2026 June 06/ 09:38: 22am

    दशै, तिहार, नेपाल सम्वत्, छठ जस्ता महत्वपूर्ण पर्वहरुले ढपक्कै ढाकेका छन् । माघे संक्रान्ति पछि सकिने चाडपर्वहरु साउने संक्रान्तिबाट शुरु हुने गर्छन् । प्रकृति, समय र चाडपर्व एक अर्कासँग सम्बन्धित छन् । प्रकृतिले ब्यक्तिलाई दिने उपज पनि त्यसकै फल हो । चाडपर्वसँगै ब्यक्तिका रुची र चाहना फरक फरक हुँदा रहेछन् । त्यहि चाहना र रुची कहिले जीवनका स्वर्णिम बन्न पुग्छन् । कहिलेकाँहि त्यहि विष अर्थात् दशा बनेर आउने रहेछन् ।  समयको खेल रहेछ जीवन । जीवन भनेको संघर्ष भन्ने उपमा मेरो जीवनमा अलिक फरक हुन पुग्यो । संघर्ष गर्दागर्दै समयले मान्छेलाई पु¥याउने स्थानको समीक्षा गर्न सकिएन भने जीवन नर्क हो । नर्कका बारेमा पनि तर्क विर्तक हुन सक्लान् । तर भोगाईमा आएका अप्ठ्याराहरुलाई नै नर्क सम्झिन पुगिँदो रहेछ । सुख त केबल क्षणिक रहेछ । क्षणिक सुखको प्रलोभन वा त्यसकै खातिर दौडिँदा जीवनभर दुःखको अनुभूति हुने रहेछ । हरेक कुरा सहमतिमा हुँदा पनि परिस्थिती र समयले त्यसलाई जर्बजस्तिमा परिणत गर्दाे रहेछ । गल्ति त मान्छेबाटै हुन्छ । मान्छेले नै गर्छ । मान्छेले नियत राखेर वा अन्जानमा गर्ने गल्तिको सजायँ पनि छ । त्यो सजायँबाट उ फेरी सुध्रन्छ ? वा त्यसले त्यस्तै बाटो अपनाउँछ ? घटना सामान्यबाट शुरु भएर असमान्य बन्न पुग्यो । हुनै नसक्ने, गर्नै नहुने अपराध हो । तर मान्छेको मन । कुन चिजले बाँध्न सक्छ ? प्रकृतिको नियम नै रहेछ । घामले गर्मी हुने । हावा चल्दा पात हल्लिने । 
    पनौती नगरपालिका वडा नम्वर १० को घटना हो यो । प्रहरीमा उनले दिएको बयान यस्तो रहेछ । मेरो बुबा पनौतीको एउटा चर्चमा प्रमुख हुनुहुन्छ । आमा अरुको खेतबारीमा ज्याला मजदुरीको काम गर्नुहुन्छ । बुबा आमाको तीन जना छोरी मध्येको म जेठी छोरी हुँ, हाम्रो पुरानो घर दोलखा हो । तर मलाई बुबा आमाले त्यहाँ अहिलेसम्म लैजानु भएको छैन । बुबा आमाले भन्नु भएको घर त्यहि थियो तर म कहिल्यै घर गएको छैन । म मेरो बुबा आमासँग काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा डेरा कोठा गरी बस्न लागेको ८ वर्ष भयो । सोही घरमा माथिल्लो तलामा डेरा गरी बस्ने एक जना युवकसँग सामान्य देखभेट तथा बोलचाल भई हामी दुईका बिच चिनजान भयो । उनिहरु पनि त्यहि घरमा बस्दै आएको त्यति नै बर्ष भएको रहेछ । शुरु देखि नै उसको र मेरो चिनजान भएकाले मलाई असहज कुनै कुरामा भएको थिएन । सामान्य बोलीचालीकै क्रममा तिमीलाई माया गर्छु, आफ्नो बनाउँछु भन्दै तीन वर्ष अघि मलाई प्रेम प्रस्ताव राख्यो । त्यो प्रस्तावको मैले बेवास्ता गरें । एक महिना अघि उसले मलाई मौखिक रुपमा प्रेम प्रस्ताव राख्यो । मैले विश्वास गरें र उसको प्रस्ताव स्विकार गरेँ । त्यसपछि उसले आफ्नो मोबाईलबाट मैले प्रयोग गर्ने मेरो आमाको मोबाईल नम्वरमा फोनमा कुरा हुन थाल्यो । साँझ र अन्य समयमा आमाको मोबाईल मैले प्रयोग गर्ने गरेको थिएँ । झण्डै एक वर्ष देखि प्रत्यक्ष भेट नहुँदा मोबाईलमा निरन्तर सम्पर्क हुँदै आईरहेको थियो । म नियमित विद्यालय जाने गरेको थिएँ । उसले केहि महिना अघि स्कुल आउने जाने क्रममा भेट भएको समयमा गाउँ घरमा हल्ला खल्ला हुन थालिसक्यो, अब यसरी भेट्न सम्भव हुँदैन यँहा बस्न सकिन्न अन्त कतै जाँउ भन्दै भाग्ने प्रस्ताव राख्यो । मैले जानै परे परीक्षा पश्चात जाउँला भन्दै सहमति दिएँ । हामी दुईका बिच सल्लाह भाग्ने सल्लाह भएको थियो । किनकी हामी दुबै प्रेममा थियौं । २०७८ साल बैशाख २२ गते दिउँसो चार बजेको समयमा बनेपा बजारमा रहेको एउटा क्याफेमा हामी आयौं । हामी दुई विवाह गरी भागी जाने सहमति भएको थियो । भोलिपल्ट २०७८ बैशाख २३ गते विहान १० बजे तिर उसले आफ्नै कोठामा बोलायो । घरमा कोहि थिएनन् । कोठाको ढोकाको चुकुल लगाई विभिन्न प्रलोभन देखाई मेरो ईच्छा बिपरीत जबरजस्ती करणी ग¥यो । करणी पश्चात उसले मलाई बिहे गरी आफ्नो बनाउँछु भन्दै अनेक प्रलोभन देखाई भाग्ने निर्णय सुनायो । उसकै मोटरसाईकल चढेर हामी भाग्यौ । कुलेखानी हुँदै सोही दिन हामी हेटौंडा पुग्यौं । हेटौडाबाट काँकडभिट्टाको बसको टिकट काटी भोलिपल्ट काँकडभिट्टा हुँदै भारतको दार्जिलङमा पुग्यौं । दार्जिलिङ्गको उक्त होटलमा हामी केहि दिन बस्यौं । सोही ठाउ“को राजबाडी भन्ने ठाउँमा डेरा गरी बसेको अबस्थामा २०७८ जेठ १९ गते आफन्तले दार्जिलिङ बजारमा फेला पारी नेपाल ल्याए । म पछिसम्म पनि उसको मायामा लोभिएको थिएँ । उसँगै विवाह गरेर जानु पर्छ भन्ने अडानमा थिएँ । तर उसको नौटङ्की माया रहेछ । 
    उनको बयानमा केहि कुरा साँचो थियो । तर उनले भनेजस्तो जर्बजस्ति थिएन । हो नेपालको कानुनले सानो उमेरका ब्यक्तिहरुसँग सम्वन्ध राख्न र विवाह गर्न छुट थिएन । अझ दोश्रो विवाहलाई मान्यता दिए पनि गर्न पाईदैन थियो । नयाँ कानुनले त त्यो पनि छुट दिएको छैन । भएको चाँहि यस्तो थियो । मेरो घर दोलखा जिल्ला हो । विगत ८ बर्ष देखि काभ्रे जिल्लाको पनौतीमा बस्दै आएको थिए । त्यसभन्दा अघि म बनेपाको भंैसेपाटीमा ठेरा गरी बस्दै आएको थिए । म बसेको घरमा डेरा कोठा गरी बस्दै आउने क्रममा उनी र उनको सबै परिवारसँग चिनजान भएको थियो । सोही चिनजानको क्रममा सामान्य बोलीचाली हुन्थ्यो । मैले उनलाई मन पराउन थालेकोले दिनहुँ जस्तो कुराकानी हुने गरेको थियो । पछि हामीहरुको परिवारले उक्त कुराको बारेमा जानकारी पाई शंका गरी गाली गर्ने र रिस गर्न थालेपछि हाम्रो भेटघाट र बोली चाली कम हुन थालेको थियो । २०७८ बैशाख २३ गते मेरो केहि काम नभएको, परिवार कोठामा नभएको, उनका परिवार काठमाडौं गएको र उनी मात्रै कोठामा रहेकोमा हामीहरु दुवैको भेटघाट भई कुराकानी भएको थियो । सोहि क्रममा हामी दुबैको सहमतिमा मेरो कोठामा शरिरीक सम्बन्ध राखेका थियौं । उनले शुरुमा मानेकी थिईनन् । मैले घुमाउन लैजान्छु  विवाह गर्छु भनेपछि उनी तयार भईन् । उनको पनि त्यसमा सहमति भयो । उनकै सहमतिमा हामी भाग्ने र विवाह गर्ने योजना बनाएका थियौं । त्यहि योजना अनुसार हामी मोटरसाईकलमा भारत पुगेका थियौं । उनका आफन्तले फेला पारेपछि हामी नेपाल आयौं । नेपालमा पनि पटक पटक छलफल भएको थियो । उनी कुनै पनि हालतमा मसँग विवाह गरेर सँगै बस्ने योजनामा थिईन् । उजुरीमा पनि उनको सहमति थिएन । उनको परिवारले उनलाई जर्बजस्ति गरी म विरुद्ध मुद्दा दर्ता गरेको थियो ।     उनकी आमाले घटनाका बारेमा तोडमोड गरी प्रहरीलाई जानकारी गराएकी थिईन् । 
    उनकी आमाको भनाई फरक थियो । उनकी आमाले यस्तो भनेकी रहिछन्–२०७८ बैशाख २३ गते बिहान १० बज्न केहि बाँकी भएको समयमा म र मेरो श्रीमान् डेराबाट काठमाडांै गएका थियौं । सोही दिन बिहान पनौती स्थित इन्द्रेश्वर माविको कक्षा ९ मा अध्ययनरत १५ बर्षिया छोरीलाई आफ्नै डेरा कोठामा एक्लै बसिरहेको अबस्थामा मौका छोपी हामीसँगै घरमा डेरा कोठा गरी बस्ने युवकले ललाई फकाई आफ्नै डेरामा पु¥याई जर्बजस्ति करणी गरेछ । कलिलो मस्तिकमा ललाई फकाई घुमाउन लैजान्छु, विवाह गर्छु भनि विभिन्न प्रलोभनमा पारी छोरीको ईच्छा विपरीत छोरीलाई जबरजस्ती करणी गरी घुमाउन लाने बहाना बनाई सोही दिन बिहान भारतको दार्जिलिङमा पु¥याएको रहेछ । त्यसलगत्तै विवाह समेत गरी जबरजस्ती करणी गरी उमेर नपुगेकी १५ वर्षकी नाबालिका छोरीलाई करकापमा पारी बेपत्ता समेत बनाएकाले कडा कारवाही हुनुपर्छ । प्रहरीले उनको परिवारको जाहेरी पछि हामी दुबैलाई पक्राउ गरेको थियो । हामी झण्डै एक महिना सँगै बस्यौं । मैले उनलाई दार्जिलिङ्गमा डेरा लिएर राखेको थिएँ । उनको पूरै सहमति थियो । नेपालको कानुनले सहमतिमा पनि बालबालिकाहरुसँग सम्वन्ध राख्न नपाईने कुरा मलाई जानकारी थिएन । अझ मेरो त घरमा श्रीमती र बच्चाहरु पनि थिए । गल्ति त मेरो नै थियो । अपराध भनौ वा प्रेम ? मैले उनलाई सच्चा माया गर्थे । बच्चाहरुलाई ललाई फकाई गर्नु मेरो नै अपराध थियो कि ? अहिले त्यहि अपराध सहितको प्रेमको प्रयाश्चित गरिरहेको छु । 
    मेरो आफ्नै पेशा ब्यवसाय थियो । आफ्नै घर परिवार छ । छोराछोरीहरु पनि छन् । मान्छेको मति बिग्रिए पछि गर्ने गल्ति अनगिन्ती हुँदा रहेछन् । मान्छेको प्रेम, मान्छेको चाहना बुझिनसक्नु रहेछ । म जस्ता थुप्रै ब्यक्तिहरु यस्तो घटनामा छन् । पछिल्लो समय विभिन्न स्थानमा यस्ता घटनाहरु बढिरहेका खबर सुनिन्छन् । यस्तोमा पुरुषहरुको मात्रै दोष छैन । पुरुषहरुसँगै महिलाहरुको पनि दोष छ । यो घटनामा मेरो दोष छ तर उनको पुराका पूरा साथ छ । उनकै साथका बारेमा मेरा हरेक कदमहरु अगाडि बढे । मेरा कदमहरुमा उनले साथ दिएकै कारण हामी भाग्न सफल भयौं । उनको सहमतिमा भएका सबै कुराहरु उमेर र कानुनका कारण गल्ति भएको छ । उनको परिवारले मलाई एकाथरी र उनलाई अर्काेथरी कुरा गरेका थिए । पछि पनि उनिहरुले मलाई पैसाको बार्गेनिङ्ग गरिरहेका थिए । पैसाको बार्गेनिङ्ग नमिलेपछि मात्रै मलाई मुद्दा दर्ता गरिएको थियो । त्यसमा अर्काे कारण पनि थियो उनको र मेरो जात पनि मिल्दैन थियो । उमेर पनि मिल्दैन थियो । सबैथोक हुँदा पनि उनी र म कहिल्यै नछुटिने कसम मात्रै खाएका थिएनौं त्यहि अनुसार सम्वन्ध पनि अगाडी बढाएका थियौं । समय हो । जे लेखिएको छ त्यहि हुने नै रहेछ । 
    प्रहरीले यस्तो भन्यो मैले जबरजस्ती करणी र वाल विवाह मुद्दामा कारवाही भोग्नु पर्छ । जिल्ला अदालतमा बुझाएको मुद्दामा त्यहि कुरा उल्लेख थियो । १५ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरी घुमाउन लान्छु भनि भगाएको हुँदा हदै सम्म कारवाही गरी पाउँ  भन्दै प्रहरीले अदालतमा सजाँयको माग दावी गरेको थियो । मुलुकी ऐन जबरजस्ती करणी महलको दफा १ नं. को (क) बमोजिमको कसुर गरेको देखिदा सोही महलको दफा ३ को (३) नम्बर बमोजिम हदै सम्मको सजाँय हुन र सोही महलको १० नम्वर बमोजिम निज प्रतिबादीबाटै पिडितलाई क्षतीपुर्ती समेत दिलाई भराई दिने ब्यबस्था हुन प्रहरीले माग गरेको थियो । प्रहरीको माग अनुसार जिल्ला अदालतले मुद्दाको पुर्पक्ष गरेको छ । म पुर्पक्षमा रहेर सजायँ भोगिरहेको छु । सहमतिमा हुने यस्ता सम्वन्ध अनि त्यस पछि परिणत हुने जर्बजस्ति करणीका घटनाहरुले समाज कता जाँदै छ ? प्रविधिले ब्यक्तिलाई सहज मात्रै बनाएको छैन अपराधतर्फ पनि उन्मुख गराएको छ । यसका बारेमा जनचेतना विद्यालय र घर परिवारबाट दिन शुरु गर्नुपर्ने हो कि ? 

सतिश सुनार
हालः कारागार कार्यालय, भक्तपुर