2026 April 21/ 06:26: 06pm

पनौती/काभ्रे इङलिस माध्यमिक विद्यालय पनौतीले एसईइ परीक्षामा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ । 
कार्यक्रममा ३ दशमलव ६५ देखी ४ जिपिए ल्याउने ३२ जना, ३ दशमलव २५ देखी ३ दशमलव ६ ल्याउने ३१ जना र २ दशमलव ८५ देखी ३ दशमलव २ जिपिए ल्याउने ६ जना गरी ६९ जना विद्यार्थी सम्मानित भएका हुन् । जसमध्ये सुप्रिया श्रेष्ठ र निरुता केसी ३ दशमलव ९५ जिपिए ल्याई सर्वोत्कृष्ट हुन सफल भएका छन् । एसईइ सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको प्रिन्सिपल बसन्तराज नेपालले वताए । काभ्रे जिल्ला कै उत्कृष्ट विद्यालयको रुपमा रहेको काभ्रे इङलिस मावि विभिन्न समयमा बोर्ड प्रथम, बोर्ड तृतीय तथा जिल्ला प्रथम समेत हुन सफल भएको नेपालले जानकारी दिएका थिए । कार्यक्रममा त्यसै गरी स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा अध्यापन गराउने सुदिप न्यौपानेलाई उत्कृष्ट शिक्षक सम्मान गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारी, शिक्षासेवी तथा अभिभावकद्धय महेश्वर जंगम र रमेश पौडेल, वडा नम्वर ४ का वडा सचिव राजकुमार श्रेष्ठ तथा पुर्व विद्यार्थीहरु इन्जिनियर सुनिल श्रेष्ठ, पविन कार्की, सिए सन्देश केसी लगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रममा प्राचार्य वसन्तराज नेपालले सफल सम्पुर्ण विद्यार्थीमा वधाई ज्ञापन गरेका थिए भने स्वागत मन्तव्य सह प्राचार्य शन्तकुमार श्रेष्ठले राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जनसम्पर्क अधिकृत मनोज अधिकारीले गरेका थिए ।