बनेपा/आधुनिक कृषि उपकरण वितरण कार्यक्रम अन्र्तगत बनेपा नगरपालिका कृषि शाखाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरेको छ ।
बनेपा नगरपालिकाले कृषकहरुलाई ३ लाख ३३ हजार रुपैयामा बराबरको उपकरण ५० प्रतिशत अनुदान उपलब्ध गराईएको थियो । हस्तान्तरण कार्यक्रम नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले नगरमा कृषिमा आधुनिकिरण गर्न आवश्यक रणनीतिक योजना तयार गरी नीति तथा कार्यक्रम र बजेट तयार गरिएको बताए । बाँस्डोल र नाला क्षेत्रलाई आलुको पकेट क्षेत्र बनाउने गरी आवश्यक कार्य गरिएको बताउँदै नगर प्रमुख बादेले प्रविधिलाई उत्पादनसँग जोड्ने र कृषकहरुको आय आर्जन बढाउने बताए । नगरबासिहरुलाई उत्पादनसँग जोड्ने विषेष कार्यक्रम तयार गरिएको बताउँदै कृषक भनेर गर्व गर्न लायक बनाउन नगरपालिका प्रयासरत रहेको बताए । नगरपालिकाले कृषकहरुलाई कृषि उत्पादनको समुचित मुल्य प्राप्त गराउनका लागी यो वर्षबाट कम्तीमा एउटा वडामा कृषि उत्पादन संकलन केन्द्रको स्थापना गरीने समेत बताए । त्यसै गरी बादेले साँगा क्षेत्रमा लप्सीजन्य उद्योगहरुलाई ब्यबस्थित र आधुनिकीकरण गर्न उद्योगीहरुलाई समुहगत कार्य गर्न सम्भाब्यता भएका अन्य वडाहरुमा लप्सी खेतीलाई प्रत्सोहान गर्ने योजना रहेको बताएका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले कृषकहरुलाई आधुनिक औजारको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । नगरपालिकाले सबै वर्गका किसानहरुका लागी योजना ल्याएकाले उक्त योजनामा सहभागि भई कृषकहरुले आधुनिक खेती गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगरपालिका भित्रका ३७ जना कृषकहरुलाई मकै छोडाउने मिशिन वितरण गरिएको थियो । कार्यक्रममा कृषि शाखाका मुकुन्द केसी नगरपालिकाका बरिष्ठ राजश्व अधिकृत धु्रर्वराज नेपाल लगाएतले मन्तब्य राखेका थिए ।





