कहिलेकाँहि लाग्दो रहेछ यो संसारमा आफूले चाहेको ग¥यो भने मात्रै सन्तुष्ट प्राप्त हुन्छ । सन्तुष्टि के मा छ ? सुख के हो ? ब्यक्ति कसरी खुशी हुन सक्छ ? यसका धेरै ब्याख्या हुन सक्छन् । म त्यो ब्याख्या जान्दिनँ गर्न पनि आवश्यक ठान्दिनँ । तर म अझै पनि खुशी छैन । जे उद्देश्य प्राप्तिका लागि मैले त्यो कदम उठाएँ । त्यो गलत थियो भन्ने अझै लाग्दैन । कानूनका अघि म दोषि हुँ । दोषि भएँ । त्यहि दोषको भारी बोकिरहेको छु । मलाई लाग्छ त्यस क्षेत्रमा अहिले त्यस्तै अर्काे घटना घटेको छ । कहिले केटाको कारण त कहिले केटीका कारण । मान्छेहरुमा आएको स्वतन्त्रताले पनि अपराधतर्फ उन्मुख गराएको आभाष भएको छ । रुची र चाहना पूरा गर्ने नाममा भएका विकृति विसंगतिलाई समाजले कसरी ग्रहण गर्न सक्ला ।
चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षीया सुमिना गुरुङ्ग मेरो श्रीमती थिईन् । म, मेरो बुबा लगायत काठमाडौमा बस्ने गरेका थियौं । हामी पनि सामान्य परिवारका मान्छे हौं । हामीलाई कसैको वास्ता लाग्दैन थियो । सानो परिवार, थोरै आम्दानी । काम गरेर विहान बेलुका खानलाई ठिक थियो । त्यस्तो अवस्थामा हामीलाई चासो हुने कुरा पनि भएन । धेरै सम्पत्ति धेरै तनाव । थोरै सम्पति भोकको तनाव । भोक मेटाउन गरिएका हाम्रा मेहनत र पसिना धेरै थिए । त्यहि क्रममा मेरो सुमिनासँग भेटघाट भएको थियो । उमेर पनि हाम्रो धेरै फरक थियो । म २८ वर्षको थिएँ उनि २२ । उमेर नमिल्दा पनि परिवारमा बेमेल आउने रहेछ । २८ वर्षको उमेरमा पनि खासै फरक त थिएन । तर पनि उनको र मेरो चाहना नमिल्दा पारिवारीक बेमेल हुँदै थियो । मुलुकभर भएको कोरोना भाईरसले हामी राजधानीबाट घरमा आयौं । घरमा आए लगत्तै उनको र मेरो झनै सम्बन्ध विग्रन गयो । उनी प्रति मलाई शंका लाग्न थाल्यो । परपुरुषसँग उनको सम्बन्ध भएको आशंकामा मैले उनलाई यातना दिन थालें । गाउँभर सुनसान थियो । मेरो यातनाकै कारण उनले गलत बाटो रोजिछन् । उनले आत्महत्या गर्ने प्रयास धेरै पटक गरेकी थिईन् । त्यो प्रयासमा मैले जोगाउँदै आएको थिएँ । दुर्भाग्यबश मैले बचाउन सकिनँ ।
साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहँु जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाले म सँग प्रेम विवाह गरेकी थिईन् । अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण हामी श्रीमान् श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको सत्य हो । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले हामी गाउँमै थियौं । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो । माईतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ्ग र आमा जुनु गुरुङ्गलाई छोरी हराएको बारेमा जानकारी गराईएको थियो । हामीबीच त्यहि दिन झगडा परेको थियो । उनको र मेरो बीच दिउँसै कुटपिट भएको थियो । मसँग झगडा भएपछि उनले साँझ नै सलको पासो लगाएर आत्महत्या गरिछन् । मलाई डर लाग्यो । के गरौं के नगरौं ?
बुबा काठमाडौंमा हुनुहुन्थ्यो । केहिदिन अघि गाउँमै आउनु भएको थियो । उनलाई बचाउन सकिन्छ भन्ने लागेर मैले सलको पासो काटिदिए उनि मरिसकेकी रहिछन् । के गर्ने के नगर्ने ? आफन्त र प्रहरीलाई खबर गरे फसिन्छ भन्ने डर लाग्यो । परिवारको सल्लाहमा उनलाई बर्षात्को समय भएकाले आफ्नै मकैबारीमा गाडिदिने र हराएको भनेर खोजविन गर्ने सल्लाह भयो । तत्कालै प्रहरी, छिमेकी र गाउँलेहरुलाई खबर गरेको भए पनि सहज हुने रहेछ । विगतमा मैले उनलाई दिएको यातना र पापले मलाई अपराधमा डो¥यायो । उनको शब बुबाले र मैले मिलेर बोक्यौं । घरमुनी रहेको मकै बारीमा खाडल खनेर पुरिदियौं । भोलिपल्टबाट सुमिना हराएको भन्दै खोजतलासका लागि हामी आफंै लाग्यौं । भोलीपल्टबाट म आफै श्रीमती हराईरहेको र नभेटिएकाले खोजिदिन स्थानीय र आफन्तलाई अनुरोध गर्न थालें ।
केहि दिन पछि प्रहरीले हामीलाई नै शंका गर्न थाल्यो । माईती पक्षले श्रीमानसँग लगातार झगडा हुने भएकाले उनैलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरे पछि मैले मेरो अपराध लुकाउन सकिन । भएका सबै घटना बताईदिए । प्रहरीले मलाई र बुबालाई पक्राउ ग¥यो । बुबाको खासै दोष नभएकाले अदालतले निर्दाेष ठह¥यायो । मलाई दोषि ठहर ग¥यो । हुन त मैले पनि उनलाई मारेको हैन । तर मार्नेसम्मको ब्यवहार गरेको र मरे पछि कसैलाई खबर नगरी लगेर गाडिदिएको अभियोगमा मलाई दोषि ठहर गरिएको रहेछ । मेरो र उनको विषयमा धेरैलाई जानकारी थिएन । श्रीमती भएर उनले त्यसको भूमिका निभाएकी थिईनन् । मैले पनि निभाउन सकिन होला । तर पनि मलाई उनीप्रतिको माया र सद्भाव कायम नै थियो । आनन्द त आएन । सन्तुष्ट पनि थिएन । तर पनि उनी ज्यान नै फालिहाल्छिन जस्तो लाग्या थिएन । त्यो घटनाले मलाई विक्षिप्त बनाएको छ । सुन्दै छु चौरीदेउरालीमा फेरी अर्काे त्यस्तै घटना घटेको छ । म दोषि भए जेलमा छु । उनी नेताको सन्तान खुलेआम छन् ।
अपराधलाई राजनीतिको आवरण भित्र सत्ताको आडमा कसरी ढाकछोप गर्न खोजिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा न ३ माझिफेदामा । माओवादी केन्द्रको भगिनी सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनका बागमती प्रदेशका इन्चार्ज दुर्गा सिं लामाको घरमा भएको बुहारी अन्जली गौतमको आत्महत्याको घटना । २०७७ साल भदौ ३ गते दुर्गा सिं लामाको २८ बर्षे छोरा लक्ष्मण मोक्तानले सोही गाउँ निवासी होमबहादुर गौतमको १८ बर्षको छोरी अन्जली गौतमलाई भगाएर लगेका थिए । आफन्तले दुर्गा सिङ लामालाई फोन गरेर यसको बारेमा सोध्दा मैले पनि भागेको भनेको सुनेको हो अरु मलाई केही थाहा छैन भन्ने जवाफ फर्काएका थिए । त्यसको भोलिपल्ट ३०÷३५ जनाको उपस्थिति रहेको सामाजिक बैठकमा केटाकेटी दुबैजनालाई बोलाएर सोध्दा दुबै जनाले बुबा दुर्गा सिङ लामालाई सोधेर नै यो निर्णय लिएका हौं भन्ने बयान दिएका थिए । अनि दुर्गा सिङ लामालाई तपाईले मलाई केही थाहा छैन भन्नुहुन्थ्यो तर उनिहरुले तपाईलाई सोधेर नै यो निर्णय लिएका हौ भन्छ्न नि भन्दा दुर्गा सिङ लामा केही बोल्न सकेनन् । भविष्यमा हाम्रो छोरी माथी केही तलमाथी भयो भने तपाईंले फेरि मलाई थाहा छैन भन्न पाउनु हुन्न भन्दै परिवारका सदस्य बिदा भएका थिए । २०७८ साल असोज ३० गते दिउँसो १२ बजे अन्जली गौतमले आत्महत्या गरेको हो भन्ने दावी दुर्गा सिं लामाको छ । यसको जानकारी केटिको बुबालाई दिउँसो १ बजेर ५० मिनेटमा फोन गरेर जानकारी गराईएको थियो । त्यतिबेला सम्ममा प्रहरी प्रशासन र माइती पक्षको उपस्थित बिना नै घटना स्थललाई खुल्ला गरि झुण्डिएको भनेको सल बाटिएको थियो र लासलाई खाटमा सुताएर राखिएको थियो । घटनास्थलमा भएका प्रमाणहरुलाई नष्ट गरिएको थियो । घटना भएको ठाउँमा पुग्दा चौरीदेउराली गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी जवानहरुले घटना स्थलमा कसैलाई प्रवेश गर्न नदिई जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिई गएका अपराध अनुसन्धानका टोली आए पछि मात्र जान दिइने बताईएको थियो ।
त्यहाँ चौरीदेउराली गाउँ पालिकाका माओवादी केन्द्रवाट निर्वाचित पालिका प्रमुख दिनानाथ गौतम, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी (बैद्य) का बागमती प्रदेश इन्चार्ज दिनेश शर्मा लगायत सम्पुर्ण गाउँलेहरुको उपस्थिति भैसकेको थियो । केही समयमा जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिई गएको अपराध अनुसन्धानको टोलि पुग्छ र घटनास्थलमा माईती पक्षलाई पनि जान दिईन्छ तर कुनै फोटो वा भिडियो खिच्न दिइदैन । अपराध अनुसन्धानको टोलीले सबै फोटो भिडियो हामी खिच्छौ अनि धुलिखेलमा गएर तपाईहरुलाई उपलब्ध गराईदिउला अहिले तपाईहरु केही नखिच्नुहोला भनिन्छ तर भोलिपल्ट धुलिखेल पुगेर ती घटना स्थलमा खिचिएका फोटो भिडियो माग्दा तपाईहरुलाई दिन मिल्दैन हामी सरकारी वकिललाई दिउँला भन्ने जवाफ प्रहरीले दिएको थियो । घटनास्थलमा, मृतक केटीको श्रीमान् र आमासँग कुनै बयान लिइदैन । त्यहाँ उपस्थित गाउलेहरुसँग पनि कुनै सर्जमिन गरिदैन । यतिसम्म कि मृतक केटीको मोबाइल बरामद गरिन्छ तर उनको श्रीमान्को मोबाइलसम्म पनि बरामद गरिदैन । गाउँ पालिका प्रमुख दिनानाथ गौतम यो घटनाको बारेमा केही बोल्दैनन् । घटना घटेको पाचौं दिनमा सिडियो कार्यालयमा भएको एसपी, सरकारी वकिल लगायत अन्य सुरक्षा निकायको बैठकमा केटाको मोबाइल बरामद गरेर अनुसन्धान गरियोस भन्ने आवाज उठे पछी मात्रै केटालाई बोलाएर मोबाइल मागिन्छ । त्यहाँ घटनास्थलमा लाशको प्रकृतिको बारेमा मुचुल्का उठाएपछि धुलिखेल लैजान खोजिन्छ तर हामी सबै गाउँलेहरुले यो घटना शकास्पद लागिरहेको छ मृतक केटिको श्रीमान, सासू र ससुरालाई हिरासतमा लिएर अनुसन्धान गर्ने हो भने मात्र शब लान दिइन्छ भनेपछी ती तिनै जनालाई गाडिमा राखिएको थियो । बेलुका १ बजे धुलिखेल अस्पताल ल्याईएको थियो । हिरासतमा लिईएको भनिएका तिनै जनालाई राती नै छोडिएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा माओवादीका बागमति प्रदेश सभाका सभासद् रत्न ढकाल लगायत अन्य माओवादी नेताहरुको बाक्लै उपस्थिति थियो । पीडित परिवारको तर्फबाट भन्दा पनि पीडकहरुको तर्फबाट जम्मा भएका माओवादी नेताहरुले घटनाको ढाकछोप गर्न प्रहरीलाई दबाब दिएको हाम्रो निश्कर्ष थियो ।
आजसम्म हामीले न्याय पाउन सकेका छैनौ । प्रहरीले अनुसन्धान त गरिरहेको छ हामीलाई विश्वास लाग्ने आधार देखिएको छैन । छोरी अञ्जलीले दशंै अगाडि आफ्नो साथीलाई फेसबुक मेसेन्जरमार्फत पठाएको म्यासेजमा आफुले सानैमा विवाह गरेर दुःख पाएको, केटासँग केही कुरा पनि नमिल्ने, केटाले बाउ आमाको कुरा सुन्ने, अर्को केटिसँग हिड्ने लगायतको कृयाकलाप गरेकोले आफू तनावमा परेको म्यासेज साथी मार्फत उपलबध भएको छ । उक्त म्यासेज पनि प्रहरीलाई बुझाएका छौँ । आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गर्न नमाने पछि हामीले संचारमाध्यम, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई गुहार्न पुग्यौं । महिला अधिकारकर्मीहरुसहितको उपस्थितिमा आन्दोलन गरेपछि उजुरी दर्ता भएको छ । जाहेरीमा किटानी गरिएका मृतकका श्रीमान्लाई अहिलेसम्म पक्राउ गरेर हिरासतमा लिईएको छैन । त्यसैले राजनीतिको आवरण भित्र सत्ताको आडमा अपराध ढाकछोप गर्न खोजिएको जघन्य अपराधमा दोषिलाई कारवाहीका लागि माग गर्दछौं । कसैलाई त्यहि अभियोगमा जेल सजायँ हुने कोहि राजनीतिक आवरणमा उम्कने भन्ने हुँदैन होला । कोशिपारीका यि दुवै घटनामा आत्महत्या प्रेरित अभियोग भएकाले दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दछौं ।
सोनाम लामा, धुलिखेल
प्रेम गौतम, चौरीदेउराली,
काभ्रे









