पाँचखाल/सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेड क्वाटर काभ्रेको नवनिर्मित कार्यालय भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले राष्ट्रको जिम्मेवारी र राष्ट्रियता कायम गर्ने संविधानत प्राप्त जिम्मेवारी, राज्यको दायित्वलाई सशस्त्र प्रहरीले सधै आत्मसात गर्ने बताए । ‘जनतालाई सुख कसरी दिने ? आफुलाई भन्दा नागरिकलाई सेवा कसरी प्रदान गर्ने ? भन्ने सोचले सबै दर्जामा रहेका सशस्त्र प्रहरीले आफुलाई समाहित गर्नुपर्छ’–महानिरीक्षक शैलेन्द्र खनालले भने –‘विपद् तथा संकटमा उद्धारका लागि जिउज्यान दिएर लाग्न निर्देशन दिन्छु ।’ तत्कालिन श्री ५ को सरकार मन्त्रीपरिषद्को २०५८ चैत्र ३० गतेको निर्णयले मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत बाग्मती अञ्चलमा परिचालन हुने गरि प्रसिद्ध देवी कालिञ्चोक भगवतीको नामबाट २०५९ बैशाख २४ गते नारायणी अञ्चलको चितवन जिल्ला दारेचोक गाविस ३ कुरिनटारमा उक्त गणको स्थापना भएको गणपति एसपी बेनु पाठकले बताए । २०६० भदौ १३ गते काठमाडौ जिल्लाको किर्तिपुर नगरपालिका वडा नम्वर ८ स्थित बाँझोबारीमा स्थानान्तरण भएको गण २०६२ पौष २७ गते काठमाडौ किर्तिपुर नगरपालिका ६ चोभारमा रहेको थियो । २०७३÷०७४ मा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर ३ कुरकुरे डाँडामा २ सय २० रोपनी जमिनमा भवन निर्माण गरी सोहि भवनमा २०७६ बैशाख १६ गतेबाट गणले कार्य संचालन गर्दै आएको थियो ।
१५ वटा भौतिक संरचना निर्माण गरिएको गणका लागि १३ करोड २१ लाख रुपैयाँ खर्च भएको छ । जसमा गणपति निवास, कार्यालय भवन, क्वाटर गार्ड, विल्लादार जवान ब्यारेक, पानी ट्याङ्की, सिनियर अधिकृत ब्यारेक, सिनियर अधिकृत मेश, जुनियर अधिकृत ब्यारेक, मेश, महिला ब्यारेक, जिन्सि स्टोर, विल्लादार जवान मेश, रासन स्टोर, विल्लादार जवान ट्वाईलेट तथा मेनगेट निर्माण गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना लगायतले सशस्त्र प्रहरी सधंै नेपाल र नेपालीको हितका लागि दत्तचित हुनुपर्ने बताउनु भएको थियो । जिल्लामा नेपाली सेना, जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान सँगै सशस्त्र प्रहरीको क्याम्प स्थापना भएको छ ।





