प्रेम अजिव रहेछ । मान्छे मान्छे बीचको परिभाषाले प्रेमलाई बुझ्नै सकिएन । पहिले पहिले पनि मान्छेहरु अपार प्रेम गर्दा रहेछन् । कसैले ब्यक्त गरे त कसैले त्यसलाई दबाएरै राखे । प्रेम पछि विवाह गर्नेहरु कोहि खुशी छन् कोहि तनावको जीवन जिईरहेका छन् । आखिर प्रेम त जीवनमा समृद्धि ल्याउने माध्यम होइन र ? कहाँ भाँचिन्छ मन ? कता ठोक्किन्छ मन ? खिया लाग्दा अर्जाप्न पनि नमिल्ने कस्तो मन ? सोच्थें एकलाई प्रेम गरेपछि अरु मान्छेहरुसँग मतलब हुँदैन । स्वार्थमा टिकेको सम्बन्ध, निश्चल प्रेम देखावटी मात्रै हुने रहेछ । पत्याउने कसरी ? विश्वास के मा छ ? एउटै ओछ्यानमा सुतेको श्रीमानले घाँटी थिचेर मार्छ भने, काखमा सुताएर छुरी रोप्छ भने गर्ने के ? तत्काल उसकै काखमा मर्न पाउँदा त उ पछुताउँथ्यो होला, जिउँदै तड्पाई तड्पाई मा¥यो भने के छ र विकल्प ? आफुलाई प्रेम गरेपछि मात्रै अरुलाई सम्भव छ । आफूलाई वेवास्ता गरी अर्काेको प्रेमका भरमा पर्नेहरु कहिल्यै खुशी हुँदैनन् । प्रेम अन्धो हुन्छ भन्नेहरु पनि आँखा खुलेपछि गुरु बन्छन् । पाको उमेर, अनुभव, पारिवारीक पृष्ठभूमि, ब्यक्तित्व, आत्मनिर्भर प्रेमको सफलता हो । शारिरीक आकर्षणमा गरिएको प्रेम कागती जस्तै रहेछ । रस छउञ्जेल निचोरेर चुस्ने र रस आउन छाडेपछि फालिदिने परम्परा पछिल्लो समय बढ्न थालेको छ । चेतना नभएर होइन, धेरै भएर हो । स्वतन्त्रता, अभिभावकहरुको छोराछोरी प्रतिको विश्वासमा घात, प्रविधी र समयले मान्छेलाई अन्धो पनि बनाउँदै लगेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्रमा मेरो जन्म भएको थियो । कान्छी छोरी म । अझै मेरो भाई थियो । बुबा आमा आर्थिक रुपले कमजोर हुनुहुन्थ्यो । दिदीहरु सबैले आ–आफ्नो विवाह गरेका थिए । भाई र मेरो भविष्यका लागि बुबा आमाले कम्ति दुःख गर्नु भएन । दिदीहरुले गरेको दुःखको बयान गरी साध्य छैन । हरेक वर्ष हामी कार्तिक देखि चैत्र महिनासम्म भट्टामा हुन्थ्यौं । भट्टाबाटै हाम्रो जीवन चलिरहेको थियो । घरी कलंकी, घरी भक्तपुर, कहिले काँहि बनेपामा हाम्रा लागि हाम्रो जीवन लिलामी जस्तै थियो । धेरै रकम दिनेहरुको हामी दास बन्थ्यौं । त्यो पैसा पनि अग्रिम लिई सकिएको हुने रहेछ । त्यहि पैसाले दशै, तिहार जस्ता चाडपर्वहरु मनाउने अनि उनिहरुको काममा जाने । त्यस्तो हरेक वर्ष हुन्थ्यो । कहिलेकाँहि नजाने निर्णय गर्दा समेत सुख पाईदैन थियो । दिदीहरुले त भर्ना भएको कक्षा रहेन । पास भएको कक्षा पनि भएन । बैशाखमा भर्ना हुने, कार्तिकमा हिडिहाल्ने । फेरी अर्काे वर्ष आयो अर्काे कक्षामा भर्ना हुने । यो वर्ष पनि हामीले त्यहि ग¥यौं । अहिले हामी बनेपा नगरपालिका वडा नम्वर २ मा रहेको ईट्टा भट्टामा कार्यरत छौं । काभ्रे र सिन्धुली जिल्लाको सिमानामा बसोबास रहेको छ । केहि महिना हामी बाहिर हुन्छौ भने केहि महिना हामी घरमा । घरमा भएका बेला विद्यालय जाने र आएका बेला अन्यत्र जानुपर्ने बाध्यता नै थियो । त्यहि बाध्यताका बाबजुत पनि हामी संघर्षमा थियौं ।
भट्टामा धेरै परिवार छन् । धेरै साथीहरु पनि छन् । पहिलाको जस्तो अहिले छैन । पहिले आउने एनजीओहरु अहिले आउँदैनन् । अहिले सरकारी निकायको चर्काे अनुगमन छ । कानून कडा छ । हामी मात्रै होइन हाम्रो गाउँका थुप्रै ब्यक्तिहरु, परिवारहरुको दैनिकी त्यहि थियो । राज्यले हामीलाई वर्षभरी रोजगारीको अवसर सिर्जना ग¥यो भने हामी किन त्यसरी भट्टामा जान्थ्यौ होला र ? कि बुबा आमाले रोजगारीका लागि प्रयास नगरेको होला ? कमसेकम बालबालिकाहरुका लागि पनि सोच्नु पर्ने हो नि ? मनमनै यस्तै कुराहरु खेलिरहेका हुन्थे । विद्यालयका सहपाठीहरु नियमित विद्यालय आई दिए हुन्थ्यो भन्थे । आफ्नो समस्या अर्कै थियो । एकदिन बुबालाई कापी सकियो, शिक्षकले नयाँ कापी गृहकार्यका लागि लिएर आउनु भन्नु भएको छ भनेर भनें । उहाँले सुन्या नसुन्यै गर्नु भयो । आमासँग रोएँ, उहाँले पैसा छैन भन्नुभयो । विद्यालय गएँ शिक्षकले कुट्नु भयो । अर्काे दिन पनि घर परिवारले सुनेन । कारण के रहेछ भने पसलमा ल्याएको सामानको पैसा तिरेकै रहेनछ, नयाँ सामान किन्न जान पुरानो पैसा तिर्नु प¥यो । कहाँबाट ल्याएर तिर्नु । न कुनै आम्दानीको बाटो छ, न कुनै सम्भावना । सानो कक्षामा भए पनि सिसाले लेखेको पुरै मेटेर लेख्नु ? कक्षा ३ मा अध्ययन गर्दा मेरो साथीले त्यसै गरेको थियो । अघिल्लो दिन सबै गृहकार्य गर्ने, भोलिपल्ट पुरै मेट्ने । शिक्षकहरुले कलमले सहि गरेकालाई थुकले कापी माडेर लेख्ने । यस्ता क्षणहरु मेरा मात्रै होइनन साथीहरुको पनि थिए ।
विद्यालय जान छाडिदिएँ । पढेर के हुने रहेछ र ? कापि कलम विनाको शिक्षाले कहाँ पु¥याउला र ? दिदीहरुको पनि त नपढे पनि विवाह भयो नि ? मेरो नहोला भन्ने छ र ? कति कुटाई खानु ? बुबाआमाले पनि बुझिदिनु पर्ने हो । मैले पनि सकि नसकी भट्टामा काम गरेकै थिएँ । उहाँहरु सँगै उठेर ईटा बोकेकै थिएँ । चिम्नीमा पु¥याएकै थिएँ । साँचोमा माटो भरेकै थिएँ । उहाँहरु जति काम गर्न सकिनँ । तर पनि मेरो श्रमका कारण पनि मलाई पढाउनु पर्दथ्यो । म छोरी थिएँ । छोरा पढिरहेको थियो । विभेद हुने रहेछ । उसले बुबा आमा पाल्नु पर्ने मान्यता थियो । हामी अर्काको घरमा गएर अर्काका बाबु आमा स्याहार्नु थियो । त्यसमै पनि विभेद हुँदो रहेछ । छोरीहरु जन्मने वितिक्कै अर्काको भनेपछि किन धेरै अवसर दिनु ? उसले लगेर गरिहाल्छ नि ? यस्ता ब्यवहारहरु धेरै हुन्थे । गाउँभरी बाजा बजाएर विवाह भएको देख्थे म । हाम्रो घरमा पनि त्यस्तो अवसर कहिले आउला भनेर सम्झिँदा सम्झिँदै दिदीहरु सबैले भागि विवाह गरिसक्नु भएको थियो । कसैको घर दाङ, कसैको सल्यान, कसैको बाँके थियो । तर उनिहरु सबै भट्टामा भेट भएका केटाहरुसँग विवाह गरेका थिए । ६ महिना भट्टामा जाने र ६ महिना आफ्नै गाउँ फर्कने चलन रहेछ । विवाह गरेपछि उनिहरु पनि गाउँ फर्किएनन् । केहि समय पाँचखालमै आएर काम गरे । अन्य समय काठमाडौमा भारी बोक्ने, अरु श्रमका काममा संलग्न भए । म सानै भएकाले त्यस्ता बस्ने कुरा पनि भएन । घरमा फर्किए । त्यतिबेलासम्म मैले विद्यालय छाडेको थिइनँ ।
मैले करिब करिब विद्यालय छाडिसकेको अवस्था थियो । उमेर अनुसारको चाहना र स्वार्थ स्वभाविक रहेछ । भट्टामै काम गर्ने केटाहरु मध्ये एउटाले मेरो मन तान्यो । उमेर न हो । उसको जे सुकै होस मेरो मनमा बसेको मान्छे थियो उ । सँगै काम गर्ने भएकाले मलाई उसका हरेक कृयाकलापमा सहज थियो । तर कुरो अर्काे रहेछ । उसको अर्काे केटी साथी रहेछ । मेरो एकोहोरो प्रेमले उसलाई शुरुमा तान्ने प्रयास त गरें तर सकिनँ । उ भट्टामा आउन छाडेको थियो । भट्टा भित्र अनेक दृश्य देखिन्थे । कहिले काँहि रक्सीको सुरमा लोग्ने मान्छेहरु श्रीमती बिर्सन्थे । आफ्नो बस्ने टहरा विर्सन्थे । विहान उठ्दा घरका श्रीमती साटिएका हुन्थे । धेरैका घर परिवार लथालिङ्ग र भताभुङ्ग भएका दृश्यहरु थिए । मेरो मनको राजा आउन छाडेको कारण अर्कै रहेछ । गाडीमा हिड्न थाले देखि नै उसको अर्काे केटीसँग प्रेम परेछ । केटाहरु पनि कस्ता दुई खुट्टा उभिएका महिलाहरु देख्ने वितिक्कै प्रेम परिहाल्ने ? केटीहरुको बयान नै नगरौं । उनिहरुकै कारण केटाहरु प्रभावित हुने हुन् । मान्छेका घर, श्रीमती, परिवार के छ भनेर विचार त गर्नु पर्छ नी । उनिहरुले आफ्नो स्वार्थ पुरा गर्न पाए भने अरुको के को मतलब ? अनि केटाहरुले पनि हेप्न सक्ने भए । समाजले पनि महिलाहरुलाई चरित्रको कुरा उठाउन सजिलो हुने भयो । केटाहरु ५० जनासँग गए पनि मतलब नहुने । केटीहरु एउटा छाडेर अर्काेसँग जाने वितिक्कै चरित्रका कुरा उठ्ने ? गरिबहरु भित्रको यो समस्या त अझै धेरै छ । उनिहरु त धेरै सन्तान जन्माउँछन् । न खान दिने खाद्यान्न हुन्छ, न एकसरो लगाउने कपडा हुन्छ ? यस्तो अवस्थामा पनि बर्षैनी सन्तानहरु जन्मिईरहेका हुन्छन ।
उसको विवाह भएको रहेछ । श्रीमती र बच्चाहरु पनि रहेछन् । तर पनि मैले उसलाई मन पराउन छाडेको थिईनँ । फरक यति थियो भन्न सकेको थिईनँ । एक दिन मेरो साथीसँग उसका बारेमा कुरा सुनाएको थिएँ । उनले नकरात्मक कुरा गरिन् । पछि बुझें । उसले त मेरो साथीको जीवन लुटेको रहेछ । उसले भन्न थालि । उ भाग्न सक्दैन थियो । बरु म आफै भागेर माईती बसिरहें । केहि समय पछि फेरि मेरो प्रेम प¥यो । मोबाईल किनेको थिएँ । अनायासै मिस कल आयो । फर्काउँदा सिन्धुपाल्चोक प¥यो । विस्तारै कुरा हुँदै जाँदा उसको र मेरो प्रेम भयो र विवाह पनि । उसले मेरो सबै कुरा सुनिसकेपछि उसले पनि बास्तविकता भन्यो । उसको श्रीमती पनि छोरी हुँदा हुँदै झुण्डिएर मरेको रहेछ । छोरी र छोरा दुवै एकै ठाउँमा राख्ने र नयाँ जीवन शुरुवात गर्ने योजनाका साथ पुनः विवाह ग¥यौं । हामीबाट दुई सन्तान जन्मिएका छन् । चारसन्तानको शिक्षाका लागि हामी रिक्सामा ब्यापार गर्छाै । सरकारी विद्यालयमा खासै खर्च हुँदैन । छोराछोरीहरु पनि खुशी छन् । हामी झनै खुशी छौं । अन्धो प्रेम, अल्लारे निर्णय र केटाहरुको धोकेवाजपूर्ण प्रेम, केटीहरुको नियत खराबका कारण धेरैको परिवार चुँडिएको छ । मान्छेहरुको मन रोएका छन् । म भन्छु मान्छेले विश्वासमा घात गर्नु हुँदैन । त्यस्ता मान्छेको भलो पनि हुँदैन । शान्ति पनि प्राप्त हुँदैन । उ कहाँ छ के गर्दै छ कहिल्यै मैले फलोअप गरिनँ । उसले पनि चाहेन ।
सोचें । प्रेम एकतर्फी गरेर नहुने रहेछ । मान्छे एकै पटक चिन्न पनि नसकिने रहेछ । उमेर र चाहना फरक कुरा रहेछन् । एकबारको जीवन खेर नफालौ । हासौ खेलौ रमाईलो गरौं तर जीवनलाई सहि स्थानमा सदुपयोग गरौं ।
सरु तामाङ
मरिन, सिन्धुली









