धुलिखेल/नेपाल नगरपालिका संघले चालु वर्ष देखि कार्यान्वयन गर्ने गरी पाँच वर्षे रणनीतिक योजनाका बारेमा छलफल भएको छ । धुलिखेलमा आयोजित संघको दुई दिने कार्यशाला गोष्ठीमा रणनीतिक योजनाका बारेमा बृहत्त छलफल गरिएको थियो ।
गोष्ठीमा रणनीतिक योजनाका सन्र्दभमा अध्यक्ष अशोक ब्याञ्जुले दीर्घकालीन, ध्येय, लक्ष्य, उदेश्य, अपेक्षित उपलब्धी, मूल्य मान्यताहरुका बारेमा जानकारी गराउँदै रणनीतिक योजनाका क्षेत्रहरुका बारेमा जानकारी गराएका थिए । नगरपालिका संघको नेतृत्व, पुर्व पदाधिकारी एवं सदस्यहरु, विभिन्न क्षेत्रका विज्ञहरुले रणनीतिक योजनामा धारणा राखेका थिए । पुर्व मुख्य सचिव सोमलाल सुवेदीले रणनीतिक योजना कार्यान्वयन र त्यसका चूनौतीका बारेमा धारणा राखेका थिए । राज्यको पुर्नसरंचना पछि पहिलो पटक तीन तहका सरकार संचालनमा आएको र अधिकारका बारेमा तीनै तहका सरकार बीच टकराव पैदा हुन नदिन एकल अधिकार र साझा अधिकारका सूचीहरुलाई सहज ढंगबाट कार्यान्वयन गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका थिए । रणनीतिक योजनामा नेपाल नगरपालिका संघले स्थानीय सरकारहरुको नीतिगत वकालति, पैरवी, सूचना, संजालीकरण र साझेदारी, प्राविधिक परामर्श तथा सहयोग, क्षमता अभिबृद्धी, अन्तर सरकार सम्वन्ध, अध्ययन, अनुसन्धान र विकास, संघको कार्य संचालन, कोषको ब्यवस्थापन, रणनीतिक योजना कार्यान्वयन कार्यनीति उल्लेख गरिएको छ ।
रणनीतिक योजना कार्यशाला गोष्ठीको शहरी विकासमन्त्री मोहमद् इस्तीयाक राईले उद्घाटन गरेका थिए । मन्त्री राईले स्थानीय तहलाई कुनै पनि अवस्थामा जनताको चाहना विपरित काम नगर्न सुझाव दिएका थिए । कार्यशाला गोष्ठीमा मन्त्री राईले स्थानीय तहले ‘सिंहदरबारको अधिकार’ भन्दै अधिकार ब्यवस्थापन गर्न नसक्दा जनता आजित भएर विरोधी बन्न सक्ने तर्फ सचेत गराए । राष्ट्रिय सभा विधायन ब्यवस्थापन समितिका सभापति परशुराम मेघमी गुरुङ्गले संघले निर्माण गर्ने रणनैतिक योजनाले देशभरका नगरपालिकामा ऐतिहासिक रुपमा प्रभाव पर्ने भएकाले गहन रुपमा छलफल गरी ‘रुल मेकिङ’ गर्न सुझाव दिए । राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले चार बर्षपछि कस्तो नगरपालिका बनाउने भन्ने खाका तयार गर्न आग्रह गरे । संघका अध्यक्ष अशोकुमार ब्याञ्जू श्रेष्ठले दुई दिनको कार्यशालामा आगामी चार बर्षका लागि नयाँ संविधानमा स्वायत्त स्थानीय सरकारको स्पष्ट ब्यवस्थाका लागि शसक्त बहस र पैरवी गर्ने, नगर सरकार तथा सरोकारवालाको समन्वयमा शहरी शासनको प्रबद्र्धनका लागि नपा संघलाई अग्रणी स्थानको रुपमा विकास गर्ने, शहरी सेवा तथा प्रवाहलाई प्रभावकारी बनाउन नगर सरकारलाई सक्षम र सवल संस्थाको रुपमा विकास गर्ने, शहरी शुसासनको सुनिश्चितताका लािग नगर सरकारलाई पारदर्शी, जवाफदेही, उत्तरदायी र समावेशी बनाउने र नेतृत्व विकास सम्बन्धी सूचना प्रवाह गर्नका लागि नपा संघलाई साझा मञ्चको रुपमा विकास गर्नेगरी रणनैतिक योजना तयार गरिएको बताए ।
महासचिव भिम ढुंगानाले स्थानीय सरकारले एकल सूचीमा भएको अधिकार समेत प्रयोग गर्न नपाएको बताए । ‘स्थानीय सरकारका एकल अधिकार, हक र अधिकार संघ र प्रदेश सरकारले काटेको छ’–महासचिव ढुंगानाले भने –‘स्थानीय सरकार बलिया नभए अरु सरकार बलिया हुन सक्दैनन ।’ संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले संघको स्थापना र उदेश्य सहित सन् २०११ देखि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको बताए । संघका कानुन अधिकृत सरिता सापकोटाले नेपाल नगरपालिका संघले स्थानीय सरकारहरुलाई नीतिगत वकालति, पैरवी लगायतका क्षेत्रमा सहजिकरण गरिरहेको बताईन् ।





