधन गथ्र्याै । म उनिसंँगको काल्पनिक दुनियाँमा सयर गर्थें । उनको स्निग्ध मुहारमा आफ्नो प्रतिछायाँ भेट्थें । उनि बिनाको संसारको म कल्पना गर्न नस्कने अवस्थामा थिएँ । हाम्रो यो सम्बन्ध खुला किताब जस्तै थियो । घर, परिवार, टोल, छरछिमेक सबैलाई प्रेम सम्बन्धको बारेमा थाहा थियो । सबैको स्वीकारोक्तीले झनै हाम्रो माया कसिलो बनेको थियो सजिलै कसैले पनि चुडाउन नसक्ने । हामी ढुक्क थियौं । कतै कुनै अवरोध थिएन हाम्रो प्रेममा । बाटो खुला थियो जहाँ हामी जसरी चाहन्थ्यौ त्यसरी नै हिड्न सक्थ्यौ । यो विधातालाई स्वीकार थिएन सायद वा कसैको नजर लाग्यो हाम्रो प्रेममा जीवनको एउटा भुलले हामी बिच फाटो ल्याईदियो । हाम्रो सुखी संसार माथि एसिड छरिदियो । जसको पोलाईले हामी दुबै असह्य पीडामा अलग हुन पुग्यौ । त्यतिबेला माओवादीहरुको भुमिगत युद्धको संग्राम चलिरहेको थियो । उनिहरु आ–आफ्नो दस्तावेज बढाउन गाउँ गाउँ जनबिद्रोहको ज्वाला सहित भित्र भित्रै सल्कदै रहेछन । स्कुल स्कुलमा गएर बिद्यार्थी संगठन बिस्तार गर्दै रहेछन् । हाम्रो स्कुलमा पनि आए तिनीहरु । क्रान्तिकारी विद्यार्थीको नाउँमा कसो गरि अस्मिताको नाम पनि राखि दिएछन् । थाहै नभएको बाटोमा अस्मिताको यात्रा शुरु हुदैँ थियो । मैले उनलाई नसम्झाएको हैन त्यसरी नाम नलेखाउ भनेर । तर कहि उनलाई कस्तो भुत सवार थियो मैले भनेको मानिनन् । केहि दिनपछि नै सुराकी लागि हाल्यो । पुलिसले अस्मितालाई समात्न आफ्नो दस्तावेज सहित घर घेर्न पुगि हाल्यो । कसो कसो गरि बुबाले पछाडिको झ्यालबाट हाम्फाल्न लगाउनु भएछ र बेपत्ता भईन् ।
भागेर उनि साँहिली फुपुको घरमा पुगिछिन् । त्यहाँ पनि पुगेछन् पुलिसहरु । भाग भागको खेल पछि उनि लडाकु साथीहरुको सम्पर्कमा पुगिछिन् । अन्जान मै उनि माओवादीको सकृय युवा कार्यकर्ता बन्न पुगेकी थिइन् । त्यसैले उनको भुमिगत नाम पनि ‘अन्जना’ भनेर राखि दिएछन् । घर फर्किने वातावरण नै थिएन । फर्किउ समाते पछिको सजाँयले भयभित नफर्किउ भने उतै बेपत्ता हुने डर बिच उनि परेकी थिइन् । घरमा रातो दिन आर्मीको सर्च अनि खोजतलासीले उनमा झन् झन् क्रान्तिको ज्वाला दन्किएको थियो । माओबादी के हो र के को लागि संघर्ष गर्दै थियो भन्नेबाट बेखबर उनले लगभग २ वर्ष सम्म सुराकीको काम गरिन् । आफ्नो शरीरभरि पर्चा, पम्प्लेट बेरेर गन्तव्य स्थलसम्म पु¥याउने जिम्मा बहन गर्थिन् । साँच्चै नै अन्जानमै उनले पार्टी प्रवेश गरेकी थिइन् । यता म गाउँमै बसेर पढदै थिएँ । एसएलसीको परीक्षा चल्दै थियो । अस्मिता पनि आएकी थिइन् परीक्षा दिन तर कसैको सुराकीले सुरक्षाकर्मीहरु आईपुगे । हेडसरले त्यो दिन उदारता नै देखाउनु भएको थियो । पछाडीको झ्यालबाट अस्मिता लगायत अन्य साथीहरुलाई पनि भगाउन सफल हुनुभएको थियो । उनको पढाईले निरन्तरता पाउन सकेन । म भने झिरमा उनिएको माछा झै हुदैं थिएँ । जसोतसो एसएलसी पास गरें । यति नै बेला दाजुको मृत्युको खबरले मेरो घरमा आगो लगाई दिएका थिए । सैनिक जवानमा कार्यरत मेरो दाजुको एम्बुसमा परि निधन भएको खबरले म लगायत घरका सबै स्तब्ध भएका थियौं । भाउजुको क्रन्दन, नानीको रुवाईले म बहिरो बन्न पुगेको थिएं । म भित्र प्रतिसोधको ज्वाला रन्कदै थियो । किन किन माओवादी भने पछि मारिहालु जस्तै पो लाग्न थाल्यो । सायद त्यो मेरो आफ्नैको मृत्युले सल्काएको झिल्को थियो । जसले भयंकर आगलागि लगाउने सपना बुन्दै थियो । मैले अठोट लिए नेपाली सेनामा भर्ती भएर त्यो घाउहरुको बदला लिने । हुन त त्यतिखेर सेनामा हुनेहरु त परिवारको करकापमा परेर वा आफ्नो ज्यानको मायाले आफ्ना जागीर नै छोड्दै थिए । तर ममा एकोहोरो बदलाको भुत चढेको थियो । मैले कसैको कुरा सुनिन । यसपछि त हाम्रो अलिकति भएको न्यानो मायाको अनुभूतीहरु पनि चिसिदैं गयो । उनि भुमिगत योद्दा म नेपाली सेना आगो र पानीको मिलन असम्भावी भई दियो । म मा सम्यता हराएको थियो ।
त्यसैबखत मेरो पोस्टिङ्ग सिंहदरबारभित्र भयो । उता अस्मिता ‘अन्जना’ बन्दै थिईन् म यता राष्ट्रसेवकको भूमिकामा हामी दुई दुई किनारा हुनपुग्यौं । सायद यहि नै भाग्य बिधाताको खेल थियो । अर्को वर्ष बल्लबल्ल बिदा मिलाएर दशैँमा म घर हिडेको थिएं । मैले अस्मितालाई भेट्ने सपना देख्न बन्द गरिसकेको थिएं । किन किन उनि माओवादी हुन भन्ने सत्य जब मेरो अगाडी आउँथ्यो तब रिस र घृणाको ज्वालामुखी फुट्दथ्यो । उति बिघ्न माया लाग्ने अस्मिताप्रति म अब कुनै वास्ता राख्दिन भनेर अठोट गरें । सदरमुकामसम्म मात्रै जान सकिने घरमा पुग्ने वातावरण थिएन । आमा, बालाई उतै बोलाएको थिएं । सदरमुकाम पुगेकै दिन मेरो लागि जीवनको सबै भन्दा कठोर र दर्दनाक दिन हुन पुग्यो । १३, १४ जनाको नेपाली सेनाको दस्ता बन्दुकको नालमा महिलाको बस्त्र बेर्दै सदरमुकाम भरि ‘अन्जना’ मरि भन्दै झ्याली पिट्दै हिड्दै रहेछन । मलाई एकछिन त सपना जस्तै लाग्यो तर त्यो यथार्थतामा त्यो बिपना थियो । म खङ्ग्रङ् भएं । दिउँसै रात पर्यो । उनिहरुले साँच्चै नै अस्मिताको झोला, कपडा, जुत्ता सबै बोकेर हिड्दै थिए । यो खबरले ममा खुसी ल्याउनुपर्ने हो कि कुनै मेरो दाजुको हत्याराहरु मध्ये एउटा त मरि तर भएन । झन् झन् मुटु दुख्न थाल्यो । केहि सोच्नै सकिनँ । यति पीडा भयो कि मलाई सहनै गाह्रो भयो । टाउको भारी भयो । उनको मृत्युको खबरले मर्माहत भएको थिएँ । पृथ्वी फनफन्ती घुमे झै भयो । मलाई जीवनप्रति मोह नै थिएन । दोहोरो भिडन्त हुदाँ पनि जथाभावी फायरिङ गर्थे । मरे नि मरोस् भन्दै ज्यानै फाली दिन्थें तर मानो सकिएको थिएन क्यारे हरेक पटक बाँच्दथें ।
लगभग ७ महिना पछि म डाँडा गाउँमा पोस्टिङग भएको थिएँ । नुवाकोटबाट ईन्ट्री हुने र एक्जिट हुने यातायातका साधनहरुको सर्च गर्नुपर्ने थियो । त्यो दिन झिसमिसेमै चेकिङ्ग् शुरु गरियो । गाडी नुवाकोटबाट काठमाण्डौको लागि हिडेको थियो । चेकपोस्टमा आएर रोकियो । सबै जनालाई बाहिर निस्कनको लागि भनियो । सबै ह्वारह्वार्ती निस्किए । म भित्र अरु कोहि बांकि छ कि भनेर पसें । पछाडीको सिटमा कोहि हल्लिए जस्तै लाग्यो । बस भित्र अध्याँरो अध्याँरो नै थियो । छाँया चलेजस्तै लाग्यो । केहि शंकास्पद घटनाको भयले शरीर झनन भयो । तर फेरि साम्य देखें । अलिकति ढुक्क भएं । अनि कौतुहलताले बास जमाउन थाल्यो । के रहेछ भनेर जान्न मन लाग्यो । बिस्तारै अगाडी बढें । हेर्छु त कुनै महिला पछ्यौरीले शरीर पुरै ढाकेर गुजुल्टो परेर सुतिरहेको रहेछ । पछ्यौरी बिस्तारै उघारें । अज्ञात भयले मन उड्दै थियो । तर तर मैले सोचें भन्द बिल्कुलै फरक शैलीमा उनलाई त्यहां देख्दा मेरो हातहरु काँप्न पो थाल्यो । कपाल नकोरेर महिनौ भए जस्तै देखिन्थ्यो । कमजोरीले होला अनुहार सेतो रगतै नभएको झै देखिन्थ्यो । उनि अरु कोहि हैन मेरै प्रिय अस्मिता थिइन् । म खुसीले गद्गद् भएको थिएँ । मरिसकेकी मेरि मायालुलाई साक्षात आफ्नो अगाडी देख्दा एकैछिन त सपना हो कि भन्ने भ्रम पनि पर्यो । फेरि आफैलाई चिमोटी हेरें । दुख्यो हैन रहेछ बिपना नै रहेछ भन्ने यकिन भो । तर उनि त्यहाँ त्यस्तो अवस्थामा देख्दा मन छटपटी भयो । के गरुँ कसो गरुँ भयो । उनले मलाई चिनिन् क्यारे एकहोरो हेरिरहिन् ।
भित्र कोहि छ बाँकी ? भन्ने प्रश्नले मेरो दिमागलाई खल्बलायो । छैन सर । एक्कास्सी मेरो मुखबाट यस्ता शब्दहरु निस्किएछन् । प्रथम पटक म आफ्नो कर्तव्यबाट चुक्दै थिएं । मलाई थाहा थियो अस्मितालाई उनिहरुले भेटे भने छाड्दैनन् । किन किन म अफ्नो प्रतिद्वन्दीलाई बचाउँदै थिएँ । म अस्मिताको जीवन चाहन्थें मृत्यु हैन । त्यसैले झुट बोल्न मलाई किञ्चित अप्ठ्यारो लागेन । मैले उनको आँखामा गहिरेर हेरें । साह्रै सिकिस्त देखिन्थिन् । निकै दिन देखि अन्न पानी पेटमा नपरेको झै आभास गर्न पुगें । मनभित्रैबाट असिम माया पलाएर आयो । अंगालोमा बाँधेर क्वाक्वाँ रोईदिउ जस्तो लाग्दैथ्यो । तर विवस थिएँ । मेरा हात खुट्टाहरु परिबन्दको सिक्रीले कसिएर बाँधिएका थिए । म चाहेर पनि उनि प्रतिको त्यो माया, स्नेहलाई पोख्न सक्दिन थिएं । सायद उनले मलाई चिनिन् क्यारे पुर्लुक्क मेरो आँखामा हेरिन् अनि क्षणभरमै शिर निहुराईन् । हामी बिच कुनै सम्बाद भएन मात्र आँखाको भाका बोल्दै थियो । उनले मैले देखाएको त्यो सहानुभूतिको महशुस गरिन् कि कृपादृष्टि सहितको एक नजर मतिर फ्याँकिन् । म बसबाट भारी मन लिएर ओर्लिएँ । एकछिन पछि बस त्यहाँबाट आफ्नो गन्तव्यतिर रफ्तारका साथ गतिमान भयो । म अवाक उभिरहेँ । बस जति टाढा पुग्दैथियो मेरो मुटु पनि कसैले चुडालेर लगेझै भान भयो । दौडने मन भयो । मुटु कटकटी खान थाल्यो । तर म विवश थिएँ ।
यस्तो रहेछ उनको घटना । कसैले सुराकी गरिदिएछन् । गाउँ पुग्दा सेनाले हानेको गोलीले उनि मरिन् भन्ने सोचेका रहेछन् । उनि भागेर बाँचेकी रहिछन् । अरु धेरै साथीहरु मारिँदा अस्मिता जोगिएको कथा धेरै पछि थाहा भयो । त्यहि घटना उनले धेरै पछि सुनाएकी थिईन् । डाँडागाउँमा भेट हुँदा उनीसँग म केहि सकारात्मक प्रतिकृयाको प्रतिक्षामा थिए । तर उनिमा कुनै उमङ्ग थिएन । मेरो सुझावमा कुनै लगाव देखिनँ । वास्तै गरिन बरु भन्न थालिन परिवर्तनका आशाले ज्यानै फालेर क्रान्तिमा आफुलाई होमे । त्यत्रो त्याग ग¥र्यौं । तर खै सोचे जस्तो केहि भएन । गरिब निमुखा अझै उस्तै छन् । सम्पन झन् सम्नपन्नशाली हुदैँ गएका छन् । नाटकीय परिवर्तन भएको छ । हामी आम जनताले सोचेभन्दा फरक छ यो परिवर्तन । भैगो छाडिदेउ यस्ता कुराहरु । म उतै जान्छु । बस्दिन नेपालमा उनले डाँडागाउँमा भनिन् । धेरै पछि उनको र मेरो भेट भएको थियो । विगत, वर्तमान र भविश्य प्रतिको चिन्ताले उनलाई र मलाई मात्रै झस्काएको थिएन । विगतको प्रेम र युद्ध । शत्रु र मित्र । त्याग र प्रतिशोध ? कहाँ छ आज खै ?
सुमन तामाङ
काठमाण्डौं









