पनौती/सामुदायिक साकोस पनौती र गाउँबेशी साना किसान कृषि सहकारी बीच एकिकरण गर्ने सम्झौता भएको छ ।
एकिकरण अभियानकै रुपमा जिल्लाको पनौती न.पा. वडा नं. ११, (साविक बल्थली ७), बल्थली स्थित गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.सँग साउन ७ गते एकीकरणको सम्झौता गरेको हो । सम्झौता दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभा हलमा बृहत छलफल गरी सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष विद्यामणी हुमागाईले सानो पूँजिको संस्थाबाट शेयर सदस्यहरुले सम्पूर्ण वित्तिय सेवा पाउन नसक्ने र प्रशासनिक खर्चहरुका कारण सदस्यहरुले प्राप्त गर्ने सेवा तुलनात्मक रुपमा महंगो समेत हुने भएको साथै राज्यले एकिकरण अभियान समेत अघि सारेकोले हामी सामुदायिक साकोससँग एक भएर जान सहमत भएका छौं भन्दै अन्य सहकारी संस्थाहरुलाई पनि एकिकरणको लागि आव्हान गरेका थिए ।
सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदान प्रदान गर्दै सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरेका थिए । संस्थाका अध्यक्ष विद्यामणी हुमागाई र उपाध्यक्ष राजु थापा लगायतले अभियन्ताहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै अन्य सहकारी संस्थाहरुसँग नि एकीकरणको छलफल अगाडी बढेको, केही संस्थाहरु निर्णय तहमा पुगीसकेको जानकारी दिए । अभियान सहकारी संस्था एकीकरणको अभियान हो, त्यसैले सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले एकीकरणको लागि ढोका सदैब खुल्ला गरेकोले निश्वार्थ स्वागत गर्न तयार रहेको बताए । छलफलका क्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, उपाध्यक्ष कुमारप्रसाद लामिछाने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, सञ्चालक सदस्य रामकृष्ण घिमिरे लगायतको सहभागिता रहेको थियो । गाउँवेशी साना किसान कृषि सहकारी संस्थाका एकिकरण कार्यदलका संयोजक एवं अध्यक्ष विद्यामणी हुमागाई, उपाध्यक्ष राजु थापा, सचिव पुनम त्रिपाठी, कोषाध्यक्ष शंकरमान लामा, ब्यवस्थापक सरिता काफ्ले र कार्यालय सहायक सुवर्ण थापाले शेयर सदस्यका हितका लागि सञ्चालकहरुको ब्यक्तिगत स्वार्थ त्याग गरी एकीकरणका लागि तयार रहेको प्रतिक्रीया राख्दै एकिकरण सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले एकिकरणको सम्झौता पत्र प्रस्तुत गरेका थिए ।
२५ वर्ष अघि २०५१ साल माघ १४ गते स्थापित पनौती ४, टौखालमा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा अर्को पाइला चालेको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २२ हजार ४ सय शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८४ करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १९ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ । वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ । संस्था शुसासनमा सञ्चालनका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको यस संस्थाले आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ । श्री गाउँवेशी साना किसान कृषि सहकारी संस्था लि.को ४ सय ५० जना शेयर सदस्यहरुको ६० लाख कुल पुँजी परिचालन गर्न सफल भएको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले यस अघि जेष्ठ १४ गते बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था लि. सँग र असार २५ गते मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी संस्थासँग एकिकरणको सम्झौता गरिसकेको छ । ३ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार भन्दा बढी शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।





