2026 April 21/ 07:37: 31pm

    बनेपा/बनेपा नगरपालिकाले फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि पहिलो पटक जापानिज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवा रहित चिम्नीको प्रयोग गर्ने भएको छ । चिम्नीका बारेमा जानकारी दिदै नगरपालिकाले प्रकृया शुरु गरेको बताएको छ । 
    बनेपामा सरोकारवालाहरुलाई धुँवा रहित चिम्नीका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सर्वसाधारणले यसको प्रयोग, लागत मुल्य, खपत र क्षमतासँगै त्यसबाट उत्पन्न हुने धुँवा र दिगोपनका बारेमा जिज्ञासा राखेका थिए । हिटा ग्रुप प्राली नेपालका प्रमुख ग्याल्पो लामाले धुँवा रहित चिम्नीका बारेमा जानकारी गराउँदै त्यसको प्रयोगका बारेमा डकुमेन्ट्री समेत प्रस्तुत गरेका थिए । ‘२ सय सेन्टिमिटर लम्बाई, २० फिट उचाई, १५० सेन्टिमिटर चौडाई र १ हजार ५ सय किलो वजन भएको एफ वान मोडलको चिम्नी नेपालमै पहिलो हो’–प्रमुख ग्याल्पो लामाले भने –‘उक्त क्षमताको मेशिनले प्रति घण्टा ३०–४० किलो, प्रति दिन १० घण्टामा ३ सय देखि ४ सय किलो फोहोर जलाउन सकिन्छ ।’ नगरपालिकाको फोहोर संकलन हुने आधारमा मेशिन ठुलो साईजको ल्याउँदा प्रति घण्टा दोब्बर फोहोर जलाउन सकिने बताए । बनेपा नगरपालिकामा दैनिक ७–८ टन फोहोर संकलन हुने भएकाले ठुलो साईजको मेशिन ल्याउने तयारी गरिएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिए । 
    ‘जापानिज प्रविधिमा एल्मुनियम धातुबाट जापानमा बनेको उक्त मेशिनले प्रति दिन २५ युनिट(थ्रि फेज) १० घण्टाको हिसावमा खर्च हुन्छ भने प्रति दिन २५ लिटर (डिजल) १० घण्टाको हिसावले खर्च हुन्छ’–हिटा ग्रुपका नेपालका प्रमुख ग्याल्पोे लामाले भने –‘फलाम र शिसा बाहेक सबै प्रकारका बस्तुहरु जलाउन सकिन्छ । प्रदुशण रहित, धुँवा रहित, ध्वनी रहित, विभिन्न प्रकारका फोहोरलाई एकै स्थानमा जलाउन सकिने, छिटो जल्ने, त्यसबाट निस्किएको पानीबाट नुहाउन, पकाउन र धुन, पिउन समेत योग्य हुनेछ ।’ जलेको फोेहोरबाट निस्केको खरानीले ब्लक तथा टायल निर्माण र तरकारी खेतिका लागि उपयुक्त हुन्छ । मेशिन सचालन गर्न डिजेल, बिजुली, पानी एकै पटक प्रयोग हुन्छ भने विजुली गएको समयमा त्यसको ब्याकअप मार्फत सञ्चालन गर्न सकिन्छ । १० वर्षसम्म ग्यारेण्टि रहेकोे उक्त मेशिनको संचालन सहज र खर्चको हिसावले पनि सरल पर्ने उनले बताए । बनेपा नगरपालिकाले खरिद गरेको वडा नम्वर ९ को कृषि फर्म भित्र राख्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले बताए ।
    बनेपा नगरपालिकामा फोहोर ब्यवस्थापनका लागि थपिएको चुनौती मेशिनको प्रयोगबाट समाधान गर्न सकिने नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए सँगै २०७४ भदौ १० गते उप्रमुखको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन समिति गठन गरेका थियो । फोहोरमैला व्यवस्थापन समितिको पटक पटक बैठक बसी फोहोरमैला व्यवस्थापनका लागि प्रयोग भईरहेको व्यवस्थापन स्थलको सदुपयोग र वैकल्पिक स्थानको पहिचानको काम भएको थियो । नगरपालिकाले निजी क्षेत्रमार्फत फोहोर व्यवस्थापन गर्न आ.व. २०७४÷०७५ को नगर सभाबाट फोहोरमैला संकलन शुल्क निर्धारण गरिएको छ । निजी क्षेत्र मार्फत सशुल्क फोहोर व्यवस्थापन गर्ने नीति अनुरुप २०७५ साउन ४ गते देखि नेशनल वेष्ट मेनेजमेन्ट एण्ड रिसाइक्लिनिङ सेन्टरसंग संझौता गरी कार्यारम्भ भएको थियो । बनेपा नगरपालिकाले साविक देखि प्रयोग गरि आएको फोहोरमैला व्यवस्थापन स्थलको प्रयोगमा समस्या आएकाले विभिन्न उपाय र विधिको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गरिदै आएको छ । नगर क्षेत्र भित्र उत्पादन हुने फोहोर व्यवस्थापनका लागि फोहोर व्यवस्थापन कार्य गरिरहेका संस्थासंग समन्वय गरी नगरपालिकाले खर्च व्यहोरी फोहोर व्यवस्थापनलाई निरन्तरता दिईरहेकोे छ । फोहोर व्यवस्थापनको लागि बनेपा नगरपालिका वडा नं. १२ र १४ को सिमानामा १४ रोपनी जग्गा खरिद गरि सकिएको र थप जग्गा प्राप्त गर्ने प्रयास गरिरहेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताए । उक्त जग्गाबाटै फोहोरमैैलाको दिगो ब्यवस्थापन हुनेछ । झण्डै एक सय वर्षका लागि फोेहोरलाई मोहोर बनाउन र फोहोरलाई पुनः प्रयोग गर्न सकिने गरी रुपान्तरण गर्ने कार्य शुरु गरिएको उनले बताए । बनेपाको फोहोर हाल सिसडोल पु¥याउने गरिएको छ । नियमित फोहोर फाल्ने स्थानमा स्थानीयले रोकेपछि नगरपालिकाले स्थायी समाधानका लागि पहल गरेको हो ।