संहिता कानून बनेको रहेछ थाहा भएन । श्रीमान्ले माया गर्ने विश्वासमा थिएँ । अहिले त दोश्रो विवाह भने पनि कानुनमा बहुविवाह भन्ने रहेनछ । कानून पनि बुझी नसक्नु छ । सँगै बस्न मिल्ने, बच्चा जन्माउन हुने तर त्यहि बच्चाको जन्म दर्ता र बाबुको नाममा नागरिकता बनाउन मिल्ने तर आमाको नाम उल्लेख गर्न नमिल्ने । हे दैव ? श्रीमती हुने तर कानूनमा देखाउन नहुने ? कसरी सम्हालांै दुखेको मन ? छामौ भेटिदैन । देखाउ सकिँदैन । अस्पताल जाउँ डाक्टरले रोग पत्ता लगाउन सक्दैनन् । औषधी विना निको हुने रोग कसैलाई नलागोस् । जीवनका अनेक भोगाईका गाँठाहरु कसिँदै गएका छन् । जानीनजानी विवाहको दिन कसिएको लगनगाँठो फुकाउन सहज छ, तर जीवनका गाँठाहरु फुक्न कठिन रहेछ । सम्भवतः त्यसैले भनिएको होला विवाहको दिन कम्मरमा सेतो कपडा बाँधेर कसिएको गाँठो साँच्चै जीवनको गाँठो रहेछ । दुलाहाले दुलहीको कम्मरमा बाँधिएको गाँठोको फेर समातेर जग्गे घुमेको कहिल्यै नछुटिने बन्धन हो । पुरानो संस्कृति, रितिरिवाज धान्ने क्रममा अभिभावकले मलाई त्यहि विधी अपनाएर समाज साक्षी राखेर विदा गरेका थिए । विश्वास न हो । ढुंगालाई माटोको भर, माटोलाई ढुंगाको । विवाहका विधि सम्झँदा आज पनि लाग्छ बास्तवमै त्यो जीवनको रिहर्सल थियो । बास्तविक जीवन त्यहि रहेछ । एक दिनमा बाँकी सबै जीवनका भोगाईहरुको सारांश प्रस्तुत हुँदो रहेछ । साक्षी बसेका जन्तीहरु मलामी जाँदा पनि काम लाग्दा रहेछन् । दुःखमा हाँस्ने रहेछ । सुखमा जलन हुँदा रहेछन् । मान्छेका रुपहरुले कहिले शिरले आगो बाल्छ । कहिले तलाउमा रहेको पानी जस्तो शान्त हुन्छु । खहरेका छालहरु जस्तै गडगडाउँदै बगेको जीवनलाई निरन्तर अगाडी बढाउन आउने अवरोधलाई समेत छिचोल्ने प्रण गरेको छु । सक्छु सक्दिनँ थाहा छैन । म भित्रको साहसले मलाई बचाईरहेको छ । अगाडि बढाउन साथ दिईरहेको छ ।
चार दाजुहरु पछिको एक्लो बहिनी । लक्ष्मीको आगमन भयो भन्दै खुशियालीको सीमा थिएन । म ठुली हुँदा समेत मेरा बारेमा सानो छँदा गरिएका अनेक कुराले आफैंलाई भाग्यमानी र गौरवान्वित बनाउँथ्यो । साँच्चै म जस्तो भाग्यमानी यो संसारमा को होला ? मनमनै सम्झन्थे संसारमा कति दुःख पाएका मान्छेहरु होलान् । मेरो परिवार, मेरो बाबु आमा । मेरा दाजुहरु । समाज । नजिकै थियो विद्यालय । छोराहरुलाई जस्तै मलाई कुनै कुराको कमी थिएन । विद्यालय जाने कुरामा बुबा र आमाले पथप्रर्दशक बनिरहुन भयो । कहिलेकाँहि आमा बरु छोरीलाई त्यति धेरै खुल्ला गर्नु हुँदैन भन्ने मानसिकता राख्नु हुन्थ्यो । त्यसको एउटै कारण थियो छोरीलाई विद्यालय पठाए समाजले के भन्ला ? घर छाड्ने छोरीहरुको बारेमा हुने अनेक टिकाटिप्पणीबाट आमा सचेत हुनुहुन्थ्यो । बुबा गाउँको सामाजिक ब्यक्तित्व भएकाले आफ्ना सन्तान पढाउन नसक्नेले अरुका सन्तान विद्यालय लैजाउ भनेर कसरी भन्ने ? त्यहि कुरा मेरो हकमा लागु हुन्थ्यो । छोरा छोरी सबैले पढुन् । शिक्षित बनुन् । देश र समाजको विकासमा सक्रिय हुन् । बुबाको चाहना त्यहि थियो । ब्यापार ब्यवसाय केहि हुँदैन थियो । बस्तुभाउ पाल्ने, तिनको दुधबाट घिउ बनाउने, घिउ विक्री गर्ने, नुन मसला किनेर ल्याउने, कहिलेकाँहि धेरै अन्न हुँदा बेचेर कपडाहरु खरिद गरेर ल्याउने पुरानै चलन थियो । अझ सधै बुबाहरु घिउ टिनमा बोकेर काठमाडौ पुग्नु हुन्थ्यो । बुबालाई भारी बोक्न दिदैन थिए । समाजमा अरु थुप्रै ब्यक्तिहरु मध्ये अगुवा बुबा भएकाले अन्य ब्यक्तिहरुले लैजाँदा उहाँ पनि साथमै हुनुहुन्थ्यो । मलाई याद छ त्यतिबेला हाम्रो खुट्टामा जुत्ता हुनु पनि ठुलै कुरा थियो । नयाँ कपडा बर्षमा एक दिन दशैको बेला लगाउने चलन थियो । गाउँमा माछा मासु केहि चल्दैन थियो । घिउसँग खाने, त्यहि तरकारी पकाउन प्रयोग हुने, तोरी उत्पादन धेरै हुँदा विक्री गर्ने, गेडागुडी विक्री गर्ने त्यो त अब सपना जस्तै भैसकेको छ । कतै कतै दुधबाट खुवा समेत बनाउँथे ।
समयले कोल्टे फेर्दै गयो । तीन दाईहरुको विवाह भैसकेको थियो । भाउजुहरु पनि घरमै हुनुहुन्थ्यो । ७ वटा भैसी, २ वटा गाई, १० वटा बाख्रा, गाई भैसीका पाडापाडी, बाछाबाछीहरु पनि थिए । एउटा हुल नै थियो । परिवारका सदस्यहरु पनि १४÷१५ जना थियौं । जसका भैंसी उसको बन, जसका छोरा उसको बन भन्ने उखान चरितार्थ थियो हाम्रो घरमा । बुृबाको काम नै गाउँमा हुने अनेकखाले समस्याको समाधान गर्नु थियो । कसैको घरमा सामान्य झगडा भैहाल्यो भने पनि बुबालाई लिन आई पुग्थे मान्छेहरु । छोरीहरु अर्काको घरमा जाने जात । खासै अध्ययन हुँदैन थियो । घरमा जति काम ग¥यो उति राम्रो । कलिलै उमेरमा विवाह भयो । १४ वर्षको उमेरमा विवाह भएकाले सबै कुरा ख्याल ख्याल लाग्दथ्यो । १५ वर्षमै आमा बन्नु पर्दाको पीडा कसरी सुनाउँ म ? त्यो समय असाध्यै कठोेर थियो घर । सासुको खुट्टामा तेल नलगाई सुत्न पाईदैन थियो । भोकले पेट भाँचिन लागे पनि सबैले नखाई खान पाईदैन थियो । सासु, ससुरा, नन्द, आमाजुको कहर त कति हो कति ? उनिहरुले भनेजस्तो गरेन भने सायद भोलिपल्ट गाली र श्रीमान्को चड्कन दुबै भेट्न सकिन्थ्यो । श्रीमान् के हो ? घर परिवार के हो ? आमा बन्ने भन्या के हो ? भन्ने कुरा बुझ्न नपाई गर्भवती भएको थिएँ म । अहिले जस्तो बुहारीहरुलाई सुख कहाँ हुन्थ्यो र ? बच्चा पाउने एक घण्टा अघिसम्म बारीमा काम गरिरहेको थिएँ । रातभर भटमास निफनेर विहानी पख सुतेको थिएँ । विहानै बारी खन्न जाँदा असाध्यै गाह्रो भएको थियो । तत्कालै घरमा आएँ । एक घण्टामै बल्ल बल्ल बच्चा जन्माउन सकें । गाउँकै सुडेनीहरुले बच्चा जन्माउन सहयोग पु¥याएका थिए । यि सबै कथा जस्तो लाग्छ अहिलेको पुस्तालाई ।
सशस्त्र द्वन्द्वमा विस्थापित जीवन विताउन कम्ति कष्टकर थिएन । गाउँमा जाउँ माओवादीको शिकार हुने, नजाउ राजधानीमा के गरेर बस्ने ? श्रीमान् विस्थापित जीवन विताउन राजधानीमा हुनुहुन्थ्यो । बाँच्नका लागि अनेक खालका ब्यवसाय गर्नु भयो । एक दिन राति कोठामा आएर शाहि नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरेर लगेछ । अनुनय विनय पछि उहाँ केहि दिनको हिरासत बसाईबाट छुट्नु भयो । युद्धविराम भएको बेला उहाँ गाउँ आउनु भएको थियो । माओवादीले सेनाको सुराकी भन्दै अपहरण गर्ने प्रयास गरे । छोराछोरीहरु बाबुको खुट्टामा भन्दा अपहरण गर्न घरमा आएका माओवादीहरुसँग झुण्डिए । उनिहरु घर भित्रै हुँदा घरको ढोका लगाईदिए । कहाँबाट आयो त्यस्तो बुद्धि ? बच्चाहरुको अभिभावक प्रतिको त्यो माया साँच्चै अपार थियो । त्यो घटनाले उहाँलाई विहानको राति नै गाउँ कटाईयो । काठमाडौबाट शान्ति प्रकृया नहुञ्जेल आउनु पर्दैन भन्दै आफन्तहरुको साथ लगाईयो । यता घरमा पिरै पिर थियो । के काम गर्ने र पेट पाल्ने ? धेरै तिर डुल्दा एउटा अफिसमा गार्डको काम पाउनु भएछ । पछि अस्पतालमा गर्न थाल्नु भएछ । अस्पतालमा काम गर्दा गर्दै त्यहाँ भर्ना भएको एउटा विरामीले उहाँको मन तानेछ । प्रहरीमा गएका श्रीमान्लाई गोली लागेर मारेपछि उनी बेहोस भएकी रहिछन् । उपचारका क्रममा त्यहाँ आउँदा चिनजान भएको रहेछ । त्यो चिनजान गहिरिदै जाँदा उनको मनको कुरा बुझ्ने मेरो श्रीमान् हुन थालेछन् । आफु गाउँमा जिउँदै जलेर बसेको छु उता श्रीमान् एकल महिलाको भावना बुझ्न थालिसकेछन् । छोराछोरीहरु ठृुला भैसकेका थिए । बाबुसँगै शहरमा अध्ययन गर्न जाने कुरा भयो । फोनमा कुरा हुन थालेको थियो । शान्ति प्रकृया शुरु नहुँदै जेठो छोरा काठमाडौ गयो । बुबाले खोजेको डेरामा बसेर अध्ययन गर्न थाल्यो । बाबु अस्पतालमै काम गरिरहेका थिए । कहिले विहान ड्युटी भन्दै चाँडो जान्थे । कहिले राति ड्युटी भन्दै आउँदैन थिए । करिब ७ महिना पछि बाबुलाई बुबाको ब्यवहार प्रति शंका लागेछ । उनी काम गर्ने अस्पताल, उनको जाने आउने ठाउँ र उनका गतिविधि पछि उनी निश्कर्षमा पुगेछन बाबु त्यहि केटीको कोठामा जाने गरेका रहेछन । +२ अध्ययन गर्ने छोराले मलाई भनेन । उल्टै बाबुलाई ¥याख¥याखती पार्दा बाबुले बास्तविकता सबै भनेछन् । छोरो दंग प¥यो । अब आमालाई कसरी सम्हाल्ने ? बाबुले श्रीमान् नभएको श्रीमती, बालबच्चा र उनका नाममा आएको सबै राहत बुझिसकेका रहेछन् ।
मेरो नागरिकता बनेको थिएन । मेरो विवाह दर्ता पनि धेरै पछि गरेको थिएँ । अहिले नागरिकता बनाउन जाँदा वडाबाट मेरो सिफारिस भयो । सँगै श्रीमान्कै कारण वडाले मेरो सौता नाताले बहिनी पर्नेलाई पनि नागरिकता बनाउन सिफारिस दिए । अहिलेको कानून यस्तो हैन रहेछ । मेरो नागरिकता बन्यो उहाँको नागरिकता बनेन । अहिले एकजना मात्रै श्रीमती कायम हुने भएकाले उहाँले श्रीमान्को नाम कायम राखेर नागरिकता बनाउन मिल्दो रहेनछ । कि म सँग सम्बन्ध विच्छेद गर्नु प¥यो कि उहाँलाई छाड्नु प¥यो । यस्तो संकटमा हुँदा पनि उहाँले ब्यवस्थापन कसरी गर्नु हुन्छ ? मैले श्रीमान्ले मलाई माया गरेको विगत सम्झिएँ । सशस्त्र द्वन्द्वले धेरैको जीवनमा असर पु¥याएको छ । केहि मोटाए । केहि सम्पन्न भए । केहि अहिले सत्तामा छन् । पटक पटक सत्तामा गएर पनि माओवादीकै नाममा प्राप्त गरेको दुःख र कष्टबाट नागरिकहरुले मुक्त पाउन सकेका छैनन् । मैले झनै कसरी पाउनु ? अहिले त सन्तानहरु हुर्किए । बढे । आफ्नै खुट्टामा पनि उभिन थालेका छन् । मान्छे बाँचुन्जेल माओवादीको कथित युद्धका नाममा हामी जस्ता सर्वसाधारणले भोगेको दुःख हिजो पनि उस्तै थियो । आज पनि उस्तै छ ।
निर्मला खुलाल
बनेपा, काभ्रे









