2026 April 21/ 07:07: 56pm

    धुलिखेल/आर्थिक वर्षको अन्त्यमा संचालन भई सम्पन्न भएको प्रधानमन्त्री रोजगार कार्यक्रम जिल्लामा प्रभावकारी भएको तथ्याङ्कले देखाएको छ । केहि स्थानमा वर्षातका कारण प्रभावकारी कार्य हुन नसके पनि कार्यक्रम संचालन भएका अधिकांश स्थानमा रोजगार कार्यक्रमबाट उपलब्धीमुलक भएको जनप्रतिनिधिहरुले बताएका छन् । 
    कार्यक्रमलाई थप प्रभावकारी बनाउन चालु वर्षको शुरुमै रोजगारदाता छनौट गरी कार्य सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । जिल्लाका १३ वटै स्थानीय तहमा उक्त कार्यक्रम संचालन गरिएको थियो । धुलिखेल नगरपालिकामा ६ सय ७३ जना बेरोजगारहरुले रोजगारका लागि सूची दर्ता गराएका थिए । जसमा महिला ३ सय ५५ र पुरुष ३ सय १८ जना रहेका छन् । पुरुष भन्दा महिला धेरै बेरोजगार रहेको भन्दै सूची दर्ता गराएको रोजगार संयोजक प्रतिक्षा पौड्यालले बताईन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धुलिखेल नगरपालिकामा २९ लाख रकम प्राप्त भएको थियो । उक्त रकमबाट ११ वटा आयोजना संचालन भएको पौैडा्यालले जानकारी दिईन् । संचालन भएका मध्ये अधिकांश आयोजना सम्पन्न भएका छन् । देवीटार घुमाउने चौर अनेकोट मिलनचोक कृष्णमन्दिर सडक मर्मतका लागि ४ लाख ९९ हजार ९ सय ९७ रुपैया खर्च भएको  छ । जसमा ४७ जनाले १० दिन काम गरेका थिए ।
    बनेपा रवि पाँचखाल सडक ड्रेन निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गरिएको थियो । १४ जनाले ११ दिन उक्त आयोजनामा काम गरेका थिए । सेतीदेवी मन्दिरको सत्तल मर्मतका लागि ४ लाख ९५ हजार, झाडी काट्ने तथा ढल सफा गर्ने आयोजनाका लागि २ लाख २७ हजार २ सय ५०, वडा नम्वर ४ अन्र्तगत बाँसघारी कुवा मर्मत तथा संरक्षणका लागि १ लाख १८ हजार १ सय ७२,  रामनाम पोखरी मर्मतका लागि २ लाख, काभ्रे भन्ज्याङ्ग दारिमबोट माजुवार खोला छोरे दण्ड बाटो मर्मत तथा भल ब्यवस्थापनका लागि २ लाख ७७ हजार ९ सय ५५, काभ्रे भञ्ज्याङ्गको पोखरी संरक्षण तथा मर्मत २ लाख २१ हजार ४ सय ७, काभ्रे भञ्ज्याङ्ग फस्कोट इट्टे सडक र पिपलबोट ढुंगे सडक मर्मत सम्भार २ लाख १४ हजार ५ सय ६१, शान्तिपुर सडकको शान्तिपुर प्रावी माथिको ट्रयाक बनेको सडकमा ढुंगा सोलिङ्गका लागि २ लाख ९६ हजार ७ सय ९७ रुपैैया र इट्टे नयाँपाटी गुराँसे हुँदै एक्लेखेत सडक मर्मत सम्भारका लागि २ लाख ४८ हजार ६ सय ९६ रुपैयाँ विनियोजन गरिएको थियो । २ सय ७७ जनाले विभिन्न आयोजनामा कार्य गरेको पौड्यालले बताईन् । १ सय ४१ महिला र १ सय २२ जना पुरुष गरी २ सय ६३ जना रोजगारका लागि छनौट भएका थिए । 
    समय अभावका कारण बैंकबाट ज्याला भुक्तानी नभएको, रोजगार संयोजकका अलावा थप कर्मचारी नभएको, शैक्षिक बेरोजगारलाई समावेश गर्न नसकिएको, बजेट अभावले सबै बेरोजगारलाई समावेश गर्न नसक्नु र प्राथमिकताका आधारमा काममा लगाउन कठिनाई भएको, सिपयुक्त र शैक्षिक बेरोजगारका लागि रोजगार मुलक कार्यक्रम ल्याउनु पर्ने अनुभव रहेको संयोजक पौड्यालले बताईन् ।