2026 April 21/ 06:01: 41pm

    पनौती/काभ्रे मिनिबस सेवा समितिको अन्तिम साधारण सभा नेपाल यातायात राष्ट्रिय ब्यबसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    समितिको ४० आंै र ४१ औ बार्षिक साधारण सभा हो । कार्यक्रममा प्रमुख अतिथी कर्माचार्यले ब्यबसायीलाई राज्यले भने अनुसारको ऐन ल्याएर कम्पनीमा रुपान्तरण गर्न सहज पारेकोमा धन्यबाद दिए । ‘ब्यबसायीहरुले भने अनुसार राज्यले समय दियो र सोहि अनुसारको ब्यवस्था समेत गरिदियो’– उनले भने –‘अझै बीमाको कुरा नमिलेकाले छिटै बसेर टुङ्गयाउँछौं ।’ यातायात ब्यबसायी महासंघले आगामी साउन ३ गते देशै भरी एकै पटक समितिबाट रुपान्तरण भई कम्पनीमा गएको घोषणा गर्ने र कम्पनीका बोर्ड राख्ने तयारी गरेको छ । कम्पनीमा गएको घोषणा सँगै उद्घाटन भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठले गर्ने कार्यक्रम तय भएको ब्यवसायीले जानकारी दिएका छन् । केन्द्रिय अध्यक्ष कर्माचार्यले ब्यबसायीहरुलाई प्रतिस्पर्धी सेवा दिन आग्रह गरे । 
    कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उप महासचिब बसुन्धरा भण्डारी, नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापा, काभ्रे बस ब्यबसायी संघका अध्यक्ष बर्ण शाक्य, हेलम्बु यातायात सेवा समितीका अध्यक्ष राजेश सुन्दर सैंजू, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट ईकाईका अध्यक्ष बेदप्रसाद घिमिरे लगायतका ब्यक्तिले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा समितिको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन कृष्ण कायस्थले तथा बार्षिक प्रतिबेदन सचिब त्रिरत्न रन्जितकारले सभामा प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष शान्तराज ताम्राकारले बार्षिक सभाका बारेमा जानकारी गराएका थिए । 
    काभ्रे मिनिबस सेवा समितिबाट रुपान्तरण भई काभ्रे पुण्यवती यातायात प्रालि भएको अध्यक्ष राजेश सुन्दर सैँजुले जानकारी दिए । समितिले पनौती–काठमाडौ, खोपासी, ढुंखर्क, कामिडाँडा, च्याम्ब्राङबेशी, भालुखर्क शंखु, कुशादेवी, रयाले, लगाएतका ठाँउमा बसहरु सञ्चालन गरेको छ । त्यसैगरी नगर बस, कर्मचारी एक्सप्रेस, काठमाडौबाट सिधै ढुंखर्क लगायतमा विशेष यातायात सञ्चालन गरिएको अध्यक्ष राजेश सुन्दर संैजुले बताए । समितिले बिभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्थाहरु सँग मिलि स्वास्थ्य शिविर, खेलकुद कार्यक्रम, स्थानीय जात्रा एवं पर्व मन्दिर निर्माण कार्यको लागी सहयोग गरेको अध्यक्ष संैजूले बताए । कार्यक्रम समितिका अध्यक्ष राजेश सुन्दर संैजूको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सह–कोषाध्यक्ष कृष्णलाल नकर्मीले गरेका थिए । अघिल्लो वर्ष कम्पनीमा जाने र नजाने भन्ने दुविधाका कारण साधारण सभा गर्न नसकिएकोमा कम्पनीमा जाने निधो भए पछि एकै पटक साधारण सभा गरिएको हो । समितिको तर्फबाट यो अन्तिम भएको अध्यक्ष सैंजुले बताए । चार दशक लामो समितिको यात्रा कम्पनीबाट शुरु भएको छ ।