2026 April 21/ 07:08: 27pm

    बनेपा/जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत विभिन्न चेकपोस्टमा कार्यरत ५ जना प्रहरीहरु सेवाग्रहीसँग घुस लिँदा लिदै विहिबार साँझ पक्राउ परेका छन् । पक्राउ परेकाहरुसँग बयान लिने क्रम शुरु भएको अख्तियारले जनाएको छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लाको मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरीका जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धरलाई २÷२ हजार घुस टिपर चालकसँग लिदै गर्दा पक्राउ गरेको हो । त्यस्तै पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवाल ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको हो । प्रहरीले टिपरसँग मासिक २ हजार असुल्ने क्रममा टिपर ब्यवसायीले चारवटा चेकपोस्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको बताएको छ । 
    अरनिको र विपी राजमार्ग हुँदै दैनिक १ हजार ९ सय टिपर ओहोर दोहोर गर्छन । प्रहरीका विभिन्न युनिटहरुले चेकजाँचका नाममा टिपर चालकहरुलाई दुःख दिने र त्यसको सट्टामा मासिक रकम उठाउने गरेको गुनासो चालकहरुले गर्दै आएका थिए । टिपरहरुको अत्याधिक गति, राजमार्गमा पानी चुहाउने तथा लागु पदार्थ सेवन गर्ने, नक्कली सवारी अनुमति पत्र प्रयोग गरी सवारी चलाएको जस्तो आरोप लाग्दै आएको थियो । तिब्र गति नियन्त्रण गर्न भन्दै जिल्लामा सरोकारवालाहरुको बैठकले टाईम कार्ड लागु गरेको थियो । टाईम कार्ड प्रहरीको रकम असुल्ने स्थान भएको स्थानीयहरुको आरोप थियो । अख्तियारको टोलीले छापा मारी पक्राउ परेका पाँचै जना प्रहरीलाई अख्तियारको हिरासतमा पु¥याएको छ । 
    अख्तियारको टोलीले शिक्षा समन्वय इकाईमा कार्यरत इन्जिनियर र साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियरलाई यसअघि पक्राउ गरेको थियो ।