पुरुषको तुलनामा महिलाहरु धेरै पीडत छन् । तर महिलाबाट पीडित भएका पुरुषहरुले सहजै न्याय पाउन कठिन छ । न्याय माग्न जाने कुरा पनि कठिन छ । समाजले हेर्ने दृष्टिकोण पनि फरक छ । श्रीमतीबाट श्रीमान्हरु पनि असहज अवस्थामा हुन्छन होला र ? समाजले यहि सोचिरहेको हुन्छ । समाजले जे सोचेको हुन्छ घटना फरक हुन्छ । म त्यस्तो पुरुष हो जसले श्रीमतीका पटक–पटकका यातना सहेको छु । पीडा ब्यहोरेको छु । श्रीमती भएर पनि श्रीमती भएको आभाष गर्न पाएको छैन । कि श्रीमती हुनुप¥यो । नभए कानूनी रुपमा अलग हुनुप¥यो । कुनै कुरामा मैले न्याय पाउन सकेको छैन । न्यायका लागि अदालत धाउन थालेको डेढ वर्ष भयो । यहाँ पनि न्यायका अनेक बुँदाहरु जोडेर समयमै फैसला हुन सकेको छैन । मेरो चाहना यो हो कि म जस्तै धेरै पुरुषले अन्याय सहनु नपरोस् । यो होईन कि महिला चाँहि अन्यायमा पर्नुपर्छ । मानव भएर जन्मे पछि मानिसले मानिसबाटै अन्याय किन ब्यहोर्नु ? त्यसकै लागि न्याय दिन बसेका निकायहरुले समयमै न्याय दिऊन् ।
उमेर ढलक्दै छ । ४० कटे पछि रमाउनु पर्छ भन्ने नेपालीहरुको लागि तयार गरिएको गीत मेरो जीवनमा उल्टो भएको छ । ४२ वर्षको उमेरमा मैले परिवारसँग अलग भएर बस्नुपर्ने बाध्यता आईलागेको छ । आफंैबाट जन्मेकी १९ बर्षकी छोरी छन् । छोरीको विवाह गरेर अर्काेको घरमा पठाउनु पर्ने बेला आफु श्रीमतीसँग अलग भएर नयाँ घरको बारेमा सोच्नुपर्ने अवस्थामा पुगेको छु । उमेर बढ्दै जाँदा चिन्ता थपिने रहेछ । कमाउने उमेर घर्कदै गएको छ । कमाएको सबै सम्पत्ति श्रीमतीले हिनामिना गरे पछि शुन्यबाट जीवन शुरु गर्नु पर्ने रहेछ । त्यो पनि सहि हो तर मन शान्त हुनुप¥यो नि । मन शान्त भए पो सबै काम गर्न सकिन्छ । गरिएको काम सफल बनाउन सकिन्छ । विहान देखि बेलुकासम्म एउटै कुराको तनावले कति दिन काम गर्न सकिन्छ । नयाँ कामको कसरी थालनी गर्न सकिन्छ । विदेश जाउँ कति वर्ष बसौं ? विदेश गएर फर्किएको पनि हो कसरी घरको समस्या नमिलाई देश छाडेर जाउँ ? थुपै्र प्रश्न म भित्र असरल्ल भएका छन् । साँच्चै भोग्नेलाई थाहा होला महिलाको भन्दा धेरै पीडा र यातना, हिंसा पुरुषले पाएका छन् ।
साविक मेच्छे गाविस वडा नम्वर ४ हाल तेमाल गाउँपालिका वडा नम्वर ९ हो मेरो घर । गाउँमा मेरा सबै आफन्तहरु हुनुहुन्छ । कामको सिलसिलामा म काठमाडांैको बौद्धमा बस्छु । धेरै वर्ष भईसकेको छ बौद्ध बस्न थालेको । काठमाडौ बस्दा बस्दै धेरै कुरा सिकियो । केहि कुरा जानियो । केहि कुरा जानिएन । घर परिवारको सल्लाहमा मैले विवाह गर्ने निधो गरें । त्यतिबेला १९ वर्षको मात्रै थिएँ । विवाह गर्ने उमेर त भईसकेको थिएन । तर घर परिवारले कर गरेका कारण म विवाह गर्न राजी भएको थिएँ । अहिले जस्तो प्रेम गर्ने चलन भए पनि ब्यक्त गर्न सक्ने आधार थिएन । तर पनि मलाई विवाह गर्न मन थिएन । बुबा आमाको कुरा काट्ने अवस्था पनि थिएन । साविक सिपाली चिलाउने गाविस वडा नम्वर १ हाल रोशी गाउँपालिका वडा नम्वर ६ माईती घर भई पाँचखाल नगरपालिका वडा नम्वर ४ लामीडाँडा बस्ने ३८ बर्षिया सिर्जना लामासँग २०५६ साल जेठ २१ गते सामाजिक परम्परा अनुसार मेरो विवाह भयो । विवाह पछि मेरो जीवन सहज र झनै सरल थियो । तर बाँकी जीवन अझै सहज बनाउने उद्देश्यले हामीले केहि न केहि गर्ने योजना बनाएका थियौंं ।
कानूनका विभिन्न छिद्रहरुले सहज रुपमा न्याय पाउनबाट बञ्चित मलाई अति नै भएको थियो । अदालतमा आएको आदेशले म मर्माहत भएँ । जिल्ला अदालतको इजलासमा डाँको छाडेर रुन पुगेको छु । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको आदेश पछि म झन् मर्माहत हुन पुगें । २७ औं पटकको अदालतको तारेख र १० औं पटकको पेशीमा पनि मेरो मुद्दामा फैसला आएन । २०७७ माघ १५ गते मुद्दा दर्ता गर्दा ४२ बर्षका थिए । अहिले ४२ वर्षका भएँ । उमेरमा नपाएको परिवारको राप र ताप बुढो भए पछि कसरी प्राप्त गर्न सकिन्छ ? यसका लागि हामीले कति दिन लड्नुपर्ने ? अदालतले गरेको उक्त दिनको आदेश पनि कार्यान्वयन गरेको छु । छोरीले अदालतमा आएर बयान दिएकी छिन् । आशा गरौं मैले अदालतले मागेका सबै प्रमाणहरु पु¥याए पछि न्याय पाउन सकिन्छ कि ?
सम्बन्ध बिच्छेदका लागि मैले २०७७ माघ १५ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा फिराद दर्ता गराएको थिएँ । सिर्जना लामा र म बीच २०५६ जेठ २१ गते सामाजिक परम्परा अनुसार विवाह भएको कुरा प्रमाणका रुपमा राखेको छु । २०५८ पुष २८ गते हामी दुईबाट एक सन्तान छोरीको जन्म भएको छ । वैवाहिक सम्बन्ध राम्रो हुँदाहुँदै परिवारको सल्लाहमा म सन् २००३ अर्थात २०६० सालमा बैदेशिक रोजगार अन्तर्गत बहराईन पुगे । २००६ सम्म बहराईन बस्दा उनले कमाएको अधिकांश रकम श्रीमती सिर्जनालाई पठाएँ । कहिलेकाँही आफन्तहरुलाई पनि पैसा पठाएँ । यहाँ हुँदा मैले म विदेश जान्नँ । नेपालमै केहि गरमला । सँगै रहेर काम गर्दा सहज हुन्छ भन्ने धारणा राखें । उनलाई कुनै पनि हालतमा म विदेश जानुपर्ने थियो । मैले विदेशमा गएर कमाउनु पर्ने उनको चाहना थियो । श्रीमती र छोरी खुशी बनाउन सकिन्छ भने एक पटक गएर फर्काै न त भन्ने मेरो योजना बन्यो । स्वदेशमा त कठिन थियो । विदेश त झनै कठिन हुने नै भयो । तर पनि परिवारलाई खुशी राख्न मैले धेरै मेहनत गरें । पसिना बगाएँ । श्रीमतीलाई सुख दिन र छोरीको भविष्य उज्वल बनाउने बाहेक मेरो कुनै उद्देश्य थिएन ।
विदेशमा हुँदा मैले कमाएको सबै पैसा श्रीमतीलाई पठाएँ । विदेश जाने बेला ऋण थियो । फोनमा ऋण लागेको रकम तिर्नु भनेर पनि पैसा पठाएँ । उनले मलाई फोनमा सबै पैसा तिरेको बताउँदै आएकी थिईन् । तीन वर्ष विदेश बसेर फर्किदा मैले श्रीमतीलाई आफ्नो महसुस गर्न सकिनँ । उनको ब्यवहार परिवर्तन थियो । रुखो बोली । विदेशबाट फर्किएर मैले उनलाई सोधेको थिएँ म जाँदाको ऋण किन नतिरेको ? ऋण दिएका ब्यक्ति जब म सँग पैसा माग्न आए तब म झसँग भएँ । श्रीमती सिर्जनाले ऋण नतिरेको जानकारी पाए पछि सोधपुछ गरें । तर उनि तर्कन खोजिनँ् । हुँदा–हुँदा म सँग बस्न मानिनन् । गाली गलौज गरिन् । धम्की दिईन् । पटक–पटक प्रहरी चौकीमा छलफल भयो । अलग–अलग हुने सहमति पनि भयो । सिर्जना पाँचखाल लामीडाँडामा बसेको सूचना पछि म लिन गए । उनी आउन मानिनन् । छोरी मामाघरमा बसिरहेकी थिईन् । घरमा ल्याउँछु भन्दा मानिनन् । एकदिन विद्यालय गएको समय पारेर आफ्नै छोरी माया धेरै लाग्यो । सम्झना धेरै आयो । अनि लिएर काठमाडौ आएँ । उनले पनि जान्छु भनिन् । काठमाडौं आउँदा नआउँदा मेरो छोरी अपहरणमा परि । मैले अपहरण गरेको भनेर प्रहरीलाई खबर भएछ । बौद्ध प्रहरीमा मैले सबै ब्यहोरा बताए पछि त्यो घटनाबाट मुक्त हुन सके ।
बैदेशिक रोजगारीमा गएर कमाएको रकम हिनामिना गरेको, श्रीमान्सँग बस्न नमानेको, छलफलका लागि बोलाउँदा पनि बेवास्ता गरेर अनुपस्थित भएको भन्दै मैले फिराद पत्र दर्ता गराएको थिएँ । फिराद दर्ता गराएको १९ महिना बितिसकेको छ । २०७७ चैत्र १९, २०७८ बैशाख १४, असार २५, कार्तिक २२, मंसिर १६, फागुन १३, चैत्र १६, २०७९ बैशाख ६, असार ८ र भदौ ७ गते पेशी चढिसकेको फिरादमा फैसला हुन सकेको छैन । २७ पटक अदालत आएर हाजिर भएको छु । न्यायाधीश बख्रेलले छोरी झिकाउन दिएको ७ दिनको आदेश भित्रै मैले छोरी उपस्थित गराएको छु । हेरांै अब के हुन्छ ? २७ औं पटक अदालत आउँदा र जाँदा मेरो खर्च एक लाख रुपैयाँ भन्दा धेरै खर्च भईसक्यो । न श्रीमती सिर्जनाले प्रतिउत्तर लगाएको छ न अदालतबाट मुद्दाको फैसला हुन्छ । त्यो दिन म अदालतमा मुद्दा फैसला हुने आशमा उत्साहका साथ आएको थिएँ । मैले सोचेको भन्दा फरक आदेशले मर्माहत भएर डाँको छाडेर रोएको मलाई पत्तै भएन छ । १९ वर्ष देखि श्रीमती मसँग छैनन् । सम्बन्ध छैन, छोरी पनि मसँग छैनन् । न्याय पाउन भएको कठिनताले सिङ्गो न्यायालय र न्याय प्रणालीप्रति घृणा जाग्यो । श्रीमती सिर्जनाले दिएको यातना, पीडाबाट मुक्त हुन पटक पटक कानूनका छिद्र देखाउँदै भएको ढिलाईले थप पीडा थपिदिएको छ । म सम्बन्ध विच्छेद नगरांै भन्छु, उनि गरांै भन्थिन्, घर नबिगारौ भनेर सहें, केहि सिप नलागे पछि म न्यायका लागि अदालत आएँ उनि बेपत्ता भईन् । पत्रिकामा सूचना प्रकाशन गर्दा, म्याद पठाउँदा डेढ वर्षसम्म बेवास्ता हुँदा पनि मुद्दाको फैसला नहुँदा रुनुको विकल्प छैन । पीडा कहाँ पोखौ ? कसलाई पोखौं ? कसरी पाउन सकिन्छ न्याय ? २७ पटक अदालतले तोकेको समयमा हाजिर भए बाहेकको समयमा पनि पटक–पटक विभिन्न कागजात पेश गर्न उपस्थित भएँ । नेपालको न्याय प्रणाली सुधार हुन नसके धेरै ब्यक्तिहरु पीडाबाट उम्कन सकदैनन् । मान्छेहरुमा किन डिप्रेसन हुन्छ ? मान्छे किन अपराधतर्फ उन्मुख हुन्छ, समाजबाट किन अलग हुन खोज्छ ? न्यायका लागि भौतारिएका म जस्ता सयांै ब्यक्तिहरुको पीडाबाट बुझ्न सकिन्छ ? महिलाहरु अन्यायमा परेका छन् सत्य हो तर उनीहरुका कारण पुरुष पीडित हुँदा न्याय प्रणाली र न्याय मूर्तिहरुले झनै पीडा थप्ने हो र ?’ मेरो जिज्ञासा महिलाले कति दुःख दिए पछि पुरुषले न्याय पाउन सक्छन् ?
डिल्पु लामा
तेमाल, काभ्रे









